नेपाल इन्स्योरेन्सको लाभांश घोषणा
काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीले लाभांश घोषणा गरेको छ । इन्स्योरेन्स सञ्चालक समितिको मंसिर ९ गते बसेको बैठकले गत वर्षको नाफाबाट १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्ष २०७९/८०को नाफाबाट हाल कायम चुक्ता पुँजी १ अर्ब ४९ करोड ४७ लाख ६५ हजार रुपैयाँको १० प्रतिशत बोनस सेयर र कर प्रयोजन सहित ०.५२६३ प्रतिशत नगद गरी कूल १०.५२६३ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । इन्स्योरेन्स कम्पनीले प्रस्ताव गरेको उक्त लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारणसभाले पारित गरेपश्चात् सेयरधनीहरुलाई वितरण गरिनेछ ।
नेको इन्स्योरेन्सको नाफा १५० प्रतिशत बढेसँगै ईपीएस पनि बढ्यो
काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्ष २०८०÷८१को पहिलो त्रैमासमा खुद नाफा १५० प्रतिशत बढाएर ८ करोड ८० लाख ४३ हजार रुपैयाँ आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ३ करोड ५२ लाख ८६ हजार रुपैयाँ मात्रै खुद नाफा गरेको थियो । गत असोज मसान्तसम्म कम्पनीले ७६ करोड ४७ लाख रुपैयाँ कूल बीमा शुल्क आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ७५ करोड ३८ लाख रुपैयाँ कूल बीमा शुल्क आर्जन गरेको थियो । कम्पनीले गत असोजसम्म २९ करोड २८ लाख रुपैयाँ कूल दावी भुक्तानी गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ३३ करोड ९२ लाख रुपैयाँ कूल दावी भुक्तानी गरेको थियो । समीक्षा अवधिमा कम्पनीको चुक्ता पुँजी २ अर्ब १ करोड २३ लाख रुपैयाँ, महाविपत्ति कोष १० करोड ५७ लाख रुपैयाँ र निर्जीवन बीमा कोष ३ अर्ब ५७ करोड २२ लाख रुपैयाँ पुगेको छ । असोजसम्म कम्पनीको प्रतिसेयर आम्दानी १७.५० रुपैयाँ छ भने प्रतिसेयर नेटवर्थ २११.७१ रुपैयाँ रहेको छ । कम्पनीको मूल्य आम्दानी अनुपात ४६.०६ गुणा छ ।
नेको इन्स्योरेन्सले ८ वटा सवारी बेच्दै
काठमाडौं । नेको इन्स्योरेन्सले पुराना सवारी साधन लिलामीमा बिक्री गर्ने भएको छ । कम्पनीले विभिन्न कम्पनी चालू अवस्थामा रहेका ८ वटा सवारी साधन लिलामीमा बिक्री गर्ने जनाएको छ । कम्पनीले बिक्री गर्न लागेका सवारी जे जस्तो अवस्थामा छ सोही अवस्थामा बिक्री गरिने जनाएको छ । सो सवारी साधन खरिद गर्न इच्छुक व्यक्ति, फर्म, कम्पनी र संस्थाले लिन चाहेको रकम उल्लेख गरी १५ दिनभित्र शीलबन्दी बोलपत्र पेश गर्न कम्पनीले आग्रह गरेको छ ।