बीमा सरेण्डर घट्यो, सन नेपालको सर्वाधिक घट्दा सूर्यज्योति लाइफको बढ्यो
काठमाडौं । माघको तुलनामा फागुनमा बीमा सरेण्डर गर्नेको संख्या घट्दो क्रममा रहेको छ । माघमा साढे १८ प्रतिशतले बीमा सरेण्डर अर्थात् पोलिसी त्याग गरेका हुन् । गत माघमा १ अर्ब ३२ करोड ७७ लाख रुपैयाँ बराबरको बीमा सरेण्डर गरेका थिए । तर, फागुनमा १८.४६ प्रतिशत घटेर १ अर्ब ८ करोड २६ लाख रुपैयाँ बराबरको बीमा सरेण्डर गरेका हुन् । बीमा प्राधिकरणको तथ्याङ्क अनुसार विभिन्न १० वटा बीमा कम्पनीको बीमालेख सरेण्डर दर घटेको छ । जसमध्ये सबैभन्दा धेरै एशियन लाइफ इन्स्योरेन्सको ६६ प्रतिशतले बीमालेख सरेण्डर घटेको हो । कम्पनीको माघमा २१ करोड ३२ लाख रुपैयाँ बराबरको बीमालेख सरेण्डर गरिएको थियो भने फागुनमा ७ करोड २५ लाख रुपैयाँमा झरेको हो । यस्तै, सन नेपाल लाइफको ५६.२१ प्रतिशत घटेर ४४ लाख, लाइफ इन्स्योरेन्स कर्पाेरेसन (एलआईसी) नेपालको ४८.३४ प्रतिशत घटेर १५ करोड ७३ लाख रुपैयाँ, नेशनल लाइफको ४८ प्रतिशत घटेर ७ करोड ६७ लाख, युनियन लाइफको ३६.४९ प्रतिशत घटेर १ करोड ४९ लाख रुपैयाँमा झरेको छ । यस्तै, महालक्ष्मी लाइफको १९.४५ प्रतिशत घटेर ४० लाख, प्रभु लाइफको १९.१२ प्रतिशत घटेर ५० लाख, सिटिजन लाइफको १४.५२ प्रतिशत घटेर ५६ लाख, रिलायन्स लाइफको ३.९८ प्रतिशत घटेर ९५ लाख र नेपाल लाइफको १० प्रतिशत घटेर ३४ करोड २० लाख रुपैयाँमा झरेको छ । प्राधिकरणको तथ्याङ्क अनुसार राष्ट्रिय बीमा संस्थान, सुर्यज्योति लाइफ, मेट लाइफ, प्राइम लाइफ, गुराँस लाइफ, सानीमा लाइफ, आइएमई लाइफ र रिलायबल नेपाल लाइफको बीमालेख सरेण्डर दर भने बढेको छ ।
युनाइटेड इन्स्योरेन्सको ५ लाख कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत
काठमाडौं । युनाइटेड इन्स्योरेन्सको बोनस सेयर नेपाल स्टक एक्सचेन्ज(नेप्से) मा सूचिकृत भएको छ । कम्पनीको ५ प्रतिशत वापतको ५ लाख १४ हजार ८० कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत भएको हो । कम्पनीले गत वर्षको नाफाबाट ५ प्रतिशत बोनस सेयर र ०.२६३२ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।
नेपाल बीमा प्राधिकरणले कम्प्युटर खरिद गर्ने, आव्हान गर्यो बोलपत्र
काठमाडौं । नेपाल बीमा प्राधिकरणले कम्प्युटर (ल्यापटप) खरिद गर्ने भएको छ । प्राधिकरणले कार्यालय प्रयोजनको लागि एक लाख रुपैयाँ बराबरका डेस्कटप, ल्यापटप तथा अन्य कार्यालय सामग्री खरिद गर्ने भएको हो । बुधबार एक सूचना जारी गर्दै प्राधिकरणले उक्त सामाग्री खरिद गर्नका लागि बोलपत्र आह्वान गरेको छ । सो उपकरण उत्पादक कम्पनीको अधिकृत डिलर भई सम्बन्धित निकायबाट आपूर्ति गर्न इजाजत प्राप्त इच्छुक फर्म, संस्था वा कम्पनीले बोलपत्र पेश गर्नुपर्ने छ । कम्पनीहरुले ३० दिनभित्र रीतपूर्वक आवेदन दिन सक्नेछन् । चैत २२ गतेदेखि आगामी वैशाख १२ गतेसम्ममा सो बोलपत्र पेश गरिसक्नु पर्ने छ । जसको लागि तीन हजार रुपैयाँ दस्तुर बुझाउनु पर्ने बताइएको छ । साथै, उक्त बोलपत्र बैशाख २२ गते अपराह्न २ बजे खोलिने प्राधिकरणले जनाएको छ ।