लुम्बिनी जनरल इन्स्योरेन्सको घट्यो बोनसदर
काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्सको लाभांश संशोधन भएको छ । लाभांश संशोधनसँगै कम्पनीले यसअघि प्रस्ताव गरेको लाभांश घटेको छ । कम्पनीले यसअघि ७ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको थियो । तर नेपाल बीमा प्राधिकरणबाट संशोधन भएर आएसँगै कम्पनीले चुक्ता पुँजीको ६.९९ प्रतिशत बोनस सेयर दिने भएको छ । र, सोमा लाग्ने कर प्रयोजनको लागि ०.३६७९ प्रतिशत नगद लाभांश वितरण गर्ने कम्पनीको नयाँ प्रस्ताव छ । उक्त प्रस्तावलाई कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गर्नुपर्ने छ । सभाले पारित गरेसँगै सेयरधनीले सो मात्राको लाभांश पाउने छन् । हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ३१ करोड रुपैयाँ छ । ६.९९ प्रतिशत बोनस पारितपछि कम्पनीको चुक्ता पुँजी १ अर्ब ४० करोड रुपैयाँ पुग्ने छ ।
सूर्यज्योति लाइफ इन्स्योरेन्सको सेल्स कन्भेन्सन सम्पन्न
काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चितवनको सौराहामा सेल्स कन्भेन्सन कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा सहभागीहरुलाई प्राविधिक तथा बजार व्यवस्थापन कार्यक्षमता अभिवृद्धि तथा उत्प्रेरणामूलक तालिम दिइएको कम्पनीले जनाएको छ । कार्यक्रममा देशभरका जोनल हेड, प्रोभिन्स हेड, रिजनल म्यानेजर, शाखा प्रबन्धक, सेल्स एक्जुकेटिब र कार्यालय सञ्चालनमा सहयोग पुर्याउने करिब ३०० जना कर्मचारीहरुको सहभागिता रहेको थियो । कार्यक्रममा कम्पनीका कर्पोरेट ट्रेनर रविन कटुवालले व्यक्तित्व विकास र सेल्स सम्बन्धी विशेष तालिम दिएका थिए । कम्पनीका प्रमुख कार्यकारी अधिकृत खत्रीले कार्यक्रमबाट सहभागीहरुले कम्पनीको हालको अवस्था,कम्पनीको आगामी बजार विस्तार योजना र रणनीतिसम्बन्धी बृहत ज्ञान हसिल गर्न सफल भएको बताए । साथै सीप तथा प्रविधि मैत्री तालिमबाट कर्मचारीहरु उत्साहित र थप ऊर्जावान बनेको उनले बताए । कार्यक्रममा कम्पनीका सञ्चालक नन्दकिशोर शर्माले कर्मचारीको प्रगति र हितका लागि सञ्चालक समिति सकारात्मक रहेको भन्दै मेहनत र लगनशील भएर काम गर्न आग्रह गरे । कार्यक्रममा व्यावसायिक लक्ष्य हासिल गर्नुका साथै कार्यालय सञ्चालनमा उत्कृष्ट योग्दान पुर्याउने ४८ जना कर्मचारीहरुलाई कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्रीले सम्मान गरेका थिए ।
गाउँगाउँमा बीमाको जानकारी दिन विद्यार्थीलाई आग्रह
काठमाडौं । नेपाल बीमा प्राधिकरणले विद्यार्थीहरुलाई गाउँघरमा गएर बीमाको जानकारी दिन आग्रह गरेको छ । प्राधिकरणका उपनिर्देशक कुन्दन सापकोटाले बीमाले जीवन तथा सम्पत्तिमा हुने क्षति तथा हानी नोक्सानी विरूद्ध आर्थिक सुरक्षा प्रदान गर्ने भएकाले बीमाका बारेमा गाउँघरमा गएर जानकारी दिन विद्यार्थीहरुसँग आग्रह गरे । नुवाकोटको दुप्चेश्वर-६, समुन्द्रटारस्थित रुक्मणी माध्यमिक विद्यालयमा आयोजित बीमा सम्बन्धी जानकारीमूलक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले सो आग्रह गरेका हुन् । कार्यक्रममा उनले गाउँ गाउँमा बीमा सम्बन्धी सचेतना फैलाउन शिक्षक तथा विद्यार्थीको भूमिका महत्वपूर्ण हुने भएकाले विद्यालयस्तरमा समेत बीमा सम्बन्धी कार्यक्रमहरु आयोजना गरिँदै आएको समेत बताए । रुक्मणी माध्यमिक विद्यालयका प्रधानाध्यापक मुकुन्द थापाले विद्यालयमा बीमा सम्बन्धी सचेतनामूलक कार्यक्रम आयोजना गरी बीमासम्बन्धी विषयमा जानकारी दिएकोमा प्राधिकरणप्रति आभार प्रकट गरे । उक्त कार्यक्रममा रुक्मणी माध्यमिक विद्यालयका शिक्षक तथा कक्षा ११ र १२ विद्यार्थीहरु लगायत गरी करिव ६५ जनाको सहभागिता रहेको थियो । कार्यक्रममा नेपाल बीमा प्राधिकरणका सहायक निर्देशक गीता नेपाल आचार्यले बीमा सम्बन्धी प्रस्तुती गरेका थिए भने सहायक प्रथम शिवप्रसाद खनालले कार्यक्रम सञ्चालन गरेका थिए ।