टोखामा एनआईसी एशिया बैंकको नयाँ शाखा

काठमाडौँ । एनआईसी एशिया बैंकले टोखा नगरपालिकामा नयाँ शाखा कार्यालयको बिस्तार गरेको छ । काठमाडौं जिल्ला, टोखा नगरपालिका वडा नं. ६, स्थित टोखा शाखाको टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारीले एक समारोहका बीच उद्घाटन गरे । मुलुकभर २८३ शाखा कार्यालयहरु, २८९ एटिएम, ४१ वटा एक्सटेन्सन काउण्टर एवं २६ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आएको बैंकले जनाएको छ ।

नेपाल राष्ट्र बैंकले पुनरकर्जामा लगानी गर्यो २३ अर्ब

काठमाडौँ । नेपाल राष्ट्र बैंकले रु २३ अर्ब छ करोड रकम पुनरकर्जाको रुपमा लगानी गरेको छ । उत्पादनशील क्षेत्रतर्पm कर्जा लगानी तथा निर्यात विस्तारमा समेत सहयोग पुर्याउने उद्देश्यले बैंकले सहुलियत दरमा प्रदान गर्ने कर्जाको उपयोग बढेको हो । केन्द्रीय बैंकले हालै सार्वजनिक गरेको चालू आर्थिक वर्षको नौ महिनाको अवधिमा पुनरकर्जाको उपयोग गर्नेको सङ्ख्यामा वृद्धि भएको उल्लेख गरेको छ । बैंकका अनुसार साधारण पुनरकर्जा रु १८ अर्ब ९७ करोड र निर्यात पुनरकर्जा रु एक अर्ब ४९ करोड उपयोग भएको छ । यस्तै गत चैत मसान्तसम्ममा भूकम्प पीडितलाई आवासीय घर निर्माणको लागि रु दुई अर्ब ५८ करोड रकम प्रदान गरिएको छ । त्यस्तो कर्जा एक हजार ५७७ ऋणीले उपभोग गरेका छन् । नेपाल सरकारबाट पाँच प्रतिशत ब्याज अनुदानमा प्रवाह गरिने कृषि तथा पशुपक्षी व्यवसाय कर्जा लिनेको सङ्ख्यामा १४ हजार ६३९ पुगेको छ । सो कार्यक्रमअन्तर्गत रु २५ अर्ब १८ करोड कर्जा बक्यौता रहेको छ भने रु ९८ करोड २२ लाख ब्याज अनुदान प्रदान गरिएको छ । सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि, २०७५ मा व्यवस्था भएका अन्य क्षेत्रतर्फ रु १३ करोड ६४ लाख कर्जा बक्यौता रहेको छ । यस्तै चालू आवको नौ महिनामा वाणिज्य बैंकहरुले रु ११ खर्ब ६५ अर्ब र अन्य वित्तीय संस्थाले रु एक खर्ब ९९ अर्ब ३३ करोडको अन्तर–बैंक कारोवार गरेका छन् । अघिल्लो वर्षको सोही अवधिमा वाणिज्य बैंक र अन्य वित्तीय संस्थाहरुले क्रमशः रु आठ खर्ब ८२ अर्ब ८७ करोड र रु २७ अर्ब ४१ करोड कारोबार गरेका थिए । रासस

लक्ष्मी बैंकको ९ लाख कित्ता संस्थापक सेयर साधारणमा परिणत, आजै नेप्सेमा सूचिकृत

काठमाडौं । लक्ष्मी बैंकको संस्थापक(प्रमोटर) सेयर साधारणमा परिणत भएको छ । बैंकको कुल ९ लाख ५ हजार ५१२ कित्ता प्रमोटर सेयर साधारण सेयरमा परिवर्तन भएको हो । २०७६ जेठ २ गतेको निर्णय अनुसार उक्त सेयर मंगलबार(जेठ ७ गते) सर्वसाधारण समूहमा परिणत भई मंगलबार नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा सूचिकृत भएको हो । सो मात्राको सेयर अब सर्वसाधारण समूह अन्तर्गत दोश्रो बजारमा कारोबार हुनेछ । बैंकको संस्थापकको ५१ प्रतिशत र सर्वसाधारणको ४९ प्रतिशत सेयर रहने गरी सर्वसाधारण समूहमा सो मात्राको सेयर सूचिकृत भएको नेप्सेले जनाएको छ । नेपाल धितोपत्र बोर्ड तथा नेपाल राष्ट्र बैंकले सेयर स्वामित्व संरचना परिर्वतन गर्न स्वीकृति र कम्पनी रजिष्ट्रारको नियमावलीमा संशोधन भए अनुसार प्रमोटर र सर्वसाधारणको सेयर संरचना गरिएको बैंकले जनाएको छ ।