चार इन्स्योरेन्सको नाफा १० करोड बढी, युनाइटेड अजोड आक्रामक

काठमाडौं । चालु आर्थिक वर्ष २०८०/०८१ को पहिलो त्रैमासमा निर्जीवन बीमा कम्पनीहरूले झण्डै १ अर्ब रूपैयाँ बराबरको खुद नाफा गरेका छन् । विकासन्युजलाई प्राप्त विवरण अनुसार असोज मसान्तसम्म १३ वटा निर्जीवन बीमा कम्पनीहरूले ८९ करोड १२ लाख ३९ हजार रुपैयाँ नाफा गरेका हुन् । गत वर्षको असोजमा यी कम्पनीहरुले ६७ करोड ८० लाख ३३ हजार रुपैयाँ खुद नाफा गरेका थिए । गत वर्षको तुलनामा निर्जीवन बीमा कम्पनीहरूले खुद नाफा ११.६७ प्रतिशत बढेको तथ्याङ्कले देखाएको छ । गत असोजसम्म सबैभन्दा धेरै नाफा वृद्धि गर्नेमा युनाइटेड अजोड इन्स्योरेन्स रहेको छ । कम्पनीले १८० प्रतिशत नाफा वृद्धि गरेर ३ करोड ८६ लाख ९९ हजार रुपैयाँ खुद नाफा गरेको हो । यस्तै, राष्ट्रिय बीमा कम्पनीले १५५.६० प्रतिशत नाफा बढाएर १३ करोड ७६ लाख ६५ हजार रुपैयाँ आर्जन गरेको छ । नेपाल इन्स्योरेन्सको १३५.६१ प्रतिशत बढेर १४ करोड ६१ लाख ७६ हजार रुपैयाँ, सगरमाथा लुम्बिनी इन्स्योरेन्सको ९२.७१ प्रतिशत बढेर ५ करोड ७० लाख ५५ हजार रुपैयाँ, सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको ७६.१३ प्रतिशत बढेर १४ करोड ६१ हजार रुपैयाँ खुद नाफा गरेका हुन् । यस्तै, आइजिआई प्रूडेन्सियल इन्स्योरेन्सको ६८ प्रतिशत बढेर ५ करोड ११ लाख रुपैयाँ, एनएलजी इन्स्योरेन्सको ४०.७७ प्रतिशत बढेर ५ करोड १४ लाख ६० हजार रुपैयाँ, सानिमा जिआईसी इन्स्योरेन्सको २४.३९ प्रतिशत बढेर ३ करोड ३७ लाख ७९ हजार रूपैयाँ नाफा गरेका छन् । यस्तै, प्रभु इन्स्योरेन्सको २१.२८ प्रतिशत बढेर ५ करोड ६ लाख ७२ हजार रूपैयाँ, हिमालयन एभरेष्ट इन्स्योरेन्सको १७.८८ प्रतिशत बढेर ५ करोड ३४ लाख ९० हजार रुपैयाँ र शिखर इन्स्योरेन्सको १.३२ प्रतिशत बढेर ११ करोड २४ लाख १४ हजार रुपैयाँ नाफा गरेका हुन् । गत असोजसम्म दुइटा कम्पनीको भने खुद नाफा गरेको छ । गत वर्षको तुलनामा दि ओरिएन्टल इन्स्योरेन्सको ७०.७२ प्रतिशतघटेर १ करोड ४९ लाख रुपैयाँ र नेशनल इन्स्योरेन्सको ९८.२६ प्रतिशत घटेर ३७ लाख ५८ हजार रुपैयाँ मात्रै खुद नाफा गरेका हुन् । पहिलो त्रैमासमा नेपाल इन्स्योरेन्स, सिद्धार्थ प्रिमियर इन्स्योरेन्स, राष्ट्रिय बीमा कम्पनी र शिखर इन्स्योरेन्सको खुद नाफा १० करोडभन्दा बढी छ । 

सूर्यज्योतिका सीईओ खत्रीको नयाँ शैलीले जमेको माहोल

