कैलाश विकास बैंकको १९ प्रतिशत लाभांश पारित, चुक्ता पुँजी साढे २ अर्ब माथी
काठमाडौं । कैलाश विकास बैंक लिमिटेडको १९.४५ प्रतिशत लाभांश पारित भएको छ । बैंकको शुक्रबार सम्पन्न २४औं वार्षिक साधारण सभाले १० प्रतिशत बोनस र ९.४५ प्रतिशत नगद लाभांश गरी सो मात्राको लाभांश वितरण गर्ने कम्पनीको प्रस्ताव पारित गरेको हो । साथै, उक्त सभाले संस्थाको आ.व. २०७३/०७४को वासलात तथा सोही मितिको नाफा नोक्सान हिसाव तथा नगद प्रवाह विवरण समेत पारित गरेको छ । १० प्रतिशत बोनस सेयर पश्चात कम्पनीको चुक्ता पुँजी २ अर्ब ५२ करोड रुपैयाँ पुगेको छ । गत मंसिर १३ गतेसम्ममा यस संस्थाले १८ अर्ब ३२ करोड रुपैयाँ निक्षेप संकलन गरी१६ अर्ब १९ करोड रुपैयाँ कर्जा प्रवाह गरेको कम्पनीद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।
सार्वजनिक विदाको दिन शनिबार र आइतबार बैंक खुल्ने
काठमाडौं । आउदो शनिबार र आइतबार सार्वजनिक विदाका दिनमा पनि बैंक खुल्ने भएका छन् । नेपाल राष्ट्र बैंकले निर्वाचन हुने ४५ जिल्लामा मंसिर १६ गते शनिबार र आइतबार बैंक खोल्न बिहीबार बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ । निर्वाचनका क्रममा खटिने कर्मचारीलाई तलव भत्ता वितरण गर्नुपर्ने भएपछि केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थालाई कारोबार गर्न भनेको हो । आइतबार उद्यौली पर्व भएकाले सार्वजनिक विदा दिएको हो ।
विद्युतीय माध्यमबाट हुने कारोबारको सीमा तोक्ने राष्ट्र बैंकको तयारी
काठमाडौं । नेपाल राष्ट्र बैंकले विद्युतीय माध्यमबाट हुने कारोबारलाई नियन्त्रण गर्न लागेको छ । केन्द्रीय बैंकले बिहीबार प्रस्ताव गरेको विद्युतीय कारोबार सम्बन्धित प्रस्तावित निर्देशनमा बैक तथा वित्तीय संस्थाबाट नेपाली मुद्रामा भुक्तानी हुनेगरी जारी गरिएका क्रेडिट कार्ड, डेविट कार्ड, प्रिपेड कार्ड र मोवाइल बैकिङ तथा इन्टरनेट बैकिङ सेवा लगायत अन्य विद्युतीय माध्यमबाट गरिने कारोबारमा कडाई गरेको हो । प्रिपेड कार्ड जारी गर्दा एक पटकमा अधिकतम १ लाख रुपैयाँसम्मको जारी गर्न सकिने व्यवस्था गरिएको छ । प्रिपेड कार्डबाट नगद झिक्दा प्रतिकारोवार न्यूनतम ५ सयदेखि अधिकतम ५ हजार रुपैयाँसम्म वा प्रति महिना अधिकतम २५ हजार रुपैयाँसम्म नगद झिक्न पाइनेछ । डेबिट कार्डबाट नगद कारोवार गर्दा न्यूनतम प्रति कारोवार ५ सयदेखि अधिकतम २५ हजार रुपैयाँसम्म झिक्न पाइने राष्ट्र बैंकले जनाएको छ । यस्तो कारोवार प्रतिदिन ४ वटासम्म अधिकतम १ लाख रुपैयाँसम्म कारोवार गर्न पाइनेछ । बैंक तथा वित्तीय संस्थाहरुले नगद व्यवस्थापन, भौगोलिक अवस्था, सुरक्षा व्यवस्था र विशेष परिस्थिति समेतलाई ध्यानमा राखी तोकिएको रकमको सीमा घटाउन सक्ने व्यवस्था गरिएको छ । मोवाइल बैंकिङबाट भुक्तानी कारोवार गर्दा एक पटकमा बढीमा ५ हजार रुपैयाँसम्म वा प्रतिदिन अधिकतम १० हजारसम्मको कारोवार गर्न पाइनेछ । मासिक रुपमा ५० हजार रुपैयाँ भन्दा बढीको भुक्तानी कारोवार गर्न नपाइने भएको छ । इन्टरनेट बैकिङबाट भुक्तानी कारोवार गर्दा दैनिक अधिकतम १ लाख रुपैयाँसम्मको कारोवार गर्न सकिने छ । तर, मासिक रुपमा अधिकतम ५ लाख रुपैयाँ भन्दा बढीको भुक्तानी कारोवार गर्न नपाइने व्यवस्था गरिएको छ । इन्टरनेट बैकिङको माध्यमबाट बंैक तथा वित्तीय संस्थाहरुको खातामा ट्रान्सफर गर्दा एक पटकमा अधिकतम १ लाख र मासिक रुपमा अधिकतम १० लाख रुपैयाँसम्मको कारोवार गर्न पाइने छ । बैंक तथा वित्तीय संस्थामा रहेको खाताबाट वालेटमा रकम जम्मा गर्दा वा एक वालेटमा रकम ट्रान्सफर गर्दा प्रति कारोवार १ सयदेखि अधिकतम ५ हजार रुपैयाँसम्म र प्रति दिन अधिकतम १५ हजार रुपैयाँसम्म ट्रान्सफर गर्न सकिने राष्ट्र बैंकले प्रस्ताव गरेको छ । (यस्तो छ प्रस्तावित मस्यौदा)