एनएमबि बैंकको “एक घर एक खाता” अभियान दोस्रो चरणमा
काठमाडौं । एनएमबि बैंकले “एक घर एक खाता” अभियानको दोस्रो चरणको सुरुवात गरेको छ । अभियानको प्रवद्र्धकदुतका रुपमा नायक राजेश हमाललाई लिएर देशव्यापी रुपमा बिभिन्न कार्यक्रमहरु गर्नेे बैंकले जनाएको छ । अभियानको मुख्य उद्देश्य हरेक नेपालीको बैंकमा एक खाता तथा सरल वित्तीय पहुँच होस् भन्ने रहेको छ । अभियानले वित्तीय प्रणालीबाटै कारोबार गर्ने, वित्तिय साक्षरता बढाउने, बचत गर्ने बानी बसाउने तथा डिजिटल बैकिङ्गको अवधारणालाई समेत आत्मसाथ गराउने बिश्वास लिएको छ । “एनएमबि बैंक एक घर एक खाता” योजना बारे बैंकका कार्यकारी अधिकृत सुनिल के.सीले भने — “नेपाली सिने क्षेत्रका महान् अभिनेता राजेश हमाललाई यस योजनाको प्रर्वधक दुतका रुपमा फेरी एक पटक “एक घर एक खाता” दोस्रो चरणको अभियानका साथ घरदैलोमा आउन पाउँदा हामी अत्यन्त हर्षित भएका छौं” ।
सोमबार साढे ९ अर्बको ट्रेजरी बिल्स अाउदै
काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबार साढे ९ अर्ब रुपैयाँको ट्रेजरी बिल्स निष्कासन गर्न लागेको छ । राष्ट्र बैंकले बोलकबोलबाट सरकारका लागि यो रकम जुटाउन लागेको हो । २८ दिनका लागि ३ अर्ब, ९१ दिनका लागि साढे २ अर्ब, १८२ दिनका लागि २ र एक वर्षका लागि २ अर्ब रुपैयाँ ट्रेजरी बिल्स उपकरणमार्फत सरकारलाई रकम उपलब्ध गराउने भएको छ । चालु आर्थिक वर्षमा राष्ट्र बैंकले ६६ अर्ब रुपैयाँ ट्रेजरी बिल्समार्फत सरकारलाई रकम उपलब्ध गराउने भएको छ ।
एनआईसी एशिया बैंकले गर्यो ४ पटकमा १ करोड १० लाख डलर आयात
काठमाडौं । एनआईसी एशिया बैंकले विदेश जाने नेपालीका लागि आवश्यक पर्ने डलरको माग पूरा गर्न डलरको आयात गरेको छ । डेढ महिनाभित्र बैंकले १ करोड १० लाख डलर आयात गरिसकेको छ । डेढ महिनाअघि ल्याएको ६० लाख डलर सटही भइसकेपछि पुनः ५० लाख डलर आयात गरेको बैंकका कर्पोरेट कम्युनिकेसन प्रवन्धक मेघेन्द्रप्रकाश गिरीले बताए । थप डलर आयातका लागि पनि तयारी भइरहेको उनले जानकारी दिए । बैंकले दशैं तथा तिहारको अवसर पारेर बिदा मनाउन विदेश जानेको संख्यासंगै र डलरको माग पनि बढ्ने भएपछि चौथो पटक ५० लाख डलर आयात गरी ग्राहकहरुलाई उपलब्ध गराउन थालेको हो । यसअघि बैंकले तीन पटक गरेर ६० लाख नगद डलर आयात गरी नेपाली ग्राहकहरुलाई उपलब्ध गराइसकेको बैंकले बताएको छ । बैंकले काठमाडौं उपत्यकाका सबै शाखामा प्रशस्त मात्रामा नगद डलर रहेकाले कुनै पनि ग्राहकले डलर नपाएर फर्कनुपर्ने अवस्था नरहेको बताएको छ । यसअघि नगद अमेरिकी डलरको अति न्यून मात्रामा आपूर्ति भएका कारण ग्राहकलाई पर्न गएको असजतालाई सम्बोधन गर्न नेपाल राष्ट्र बैंकले ‘क’ वर्गका बैंकलाइ डलर आयात गर्न अनुमति दिएपछि विदेशबाट डलर आयात गर्ने थालेको हो । यस्तो कारोबारमा एनआईसी एशिया पहिलो बैंक बनेको छ । डलर साट्न आउने ग्राहकले साथमा पासपोर्ट र हवाई टिकेट पनि लिएर आउनुपर्ने बैंकले जनाएको छ । कागजात पूरा गरी आउनेलाई नियमानुसार २ हजार ५ सय डलरसम्म उपलब्ध गराउन सकिने बैंकले जानकारी दिएको छ । बैंकले हालका लागि काठमाडाैं भित्रका ३२ शाखा कार्यालयबाट सहज रुपमा उपलब्ध गराउने व्यवस्था मिलाएको छ । विदेश जाने ग्राहकहरुलाई भीसा इन्टरनेसनलेको डेविट कार्डमार्फत पनि अमेरिकी डलर सटही सुविधा प्रदान गर्दै आएको बैंक जनाएको छ ।