आस्वा प्रणालीमा सहभागि हुन वाणिज्य बैंकहरु र विकास बैंकहरुलाई धितोपत्र बोर्डको आह्वान
काठमाडौं, ११ मंसिर । नेपाल धितोपत्र बोर्डले आगामी माग १ गतेदेखि आस्वा प्रणाली लागू गर्न लागिएको भन्दै सो प्रणालीमा भाग लिन वाणिज्य बैंकहरु र विकास बैंकहरुलाई आह्वान गरेको छ । बोर्डले आस्वा प्रणालीमा सहभागी भई सेवा दिन इच्छुक बैंक/वित्तीय संस्थाहरुलाई यथाशीघ्र निवेदन दिन आग्रह गरेको छ । नेपाल राष्ट्र बैंकले तोकेको न्यूनतम चुक्ता पूँजी कायम गरेको, प्रति शेयर चुक्ता पूँजी भन्दाप्रति शेयर नेटवर्थ बढी भएको, कम्तीमा पाँचवर्ष सञ्चालनमा रहेको, कम्तीमा पछिल्लो दुई वर्ष खुद नाफामा सञ्चालनमा रहेको,(ग) निष्कृय कर्जा पाँच प्रतिशत भन्दा कम रहेको, नेपाल राष्ट्र बैंकबाट समस्याग्रस्त घोषणा भएको भए त्यसको फुकुवा भएको तीनवर्ष पूरा भएको, काठमाण्डौं उपत्यका भित्र कम्तीमा चारवटा शाखा कार्यालय भएको, धितोपत्रको सार्वजनिक निष्काशन गरी सूचीकृत भएको, बैंक÷वित्तीय संस्थाको प्रबन्धपत्र वा नियमावलीमा धितोपत्र खरिदको दरखास्त संकलन सम्बन्धी कार्य गर्न सक्ने व्यवस्था उल्लेख भएको वाणिज्य बैंकहरु र राष्ट्रिय स्तरको विकास बैंकहरुले आवदन गर्न सक्ने बोर्डले जनाएको छ । धितोपत्रको सार्वजनिक निष्काशन कार्यलाई छिटो छरितो र पारदर्शी बनाई सर्वसाधारण लगानीकर्ताहरुले सहज रुपमा धितोपत्र खरीद गर्न सक्ने व्यवस्था गर्ने उद्देश्यले बोर्डबाट स्वीकृत धितोपत्र खरिद (सार्वजनिक निष्काशन) सम्बन्धी निर्देशिका, २०७३ वमोजिमको आश्वा (बैंकमा रहेको निक्षेप बल्क गरि सेयर आवेदन गर्न मिल्ने विधि) प्रणाली २०७३ माघ १ देखि लागू गर्ने निर्णय गरेको छ । यस प्रणालीको कार्यान्वयनबाट मुख्यतःलगानीकर्ताहरु सहित सम्बन्धित सबै लाभान्वित भई प्राथमिक बजारमा एउटा संरचनात्मक सुधार हुने बार्डले अपेक्षा राखेको छ ।
कामना विकास बैंक र सेवा विकास बैंकबीच मर्जर सम्झौता, क्रमशः २२ र १९ प्रतिशत बोनस सेयर दिने घोषणा
काठमाडौं, ११ मंसिर । कामना विकास बैंक र सेवा विकास बैंक मर्ज हुने भएका छन् । पोखरामा केन्द्रीय कार्यालय भएको कामना र बुटवलमा केन्द्रीय कार्यालय रहेको सेवा मर्ज भई राष्ट्रिय स्तरको विकास बैंक बन्न लागेका हुन् । दुई विकास बैंकबीच मर्ज गर्ने सम्बन्धि सैद्धान्तिक सहमति पत्रमा शुक्रबार हस्ताक्षर भएको छ । कामना विकास बैंकका अध्यक्ष राजेन्द्र नीधि कोइराला र सेवा विकास बैंकका अध्यक्ष भीमप्रसाद तुलाचनले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । मर्जपछि बैंकको नाम कामना सेवा विकास बैंक हुनेछ । सो बैंकको अध्यक्ष कामना विकास बैंकका कोइराला हुने छन् भने प्रमुख कार्यकारी अधिकृत सेवा विकास