काठमाडौं । तपाईं हामी सबैलाई थाहा छ, कुनै कम्पनी वा संस्थाले कुनै कार्यक्रमको आयोजना गर्यो र त्यहाँ पत्रकारहरूलाई पनि निमन्त्रणा भयो भने त्यस कार्यक्रममा कम्पनीले पत्रकारहरूका प्रश्नको सामना गर्नुु पर्छ । त्यस्तै एउटा कार्यक्रमको आयोजना सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले गर्यो । गत शुक्रबार नेपालकै पहिलो र एक मात्र नयाँ जीवन बीमा योजनाको सुभारम्भ गर्ने भन्दै कम्पनीले पत्रकारलाई जानकारी गरायो । तर, तपाईं हामीले सोचेजस्तो त्यहाँ पत्रकारले प्रश्न गर्नेभन्दा पनि कम्पनीले पत्रकारहरूलाई प्रश्न गर्यो । जसले माहोल मात्रै जमाएन पत्रकारहरूमा पनि बीमा सम्बन्धि सचेतना र बीमा शिक्षाको विषयमा राम्रोसँग जानकारी भयो । कार्यक्रम हलभित्र बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवाल, प्राधिकरणका कार्यकारी निर्देशक राजु रमण पौडेल, प्राधिकरणका उच्च तहका कर्मचारी, सूर्यज्योति लाइफका कर्मचारी र सञ्चालक र पत्रकारहरूसहित करिब दुई/अढाई सय जनाको उपस्थिती थियो । कार्यक्रममा अधिकांश सञ्चारमाध्यममा आवद्ध पत्रकारहरू थिए । कार्यक्रमको सुरुवातमै आफ्नो प्रस्तुति दिन उद्घोषकले सूर्यज्योति लाइफ प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रकाश बिक्रम खत्रीलाई पोडिएममा बोलाए । उनले सबैलाई स्वागत गर्दै आफ्नो प्रस्तुति राख्ने अनुमति मागे । ल्यापटप खोल्दै उनले कम्पनीको पहिलो त्रैमासको वित्तीय विवरणको झलक प्रस्तुत गरे । गत वर्षको पुसमा साविक सूर्य लाइफ र ज्योति लाइफबीच जीवन बीमा कम्पनीहरुमा पहिलो मर्ज भएको बताए । कम्पनीको चुक्ता पुँजी ४ अर्ब ५४ करोड रुपैयाँ, कूल लगानी ३४ अर्ब रुपैयाँ, जीवन बीमा कोष २९ अर्ब ५० करोड रुपैयाँ, नेटवर्थ ६ अर्ब २२ करोड रुपैयाँ, जारी बीमालेख संख्या २२ लाख, १७६ शाखा कार्यालय र सक्रिय रुपमा आवद्ध करिब ९४ हजार अभिकर्ता मार्फत कम्पनीले सेवा प्रवाह गर्दै आइरहेको बताउँदै उनी अर्काे विषयतर्फ मोडिए । ‘विभिन्न कार्यक्रम हुँदा पत्रकारहरूले हामीलाई प्रश्न गर्नु हुन्छ । तर, आज म तपाईंहरूलाई प्रश्न गर्छु,’ उनले त्यसो भनिरहँदा सबै जना पत्रकारहरू अचम्मित बने । सीईओ खत्रीले सबैजनालाई होटलले उपलब्ध गराएको वाईफाई मोबाइलमा कनेक्सन गर्न आग्रह गरे । वाईफाईको युजर आईडी र पासवर्ड सबै टेबलमा प्रिन्ट गरेर राखिएको थियो । सबैले वाईफाई कनेक्सन गरेपछि मेन्टी डटकम वेभसाइट खोल्न लगाए । सो वेभसाइट खोलेपछि