मातृभूमि विकास बैंकको नाफा ८७ लाख २९ हजार, १२ प्रतिशत बोनस सेयर दिन सक्ने

काठमाडौं, ६ साउन । मातृभूमि विकास बैंक लिमिटेडले गत आर्थिक वर्ष ८७ लाख २९ हजार रुपैँया खुद नाफा गरेको छ । अघिल्लो आर्थिक वर्षको तुलानामा बैंकले ३३ प्रतिशत नाफा बढाएको छ । अघिल्लो आर्थिक वर्ष बैंकले ६५ लाख ५८ हजार रुपैँया खुद नाफा गरेको थियो । बैंकले गत आर्थिक वर्षको नाफाबाट करिब १२ प्रतिशत बोनस सेयर दिन सक्ने देखिएको छ । कम्पनीको चुक्ता पुँजी ५ करोड ५६ लाख रुपैयाँ मात्र छ । पुँजी वृद्धि सम्बन्धि राष्ट्र बैंकको निर्देशनका कारण यस बैंकलाई पनि बोनस सेयर दिनुपर्ने बाध्याता छ । यस बैंकले निक्षेप ४७ करोड ४५ लाख रुपैयाँ र लगानी ३१ करोड ६ लाख रुपैयाँ परिचालन गरेको छ । बैंकको खराब कर्जा ०.२१ प्रतिशत मात्र रहेको छ ।

एनबी इन्स्योरेन्सको शाखा गोंगबुमा पनि

काठमाडौं, ५ साउन । एनबी इन्स्योरेन्स कम्पनीले आफ्नो १३औं शाखा काठमाडौंको गोंगबुमा खोलेको छ । बुधबार बैंकका संचालक समितिका सदस्य योगेश्वर शर्मा ढकालले उक्त शाखाको उद्घाटन गरेका हुन् । कार्यक्रममा कम्पनीका अध्यक्ष अम्बिका प्रसाद पौडेलले कम्पनीले बीमा क्षेत्रमा आफ्नो पहिचान स्थापित गर्दै देशभरिनै शाखा सञ्जाल विस्तार गरी ग्राहक महानुभावहरुलाई सरल, छिटो तथा विश्वसनिय सेवा प्रदान गर्ने जानकारी गराएका छन् । कम्पनीका अनुसार निकट भविष्यमा कम्पनीले थप शाखा खोलेर आफनो शाखा सञ्जाललाई देशको विभिन्न भागमा विस्तार गर्दै सेवा प्रदान गर्ने जानकारी गराएको छ । त्यस्तै, कम्पनीका कार्यकारी प्रमुख श्रेष्ठले कम्पनीले आ.ब. २०७२/०७३ मा करिब २६ हजार बीमा लेखबाट ३५ करोड रुपैयाँ भन्दा बढी बीमा शुल्क आर्जन का साथै करिब ४ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको बताएका छन् । हालसम्म कम्पनीले १३ वटा शाखा, ५ वटा सम्पर्क कार्यालय तथा ७ वटा सेवा काउन्टरहरुबाट सेवाग्राहीहरुलाई सेवा प्रदान गर्दै आईरहेको बैंकले जनाएको छ ।

प्रभुको क्रेडिट कार्ड प्रयोगकर्तालाई ‘इन्स्टापे’ र ‘रिवार्ड पोइन्टस्’ सुविधा

काठमाडौं, ५ साउन । प्रभु बैंक लिमिटेडले आफ्ना क्रेडिट कार्ड प्रयोगकर्ता ग्राहकहरुलाई थप सुविधा सहित ‘इन्स्टापे’ र ‘रिवार्ड पोइन्टस्’ नयाँ दुई योजनाहरु सञ्चालनमा ल्याएको छ । इन्स्टापे योजना अन्तर्गत ग्राहकहरुले आफ्नो क्रेडिट कार्डको माध्यमबाट विदेश भ्रमणको विल तिर्न, कलेज तथा स्कुलको फी तिर्न, अस्पतालकोे विल तिर्न, विभिन्न इलेक्ट्रोनिक समानहरु खरिद गर्न, गरगहना खरिद गरी बिल तिर्न, मोटरसाइकल तथा स्कुटर खरिद गर्न सक्नेछन् र सो रकमलाइ बढीमा १८ महिना सम्मको मासिक किस्तामा बैंकलाई भुक्तानी गर्न सक्नेछन् । बैंकका अनुसार यो योजना अन्तर्गत उपयोग गरेको रकममा ब्याज लाग्ने छैन तर ग्राहकहरुले तोकिएको सेवा शुल्क भने तिर्नुपर्नेछ । यस योजनामा सहभागी हुन चाहने ग्राहकहरुले कारोवार भएको मितिले ७ दिनभित्र आफुले उपयोग गरेको रकम तिर्न चाहेको किस्ता संख्या उल्लेख गरी निवेदन दिनुपर्नेछ र उक्त निवेदनका आधारमा बैंकले मासिक किस्ता कायम गर्नेछ । यसैगरी अर्को योजना रिवार्ड पोइन्टस् अन्तर्गत ग्राहकहरुले आफ्नो क्रेडिट कार्डको माध्यमबाट समान खरिद गरेमा प्रत्येक २०० रुपैयाँ बराबर १ प्वाइन्ट कायम हुनेछ । यसरी कायम भएको प्वाइन्ट सञ्चित हुँदै जानेछ र ५०० प्वाइन्ट पुगेपछि बैंकले सम्बन्धित ग्राहकको खातामा ५०० रुपैयाँ नगद जम्मा गरिदिने बैंकले जनाएकोे छ । ग्राहकहरुको अधिकतम् हितलाई मध्येनजर गर्दै बैंकले सञ्चालन गर्न लागेको यी दुवै योजनाहरुबाट क्रेडिट कार्ड प्रयोगकर्ता ग्राहक महानुभावहरु लाभान्वित हुन्छन् भन्ने बैंकले विश्वास लिएको छ ।