कृषि विकास बैंकको अफिसियल बैकिङ्ग पार्टनरमा एनआरएन
काठमाडौं । कृषि विकास बैंक र एन.आर.एन पार्टनर कम्पनीबीच अफिसियल बैकिङ्ग पार्टनरको रुपमा कार्य गर्नका लागि सम्झौता भएको छ । उक्त सम्झौतामा कृषि विकास बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत(सीईओ) अनिलकुमार उपाध्याय र एन.आर.एन पार्टनर र आईडिया फर नेपालको तर्फबाट अध्यक्ष गोर्कणप्रसाद श्रेष्ठले हस्ताक्षर गरेका छन् । उक्त सम्झौताले विदेशबाट प्राप्त हुने रेमिट्यान्स रकमलाई उत्पादन क्षेत्रमा उपयोग गर्न थप मद्दत पुग्ने छ । व्यवसायिक कृषि, पर्यटन होटेल इ-पारकिङ्ग, रेमिट्यान्स र भुक्तानी सेवा व्यवसाय थप वृद्धि हुने देखिन्छ । कार्यक्रममा कृषि विकास बैंकका सीईओ उपाध्यायले यस सम्झौताले भविष्यमा रेमिट्यान्स व्यवसाय अभिवृद्धिका लागि थप टेवा पुग्नका साथै रेमिट्यान्स रकमको पूर्ण सदुपयोग गर्न र विदेशमा रहने नेपालीहरुले नेपालमा रकम पठाउन थप सहज र सरल हुन समेत मद्दत पुग्ने बताएका छन् । सोहि अवसरमा एन.आर.एन पार्टनरका अध्यक्ष श्रेष्ठले भविष्यमा यस सम्झौताका कारणले दुर्गम ग्रामिण क्षेत्रहरुमा रेमिट्यान्स सेवालाई सहज र सरल सहित पहुंच वृद्धि गर्न सम्भावित सहकारी तथा व्यक्तिहरुलाई एजेन्टको रुपमा परिचालन गर्न सकिने बताएका थिए ।
एनआईसी एशियाले दशैं बिदामा पनि सेवा प्रदान गर्ने, कुन शाखा कहिले खुल्ने ?(सूची सहित)
काठमाडौँ । एनआईसी एशिया बैंकले ग्राहकहरुको सुविधालाई ध्यानमा राखी बडा दशैं २०७६ को सार्वजनिक बिदाका दिनहरुमा समेत बैंकका विभिन्न शाखाहरुमार्फत् सेवा प्रदान गर्ने निर्णय गरेको छ । बडा दशैंको बिदाका दिनहरुमा समेत बैंकको देशभर रहेका विभिन्न शाखाहरु खुल्ला रहने छन् । जस अनुसार असोज १८ गते फूलपातीको दिन काठमाडौं उपत्यकाभित्र सामाखुसी, कमलादी, सातदोबाटो, महाराजगञ्ज, न्यूरोड–खिचापोखरी, थापाथली, भक्तपुर, थानकोट तथा काठमाडौं उपत्यका बाहिर धनगढी–चौराहा, बुटवल, न्यूरोड–पोखरा, लेकसाईड–पोखरा र हेटौंडास्थित शाखा कार्यालयहरु खुल्ला रहनेछन् । त्यसैगरी असोज १९ गते अष्टमीका दिन काठमाडौं उपत्यकाभित्र सामाखुसी, कमलादी, पुल्चोक, न्यूरोड–खिचापोखरी, महाराजगञ्ज, थापाथली तथा काठमाडौं उपत्यका बाहिर बुटवल, नेपालगञ्ज, न्यूरोड–पोखरा, कावासोती, वीरगंज, लाहान, जनकपुर, सिराहा, मलंगवा, चन्द्रनिगाहपुर, विराटनगर, ईटहरी, दमक र नारायणगढ शाखा खुल्ला रहने बैंकले जनाएको छ । असोज २० गते नवमीका दिन बालाजु, कमलादी, न्यूरोड–खिचापोखरी, थापाथली, तथा काठमाडौं उपत्यका बाहिर धनगढी हस्पिटल–लाईन, बुटवल, न्यूरोड–पोखरा, दुलेगौँडा, लिंकरोड, मिरचैया, राजविराज, बर्दिबास, हरिवन, गौर, विराटनगर, धरान, चारपाने र हेटौंडास्थित शाखा कार्यालयहरु खुला रहनेछन् । असोज २२ गते एकादशीका दिन काठमाडौं उपत्यकाभित्र बालाजु, कमलादी, न्यूरोड–खिचापोखरी, थापाथली, भक्तपुर तथा काठमाडौं उपत्यका बाहिर न्यूरोड–पोखरा, बाग्लुङ, बुटवल र नारायणगढस्थित शाखा कार्यालयहरु खुल्ला रहने जनाइएको छ । खुल्ला रहने शाखाहरुमध्ये न्यूरोड खिचापोखरी, भक्तपुर, महाराजगञ्ज शाखा अपरान्ह १ बजेदेखि ४ बजेसम्म र अन्य शाखाहरु बिहान ११ बजेदेखि अपरान्ह २ बजेसम्म खुल्ला रहनेछन् । यस अवधिमा नगद जम्मा र चेक सटहीको सेवा प्रदान गर्नुका साथै दशैं बिदा लगत्तै प्रक्रिया शुरु गर्नुपर्ने विभिन्न बैंकिङ सुविधाका लागि आवेदन दर्ता गर्न सकिने व्यहोरा समेत बैंकले जनाएको छ ।
कुमारी बैंकका ७ शाखाको एकैदिन उद्घाटन
काठमाडौँ । कुमारी बैंक लिमिटेडले काठमाडौँ उपत्यकाभित्र तथा बाहिर गरेर आफ्ना सात नयाँ शाखाहरूको उद्घाटन समारोह सम्पन्न गरेको छ । काठमाडौँ स्थित नयाँ वानेश्वर शाखाको उद्घाटन बैंकका संचालक समितिका अध्यक्ष अमिर प्रताप जबरा र नागरिक लगानी कोषका प्रमुख प्रशासक रमण नेपालले संयुक्त रूपमा गरेका हुन् । यसैगरी, कीर्तिपुर शाखाको उद्घाटन बैंकका संचालक समितिका सदस्य महेश प्रसाद पोखरेलज्यू र कीर्तिपुर नगरपालिका ९ का वडाअध्यक्ष गंगाराम महर्जनद्वारा सम्पन्न भएको हो । साथै, काभ्रेस्थित बनेपा शाखाको उद्घाटन बैंकका संचालक समितिका सदस्य कृष्णप्रसाद ज्ञवाली तथा बनेपा नगरपालिकाका मेयर लक्ष्मी नरसिंह बादे श्रेष्ठले संयुक्त रूपमा गरे । बैंकले उपत्यकाबाहिर भने नवलपरासीस्थित गैंडाकोट, बारास्थित जितपुर, चितवनस्थित पुरानो पर्सा, पर्सास्थित सिर्सियामा गरी कूल ४ शाखाहरूको औपचारिक उद्घाटन गरेको छ ।