डिजिटल बैंकिङमा कुमारी बैंकको नयाँ फड्को, मास्टरकार्ड सेवा सुरु

काठमाडौं । कुमारी बैंकले मास्टरकार्ड सेवा सुरु गरेको छ । बैंकले बिहीबार (आज) एक कार्यक्रमबीच मास्टरकार्ड सेवाको औपचारिक रूपमा सुरु गरेको हो । यसअघि बैंकले भिजाकार्ड प्रयोगमा ल्याइरहेको भए तापनि ग्राहकहरूको माग र आवश्यकतालाई मध्यनजर गर्दै थप सेवाको रूपमा मास्टरकार्ड सेवा सुरु गरेको जनाएको छ ।  मास्टरकार्डको अन्तर्राष्ट्रिस्तरमा ठूलो ब्राण्ड भएको हुँदा यसले ग्राहकलाई सेवा छनोटको अवसर प्रदान गर्ने बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) रामचन्द्र खनालले बताए । साथै उनले विश्वव्यापी भुक्तानी समाधानले बैंकको सेवा क्षमतामा थप वृद्धि गर्ने बताएका छन् । सीईओ खनालका अनुसार यो कार्ड नेपाल र भारत दुवै ठाउँमा अनलाइन भुक्तानी र पीओएस मेसिनहरूमा प्रयोग गर्न सकिन्छ । बैंकले हाल नयाँ क्याम्पेनअन्तर्गत पहिलो वर्षका लागि वार्षिक शुल्क निःशुल्क गरेको छ ।  सीईओ रामचन्द्र खनाल । सामान्यतया यसको शुल्क वार्षिक ५०० रुपैयाँ हुने सीईओ खनालले बताए । उनका अनुसार एटीएमबाट पैसा निकाल्दा लाग्ने शुल्क र कारोबारको सीमाको हकमा नेपाल राष्ट्र बैंकले तोकेको नियम नै लागु हुनेछ । राष्ट्र बैंकको निर्देशनअनुसार एक व्यक्तिले एउटै बैंकबाट दुईवटा डेबिट कार्ड (अर्थात् भिजा र मास्टरकार्ड दुवै) लिन पाउँदैनन् । त्यसैले ग्राहकले यी दुईमध्ये कुनै एउटा मात्र रोज्नुपर्ने हुन्छ । बैंकले गत वर्षदेखि नै आफ्ना एटीएमहरूमा मास्टरकार्ड स्वीकार गर्दै आएको र अब आफ्नै कार्ड जारी गरेसँगै ग्राहक सेवामा थप सहज हुने विश्वास बैंकले लिएको छ । पछिल्लो समय बढ्दै गएको डिजिटल ठगीबाट बच्न आफ्नो पिन ओटीपी वा कार्डको विवरणहरू कसैलाई नदिन र अनधिकृत वा शंकास्पद वेबसाइटहरूमा कार्ड प्रयोग नगर्न पनि बैंकले अनुरोध गरेको छ । कार्ड प्रयोग गर्दा जहिले पनि सचेत रहन र आधिकारिक ठाउँमा मात्र विवरणहरू दिन बैंकको सुझाव छ । विगत २४ वर्ष देखि निरन्तर बैंकिङ सेवा दिँदै आएको कुमारी बैंकले अनवरत रूपमा विद्युतीय कारोबारमार्फत बैंकिङ सेवालाई प्राथमिकता दिँदै आएको छ । हाल बैंकको देशभर २९७ शाखा सञ्जाल, ३१५ एटिएम, ४६ एक्सटेन्सन काउन्टर तथा ४८ शाखा रहित बैंकिङ ईकाईहरूमार्फत ग्राहकवर्गलाई सेवा दिँदै आएको छ । थप तस्बिरहरू : नरेश बोहोरा/विकासन्युज

सानिमा बैंक केयर रेटिङबाट उत्कृष्ट रेटिङ प्राप्त

काठमाडौं । सानिमा बैंक लिमिटेडले चैत्र २ गते केयर इडिज रेटिङ नेपालबाट उच्च मूल्याङ्कन रेटिङ प्राप्त गरेको छ । बैंकले विश्वसनीयता, वित्तीय स्थिरता र जिम्मेवार बैंकिङ प्रतिको समर्पणलाई सुदृढ गर्दै यो सम्मान हासिल गरेको हो । सानिमा बैंक हाल सातै प्रदेशमा १३४ वटा शाखा कार्यालय र १२८ वटा एटिएममार्फत सेवा प्रदान गर्दै आएको छ । बैंकले वित्तीय क्षेत्रमा आफ्नो दिगो र पारदर्शी सेवा प्रवाहलाई निरन्तर जारी राख्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

राष्ट्रिय वाणिज्य बैंकको ‘आरबीबी फोनलोन’ सेवा सुरु, बिना धितो एक लाखसम्म कर्जा

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले मोबाइल एप ‘आरबीबी डिजिटल संसार’ मार्फत प्रयोग गर्न मिल्ने डिजिटल लेन्डिङ सेवा ‘आरबीबी फोनलोन’ सञ्चालनमा ल्याएको छ । उक्त सेवा कार्यान्वयनका लागि राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र फोनलोन प्राइभेट लिमिटेडबीच सम्झौता सम्पन्न भएको बैंकले जनाएको छ । आरबीबी फोनलोन सेवामार्फत ग्राहकहरूले बिना धितो, बिना कागजी प्रक्रिया तथा बैंकमा भौतिक रूपमा उपस्थित नभई हाललाई एक लाख रुपैयाँसम्म कर्जा लिन सक्नेछन् । यो सुविधा बैंकमा तलबी खाता भएका ग्राहकहरूले खाताको कारोबारका आधारमा प्राप्त गर्नेछन् । कर्जा लिन इच्छुक ग्राहकहरूले आफ्नो खातासँग दर्ता भएको मोबाइल बैंकिङ सेवा प्रयोग गरी ‘आरबीबी डिजिटल संसार’ एपमार्फत आवेदन दिनुपर्नेछ । आवेदनपछि बैंकले आवश्यक प्रक्रिया पूरा गरी कर्जा स्वीकृत गर्ने व्यवस्था गरिएको छ ।