लुम्बिनी बैंकद्धारा एक करोड रुपैयाँ बढीको सहयोग घोषणा

विकासन्युज /काठमाडौं, वैशाख १८ । भूकम्पपीडितहरुलाई राहत तथा पुनःस्र्थापनाका लागि लुम्बिनी बैंक लिमिटेडले एक करोड रुपैयाँ बढीको सहयोग घोषणा गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत् एक करोड दुई लाख २२ हजार दुई सय २२ रुपैयाँ प्रदान गर्ने निर्णय गरेको जनाएको छ । बैंकले सहयोग रकममध्ये ५१ लाख ११ हजार एक सय ११ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने र बाँकी ५१ लाख ११ हजार एक सय ११ रुपैयाँ भूकम्पपीडितहरुलाई राहत तथा पुनःर्बासको प्रक्रियाका लागि खर्च गर्ने विज्ञप्ति जारी गरी जनाएको छ । यस्तै, टुरिजम डेभलपमेन्ट बैंकले पनि बैंक तथा कर्मचारीहरुको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा १० लाख प्रदान गरेको जनाएको छ । बारा जिल्लामा रहेका सहकारीहरुले पनि करिब चार लाख रुपैयाँ संकलन गरेको जनाइएको छ । यसैगरी, नेपाल उद्योग परिसंघले नुवाकोट, दोलखा, धादिङ र रामेछापमा सम्बन्धित जिल्लाहरुका प्रमुख जिल्ला अधिकारीहरुलाई ४० टन बराबरको चामल, चिउरा र चाउचाउ वितरण गरेको जनाएको छ । नेपाल चेम्बर अफ कमर्सले पनि विभिन्न जिल्ला तथा शिविरहरुमा करिब १० लाख बराबरको १५ हजार प्याकेट खाद्यान्न, ४ सय क्यारेट पानी र १ सय ५० थान त्रिपाल वितरण गरेको जनाएको छ ।

भूकम्प पीडितका लागि मेगा बैंकको राहत कोष, सेवामा विशेष छुट सुविधा

विकासन्युज/ काठमाडौं, बैशाख १७ । मेगा बैंक नेपाल लिमिटेडले महाभूकम्प पीडित नेपालीका लागि राहत कोष सञ्चालन स्थापना गरेको छ । महाभूकम्प पीडितहरुलाई तत्काल राहत पुर्याउने उद्देश्यले ‘मेगा अर्थक्वेक ग्रान्ट अकाउन्ट’ (मेगा) नामक चल्ती खाता स्थापना गरेको मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहले जानकारी दिए । यस खातामा जम्मा हुने सम्पूर्ण रकम भूकम्प पीडितहरुको उद्धार, उपचार, राहत, पुनस्र्थापना, भौतिक संरचनाहरुको मर्मत तथा पुनर्निर्माणका लागि नेपाल सरकारले खडा गरेको “प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष” मा जम्मा गरिने सिइओ शाहले जनाए । बैंकले आफ्नो यस सहयोग अभियानमा सहभागी हुन बैंकका शेयरधनी, ग्राहकवर्ग तथा शुभेच्छुकहरुलाई अपिल गरेको छ । राहत रकम आफूलाई पायक पर्ने स्थानमा मेगा बैंकका कुनै पनि शाखाहरुमा खाता नम्बर ००१००१०२८६५९१ ‘डी’ मा स्वेच्छिक रुपमा रकम जम्मा गर्न सकिने बताइएको छ । गत शनिबार आएको महाभूकम्पले मुलुकभरनै मानवीय तथा भौतिक रुपमा गरेको अपुरणीय क्षतिप्रति मेगा बैंकले गहिरो दःख समेत प्रकट गरेको छ । महाभूकम्पबाट मेगा बैंक समेत प्रभावित भएको छ । काठमाडौँको टेकु शाखा, सिन्धुपाल्चोक जिल्लाको चौतारा शाखा र रसुवा जिल्लाको स्याफ्रूबेसी शाखा संचालन गर्ने अवस्थामा नरहेको बैंकले जनाएको छ । तर, ती शाखाहरुमा एटीम सेवा भने संचालनमा रहेको छ । तीन वटा बाहेक अन्य शाखा भने यथावत रुपमा संचालन रहेको बैंकले जनाएको छ । यसैगरी, महाभूकम्पका बेला सर्वसाधारणलाई राहत मिलोस भन्ने उद्देश्यले बैंकले आगामी एक महिनाभित्र विशेष छुट तथा सुविधा समेत उपलब्ध गराउने भएको छ । देशभित्र गरिने १ लाखसम्मको रेमिट्यान्स कारोबार पूर्णरुपमा निःशुल्क गरिएको छ भने मेगा बैंकको एटीएमहरुबाट नेपाली रुपैयाँमा जारी गरिएको एटीएम कार्ड प्रयोग गरी नगद भुक्तानी लिएको कारोबार शुल्कमा पूर्णरुपमा छुट गरिएको छ । यसका साथै, नेपाल सरकारले स्थापना गरेको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी स्थापना गरिएका कुनै पनि खातामा हुने कारोबारको शुल्कमा सदैव पूर्ण रुपमा छुट प्रदान गरिने मेगा बैंकले जनाएको छ ।

बैंकबाट ५० हजार रुपैयाँसम्म पैसा निकाल्न सकिने, लकर सुरक्षित

विकासन्युज/ काठमाडौ, वैशाख १५ । भूकम्पका कारण बैक तथा वित्तीय संस्था बनद हुँदा सर्वसाधारण मर्कामा परेको भन्दै  राष्ट्र बैंकले सोमबार वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीका पदाधिकारी बोलाएर सर्वसाधारणलाई आवश्यक सेवा उपलब्ध गराउन निर्देशन दिएको  छ । बैंठकपछि बैंकर्स संघले वाणिज्य बैंकमार्फत नगद ५० हजार रुपैयाँ चेकमार्फत निकाल्ने सुविधा उपलब्ध गराउने निर्णय गरेको छ । साथै एक पटकमा एटिएमबाट १६ हजार रुपैयाँ निकाल्न सकिने व्यवस्था गरिएको छ । ‘एक दिनमा एउटा एटिएमबाट ५० हजार रुपैयाँसम्म झिक्न सकिने छ,’ बैंकर्स संघका उपाध्यक्ष अनिल शाहले भने । विकास बैंक संघको बैठकले पनि तोकिएका शाखा कार्यालय खुला राख्ने र ५० हजार रुपैयाँसम्मको भुक्तानी दिने निर्णय गरेको छ । राष्ट्र बैंकले भने आवश्यक पर्ने रकम उपलब्ध गराउन सकिने र सीमा तोकिरहन आवश्यक नरहेको उल्लेख गरेको छ । ‘हामीले जतिपनि रकम उपलब्ध गराउन सक्छौं भनेका छौं,’ राष्ट्र बैंकका प्रवक्ता मीनबहादुर श्रेष्ठले भने । उता भूकम्पले केही भवनमा समस्या देखिए पनि गरगहना र अन्य बहुमूल्य सामान राखिएका बैंकका लकरमा ठूलो क्षति नपुगेको बैंकर्स संघले बताएको छ ।   संघका अध्यक्ष उपेन्द्र पौडेलले क्षतिको कुनै खबर नआएको जानकारी दिए । विकास बैंक संघले पनि भौतिक क्षति भएको सूचना नरहेको बताएको छ । ‘लकरमा क्षति पुगेको कुनै खबर छैन,’ पौडेलले भने ।