सिटिजन लाइफले जित्यो बेष्ट स्ट्राटिजी फर इन्स्योरेन्स स्प्रिडिङ अवार्ड
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले ‘बीमा बिस्तारका लागि उत्कृष्ट रणनीति’ अवार्ड जितेको छ । इण्डियन चेम्बर अफ कमर्सद्वारा आयोजित इमर्जिङ एशिया इन्स्योरेन्स अवार्डको चौंथो संस्करणमा सिटिजन लाइफले बेष्ट स्ट्राटिजी फर इन्स्योरेन्स स्प्रिडिङ अवार्ड जितेको हो । नेतृत्वदायी भूमिका निर्वाह गर्दै बीमको क्षेत्रमा विशेष योगदान पुर्याएका एसिया महादेश भित्रका इन्स्योरेन्स कम्पनीहरुमध्येबाट उत्कृष्टलाई इण्डियन चेम्बर अफ कमर्सले विगत ४ वर्षदेखी उक्त अवार्ड प्रदान गर्दै आएको छ । मुम्बई, महाराष्ट्रमा आयोजित एक भव्य समारोहकाबीच सिटिजन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेललाई उक्त अवार्ड प्रदान गरिएको हो । जीवन बीमा कम्पनी भरिमा बीमा सम्बन्धी सेवा विस्तार र बीमा सचेतना पुर्याउने कार्यमा सबै भन्दा उत्कृष्ट रणनीति अपनाएको कम्पनीको रुपमा सिटिजन लाइफलाई यो पुरस्कार प्रदान गरिएको हो । वि.सं. २०७४ भदौ ७ गतेदेखि नेपाल बीमा प्राधिकरणबाट संचालनको अनुमती पाई वि.सं. २०७४ कार्तिक २ गतेदेखि सञ्चालनमा आएको सिटिजन लाइफ नेपालको फैलदो बीमा क्षेत्रकै उत्कृष्ट बीमा कम्पनी हो । हाल देशभरका १४१ शाखा, उपशाखाहरु र लगभग ६१ हजारभन्दा बढी अभिकर्ताहरुबाट सेवाग्राहीहरुलाई आर्थिक सुरक्षा, लगानी तथा बचतको अवसर दिँदै गुणस्तरीय सेवा प्रवाहमा सिटिजन लाइफ सधैँ तयार रहेको कम्पनीले जनाएको छ ।
एशियन लाईफ इन्स्योरेन्स सम्मानित
काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनीलाई आन्तरिक राजश्व विभागले राष्ट्रिय कर दिवस २०८० को अवसरमा सम्मान गरेको छ । कम्पनीको प्रमुख कार्यकारी अधिकृत दिनेश लाल श्रेष्ठलाई कार्यालय प्रमुख गजेन्द्र प्रसाद यादवले कार्यालयमा बिहीबार आन्तरिक राजश्व कार्यालय पुतलीसडकमा आयोजित एक कार्यक्रमबीच सम्मान् पत्र हस्तान्तरण गरेका हुन् । आन्तरिक राजश्व विभाग अन्तर्गतको आन्तरिक राजश्व कार्यालय पुतली सडकले आर्थिक वर्ष २०७८।०७९ मा कार्यालयको कार्यक्षेत्र अन्तर्गत वित्तीय संस्था क्षेत्रबाट सबैभन्दा बढी आयकर दाखिला गरेकोमा सम्मान् गरेको हो ।
अब जोकोही बीमा अभिकर्ता बन्ने बाटो बन्द
काठमाडौं । अभिकर्ता (एजेन्ट)लाई बीमा क्षेत्रको खम्बाका रूपमा लिइन्छ । बीमा कम्पनीहरूको व्यवसाय धान्ने मेरुदण्ड नै अभिकर्ता हुन् । गाउँ-समाजमा गएर आम सर्वसाधारणलाई राजी गराएर बीमा गराउने काम अभिकर्ताहरूले गर्दै आएका छन् । त्यसैले बीमाको दायरा बढाउनुमा अभिकर्ताको मुख्य भूमिका छ । कुनै समय नेपालमा बीमा अभिकर्ताहरूको संख्या ५ लाखभन्दा बढी थियो । उक्त संख्या धेरै भएको भन्दै नेपाल बीमा प्राधिकरणले गुणस्तरीयतामा