सिद्धार्थ बैंकलाई भिसाको एक्सिलेन्स इन ड्राइभिङ्ग इनोभेसन पुरस्कार, पहिलो पटक नेपाली बैंकलाई
काठमाडौं । भिसाले आफ्नो एक्सिलेन्स इन ड्राइभिङ्ग इनोभेसन पुरस्कारबाट सिद्धार्थ बैंकलाई सम्मानित गरेको छ । अन्तर्राष्ट्रिय स्तरको यस पुरस्कारबाट सम्मानित हुने सिद्धार्थ बैंक पहिलो नेपाली वाणिज्य बैंक हो । सिद्धार्थ बैंकले ग्राहकहरुका आवश्यकताहरुलाई सुक्ष्म रुपमा अध्ययन गर्दै विभिन्न प्रकारका कार्डहरु जारी गर्ने, जारी गरिएका कार्डहरुमा थप सुविधाहरु वृद्धि गर्दै जाने एवं नविनतम सोचहरुलाई कार्यान्वयनमा ल्याउँदै, कार्ड व्यवस्थापनमा दक्षता अभिवृद्धि गर्दै आएको फलस्वरुप यो पुरस्कार प्राप्त गरेको हो । सिद्धार्थ बैंकको सिद्धार्थ भिसा क्रेडिट कार्ड र यूनो इन्टरनेट भेन्चरर्स डिस्काउन्ट कार्डका विभिन्न विशेषताहरुलाई समावेश गरी हाल सञ्चालनमा ल्याइएको सिद्धार्थ यूनो क्रेडिट कार्डका ग्राहकले यस कार्ड मार्फत् यूनोका देशभरी रहेका ३५० भन्दा बढी साझेदार केन्द्रहरुमा वस्तु तथा सेवा खरिद गर्दा १० देखि ४० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् । यस क्रेडिट कार्डको प्रयोगबाट ग्राहकहरुले वस्तु तथा सेवाको खरिदमा आकर्षक छुटको सुविधा प्राप्त गर्ने हुँदा यस क्रेडिट कार्डको प्रयोगले नगद रहित कारोबारलाई प्रोत्साहन गर्ने छ भन्ने बैंकको विश्वास रहेको छ । सिद्धार्थ बैंकबाट हुने कुल कारोबार संख्याको ३० प्रतिशत भन्दा बढी कारोबार नगद रहित कारोबार हुने गरेको छ । क्रेडिट कार्ड संगै सिद्धार्थ बैंकले आफ्ना ग्राहकहरुलाई मेडिकल प्रिपेड कार्ड, इन्टरनेशनल ट्राभल कार्ड, स्टुडेन्ट प्रिपेड कार्ड लगायत विभिन्न डेबिट तथा प्रिपेड कार्ड सुविधाहरु प्रदान गर्दै आएको छ । बैंकले हालसम्म १६०,००० भन्दा बढी भिसा कार्डहरु जारी गरिसकेको छ । हाल सिद्धार्थ बैंकले ७० शाखा, २ एक्स्टेन्सन काउन्टर, ९० एटीएम, १ मोबाइल एटीएम, ७० शाखारहित बैंकिङ्ग सेवा केन्द र ४०० भन्दा बढी एइक् मेसिनद्वारा सेवा प्रदान गर्दै आएको छ ।
गोप्य सूचना चुहाएर सेयर किनबेच गर्ने एभरेष्ट इन्स्योरेन्सको सेयर कारोबार बन्द
काठमाडौं । नेपाल धितोपत्र बोर्डले एभरेष्ट इन्स्योरेन्स कम्पनीको सेयर कारोबार रोक्का गरेको छ । मंगलबार बोर्डको पत्र पाएपछि नेप्सेले एभरेष्ट इन्स्योरेन्सको सेयर कारोबार रोकेको हो । धितोपत्र बोर्डको छानबिन नटुगिंदासम्म सेयर कारोबार नखुल्ने नेपाल स्टक एक्सचेञ्जका सहायक प्रवक्ता मुरारी पराजुलीले बताए । बोनस, हकप्रद र साधारणसभा सम्बन्धि जानकारीहरु सार्वजनिक हुनु पहिले चुहावट भएको भन्दै बोर्डले अनुसन्धानका लागि कारोबार रोक्का गर्न नेप्सेलाई निर्देशन दिएपछि कारोबार बन्द भएको हो । ६ वर्षपछि साधारण सभा बोलाएको एभरेष्ट इन्स्योरेन्सले २० प्रतिशत बोनस र ६०० प्रतिशत हकप्रद सेयर प्रस्ताव गरेको छ । उक्त सूचना सार्वजनिक हुनु पहिले नै बजारमा चुहावट भएको भन्दै धितोपत्र बोर्डले एभरेष्ट इन्स्योरेन्सको सेयर कारोबार रोक्का गर्न नेपाल स्टक एक्सचेञ्जलाई