कोड नम्बर भने । सो कोड नम्बर उल्लेख गरेपछि सुरुमा एउटा प्रश्न सोधियो, ‘के तपाईंहरूले जीवन बीमा गर्नु भएको छ ? साथै, उक्त प्रश्न ठूलो पर्दामा पनि सबैले देख्ने गरी स्पष्ट देखिएको थियो । साथै, प्रश्नको तलतिर विकल्पको रूपमा उत्तर पनि उल्लेख गरिएको थियो, ‘एस’, ‘नो’ र ‘गर्ने योजनामा छु’ । त्यसपछि ३४ प्रतिशतले बीमा गरेको छु, १२ जनाले गरेको छैन र १ जनाले गर्ने योजनामा छु भनेर उत्तर दिए । उक्त प्रश्नपछि सीईओ खत्रीले अर्काे प्रश्न गरे, ‘नेपाली जनताहरुहरूमा बीमा सचेतनाको अवस्था के छ ? अप्सनमा राखिएको थियो, बढ्दोक्रम, उच्च, मध्यम र न्यून । सर्वेक्षणमा सहभागीहरुमध्ये बढ्दोक्रममा ४५ प्रतिशत, उच्च २ प्रतिशत, मध्यम ३९ प्रतिशत र न्यूनमा १४ प्रतिशत रहेको जवाफ दिए । त्यस्तै, पोलिसी होल्डरको लागि सबैभन्दा महत्वपूर्ण तत्व के हो ? बोनस, रिस्क कभरेज, फोर्स सेभिङ र अन्य । सर्वेक्षणमा सहभागीहरुमध्ये बोनसमा १३ प्रतिशत, रिस्क कभरेजमा ६९ प्रतिशत, फोर्स सेभिङमा १८ प्रतिशत र अन्यमा शुन्य उत्तर दिए । यस्तै, अहिलेको अवस्थामा सबैभन्दा चर्चित प्रडक्ट कुन हो ? जसको उत्तरमा थियो, इन्ड्राउनमेन्ट, मोनि ब्याक, टर्म प्लान र होल लाइफ । सर्वेक्षणमा सहभागीहरुमध्ये इन्ड्राउनमेन्टमा ५५ प्रतिशत, मोनि ब्याकमा २० प्रतिशत, टर्म प्लानमा १० प्रतिशत र होल लाइफमा १५ प्रतिशत उत्तर दिए । यस्तै, अहिलेको अवस्थामा बीमितहरुले कुन बीमाङ्क रकमको पोलिसी खरिद गरिरहेका छन् र औषत प्रिमियम कति छ ? अप्सलमा ६ लाखको बीमाङ्क रकम र वार्षिक ४० हजार प्रिमियम, २० लाखको बीमाङ्क रकम र वार्षिक १ लाख ३० हजार प्रिमियम र २५ लाखको बीमाङ्क र वार्षिक १ लाख ६५ हजार प्रिमियम । सर्वेक्षणमा सहभागीहरुमध्ये अधिकांशले सानो बीमाङ्क रकम र कम प्रिमियम शुल्क भएको बीमा योजना खरिद गरिरहेको जवाफ दिए । ८६ प्रतिशतले ६ लाख, १२ प्रतिशतले २० लाख र २ प्रतिशतले मात्रै २५ लाख बीमाङ्क रकम भएको बीमा योजना खरिद गरिरहेको सर्वेक्षणले देखायो । साथै, कुनैपनि मान्छे बीमा गर्दा आफ्नो सम्पत्ति, कर्जा लगायतको अवस्था हेरेर वा अध्ययन बीमा गर्ने गरेको छ नबुझि बीमा गरिरहेको छ ? भनेर सीईओ खत्रीले प्रश्न गरे । एस, नो र नट स्योर अप्सन राखिएको थियो । सर्वेक्षणमा सहभागी ८० प्रतिशतले आफ्नो सम्पत्तिको सुरक्षा नहेरि बीमा गर्ने गरेकोमा बढी देखिए । उनले अर्काे प्रश्न गरे, जीवन बीमा किन खरिद गर्नु