जोड दिन विभिन्न क्रियाकलाप गर्दै आएको छ । गत कात्तिकदेखि प्राधिकरणले बीमा अभिकर्ता बन्न परीक्षा प्रणाली कार्यान्वयनमा ल्याएसँगै जोकोही व्यक्ति अभिकर्ता बन्ने बाटो बन्द भएको हो । बीमा ऐन, २०७९मा बीमा मध्यस्थकर्ताले इजाजत प्राप्त गर्नुअघि तोकिए बमोजिमको परीक्षा उत्तीर्ण गरेको हुनुपर्ने प्रावधानअनुसार गत कात्तिक १७ गतेदेखि अनलाइन परीक्षा सुरु गरेको हो । त्यसैले अब अभिकर्ताको इजाजत (लाइसेन्स)का प्राप्त गर्न परीक्षा दिनुपर्ने भएको छ । बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेल गुणस्तरीयता कायम गर्न अभिकर्ताको परीक्षा प्रणाली सुरु गरेको बताउँछन् । कम्पनीहरूको पहिलो अण्डरराइटर अभिकर्ता भएकाले परीक्षा प्रणालीबाट सक्षम व्यक्ति चयन भएर आउने अपेक्षा रहेको उनको भनाइ छ । ‘बीमा कम्पनीहरूमा पहिलो अण्डरराइटर भनेका अभिकर्ता हुन्, अभिकर्ताले नै सबै कुरा बुझेको छैन भने कस्तो अण्डरराइटिङ गर्ला ?, त्यसैले अभिकर्ताको संख्यात्मक वृद्धि भयो, अब गुणस्तरीयता कायम गर्नुपर्छ,’ उनले भने, ‘अभिकर्ता भएपछि एउटा परिवारमा मात्रै बीमा गर्याे, त्यसपछि काम नै नगर्ने अभ्यास देखिन्छ, अब व्यावसायिक अभिकर्ता बन्नुपर्छ भनेर परीक्षा प्रणाली सुरु गरेको हो ।’ गुणस्तरीय अभिकर्ता भएपछि बीमाका बारेमा पनि थप सचेतना बढ्ने उनको भनाइ छ । जीवन बीमा कम्पनीको मार्केटिङको पहिलो हस्ती भएकाले सक्षम अभिकर्ताले बीमाका बारेमा बीमितलाई बुझाउन सक्ने उनले बताए । साथै, बीमा दाबी भुक्तानी गर्दा अभिकर्ताले भरेका फर्महरू नै आधार मानिने भएकाले परीक्षा प्रणालीबाट कुशल व्यक्ति छनोट हुन सक्ने उनको बुझाइ छ । ‘जीवनमा बीमामा मेडिकल र फाइनान्सको अण्डरराइटिङको समस्या देखिन्छ, सबैभन्दा नजिक भएर चिन्ने भनेको अभिकर्ताले हो, क्वालिटी मेन्टन गर्न अभिकर्ताको जाँच लिने गरेका हौं, पहिलो चरणमा १ सय जनाले जाँच दिएका थिए, ६९ जनाले मात्रै परीक्षा पास गरे, अब विस्तारै सुधार हुँदै जान्छ, तालिम दिएरमात्रै अभिकर्ता बनाउने चलन छ, परीक्षा प्रणालीले पनि केही सुधार हुने अपेक्षा छ,’ कार्यकारी निर्देशक पौडेलले भने । पछिल्लो समय आर्थिक मन्दीका कारण धेरै अभिकर्ता भयो भने बीमा पनि धेरै हुने अनुमान छ । यसरी परीक्षा प्रणालीले नयाँ अभिकर्ताको आकर्षण कम भएर बीमा व्यवसाय घट्ने हो कि भन्ने चिन्ता पनि भइरहेको छ । तर, दीर्घकालमा बीमा क्षेत्रको सुधारका लागि उक्त कदम चालेको उनको भनाइ छ । ‘आर्थिक गतिविधि नहुँदा बीमाको बजार खस्किएको छ, धेरै अभिकर्ता भएपछि केही विस्तार हुन्थ्यो की भन्ने लाग्न सक्छ तर, आगामी दिनमा सुधार गर्न प्रक्रिया अघि बढाएको हो,’ उनले भने । कुनै समय ५ लाख अभिकर्ता रहेको प्राधिकरणको आँकडा थियो । तर, सक्रिय अभिकर्ताको संख्या