नयाँ बिजनेस भित्र्याउन ८ कम्पनीबीच देखियो प्रतिस्पर्धा, कसले कति भित्र्याए ?
काठमाडौं । नयाँ बिजनेस ल्याउनमा अधिकांश जीवन बीमा कम्पनीहरुबीच नयाँ बिजनेस ल्याउनमा कडा प्रतिस्पर्धा देखिएको छ । नेपाल बीमा प्राधिकरणको तथ्यांकअनुसार १४ कम्पनीमध्ये ८ कम्पनीबीच नयाँ व्यवसाय भित्र्याउनमा प्रतिस्पर्धा देखिएको हो । जसमा सुर्यज्योति र हिमालयन लाइफ, रिलायबल नेपाल र आईएमई लाइफ, सन नेपाल र मेटलाइफ, एशियन र सानिमा रिलायन्स लाइफ रहेका छन् । गत साउन र भदौ गरी दुई महिनामा तिले नयाँ व्यवसायबाट ३३ करोड ८५ लाख रुपैयाँ प्रिमियम उठाउँदा हिमालयन लाइफले ३३ करोड ५५ लाख रुपैयाँ प्रिमियम उठाएको छ । नयाँ बिजनेसबाट सर्वाधिक प्रिमियम संकलन गर्नेको सूचीमा यी कम्पनी क्रमशः तेश्रो र चौथो स्थानमा छन् । यी दुबै कम्पनी गत आवमा मर्जरमा गएका कम्पनी हुन् । त्यस्तै, रिलायबल नेपालले २१ करोड ४६ लाख ७५ हजार रुपैयाँ बराबरको प्रिमियम उठाउँदा प्रतिस्पर्धी आइएमई लाइफले २१ करोड ४६ लाख ५० हजार रुपैयाँ प्रिमियम नयाँ व्यवसाय मार्फत संकलन गरेको छ । त्यसैगरी, अर्का प्रतिस्पर्धी मेट लाइफ र सन नेपाल लाइफले नयाँ व्यवसाय मार्फत क्रमशः २० करोड २३ लाख र २० करोड ५ लाख रुपैयाँ प्रिमियम उठाएका छन् । त्यस्तै, एशियन र सानिमा रिलायन्स लाइफ बीच पनि कडा टक्कर देखिएको छ । एशियन लाइफले १९ करोड ८७ लाख रुपैयाँ प्रिमियम संकलन गर्दा सानिमा रिलायन्सले १९ करोड ५४ लाख रुपैयाँ प्रिमियम नयाँ बिजनेसबाट संकलन गरेको छ । जीवन बीमा कम्पनीहरुले नयाँ व्यवसायमार्फत कूल ४ अर्ब ३३ करोड ५३ लाख रुपैयाँ बराबरको प्रिमियम संकलन गरेका छन् । सञ्चालित १४ कम्पनीले गत साउन र भदौ महिना भित्रमा सो रकम बराबरको प्रिमियम संकलन गरेका हुन् । जसमध्ये सबैभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्सले संकलन गरेको छ । नेपाल लाइफले नयाँ व्यवसायमार्फत एक अर्ब ८ करोड ४९ लाख रुपैयाँ प्रिमियम संकलन गरेको छ । समीक्षा अवधिमा राष्ट्रिय बीमा संस्थानबाहेक अन्य कम्पनीले १० करोडभन्दा बढी प्रिमियम संकलन गरेका छन् । राष्ट्रिय बीमा संस्थानले भने ७ करोड ६८ लाख रुपैयाँ बराबरको प्रिमियम नयाँ व्यवसायमार्फत उठाएको प्राधिकरणले जानकारी गराएको छ ।
प्रिमियममा सानिमा रिलायन्स र सिटिजनबीच टक्कर, नेपाल लाइफको दोब्बर वृद्धि
काठमाडौं । जीवन बीमा व्यवसाय सञ्चालन गर्दै आएका कम्पनीले गत भदौसम्ममा २९ अर्ब १२ करोड ९८ लाख रुपैयाँ संकलन गरेका छन् । जुन गत वर्षको तुलनामा ११.८५ प्रतिशतले बढी हो । कम्पनीहरुले २०७९ भदौसम्ममा २६ अर्ब ४ करोड ३३ लाख रुपैयाँ संकलन गरेका थिए । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्कअनुसार समीक्षा अवधि अर्थात एक वर्षको अवधिमा जीवन बीमा क्षेत्रबाट ३ अर्ब ८ करोड ६५ लाख रुपैयाँ बढी प्रिमियम संकलन भएको छ । सञ्चालित १४ कम्पनीमध्ये सबैभन्दा बढी प्रिमियम नेपाल लाइफ इन्स्योरेन्सले संकलन गरेको छ । कम्पनीले २०८० भदौसम्ममा ८ अर्ब एक करोड रुपैयाँ प्रिमियम संकलन गरेको छ । जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ४.