बैंकका महेशप्रसाद काफ्ले हुनेछन् । मर्जपछि बैंकको चुक्ता पुँजी १ अर्ब ८ करोड ७१ लाख रुपैयाँ हुनेछ । हाल कामनाको चुक्ता पुँजी ६६ करोड १६ लाख रुपैयाँ छ भने सेवा विकास बैंकको सेयर पुँजी ४२ करोड ५५ लाख ५५ हजार रुपैयाँ छ । चालु आर्थिक वर्षको अन्त्यसम्ममा चुक्ता पुँजी २ अर्ब ५० करोड रुपैयाँ पुर्याउने लक्ष्य राखिएको छ । कामना विकास बैंकले २२ प्रतिशत बोनस सेयर र ३० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने घोषण गरिएको छ । त्यस्तै, सेवा विकास बैंकले १९ प्रतिशत बोनस सेयर र १२० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने घोषणा गरिएको छ । दुबै बैंकले प्रस्ताव गरेको बोनस र हकप्रद सेयर निष्काशनपछि चुक्ता पुँजी २ अर्ब ६ करोड ६३ लाख ७४ हजार रुपैयाँ हुने कामना विकास बैंकका अध्यक्ष कोइरालाले बताए । राष्ट्र बैंकले तोकेअनुसार राष्ट्रिय स्तरको विकास बैंकको चुक्ता पुँजी २ अर्ब ५० करोड रुपैयाँ पुर्याउनको लागि उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्ज गर्न पनि सकिने उनले बताए । मर्ज भएन भने चालु आर्थिक वर्षको नाफाबाट बोनस सेयर वितरण गरी पुँजी वृद्धि गर्न सकिने उनको भनाई छ । मर्जपछि बैंकमा निक्षेप ११ अर्ब ५५ करोड, कर्जा १० अर्ब ८४ करोड, रिर्जभ ५९ करोड १५ लाख, शाखा ४० वटा, ग्राहक संख्या १ लाख ५६ हजार र कर्मचारी २८४ जना हुने बैंकले जनाएको छ ।
स्ट्याण्डर्ड चार्टर्ड बैंकले ३३.३३ प्रतिशत बोनस सेयर दिने, ३ अर्ब ३३ करोड पुँजी थप्न नयाँ सेयर जारी गर्ने
काठमाडौं, १० मंसिर । स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालले आफ्ना सेयरधनीलाई ३३.३३ प्रतिशत बोनस सेयर दिने भएको छ । मंसिर ८ गते बसेको बैंक सञ्चालक समितिले उक्त निर्णय गरेको हो । बैंकले लाभांश कर प्रयोजनको लागि सेयरधनीलाई १.७५ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । साथै, बैंकले चुक्ता पुँजी आठ अर्ब रुपैयाँ बनाउनको लागि प्रिमियम मूल्य सहित ३ अर्ब ३३ करोड रुपैयाँ बराबरको नयाँ सेयर निष्काशन गर्ने भएको छ । बैंकले मंसिर ३० गतेको लागि साधारणसभा बोलाएको छ । साधारणसभाबाट प्रिमियम मूल्यमा थप सेयर निष्काशन गर्ने विधि, प्रक्रिया र मूल्य तय गर्ने अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव अगाडि सारिएको छ । हाल बैंकको चुक्ता पुँजी ३ अर्ब ७५ करोड रुपैयाँ छ । गत वर्षको नाफाबाट १ अर्ब २४ करोड रुपैयाँको बोनस सेयर दिने भएको छ । बोनस सेयर वितरण पछि बैंकको चुक्ता पुँजी करिब ५ अर्ब रुपैयाँ हुनेछ । नयाँ सेयर निष्काशन र चालु आर्थिक वर्षको नाफाबाट बोनस सेयर वितरण गरी बैंकले चुक्ता पुँजी ८ अर्ब रुपैयाँ पुर्याउन लागेको छ ।