पर्छ ? बोनस, रिस्क कभरेज, फोर्स सेभिङ र अन्य अप्सन थिए । सर्वेक्षणमा सहभागीमध्ये ९८ प्रतिशतले रिस्क कभरेज र २ प्रतिशतले मात्रै बोनसको लागि जीवन बीमा गर्नु पर्ने उत्तर दिए । यस्तै, ग्राहकहरुलाई बैंकको प्रडक्ट जस्तै बीमा प्रडक्टको बारेमा जानकारी छ की छैन ? सहभागीहरुमध्ये ८० प्रतिशतले बीमा प्रडक्टको बारेमा ग्राहकलाई जानकारी नभएको उत्तर दिए । बीमा बुझाउन गाह्रो भएकाले बैंकिङ्ग प्रडक्टभन्दा बीमा प्रडक्टका बारेमा ग्राहकरुलाई जानकारी नभएको जवाफ दिए । जीवन बीमा सामान्य, सबैले खरिद गर्न सक्ने र उच्च कभरेज हुनु पर्छ की नाइ भन्ने प्रश्नमा ९५ प्रतिशतले जीवन बीमा धेरै सरल, सबैले खरिद गर्न सक्ने र सस्तो भएपनि उच्च कभरेज हुनु पर्ने उत्तर दिए । खत्रीको यो नयाँ अभ्यासले कार्यक्रमको माहोल मात्रै जमेन नयाँ सिकाइ र अनुभव पनि प्राप्त भएको धेरैको प्रतिक्रिया थियो । बीमा र बीमाको पहुँच सम्बन्धि सो सर्वेक्षणले केही मात्रामा भएपनि जानकारी भएको धेरैको धारणा थियो । उक्त सर्वेक्षणले नेपालको बीमा बजार कस्तो छ भन्नेबारे प्रष्ट पारेको नेपाल बीमा प्राधिकरणका अध्यक्ष सुर्य प्रसाद सिलवालले बताए । यसबाट जे उत्तर आएको छ, स्थिती पनि ठ्याक्कै त्यहि रहेको उनको भनाइ छ । साथै, सोही सर्वेक्षणलाई मनन गरेर प्रत्येक जीवन र निर्जीवन बीमा कम्पनीहरुलाई अनिवार्य रुपमा बीमा सम्बन्धि जनचेतना कार्यक्रम गर्न निर्देशन दिए ।

सूर्यज्योतिले ल्यायो सही प्लान बीमा योजना, कम प्रिमियममा आजीवन सुरक्षा

काठमाडौं । के तपाईले जीवन बीमा गर्नु भएको छ ?, आफू र परिवारको सुरक्षित भविष्य चाहनु हुन्छ ?, कम बीमा शुल्कमा ठूलो बीमा गरि आजीवन आर्थिक सुरक्षा चाहनु हुन्छ ? अब ढुक्क हुनुहोस् । जीवन बीमा गर्दा कम प्रिमियम शुल्क, धेरै प्रतिफल र आजीवन सुरक्षा दिने गरी सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले ल्याएको छ ‘सही प्लान’ बीमा योजना । ‘सही प्लान’ बीमा योजनाअन्तर्गत प्रिमियम शुल्क तिरेको ६ गुणासम्म कभरेज हुने कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रकाश ब्रिकम खत्रीले बताए । उनका अनुसार प्रिमियम तिर्ने अवधिपश्चात् सम्पूर्ण जीवनको सुरक्षा सो योजनाले गर्नेछ । साथै, सही प्लान योजना खरिद गरेपश्चात् ७० वर्ष पुग्यो भने तिरेको सम्पूर्ण प्रिमियम रकम फिर्ता हुने उनको भनाइ छ । यदि सही प्लान बीमा योजना खरिद गर्दा ३५ वर्ष उमेर