लाभांश पारित गर्न एशियन लाइफले डाक्यो १७औँ सभा, सञ्चालकको निर्वाचन पनि
काठमाडौं । लाभांश प्रस्ताव पारित गर्न एशियन लाइफ इन्स्योरेन्सले १७औँ वार्षिक साधारण सभा बोलाएको छ । कम्पनी सञ्चालक समितिको असार ८ गते बसेको बैठकले असार ३० गते दिउँसो १ बजे काठमाडौंमा साधारण सभा बोलाएको हो । कम्पनीको सभाले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट हाल कायम चुक्ता पुँजी ३ अर्ब ३९ करोड ९८ लाख ३६ हजार रुपैयाँको ५.१० प्रतिशतका दरले १७ करोड ३३ लाख ९१ हजार रुपैयाँ बोनस सेयर र कर प्रयोजनका लागि ०.२६ प्रतिशतका दरले ९१ लाख २५ हजार रुपैयाँ नगद गरी कुल ५.३६ प्रतिशत लाभांश प्रस्ताव पारित गर्नेछ । सभाले बोनस सेयर वितरण पश्चात् हदसम्म जारी तथा चुक्ता पुँजी वृद्धि गर्न स्वीकृति गर्ने, प्रबन्धपत्र तथा नियमावलीमा कुनै थपघट गर्न निर्देशन प्राप्त भएमा सो अनुसार फेरबदल गर्न संचालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्नेछ । सञ्चालक समितिको आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, चालु आर्थिक वर्ष २०८१/८२ को लागि बाह्य लेखापरीक्षक बिके अग्रवाल एण्ड कम्पनी चार्टर्ड एकाउन्टेन्ट्स पुनः नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्नेछ । संस्थापक सेयरधनी समूहबाट प्रतिनिधित्व गर्ने ३ जना र सर्वसाधारण सेयरधनी समूहबाट प्रतिनिधित्व गर्ने २ जनाको निर्वाचन गर्ने र १ जना स्वतन्त्र सञ्चालक मनोनीत गर्नेछ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले असार २० गते बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले असार १९ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कारोबार भइ कायम सेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाइ लाभांश प्राप्त गर्न सक्नेछन् ।
लाभांश पारित गर्न यूनाइटेड अजोडले डाक्यो साधारण सभा, हकप्रद सेयर घट्यो
काठमाडौं । लाभांश प्रस्ताव तथा हकप्रद सेयर परिमार्जन प्रस्ताव पारित गर्न यूनाइटेड अजोड इन्स्योरेन्सले ३१औँ वार्षिक साधारण सभा बोलाएको छ । कम्पनी सञ्चालक समितिको बैठकले असार ३० गते बिहान साढे १० बजे काठमाडौंमा साधारण सभा बोलाएको हो । कम्पनीको सभाले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट हाल कायम चुक्ता पुँजी २ अर्ब १० करोड रुपैयाँको १० प्रतिशतका दरले २१ करोड रुपैयाँ बोनस सेयर र कर प्रयोजनका लागि ०.५२ प्रतिशतका दरले १ करोड १० लाख ५२ हजार रुपैयाँ नगद गरी कुल १०.५२ प्रतिशत लाभांश प्रस्ताव पारित गर्नेछ । यसअघि कम्पनीले १५ प्रतिशत हकप्रद सेयर जारी गर्ने भनेतापनि बोनस सेयर वितरणपश्चात् चुक्ता पुँजी २ अर्ब ३१ करोड रुपैयाँ पुग्ने भएकाले सो पुँजीको १० प्रतिशत अर्थात प्रत्येक १०० कित्ता सेयर बराबर १० कित्ताका दरले हकप्रद सेयर जारी गर्ने प्रस्ताव सभामा पेस गरिएको छ । हकप्रद सेयर जारी पश्चात् कम्पनीको चुक्ता पुँजी नेपाल बीमा प्राधिकरणले तोकेको भन्दा बढी २ अर्ब ५४ करोड १० लाख