भारतमा प्रचलनमा आएको ५०० र दुई हजार दरका नयाँ नोट नेपालमा नचल्ने
काठमाडौं ,९ मंसिर । भारतमा प्रचलनमा आएको ५०० र दुई हजार दरका नयाँ नोट नेपालमा नचल्ने भएको छ । नेपालमा भारतीय ५०० र दुई हजारका नयाँ नोटहरु देखिन थालेपछि नेपाल राष्ट्र बैंकले ति दरका नोटहरु नचल्ने बताएको हो । “नयाँ भारतीय ५०० र दुई हजार दरका नोटहरु नेपालमा कारोबार हुन सक्तैन”, राष्ट्र बैंकका प्रबक्ता नारायण पौडेलले भने —“जवसम्म भारतको केन्द्रिय बैंक रिजर्व बैंक अफ इन्डिया (आरवीआई) ले ‘फरेन एक्चेञ्ज म्यानेजमेन्ट एक्ट’ अन्तरर्गत विदेशी विनिमय सम्बन्धी परिपत्र (फेमा नोटिफिकेशन) जारी गदैन तव सम्म नेपालमा ति दरका नोटहरु चल्दैनन् ।” फेमा नोटिफिकेशन जारी गरेपछि मात्र भारतीय ५०० र दुई हजारले नेपालमा वैधानिकता पाउँछ । भारतले भुटान र नेपालमा निश्चित परिमाणसम्म भारु बोक्न तथा कारोबार गर्न सक्ने गरी ‘फेमा नोटिफिकेशन’ जारी गर्ने गर्दछ । “ नोटिफिकेसन जारी गरेपछि मात्र नेपालमा भारतीय नयाँ नोटहरु चल्ने गर्दछन् ”,प्रबक्ता पौडेलले भने । पहिले पनि एक हजार र ५०० दरका नोट चल्दा भारतले फेमा नोटिफिकेसन जारी गरेपछि मात्र नेपालमा ति दरका नोटहरु चलेका थिए । भारतले हाल पुरानो ५०० र एक हजार दरका नोटहरुमा प्रतिबन्ध लगाइसकेको छ । पौडेलका अनुसार ‘फेमा नोटिफिकेशन’ नआउँदासम्म भारु ५०० र दुई हजारको नोटको कारोबार तथा प्रयोग गैह्रकानुनी हुनेछ । अहिले नेपालमा एक सय भन्दा मुनीका भारतीय नोटहरु मात्र चलनचल्तिमा रहेका छन् ।
विद्यालय पनर्निर्माण गर्न नविल बैंक कर्मचारीको ४ लाख सहयोग, अध्यक्ष पौडेल भवन शिलान्यास
काठमाडौं, ८ मंसिर । नबिल बैंकका कर्मचारीहरुले सिन्धुपाल्चोकको फाटकशिला माध्यमिक विद्मालयलाई भवन निर्माणको लागि ४ लाख १ हजार ७८३ रुपैयाँ सहयोग प्रदान गरेका छन् । सो विद्यालयको भवन २०७२ साल बैशाखमा गएको विनासकारी भूकम्पले भत्किएको थियो । विद्यालय भवन पुनर्निर्माणको लागि नबिल बैंकका कर्मचारीहरुले आफ्नो तलबबाट कट्टा गरी उक्त सहयोग प्रदान गरेको बैंकले जनाएको छ । बैंकका अध्यक्ष शम्भुप्रसाद पौड्यालले फाटकशिला माध्यमिक विद्मालयको प्रधानाध्यापक ईश्वर चौलागा“ईलाई सहयोग रकम हस्तान्तरण गर्दै भवन निर्माणको लागि शिलान्यास समेत गरेका छन् । त्यस अवसरमा सहायक महा– प्रबन्धकहरु रमेशप्रसाद लोहनी र विनय कुमार रेगमीका साथै बैंकको कर्मचारी सघंका पदाधिकारीहरु लगायत अन्य कर्मचारीहरु सहभागि थिए । बैंकका कर्मचारीहरुको तर्फबाट भूकम्पबाट आफ्नो बास गुमाउन पुगेका पीडित परिवारहरुको अस्थायी बसोबासका लागि नबिल बैंकका कर्मचारीहरुले सिन्धुपाल्चोक जिल्ला, भिमटार गा.बि.स. वडा नंं ९ तथा दोलखा जिल्ला, सुनखानी गा.वि.स. वडा नंं. ३ का भुकम्प पीडितहरुलाई राहत सामग्री वितरण गरिएको बैंकका सहायक महाप्रबन्धक रमेशप्रसाद लोहनीले जानकारी दिएका छन् ।
गुहेश्वरी मर्चेण्ट बैकिङ्ग एण्ड फाइनान्सलार्इ वर्षको उत्कृष्त करदाता
काठमाडौं, ८ मंसिर । आन्तरिक राजस्व कार्यालय ललितपुरले आयकर तर्फ गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्सलाई आर्थिक वर्ष २०७१/०७२ मा सबैभन्दा बढी कर दाखिला गरेकोले उत्कृष्त करदाताको रुपमा सम्मानित गरिएको छ । संस्थाको तर्फबाट महाप्रबन्धक दिनेशलाल श्रेष्ठले उक्त उत्कृष्त करदाता पुरस्कार प्राप्त गरेका छन् । फाइनान्सले गत वर्ष कुल नाफा २ करोड २९ लाख रुपैयाँ आर्जन गरेको छ । यस फाइनान्सले हाल निक्षेप २ अर्व ७ करोड तथा कर्जा लगानी १ अर्व ८६ करोड परिचालन गरेको छ । यस फाइनान्सले ५० हकप्रद शेयर जारी गर्ने र त्यसपछि १२ प्रतिशत बोनस शेयर जारी गरी चुक्ता पूँजी ४९ करोड ३५ लाख रुपैयाँ पुर्याउन लागेको जनाएको छ ।