भने डेढ लाख मात्रै थियो । छिमेकी मुलुक भारतमा अभिकर्ता बन्न धेरै गाह्रो छ । नेपालमा सजिलो प्रक्रिया भएपछि विकृति बढेको प्राधिकरणको अनुमान छ । ‘अभिकर्ता अध्ययनशील भयो भने त्यही अनुसारको बीमामा स्वस्थ प्रतिस्पर्धा हुनेछ, जीवन बीमा देखिएका विकृति कम हुन्छन्,’ उनले भने । पेसागात बीमा अभिकर्ता संघ (एलआईसी) नेपालको अध्यक्ष नरबहादुर घर्ती पनि अभिकर्ता बन्न परीक्षा प्रणाली आवश्यक रहेको बताउँछन् । अस्वस्थ प्रतिस्पर्धा हटाउन परीक्षा प्रणाली आवश्यक रहेको उनको भनाइ छ । ‘अभिकर्ताहरूले आफ्नो दायित्व पुरा गर्न सकेनन्, कुनै रेस्पोन्सिबिलिटी पनि छैन, जस्तो पायो त्यस्तो व्यक्ति एजेन्ट बनेका छन्, कुनै एजेन्ट त एसएलसी पनि पास नगरेका छन्, परीक्षा प्रणाली हुँदा पेसेवररूपमा मान्छेहरू आउँछन्, महत्व बढ्छ,’ उनले भने । अभिकर्ता भनेको पहिलो आधार भएकाले जोकोही अभिकर्तासँग बीमा गराउँदा बीमितको रकम जोखिममा रहेको उनको भनाइ छ । परीक्षा प्रणालीबाट सक्षम व्यक्ति आउने भएकाले विश्वास पनि बढ्दै जाने उनले बताए । ‘जस्तो पायो त्यस्ता व्यक्तिलाई एजेन्ट बनाउनु हुँदैन, अब व्यवस्थित भएपछि एजेन्टको महत्व बढ्छ, फुटपातको मान्छे एजेन्ट बनेका छन्, जसको कुनै सामाजिक दायित्व छैन, राम्रोसँग अक्षर पढ्न नजान्ने मान्छे पनि एजेन्ट छन्, शुद्ध नेपाली लेख्न पनि जान्दैनन्, त्यस्ता व्यक्तिहरूले पैसा लगेर खायो भने कसले जिम्मेवारी लिन्छ,’ उनले भने, ‘जागिर खान गयो भने सर्टिफिकेट देखाउनुपर्छ भने यो त करोडौं रुपैयाँको कारोबार हुने क्षेत्र हो ।’ उनका अनुसार केही एजेन्सी म्यानेजरले आफ्नो श्रीमतिलाई समेत पनि एजेन्ट बनाएका छन् । त्यसैले अब परीक्षा प्रणालीले बीमा क्षेत्रमा भएका गलत अभ्यास रोक्न विश्वास उनले लिएका छन् । साथै, राम्रो व्यक्तित्व भएका, केही गरौं भन्ने भावना भएका, दायित्व भएको व्यक्ति अभिकर्ता बन्नुपर्ने उनको भनाइ छ । पेसागत अभिकर्ता संघका अध्यक्ष केदारनाथ अधिकारी संख्यात्मक वृद्धि भएकाले अभिकर्ताको संख्या कम गराउन परीक्षा प्रणाली ठिकै भएको बताउँछन् । साथै, अभिकर्ताको संख्या धेरै भएकाले प्राधिकरणले समेत नियमन गर्न नसकेको उनको भनाइ छ । ‘अभिकर्ताको संख्यात्मक पहुँच धेरै छ, त्यसकारण तत्काल अभिकर्ताको संख्या कम गराउन परीक्षा प्रणाली ठिकै हो, बीमा प्राधिकरण स्वयमले लाइसेन्स र तालिम दिन नसकिरहेको बेलामा अभिकर्ता नियुक्ति र नियमन फितलो भइरहेको छ, परीक्षा प्रणालीले दीर्घकालमा सकारात्मक प्रभाव पार्नेछ,’ उनले भने । भविष्यमा गुणस्तरीय अभिकर्ताहरू बजारमा आउने उनको भनाइ छ । उनका अनुसार डेढ अर्ब जनसंख्या भएको भारतमा १२ लाखमात्रै अभिकर्ता छन् । तर, ३ करोड जनसंख्या भएको नेपालमा २ लाख अभिकर्ता हुनु नै इनफ हुने उनको धारणा छ ।