मंसिर १० गतेदेखि वैदेशिक रोजगार बचतपत्र बिक्री खुला हुँदै, वार्षिक १० प्रतिशत ब्याज दिने

काठमाडौं । नेपाल राष्ट्र बैंकले वार्षिक १० प्रतिशत ब्याज दिने गरी ५० करोड रुपैयाँको वैदेशिक रोजगार वचतपत्र निष्कासन गर्ने भएको छ । वचतपत्र मंसिर १० देखि २९ गतेसम्मका लागि बिक्री खुला हुने छ । वैदेशिक रोजगारीमा संलग्न नेपाली नागरिक तथा गैर–आवासीय नेपालीले बचतपत्र खरिदको लागि आवेदन दिनसक्ने छन् । ५ वर्षका लागि निष्कासन हुन लागेको बचतपत्र आउदो २०७९ पुस ५ गते सावाँ फिर्ता हुने छ । ब्याज भुक्तानी ६/६ महिनामा हुने छ । घटीमा ५ हजार रुपैयाँ र बढीमा ५ हजारले भाग गर्दा निःशेष भाग जाने गरी आह्वान गरिएको रकमसम्म खरिद गर्न पाइने राष्ट्र बैंकले जनाएको छ । बचतपत्र मुलुक बाहिर रोजगारीमा संलग्न वा मुलुक बाहिरको रोजगारीबाट फर्केको ४ महिना नपुगेका नेपाली नागरिक वा गैर–आवासीय नेपालीले आपूm वा आफ्नो परिवारको सदस्य बुवा, आमा, श्रीमान्, श्रीमती, छोरा, छोरी मात्र) को नाममा खरिद गर्न सक्ने छन् । बचतपत्र धितो राखी बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिन÷दिन सकिने छ । सरकार आन्तरिक ऋण उठाउन रोजगार वचतपत्र ल्याएको हो । चालु आर्थिक वर्षमा सरकारले १ खर्ब ४५ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउदै छ । हालसम्म झण्डै विभिन्न वित्तीय औजारमार्फत झण्डै ८० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाइसकेको छ ।

९९ प्रतिशत बाणिज्य बैंकको प्रति सेयर आम्दानी घट्यो

काठमाडौं । ९९ प्रतिशत बाणिज्य बैंकहरुको प्रति सेयर आम्दानी (ईपीएस) घटेको छ । चालु आर्थिक बर्षको पहिलो त्रैमासिकको अपरिस्कृत वित्तिय विवरण सार्वजनिक गरेकामध्ये ९९ प्रतिशत बाणिज्य बैंकहरुको ईपीएस घटेको हो । अधिकाँश बैंकको नाफा घटेपछि यसको असर ईपीएसमा परेको हो । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से)मा सूचिकृत २७ वटा बाणिज्य बैंकमध्ये सिभिल बैंकले मात्रै प्रति सेयर आम्दानी बढाएको छ । बाँकी सबै बैंकको प्रति सेयर आम्दानीमा भारी गिरवाट आएको देखिन्छ । प्रति सेयर आम्दानीलाई कम्पनीहरुको महत्वपुर्ण वित्तिय परिसूचक मानिन्छ । बैंक तथा वित्तिय संस्थाहरुको पुँजी बढेसँगै नाफामा पनि असर पर्दै आएको छ । धेरै बैंकले आफ्नो नाफा समेत बढाउन सकिरहेका छैनन् । तर नविल बैंक, एभरेष्ट बैंक, नेपाल बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक लगायतका सबैजसो बैंकहरुको प्रतिसेयर आम्दानी पनि ओरालो लागेपछि बैंक तथा वित्तिय संस्थाका सुनौला दिन सकिएको टिप्पणी हुन थालेको छ । सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) भुवन दाहालले पुँजी वृद्धि र ब्याजदरको अस्थिरताका कारण नाफा बढाउन नसकेको बताए । उनले आगामी दिनमा बैंकले लगानीकर्तालाई धेरै नाफा दिन नसक्ने संभावना देखिएको बताउछन् । बाणिज्य बैंकहरुको नाफा पनि उत्साहजनक रुपमा बढ्न सकेको देखिन्न । असोज मसान्त अवधीमा २८ वटै बाणिज्य बैंकहरुको नाफा जम्मा २८ करोड ८ लाखले मात्रै बढेको छ । २८ वटा बाणिज्य बैंकहरुले असोज मसान्तसम्ममा जम्मा ९ अर्ब ९१ करोड २३ लाख मात्रै नाफा बढाउन सकेका छन् । यीनै बैंकहरुले गत आवको पहिलो तीन महिनामा ९ अर्ब ६३ करोड १५ लाख रुपैयाँ नाफा कमाएका थिए ।

नेपाल बंगलादेश बैंकमा चुनाव लाग्यो, ७ जनाको उम्मेदवारी दर्ता

काठमाडौं । नेपाल बंगलादेश बैंक लिमिटेडका सेयरधनीलाई चुनाव लागेको छ । यस बैंकमा ६ जना सञ्चालकको लागि मंसिर ३ गते निर्वाचन हुँदैछ । संस्थापक सेयरधनी समूहबाट आईएफआईसी बैंक, बंगलादेशबाट तीन जना आउने भएका छन् । यस बैंकमा आईएफआईसीको ४१ प्रतिशत सेयर छ । संस्थापक समूहबाट प्रतिनिधित्व गर्ने तीन जना सञ्चालकका लागि सर्वसहमति भएको निर्वाचन अधिकृत बालकृष्ण ढकालले जानकारी दिए । तीन पदका लागि तीन जनाको मात्र उम्मेदवारी परेको छ । संस्थापकबाट जलान अहमेद, एम शाह अलाम सरवार र मोनिरुल स्लाम सञ्चालन हुने भएका छन् । । उनीहरु वहालवाला सञ्लालक पनि छन् र तीनै जना बंगाली हुन् । नेपाली संस्थापक सेयरधनीतर्फ यस बैंकमा एनबी समूहको करिव ७ प्रतिशत र विष्णु अधिकारीको करिब ३ प्रतिशत सेयर छ । करिव १० प्रतिशत सेयर नेपाली प्रमोटरको भए पनि उनीहरुको उम्मेदवारी परेन । अहिलेको सेयर संरचना यथावत रहेमा बंगलादेशी लगानीकर्ताको विश्वास नजितेसम्म नेपाली संस्थापक सेयरधनी यस बैंकको सञ्चालक बन्न सक्ने अवस्था देखिदैन । सर्वसाधारणतर्फबाट प्रतिनिधित्व गर्ने तीन सञ्चालक पदका लागि ४ जनाले उम्मेदवारी दिएको ढकालले जानकारी दिए । यसमा वहालवाला सञ्चालकहरु दीपक कार्की र मुकुन्दनाथ ढुंगेल पुनः प्रतिस्पर्धा गर्दैछन् । त्यसबाहेक इन्द्रबहादुर थापा र हेमन्त बस्याल संचालक बन्ने दौडामा छन् । सबै उम्मेदवारहरुले आफूले ३० लाख भन्दा बढी प्रोक्सी संकलन गरेको दावी गरेको छन् । यस बैंकका हाल करिव ३ लाख ४५ हजार कित्ता साधारण सेयर रहेको छ । आगामी साधारणसभामा बैंकले १२ प्रतिशत बोनस सेयर प्रस्ताव गरेको छ । उक्ता बोनस सेयरपछि बैंकको चुक्ता पुँजी ८ अर्ब ८ रुपैयाँ हुने बैंकले जनाएको छ ।