कर्मचारीको व्यक्तित्व विकासका लागि सूर्यज्योति लाइफको कर्पाेरेट मिट
काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कर्मचारीको व्यक्तित्व विकासलाई लक्षित गर्दै कर्पाेरेट मिट सम्पन्न गरेको छ । कम्पनीले आफ्नो प्रधान कार्यालयमा कार्यरत कर्मचारीहरुको व्यक्तित्व विकास र उत्प्रेररणालाई मध्यनजर गर्दै धुलिखेलको होटल सारथीमा कर्पोरेट मिट २०८० सम्पन्न गरेको हो । दुुई दिनको कर्पाेरेट मिटको पहिलो दिनमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्रीले कम्पनीको आगामी योजना सम्बन्धी जानकारी गराउँदै यस वर्षको मूल रणनिति ‘गुड टु ग्रेट’ बारे जानकारी गराएका थिए । उनले सबै कर्मचारीहरुले आफ्नो सोच, कार्यशैली ,ग्राहकलाई पस्किने सेवा र सुशासनमा ल्याउनु पर्ने परिवर्तन सम्बन्धि मार्ग निर्देश दिएका थिए । कार्यक्रमको दोश्रो दिन मोटिभेसनल स्पिकर बि के रमण नेपालीले सम्पुर्ण सहभागीहरुलाई अन्तरक्रियात्मक खेलहरु मार्फत व्यक्तित्व विकास सम्बन्धी तालिम दिएका थिए । प्रमुख कार्यकारी अधिकृत खत्रीले सूर्या लाइफ र ज्योति लाइफको ऐतिहासिक सफल मर्जर पश्चात कम्पनी हरेक सुचकहरुमा अव्वल हुदै आइरहेको बताउदै कम्पनीको दुरगामी लक्ष्य प्राप्तिका लागि आफू कटिबद्ध रहेको बताउँदै बिमितको सहज सेवा सुविधालाई अझै चुस्त दुरुस्त बनाउनका लागि आवश्यक कार्यविधिमा तगारुकताका साथ् परिमार्जित गर्दै लैजाने जानकारी दिएका थिए । कम्पनीका सञ्चालक नन्द किशोर शर्माले कर्मचारीहरुको व्यक्तित्व बिकाश र हितका लागि सदैव सञ्चालक समितिको साथ रहेको र कम्पनीले संस्थागत सूसाशनमा जोड दिदै जाने बताएका थिए । उनले नियामक निकाय बीमा प्राधिकरणबाट जारी भएका नीति नियमहरु अनिवार्य पालना गर्नु पर्नेमा जोड दिए ।
बागमती प्रदेशका ३ पालिकामा बीमा प्राधिकरण, बीमा सम्बन्धी कार्य गर्न एउटा कोठा उपलब्ध गराउने
काठमाडौं । महांकाल गाउँंपालिकाका अध्यक्ष गणेश बहादुर के.सी.ले गाउँपालिकाको भवन तयार भएपछि एउटा कोठा बीमा सम्बन्धी कार्यका लागि उपलब्ध गराउने बताएका छन् । असोज ११ गते भएको बीमा सम्बन्धी जानकारीमूलक कार्यक्रममा बोल्दै उनले एउटा कोठा बीमा सम्बन्धी कार्यका लागि उपलब्ध गराउने प्रतिवद्धता जाहेर गरेका हुन् । महांकाल गाउँपालिकाका उपाध्यक्ष डोल्मा माया गोलेले न्यून आय भएका वर्गसहितका सबै नागरिकसम्म बीमाको पहुँच पुर्याउन सम्बद्ध सबै पक्षले जोड दिनुपर्ने बताइन् । यस्तै, बागमती गाउँपालिकाका अध्यक्ष वीरबहादुर लोप्चनले कृषि तथा पशुपन्छी बीमालाई अझै स्पष्ट पार्न र गाउँपालिका क्षेत्रमा बीमा सेवा केन्द्र राख्न आग्रह गरे । कोन्ज्योसोम गाउँपालिकाका उपाध्यक्ष राजन प्रसाद घिमिरेले बीमाको पहुँच वृद्धिका लागि आगामी बजेटमा बीमालाई समावेश गर्ने र सम्बद्ध सबैसँग सहकार्य गर्ने प्रतिवद्धता व्यक्त गरे । साथै, उनले स्वास्थ्य बीमा र कृषि तथा पशुपन्छी बीमामा समस्याहरू रहेको औंल्याए । नेपाल बीमा प्राधिकरणका निर्देशक दिनेश कुमार लालले घटना कतिबेला हुन्छ थाहा नहुने भएकाले गाउँपालिकाका सेवासँग बीमालाई आवद्ध गरेर अनिवार्य गर्न सम्बन्धित गाउँपालिकासँग