निर्देशन दिएको छ । गोप्य सूचना चुहाएर सेयरको मुल्य बढाएको प्रारम्भिक अनुसन्धानबाट देखिएपछि एभरेष्टको सेयर कारोबार रोकिएको नेपाल धितोपत्र बोर्डका सहायक प्रवक्ता निरञ्जय घिमिरेले बताए । बोर्डको पत्र प्राप्त हुनासाथ नेप्सेले एभरेष्ट इन्स्योरेन्सको सेयर कारोबार रोक्का गरेको छ । साधारण सभाको प्रस्ताव आउनु पहिले नै एभरेष्ट इन्स्योरेन्सको सेयर मूल्य २६०० रुपैंयाको हाराहारीमा पुगेको थियो । एभरेष्ट इन्स्योरेन्सले गोप्य सूचना चुहाएर सेयर कारोबार गराएको भन्दै गत विकासन्युजले गत शुक्रबार मुख्य समाचार बनाएको थियो भने देशविकास पत्रिकामा अग्रपृष्ठमा समाचार प्रकाशित भएको थियो । याे पनि पढ्नुहाेस् । एभरेष्ट इन्स्योरेन्सले २० प्रतिशत बोनस र ६०० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने, गोप्य सूचनाका आधारमा करोडौंको सेयर कारोबार
एसियाली पूर्वाधार बैंकले नेपालमा एक खर्ब लगानी गर्ने, मधेसको बस्ती विकासमा मात्रै २८ अर्ब खर्चदैँ
काठमाडौं । एसियाली पूर्वाधार लगानी बैंकले नेपालका विभिन्न छवटा परियोजनामा ठूलो मात्रामा लगानी गर्ने भएकोे छ । दक्षिण कोरियाको जेजुमा यही असार २ देखि ४ गतेसम्म आयोजना भएको एसियाली पूर्वाधार लगानी बैंकको बोर्ड अफ गभर्नर्सको बैठकमा सहभागी हुन गएका अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की नेतृत्वको प्रतिनिधिमण्डलसँगको भेटमा बैंकले काठमाडौं उपत्यकाको विद्युत् वितरण प्रणालीको सुधार परियोजनामा उल्लेख्य रुपमा लगानी गर्ने प्रतिबद्धता जनाएको हो । मन्त्री कार्कीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुरा गर्दै नेपालमा लगानीका लागि बैंक इच्छुक देखिएको बताए । सो परियोजनामा रु एक खर्ब भन्दा बढि लगानी गर्ने बैंकले जनाएको छ । विगत २० वर्षदेखि काठमाडौँ उपत्यकाको विद्युत् वितरण प्रणाली सुधार हुन नसकेको, प्राविधिक चुहावट बढेको तथा थप विस्तार तथा विकासका लागिसमेत समस्या भएपछि सरकारले सुधारको कार्ययोजना अगाडि बढाएको थियो । अर्थमन्त्री कार्कीले सो परियोजनामा बैंकले केही समयभित्रै रकम उपलब्ध गराउने वचन दिएको जानकारी दिए । काठमाडौँ उपत्यकाको विद्युत् वितरण प्रणालीमा सुधार गर्ने परियोजनाका विषयमा लामो समयदेखि छलफल भए पनि प्रक्रिया अगाडि बढ्न नसकेको सन्दर्भमा एसियाली पूर्वाधार लगानी बैंकका अलावा एसियाली विकास बैंकले लगानी गर्ने भएका हुन् । यस्तै तराई मधेसको बस्ती विकास तथा व्यवस्थित सहरीकरण परियोजनामा समेत बैंकले रु २८ अर्ब लगानी गर्ने प्रतिबद्धता जनाएको अर्थमन्त्री कार्कीले जानकारी दिए । तराई मधेसका २२ जिल्लामा सो कार्यक्रम लागू भएपनि पूर्वाधार बैंकले पहिलो चरणमा सात जिल्लामा लगानी गर्नेछ । सो परियोजनामा बैंकले २८ अर्ब रुपैयाँ लगानी गर्दैछ । चालु आवको बजेट वक्तव्यमा सरकारले सो परियोजनामा रु ५० करोडका दरले लगानी गर्ने कार्यक्रम राखेको छ । अर्थमन्त्री कार्कीकाअनुसार काठमाडौँ सामाखुसीदेखि नुवाकोटको छहरेसम्मको सुरुङ मार्गमा समेत पूर्वाधार