सन नेपालको छैठौं वार्षिकोत्सव सम्पन्न, देशैभर बीमा जागरण अभियान

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले देशभरका १६ पालिकामा बीमा जागरण तथा जीवन बीमासम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले छैटौं वार्षिकोत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त कार्यक्रम सञ्चालन गरेको हो । सबै प्रदेशका गरी १६ पालिकामा अभियान सञ्चालन गरेको कम्पनीले जानकारी दिएको छ । कर्पोरेट कार्यालयद्वारा आयोजित उक्त कार्यक्रम कोशी प्रदेशअन्तर्गत इलामको माईजोगमाई र फाकफोकथुम गाउँपालिका, मधेश प्रदेशअन्तर्गत धनुषाको लक्ष्मीनिया र मुखियापट्टी मुहरनिया गाउँपालिका, पर्साको पर्सौनी र सिरहाको अर्नमा गाउँपालिकामा सम्पन्न गरिएको थियो । त्यसैगरी बागमती प्रदेशमा मकवानपुरको थाहा नगरपालिका, गण्डकीमा कास्कीको मादी र तनहुँको ऋषिङ गाउँपालिका, कर्णालीमा दैलेखको गुराँस र सुर्खेतको बराहताल गाउँपालिका, सुदूरपश्चिम प्रदेशमा कैलालीको बर्दगोरिया र कैलारी गाउँपालिकामा कार्यक्रम गरिएको थियो । ती कार्यक्रममा स्थानीय तहमा बीमाको पहुँच र चेतना बढाउन स्थानीय पालिका र बीमा कम्पनीबीच समन्वयकारी भूमिकाको विषयमा छलफल भएको छ । स्थानीय सहकारी, विद्यालय तथा सरोकारवालासँग जीवन बीमाको आवश्यकता र फाइदा एवं यसले दिन सक्ने आर्थिक सुरक्षाको प्रत्याभूतिबारे अन्तरक्रिया समेत भएको कम्पनीले जनाएको छ । छैटौं वार्षिकोत्सवकै अवसरमा कम्पनीका विभिन्न शाखा कार्यालयबाट सामाजिक उत्तरदायित्व अन्तर्गत ग्रामीण भेगमा रहेका सामुदायिक विद्यालयमा छात्रवृत्ति, स्टेशनरी, खेलकुद सामग्री वितरण गरिएको छ । बालबालिकाको लागि विद्यालयहरुमा आधुनिक पानी फिल्टर जडान गरिएको छ । सो अवधिमा विभिन्न बृद्धाश्रम र गुरुकुलहरुमा खाद्यान्न पनि वितरण गरिएको थियो । त्यसैगरी, स्वास्थ्य संस्थालाई ह्विल चेयर तथा अन्य स्वास्थ्य सेवा सामग्री हस्तान्तरण गरिएको छ । मानसिक सन्तुलन गुमाएका बालबालिका रहेको बालगृहमा न्यानो कपडा र मानव सेवा आश्रमका आश्रितलाई खाद्यान्न वितरण गरिएको छ । केही स्थानमा रक्तदान कार्यक्रम पनि सञ्चालन गरिएको थियो । छैटौं वार्षिकोत्सवको अवसरमा आयोजना गरिएको दुई साताव्यापी कार्यक्रमअन्तर्गत कम्पनीले आफ्ना अभिकर्ता राजु कर्माचार्यको शब्द, स्वर र संगीत रहेको गीत असोज ६ गते सार्वजनिक गरेको छ । सो अवसरमा कम्पनी स्थापनाकालदेखि कार्यरत कर्मचारी उत्तम अर्याल, सर्वोत्कृष्ट व्यवसाय प्राप्त गर्ने कर्मचारी रामसिंह बस्नेत तथा कम्पनीको तर्फबाट विज्ञताको आधारमा नियमनकारी निकायमा मनोनित भएका कर्मचारी रञ्जु लम्साललाई सम्मान गरिएको छ । कम्पनीले यसबीचमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सहयोग गर्ने शेयरधनी, कर्मचारी, बीमित, अभिकर्ता, नियमनकारी निकाय र सम्बन्धित सबै सरोकारवालामा हार्दिक आभार व्यक्त गर्दै आगामी दिनमा थप प्रभावकारी सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

गोदावरी नगरपालिकाले घर बीमा र कृषि तथा पशुपन्छी बीमालाई जोड दिने

काठमाडौं । गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले कृषि तथा पशुपन्छी बीमा र घरबीमालाई योजनावद्ध किसिमले अगाडि बढाउने प्रतिवद्धता व्यक्त गरेका छन् । बिहीबार नेपाल बीमा प्राधिकरणले आयोजना गरेको ललितपुर जिल्लास्थित गोदावरी नगरपालिकासँग बीमा सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले सो प्रतिवद्धता गरेका हुन् । साथै, प्रमुख महर्जनले राहतको व्यवस्थाले समस्याको समाधान नहुने भएकाले जोखिम हस्तान्तरण गरी आर्थिक सुरक्षण गर्न बीमा नै गर्नुपर्ने बताए । बीमा प्राधिकरणका निर्देशक दिनेश कुमार लालले नगरपालिकाका सेवासँग बीमालाई आवद्ध गर्न आग्रह गर्दै बीमाबाट घर लगायत सम्पत्तिको जोखिम बीमा कम्पनीमा हस्तान्तरण भई आर्थिक सुरक्षण हुने बताए । निर्देशक लालले घटना कतिखेर हुन्छ भन्ने थाहा नहुने भएकाले दुर्घटना बीमा र कृषि तथा पशुपन्छी बीमालाई प्रोत्साहित गर्न तथा विपन्न बर्गको बीमा नगरपालिकाले नै गरिदिने व्यवस्था गर्न आग्रह गरे । गोदावरी नगरपालिकाका जनप्रतिनिधिहरु र कर्मचारीहरु तथा बीमा कम्पनीका प्रतिनिधिहरुको सहभागिता रहेको उक्त कार्यक्रममा नेपाल बीमा प्राधिकरणका उपनिर्देशक निर्मल अधिकारीले बीमा सम्बन्धी समग्र विषयमा प्रस्तुती गरेका थिए । कार्यक्रमको संचालन नेपाल बीमा प्राधिकरणका सहायक निर्देशक निश्चल राज बानियाँले गरेका थिए ।

सिटिजन लाइफका संस्थापक सेयरधनीले १५ दिनभित्र सेयर अभौतिकीकरण गर्नुपर्ने

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीका संस्थापक सेयरधनीले १५ दिनभित्रमा सेयर अभौतिकीकरण गर्नुपर्ने भएको छ । कम्पनीले सेयर सिडिएस एण्ड क्लियरिङमा दर्ता तथा नेप्सेमा सूचीकरणको प्रक्रियामा रहेको हुदाँ संस्थापक सेयरधनीहरुलाई आजको मिति अर्थात असोज ५ गतेबाट १५ दिनभित्रमा सेयर अभौतिकीकरण गराउन आग्रह गरेको हो । जसको लागि सेयरधनीहरुले आवश्यक कागजात सहित कम्पनीको वेबसाइटमा उपलब्ध ‘अभौतिकीकरण गरिदिने फाराम’ भर्नु पर्ने छ । र, अबको १५ दिनभित्र कम्पनीको केन्द्रिय कार्यालय काठमाडौंको थापाथलीस्थित एलएस कम्प्लेक्समा बुझाउनु पर्ने कम्पनीले एक सूचना मार्फत जानकारी गराएको छ ।