९२ प्रतिशतले बढी हो । र, बढी प्रिमियम संकलन गर्नेको दोश्रो स्थानमा रहेका राष्ट्रिय बीमा संस्थानको तुलनामा दुई गुणा बढी हो । राष्ट्रिय बीमा संस्थान बिजनेसमा आक्रामक देखिएको छ । २०७९ भदौमा ८३ करोड ८८ लाख रुपैयाँ बराबरको प्रिमियम संकलन गरेको संस्थानले २०८० भदौसम्ममा ३ अर्ब ५६ करोड रुपैयाँ बराबरको प्रिमियम उठाएको छ । जुन प्रतिशतको आधारमा ३२५.३९ प्रतिशतले बढी हो । यता सानिमा रिलायन्स र सिटिजन लाइफ इन्स्योरेन्सबीच बीमाशुल्कमा कडा प्रतिस्पर्धा देखिएको छ । दुई कम्पनी मर्जभएर बनेको सानिमा रिलायन्सले एक अर्ब एक करोड ५९ लाख रुपैयाँ प्रिमियम संकलन गरेको छ भने सिटिजन लाइफले मर्ज बिनै एक अर्ब एक करोड १० लाख रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेको छ । प्रतिशतको आधारमा भने सानिमा रिलायन्सको बिजनेस १२.५५ प्रतिशतले बढेको छ भने सिटिजन लाइफको बिजनेस गत वर्षको तुलनामा ५.०५ प्रतिशतले खस्किएको छ । सर्वाधिक प्रिमियम संकलन गर्नेको सूचीमा भने यी दुई कम्पनी क्रमशः आठौं र नवौं स्थानमा छन् । संकलित प्रिमियमको आधारमा हिमालयन र नेशनल लाइफबीच पनि प्रतिस्पर्धा देखिएको छ । तीन कम्पनी मर्ज भइ बनेको हिमालयनले २ अर्ब ९५ करोड ७९ लाख रुपैयाँ प्रिमियम संकलन गर्दा मर्जरमा नगएको नेशनल लाइफले २ अर्ब ९० करोड ७७ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । सूचीको आधारमा हेर्ने हो भने हिमालयन लाइफ सर्वाधिक प्रिमियम संकलन गर्नेको तेश्रो स्थानमा छ भने नेशनल लाइफ चौथो स्थानमा देखिन्छ । समीक्षा अवधिमा अधिकांश कम्पनीको बिजनेस बढेको छ भने केही कम्पनीको खस्किएको छ । गत वर्षको तुलनामा बिजनेस खस्किएको सूचीमा लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल), नेशनल लाइफ, सूर्यज्योति, सिटिजन, मेट र सन नेपाल लाइफ रहेका छन् । यी कम्पनीको बिजनेस अधिकतम १० प्रतिशतसम्मले घटेको छ । यीमध्ये पनि सन नेपाल लाइफले सबैभन्दा कम बीमाशुल्क आर्जन गरेको छ । समीक्षा अवधिमा कम्पनीले ६३ करोड ७४ लाख रुपैयाँ बराबरको प्रिमियम संकलन गरेको छ । सञ्चालनमा रहेका १४ कम्पनीमध्ये ९ कम्पनीले एक अर्ब बढी प्रिमियम संकलन गरेर अर्बको क्लबमा प्रवेश गरेका छन् भने बाँकी ५ कम्पनी करोडको क्लबमा सीमित छन् । करोडको क्लबमा हुनेमा मेट लाइफ, प्रभु महालक्ष्मी, आइएमई, रिलायबल नेपाल र सन नेपाल लाइफ रहेका छन् ।
नेपाल रिको बोनस सेयर सूचीकृत
काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी (नेपाल रि इन्स्योरेन्स) को बोनस सेयर सूचीकृत भएको छ । इन्स्योरेन्सको ४.७५ प्रतिशत अर्थात ५८ लाख १० हजार ४३७ कित्ता बोनस सेयर नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा सूचीकृत भएको हो । यससँगै उक्त सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा हस्तान्तरण हुने छ । र, दोश्रो बजारमा किनबेच गर्न मिल्ने छ ।