आग्रह गरे । निर्देशक लालले आर्थिकरूपमा सक्नेलाई बीमा गर्न प्रोत्साहन गर्न तथा विपन्न बर्गको बीमा गाउँपालिकाबाट नै गरिदिने व्यवस्था गर्न सुझाव दिए । उपनिर्देशक निर्मल अधिकारीले बीमाको परिचय, महत्व, बीमा गर्ने विधि, दाबी भुक्तानी प्रक्रिया र बीमाको विकास एवम् पहुँच विस्तारमा स्थानीय तहको भूमिका सम्बन्धी प्रस्तुती गरेका छन् । नेपाल बीमा प्राधिकरणको आयोजनामा ललितपुरका कोन्ज्योसोम गाउँपालिका, महांकाल गाउँपालिका र बागमती गाउँपालिकामा बीमा सम्बन्धी सचेतनामूलक अन्तरक्रिया कार्यक्रम गरेको हो । कार्यक्रममा सहभागीहरूले कृषि तथा पशुपन्छी बीमा प्राविधिकरूपमा जटिल रहेको, बीमा कम्पनीहरूले कृषि बीमा गर्न नमानेको, बीमांकमा एकरूपता नभएको, दाबी भुक्तानी झन्झटिलो रहेको, बीमा कहाँ कसरी गर्ने भन्ने थाहा नभएको लगायतका गुनासाहरू राखेका थिए । यसैगरी, सहभागीहरूले बीमा दाबी भुक्तानीलाई सरल र सहज बनाउन, स्थानीय तहसँग समन्वय गरेर गाउँपालिका क्षेत्रमा बीमा सेवा केन्द्र स्थापना गर्न, बाली बीमालाई अझै स्पष्ट पार्न, विपन्न वर्गसम्म बीमाको पहुँच पुर्याउन, भैंसी र बाख्राको मूल्य निर्धारणमा देखिएको समस्या समाधान गर्न सम्बन्धित सबैको ध्यानाकर्षण गरेका थिए ।
काभ्रेपलाञ्चोकमा दुई हजार छ सय परिवारको निःशुल्क स्वास्थ्य बीमा
काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिकाले एक हजार सात सय ८० परिवारको निःशुल्क स्वास्थ्य बीमा गरेको छ । साठी वर्षदेखि ७० बर्षसम्मका स्थानीय परिवारलाई निःशुल्क स्वास्थ्य बिमा गरेको जनाइएको छ । स्थानीय ३ हजार ७९ परिवारमध्ये दुई हजार छ सय ४८ घरपरिवारको निःशुल्क स्वास्थ्य बिमा पाएका हुन् । यसमध्ये सरकारले आठ सय ६८ परिवार तथा गाउँपालिकाले एक हजार सात सय ८० परिवारको बीमाशुल्क ब्यहोरिएको गाउँपालिका अध्यक्ष दिनेश लामाले बताए । स्वास्थ्य शाखाका अनुसार ५४ पूर्ण अपाङ्गता भएका नागरिकको पनि निःशुल्क बिमा गरिएको छ भने तीन परिवारको महिला स्वयंसेविकाको ५० प्रतिशत सरकारले बेहोर्ने गरी बिमा गरिएको छ । चार सय एक परिवारको भने बिमा शुल्क आफैँले तिरेर बीमा भएको छ । रोशीको जनसङ्ख्यामध्ये ३७ दशमलव ३१ प्रतिशत नागरिकको स्वास्थ्य बीमा भएको छ । हालसम्म रोशीको जनसङ्ख्या २३ हजार सात सय ९० रहेकोमा आठ हजार आठ सय ७८ जनाको स्वास्थ्य बीमा भएको गाउँपालिकाका स्वास्थ्य प्रमुख गैगा श्रेष्ठले बताए । गत आर्थिक वर्षमा जेष्ठ नागरिकको स्वास्थ्यका लागि एक करोड अनुमानित बजेटमध्ये रु ६२ लाख ५४ हजार एक सय खर्च भएको लामाले बताए । ‘रोशीका नागरिकले पैसाको अभावमा स्वास्थ्योपचारबाट वञ्चित नहोउन् भन्ने उद्देश्यले बिमा कार्यक्रममा सामेल गरिएको हो ।’ यसैबीच रोशी गाउँपालिकाले १७ औँ विश्व रेबिज दिवस–२०८० को अवसर पारेर बुधबारदेखि सप्ताहव्यापी रेबिजविरुद्धको निःशुल्क खोप अभियान सुरु गरेको छ । गाउँपालिकमा रेबिजको जोखिम बढेकाले सुरु गरिएको सप्ताहव्यापी खोप अभियानअन्तर्गत कुकुर र बिरालोलाई रेबिजविरुद्धको खोप लगाइनेछ । अभियानमा छ सय कुकुर र छ सय ‘डोज’ खोप बिरालोलाई लगाउने लक्ष्य लिइएको छ । रासस