बैंकले लगानी गर्ने भएको छ । सरकारको प्रस्तावअनुसार सो परियोजनामा बैंकले रु २६ अर्ब लगानी गर्नेछ । यसैगरी बैंकले पोखरा–बेनी–जोमसोङ सडकलाई स्तरोन्नति गर्ने परियोजनाका लागि रु १६ अर्ब लगानी गर्ने भएको छ । उक्त सडकको स्तरोन्नतिपछि प्रदेश नं ४ कै आर्थिक विकास र नेपाल–चीनबीच सम्पर्क सञ्जाल विस्तारमा सहयोग पुग्ने विश्वास लिइएको छ । यस्तै बैंकले जलविद्युत् परियोजनामा समेत लगानी गर्ने प्रतिबद्धता जनाएको उल्लेख गर्दै अर्थमन्त्री कार्कीले शारदा बबई जलविद्युत् आयोजनामा रु २० अर्ब लगानी गर्ने विषयमा प्रक्रिया अगाडि बढेको बताए। सो परियोजनाको क्षमता ९३ मेगावाटको छ । यस्तै नेपाल विद्युत् प्राधिकरणले अगाडि बढाउन लागेको ८७ मेगावाट क्षमताको तामाकोसी पाँचौँमा समेत बैंकको रु १८ अर्ब लगानी हुनेछ । सो परियोजनामा लगानी गर्ने सम्बन्धमा पनि बैंकले सहमति जनाएको छ । काठमाडौँ उपत्यकाको विद्युत् वितरण प्रणाली सुधार र तराई मधेसको व्यवस्थित सहरीकरणसम्बन्धी परियोजना तत्काल अगाडि बढ्ने र अन्य परियोजना क्रमशः प्रक्रियामा जानेछन् । अर्थसचिव शान्तराज सुवेदीले सरोकारवाला मन्त्रालयले जतिसक्दो चाँडो परियोजनाको विस्तृत परियोजना प्रतिवेदन तयार पारेर उपलब्ध गराउँछन् त्यत्ति नै छिटो रकम उपलब्ध हुने जानकारी दिए । अर्थमन्त्रालय र लगानी बोर्डले परियोजना बैंक बनाउन लागेको जानकारी दिँदै अर्थसचिव सुवेदीले राम्रा र सहज आयोजनामा पूर्वाधार बैंकले लगानी गर्ने वचन दिएको उल्लेख गरेका छन् । बैंकमा बेलायत क्यानडा, चीनले लगानी गर्ने तयारी गरेको सन्दर्भमा थपिएको लगानी अल्पविकसित देशमा लगानी गर्ने कार्ययोजनासमेत अगाडि बढेको र नेपालले विशेष फाइदा लिन सक्ने सचिव सुवेदीको भनाइ छ । दक्षिण कोरियामा रहँदा अर्थमन्त्री कार्की नेतृत्वको प्रतिनिधिमण्डलले बैंकका अध्यक्ष, उपाध्यक्ष एवम् अन्य देशका जिम्मेवार पदाधिकारीसँग लगानीका विषयमा छलफल भएको अर्थमन्त्रालयका सहसचिव वैकुण्ठ अर्यालले जानकारी दिए । दातृ निकायले उपलब्ध गराउने रकमको उचित सदुपयोगका लागि अनुगमन तथा मूल्याङ्कन प्रणालीमा मन्त्रालयले विशेष जोड दिने तयारी गरेको सो अवसरमा जानकारी दिइयो । पूर्वाधार बैंकले अङ्गीकार गरेको ‘छरितो, स्वच्छ र हरित बैंक’को अवधारणा बमोजिम वातावरणमैत्री पूर्वाधार निर्माण, न्यून वा शून्य कार्बन उत्सर्जन गर्ने परियोजना कार्यान्वयन र एसियाली मुलुकमा रहेको गुणस्तरीय पूर्वाधारको अभाव पूर्ति गर्नेबारेमा छलफल भएको थियो । बैठकको उद्घाटन दक्षिण कोरियाका राष्ट्रपति मुन जेइ इनले गरेका थिए भने अध्यक्षता दक्षिण कोरियाका उपप्रधानमन्त्री एवम् अर्थमन्त्री यो आइ होले गरेका थिए । लगानीका क्षेत्रहरु मधेसको बस्ती विकास तथा व्यवस्थित सहरीकरणमा २८ अर्ब काठमाडौंदेखि नुवाकोटसम्मको सडक स्तरोन्नतीका लागि २६ अर्ब सारदा बबई जलविद्युत् आयोजनमा २० अर्ब तामाकोशी पाँचौ जलविद्युत्मा १८ अर्ब पोखरा बेनी जोमसोम सडक स्तरोन्नतीका लागि १६ अर्ब विद्युत् वितरण प्रणाली सुधारमा १० अर्ब