इपिएस भाषा परीक्षाको शुल्क ग्लोबल आइएमई बैंकबाटै भुक्तानी गर्न मिल्ने

काठमाडौं । १०औँ इपिएस कोरियन भाषा परीक्षाको परीक्षा शुल्क ग्लोबल आइएमई बैंकबाटै भुक्तानी गर्न मिल्ने भएको छ । बैंकले विगतका वर्षहरुमा जस्तै यस वर्षपनि इपिएस कोरियन भाषा परीक्षाको परीक्षा शुल्क संकलन सेवा दिने भएको हो । चैत ८ गतेदेखि चैत १७ गतेसम्म सञ्चालन हुने इपिएस कोरियन भाषा परीक्षाको परीक्षा शुल्क संकलनका लागि उक्त सेवाको लागि नेपाल सरकार श्रम मन्त्रालय वैदशिक रोजगार विभाग ईपिएस शाखा र ग्लोबल आइएमई बैंकबीच चैत १ गते(आज) सम्झौतापत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौतापत्रमा ग्लोबल आइएमई बैंकको तर्फबाट कायम मुकायम प्रमुख कार्यकारी अधिकृत महेशशर्मा ढकाल र ईपिएस शाखाको तर्फबाट निर्देशक कृष्णप्रसाद खनालले हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार सेवाग्राहिले ग्लोबल आइएमई बैंकका १३३ शाखा कार्यालयहरु मध्ये जुनसुकै काउण्टरको परिक्षा शुल्क भुक्तानी गर्न सक्ने भएका छन् । त्यस्तै, सेवाग्राहिले बैंकको मोवाईल बैंकिङ्ग एप “ग्लोबल स्मार्ट” तथा अनलाईन बैंकिङ्ग “ग्लोबल अनलाईन”मार्फत लाईनमा नबसी जहाँकहिँबाट सजिलै परीक्षा शुल्क भुक्तानी गर्न सक्नेछन् । १०औँ इपिएस कोरियन भाषा परीक्षा चैत ८ गतेदेखि चैत १७ गतेसम्म सञ्चालन हुँदैछ ।

ग्लोबल आईएमई बैंकले हाथवे फाइनान्सलाई एक्वायर गर्ने, सेयर काराेबार राेक्का

काठमाडौं । ग्लोबल आईएमई बैंकले हाथवे फाइनान्स  कम्पनीलाई प्राप्ति(एक्वायर) गर्ने भएको छ । बैंकले पुँजीगत आधार सुदृढ गरी प्रतिस्पर्धात्मक क्षमताको विकासका साथै बैंकको कारोबार समेत वृद्धि गर्न हाथवे फाइनान्सलाई एक्वाएर गरेको हो । उक्त एक्वायर गर्ने सम्बन्धि सहमतिपत्रमा ग्लोबल आइएमई बैंकको तर्फबाट मर्जर तथा एक्विजिशन समिति सदस्य सुर्दशन श्रेष्ठ तथा हाथवे फाइनान्स कम्पनीको मर्जर तथा एक्विजिशन समिति सदस्य नवराज नेपालले हस्ताक्षर गरेका हुन् । एक्विजिशन कार्य ३ महिना भित्रमा सम्पन्न गर्ने लक्ष्य लिइएको विज्ञप्तीमा उल्लेख छ । उक्त सम्झौतासँगै चैत १ गतेदेखि हाथवे फाइनान्सकाे सेयर काराेबार राेक्का भएकाे संस्थाले जानकारी गराएकाे छ । हाल ग्लोबल आईएमई बैंकको पुँजी १० अर्ब ३१ करोड रुपैयाँ रहेको छ । त्यस्तै, हाथवे फाइनान्सको चुक्ता पुँजी ३० करोड रुपैयाँ रहेको छ । ग्लोबल आईएमई बैंकले यसअघि कर्मज एण्ड ट्रष्ट बैंक, आईएमई फाइनान्सियल इन्स्टिच्युसन, गुल्मी विकास बैंक, सोसियल डेभलपमेन्ट बैंक, प्यासिफिक डेभलपमेन्ट बैंक, रिलायबल डेभलपमेन्ट र लर्ड बुद्ध फाईनान्ससँग सफल मर्जर गरिसकेको छ ।

भारु २०० र ५०० को नोट नेपाली बजारमा खुला गर्न भारतको माग

काठमाडौं । भारतले उच्च दरका भारतीय रुपैयाँ नेपालमा खुला गर्न नेपाललाई आग्रह गरेको छ । भारु १०० भन्दा ठूला अंकका नोट नेपालभर चलन चल्ती गर्न नेपाल सरकारले रोक लगाएको तीन महिना पनि नवित्दै भारतले यस्तो आग्रह गरेको हो । भारतको केन्द्रीय बैंक ‘रिर्जभ बैंक अफ इण्डिया’ले नेपाल राष्ट्र बैंकलाई पत्र लेख्दै भारु २०० र भारु ५०० का नोट चलनचल्ती गर्न खुला गरिदिन अनुरोध गरेको राष्ट्र बैंकमा डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीले जानकारी दिए । नेपाल भ्रमणमा आउने भारतीयहरुले ठूला दरका नोट २५ हजारसम्म साथमा बोक्न पाउने व्यवस्था गर्न भारतले माग गरेको हो । ठूला नोट नचल्दा नेपाल भ्रमणमा आउने भारतीय पर्यटकहरुले सास्ती खेप्नु परेको बताइएको छ । भारतले दुई वर्षअघि भारु ५०० र भारु १००० का नोटबन्धी गरेपछि र नेपालीसँग भएको त्यस्ता नोट भारतले फिर्ता लिन नपानेपछि नेपाल सरकारले भारु १०० भन्दा ठूला नोट प्रतिवन्ध गरेको हो । त्यसअघि नेपालीले भारु २५ हजारसम्म ठूला नोट पनि साथमा राख्न पाउने व्यवस्था थियो । भारतीय नीतिमा आएको परिवर्तनले लाखौ नेपालीसँग भएको भारतीय रुपैयाँ खोस्टो भएको छ । यसबाट नेपालीले अर्बौ रुपैयाँ गुमाएका छन् ।