समिट माइक्रोफाइनान्सको संस्थापक र साधारण हकप्रद सेयर लिलामी हुदै, अन्तिम मिति मंसिर ११ गतेसम्म
काठमाडौं । समिट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकको साधारण र संस्थापक हकप्रद सेयर लिलामी हुने भएको छ । बिक्री हुन बाँकी कुल २६ हजार ५४९ कित्ता हकप्रद सेयर लिलामी हुन लागेको हो । सानिमा क्यापिटल लिमिटेडले संस्थापतर्फ २२ हजार ४६७ र साधारणतर्फ ४ हजार ८२ किता हकप्रद सेयर बोलकबोलबाट बिक्री गर्न लागेको हो । सानिमाले सेयर खरिदका लागि शिलबन्दी बोलपत्र पेश गर्ने अन्तिम मिति मंसिर ११ गतेलाई तोकेको छ । बैंकको चुत्ता पुँजी बढाउन भदौ २९ गतेदेखि कात्तिक १ गतेसम्म बिक्री खुला गर्दा आवेदन नपरेका हकप्रद लिलामीबाट बिक्री गर्न लागेको हो ।
नेपाल बैंक ओरालो लाग्यो, नाफा, निक्षेप र कर्जा सबै खुम्चियो
काठमाडौं । नेपाल बैंकको नाफा १९ करोडले घटेको छ । बैंकले चालु आर्थिक बर्षको पहिलो त्रैमासिकमा जम्मा ९७ करोड मात्रै नाफा कमाउन सफल भएको हो । गत आवको सोही अवधीमा बैंकले एक अर्ब १६ करोड नाफा आर्जन गरेको थियो । नेपाल बैंकले चालु आवको पहिलो त्रैमासिकमा ९२ अर्ब निक्षेप संकलन गरेर ७३ अर्ब कर्जा प्रवाह गरेको छ । असार मसान्तको तुलनामा बैंकको निक्षेप र कर्जा दुबै घटेको छ । असार मसान्तमा ९३ अर्ब निक्षेप संकलन गरेको बैंकको निक्षेप हाल ९२ अर्बमा खुम्चिएको छ । त्यस्तै, असार मसान्तमा ७४ अर्ब कर्जा प्रवाह गरेको बैंककाले कर्जा पनि असोज मसान्तमा ७३ अर्बमा सिमिति भएको छ । बैंकको खराब कर्जा ३.१० प्रतिशतबाट बढेर ३.४२ प्रतिशत पुग्दा २२ करोड प्रोभिजन गरेको छ । नेपाल बैंकले राइट ब्याकबाट २९ करोड प्राप्त गरेको देखिन्छ । बैंकको प्रति सेयर आम्दानी ४८.३२ रुपैंयाँ र प्रति सेयर नेटवर्थ १५९.१८ रुपैंया रहेको छ ।
राष्ट्र बैंकलाई लोकसेवाको पत्र-‘३० बर्षे सेवा अवधि यथास्थिति मै राख्नु’, क-कसको जाँदैछ जागिर ?
काठमाडौं । लोक सेवा आयोगले नेपाल राष्ट्र बैंकलाई ३० बर्षे कार्यकाल हटाउने सम्बन्धी प्रक्रिया यथास्थितिमै राख्न पत्राचार गरेको छ । आयोगले आइतबार केन्द्रिय बैंकलाई पत्र लेखेर ३० बर्षे कार्यकाल हटाउने सम्बन्धी प्रक्रिया तत्काल अघि नबढाउन भनेको हो । ‘सरकारले संघिय प्रशासन सम्बन्धी ऐन बनाउने प्रक्रिया अघि बढेको छ, ती कानुनहरु नबन्दासम्म कर्मचारी सेवा अवधी सम्बन्धी विद्यमान व्यवस्था नै कायम राख्न भनेर नेपाल राष्ट्र बैंकलाई पत्राचार गरेका हौं’, लोकसेवा आयोगका प्रवक्ता लक्ष्मीविलास कोइरालाले विकासन्युजसँग भने । ३० बर्षे सेवा अवधीको व्यवस्था हटाएर ५८ बर्षे उमेर हद मात्रै लागु गराउने योजना तत्कालका लागि भने असफल भएको छ । यसले कार्यकारी निर्देशक रमेश पोखरेल, निमित्त कार्यकारी निर्देशक डा. गोपाल भट्ट, एजेन्द्र लुईटेल, बासुदेव अधिकारीले अनिवार्य अवकास लिन बाध्य पार्नेछ । त्यस्तै, निर्देशक तथा सहायक प्रवक्ता राजेन्द्र पण्डित, केशब थापा, मुकुन्द महत, निमित्त निर्देशक बलराम पौडेल, रमण नेपालले पनि केहि समय भित्रै अवकास पाउनेछन् । राष्ट्र बैंकले वित्तिय क्षेत्र सुधार कार्यक्रम लागु गरेपछि २०६२ सालदेखि ३० बर्षे सेवा अवधी कार्यान्वयनमा आएको थियो । गभर्नर डा चिरञ्जीवी नेपाल, दुई जना डेपुटी गभर्नर, अर्थ सचिव शान्तराज सुवेदी र सञ्चालक श्रीराम पौडेल ३० बर्षे सेवा अवधी हटाउन सहमत थिए । ३० बर्षे सेवा अवधी संसोधन नभएपछि तत्कालै २६ जना, आगामी जेठमा ७० जना, मंसिरमा ४० जना कर्मचारीले अनिवार्य अवकास पाउनेछन् ।