रुपैयाँ पुग्नेछ । सभाले कम्पनीका सञ्चालकको पारिश्रमिक, भत्ता र सुविधा सम्बन्धी व्यवस्था संशोधन गर्ने, प्रबन्ध पत्र तथा नियमावलीमा कुनै थपघट गर्न निर्देशन प्राप्त भएमा सो अनुसार फेरबदल गर्न संचालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्नेछ । कम्पनीको सभाले सञ्चालक समितिको आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, चालु आर्थिक वर्ष २०८१/८२ को लागि बाह्य लेखापरीक्षक जे.बि.राजभण्डारी एण्ड डिबिन्स चार्टर्ड एकाउन्टेन्ट्सलाइ पुनः नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने र सञ्चालकहरूको नियुक्ति अनुमोदन गर्नेछ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले असार १९ गते बुकक्लोज गर्ने निर्णय गरेको छ ।अघिल्लो दिनसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कारोबार भइ कायम सेयरधनीहरूले कम्पनीको साधारण सभामा सहभागिता जनाइ लाभांश प्राप्त गर्न सक्नेछन् ।
हिमालयन एभरेष्ट इन्स्योरेन्सकी सीईओ अन्जु श्रेष्ठ सम्मानित
काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडकी प्रमुख कार्यकारी अधिकृत (सीईओ) अन्जु श्रेष्ठ अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठित सम्मानबाट सम्मानित भएकी छन् । महिला पत्रिका ‘द भ्वाइस अफ दी वुमन’ले रणनीतिक नेतृत्वतर्फको सर्वश्रेष्ठ महिला प्रमुख कार्यकारी अधिकृतको रूपमा सम्मान गरेको हो । उक्त विशिष्ट अवार्ड प्राप्त गरेपछि खुसी व्यक्त गर्दै श्रेष्ठले भनिन्, 'यो सम्मान केवल मेरो व्यक्तिगत उपलब्धि मात्र नभई यो समग्र नेपाली बीमा उद्योगको उपलब्धी हो र यसमा सक्रिय सम्पूर्ण महिलाको सामूहिक पहिचान पनि हो ।' उनले आफ्नो टिमको निरन्तर साथ, परिश्रम र प्रतिबद्धतालाई पनि यस सफलताको मूल आधार मानेकी छन् । बेलायतमा मुख्यालय रहेको महिला पत्रिका एक अन्तर्राष्ट्रिय सञ्चार संस्था हो, जसले व्यवसाय, नेतृत्व र उद्यमशीलता क्षेत्रमा विशिष्ट योगदान दिने महिलाहरूको पहिचान र सम्मान गर्दै आएको छ । हरेक वर्ष विश्वभरका प्रेरणादायी महिलाहरूलाई विविध विधामा सम्मान गर्नेक्रममा यसवर्ष श्रेष्ठले बीमा क्षेत्रतर्फको सर्वोच्च नेतृत्व अवार्ड हात पार्न सफल भएकी हुन् । महिला पत्रिकाका व्यवसाय विकास प्रबन्धक ड्यानियल डी’कोस्टाले भने, 'महिलाहरूले व्यवसाय र नेतृत्वमा पुर्याएको योगदान अद्वितीय छ । हाम्रो प्रयास उनीहरूको मेहनत र उपलब्धिलाई अन्तर्राष्ट्रिय स्तरमा उजागर गर्नु हो ।' श्रेष्ठको नेतृत्वमा हिमालयन एभरेष्ट इन्स्योरेन्सले बीमा क्षेत्रमा नवीनता, पारदर्शिता र ग्राहकमुखी सेवामा उल्लेखनीय सुधार ल्याएको छ । रणनीतिक योजनाको प्रभावकारी कार्यान्वयन, डिजिटल प्रविधिको प्रयोग र संस्थागत सुशासनमार्फत कम्पनीले पछिल्ला वर्षहरूमा निरन्तर प्रगति हासिल गर्दै आएको छ । उक्त सम्मान श्रेष्ठको रणनीतिक सोच, दूरदृष्टि र नेतृत्व क्षमताको विश्वव्यापी मान्यता मात्र नभई नेपाली बीमा क्षेत्रको समग्र प्रगतिको सन्देश पनि हो ।