एक्सेल डेभलपमेन्ट बैंकले ३० प्रतिशत बोनस सेयर दिने
काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंकले सेयरधनीलाई ३० प्रतिशत बोनस सेयर दिने भएको छ । बैंकको आइतबार सम्पन्न १९५ औ सञ्चालक समिति बैठकले गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई ११ करोड ५८ लाख रुपैयाँ बराबर बोनस सेयर दिने प्रस्ताव गरेको हो । नेपाल राष्ट्र बैंकबाट स्वीकृति र वार्षिक साधारणसभाले अनुमोदन गरेपछि बैंकले लाभांश वितरण गर्ने छ ।
वोमी माईक्रोफाइनान्सले २१ प्रतिशत बोनस सेयर दिने
काठमाडौं । वोमी माइक्रोफाइनान्सले २१ प्रतिशत बोनस सेयर दिने भएको छ । भदौ २५ गते बसेको कम्पनीको सञ्चालक समिति बैठकले लगानी कर्तालाई २० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.१०८ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । कम्पनीले गत आवको नाफाबाट लगानी कर्तालाई एक करोड २९ लाख ६० हजार रुपैंयाँको बोनस सेयर दिन लागेको हो । नेपाल राष्ट्र बैंकको स्वीकृति र कम्पनीको आगामी साधारण सभाबाट पास गरेपछि लगानी कर्ताले सो मात्रामा बोनस सेयर पाउनेछन् ।
संचय कोषको कामु प्रशासकमा दीपक रौनियार
काठमाडौं । कर्मचारी सञ्चय कोषको कार्यवाहक प्रशासकमा दीपक रौनियार नियुक्त भएका छन् । कृष्णप्रसाद आचार्यको पदावधि सकिएपछि सरकारले उनलाई कामु प्रशासकको जिम्मेबार दिएको हो । यसअघि जलविद्युत लगानी तथा विकास कम्पनी लिमिटेडमा प्रमुख कार्यकारी अधिकृत (सीईओ) भइसकेका छन् । कोषमा कार्यरत रौनियार प्रतिस्पर्धाबाट जलविद्युत लगानीको सीईओ भएका थिए ।