भएको ब्यक्तिले १५ वर्ष अवधिका लागि २५ लाख रुपैयाँ बीमा गर्याे भने वार्षिक ४० हजार रुपैयाँ बराबरको प्रिमियम शुल्क भुक्तानी गर्नु पर्ने हुन्छ । सो ब्यक्तिको उमेर ५० वर्ष पुग्दा १५ वर्षको अवधिमा करिब ६ लाख रुपैयाँ प्रिमियम शुल्क शुन आउँछ । तर, १५ वर्षपछि प्रिमियम भुक्तानी अवधि सकिएपनि कभरेज भने आजीवन नै रहने छ । साथै, ७० वर्ष पुगेपछि तिरेको सम्पूर्ण रकम करिब ६ लाख रुपैयाँ फिर्ता हुने सीईओ खत्रीले बताए । त्यसपछि सो ब्यक्तिको परिवारले २५ लाख रुपैयाँ दाबी भुक्तानी प्राप्त गर्नेछ । कम प्रिमियम शुल्कमा आजीवन सर्वाधिक सुरक्षा हुने गरी सुर्यज्योति लाइफले बीमा क्षेत्रमै पहिलो योजना भएको उनको दावी छ । कम प्रिमियममा ठूलो योजना, ७० वर्षको उमेरमा प्रिमियम फिर्ता, सीमित भुक्तानी असीमित कभरेज र परिवारलाई आर्थिक रकम हस्तान्तरण यस योजनाका मुख्य विशेषता रहेको सीईओ खत्रीले बताए । साथै, सही प्लान योजना खरिद गर्दा अतिरिक्त सुविधा अन्तर्गत भविष्यमा आइपर्ने दुर्घटना, अशक्तता, सर्वाधिक घातक रोगहरुविरुद्ध आर्थिक सुरक्षा गर्न सकिने कम्पनीले जनाएको छ । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सुर्य प्रसाद सिलवाल, कार्यकारी निर्देशक राजु रमण पौडेल, सुर्यज्योति लाइफ इन्स्योरेन्सका अध्यक्ष केशव प्रसाद भट्टराई, सीईओ खत्री लगायतको उपस्थितीमा शुक्रबार उक्त योजना सार्वजनिक गरेको हो । बीमा प्राधिकरणका अध्यक्ष सिलवालले सुर्यज्योतिले ल्याएको सही प्लान बीमा योजना बीमा क्षेत्रकै पृथक भएको बताए । कम्पनीले नयाँऔनयाँ योजना ल्याउने गरेकोमा आगामी दिनमा पनि सर्वसाधारणले सहज रुपमा बुझ्ने गरी बीमा योजना श्रृजना गर्नु पर्ने उनको भनाइ छ । जनताले लिन सक्ने परम्परागत पोलिसी भन्दा एकदमै श्रृजनात्मक र भिन्न बिशेषता सहितको योजना ल्याउन उनले बीमा कम्पनीहरुलाई आग्रह गरे । सूर्यज्योतिले ल्याएको सही प्लान बीमा योजना गरीबले कम प्रिमियममा ठुलो बीमा गर्न मिल्ने उनको भनाइ छ । सही प्लान बीमा योजना तयार गर्दादेखि अन्तिम स्वीकृति लिँदासम्म बीमा प्राधिकरणले सहयोग गरेकोमा कम्पनीका अध्यक्ष केशव प्रसाद भट्टराईले धन्यबाद व्यक्त गरे । साथै, सर्वसाधारणले समेत लिन सक्ने योजना पस्कन पाउँदा खुसि लागेको उनको भनाइ छ । कम्पनीका सीईओ खत्रीले सर्वसाधारणलाई आर्थिक भारको जोखिममा सहयोग पुर्याउने सही प्लान योजना ढुक्क भएर खरिद गर्न आग्रह गरे ।