एनआईसी बैंकका ग्राहकलाई सिद्धार्थ बिजनेश ग्रुपमा विशेष छुट
काठमाडौं । एनआईसी एशिया बैंक र सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिट्यालिटीबीच एनआईसी बैंकका ग्राहकहरुलाई छुट दिने सम्बन्धी सम्झौता भएको छ । सो सम्झौतापत्रमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुधिरनाथ पाण्डे र सिद्धार्थ बिजनेश ग्रुपका प्रमुख कार्यकारी अधिकृत कृष्ण न्यौपानेले हस्ताक्षर गरेका हुन् । उक्त सम्झौता बमोजिम एनआईसी एशिया बैंकका ग्राहकहरुले सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिट्यालिटीको मुलुकभर रहेका २३ वटा होटल तथा रेष्टुरेन्टका आउटलेटहरुमा बैंकको डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी बिल भुक्तानी गर्दा १०% छुट प्राप्त गर्न सक्नेछन् । यस एनआइसी बैंकको मुलुकभर ३०१ शाखा कार्यालयहरु, ३७५ एटिएम, ८४ वटा एक्स्टेन्सन काउण्टर एवं ४२ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ ।
कृषि विकास र राष्ट्रिय सहकारी बैंकबीच एनपिआरमा प्रिपेड कार्ड जारी गर्ने सम्झौता
काठमाडौं । कृषि विकास बैंक र राष्ट्रिय सहकारी बैंकबीच एनपिआरमा प्रिपेड कार्ड जारी गर्नका लागि सम्झौता सम्पन्न भएको छ । उक्त सम्झौतामा कृषि विकास बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्याय र राष्ट्रिय सहकारी बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बद्रि गुरांगाईले हस्ताक्षर गरेका हुन् । सम्झौता पश्चात कृषि विकास बैंक मार्फत राष्ट्रिय सहकारी बैंक (एनसिविएल) सँग आबद्ध सम्पूर्ण सदस्यहरुलाई प्रिपेड कार्ड उपलव्ध गराउने भएकोले ग्रामिण क्षेत्रका दुरदराजमा रहेका सहकारी सदस्यहरुलाई आधुनिक बैंकिङ्गका अत्याधुनिक सेवाबाट लाभान्वित हुने अवसर मिल्नेछ । उक्त अवसरमा कृषि विकास बैंकका का.मु. उप-महाप्रबन्धकहरु प्रताप सुवेदी, यज्ञ प्रकाश न्यौपाने ध्रुव चन्द्र गौतम र दिर्घ बहादुर अर्याल , विभागीय प्रमुखहरु पप्पुबाबु श्रेष्ठ, बासु अधिकारी शाखा प्रमुख भोला नेपाल र राष्ट्रिय सहकारी बैंकको तर्फबाट अन्य प्रतिनिधिहरुको समेत सहभागिता रहेको थियो ।
ग्लोबल आईएमई र जनता बैंकले दिए अधिकतम बाेनस; सहमति थियाे-‘जसले जति सक्छ बाँड्ने’
काठमाडौं । ग्लोबल आईएमई बैंकले आर्थिक वर्ष २०७५/७६ को नाफाबाट २५.५ प्रतिशत लाभांश दिने घोषणा गर्यो । ग्लोबल आईएमई बैंकसँग मर्जरका लागि समझदारी गरेर राष्ट्र बैंकबाट एलओआई समेत पाइसकेको जनता बैंकले भने १२ प्रतिशत लाभांश घोषणा गर्यो । दुबै बैंकले प्रस्ताव गरेकाे लाभांश दर उनीहरूकाे इतिहासका सर्वाधिक हाे । गत वर्षकाे नाफाबाट दुबै बैंकले आफ्ना सेयरधनीलाई सक्दाे बढी लाभांश दिने सहमति मर्जरकाे सहमतिकाे समयमा नै भएकाेले सहमित अनुसार नै लाभांश वितरणकाे निर्णय भएकाे जनता बैंकका प्रमुख कार्यकारी अधिकृत परशुराम कुँवर क्षेत्रीले बताए । दुई बैंकले घाेषणा गरेकाे लाभांश दरले पनि समझदारीलाई समर्थन गरेकाे छ । ग्लोबल र जनता दुबैले नगद लाभांश र बोनस शेयरको हिस्सा ५०/५० प्रतिशत छ । २५.५ प्रतिशत नगद लाभांश दिएको ग्लोबल आईएमई बैंकले १२.७५ प्रतिशत बोनस दिँदा जनता बैंकको १२ प्रतिशत लाभांशमध्ये ६ प्रतिशत बोनस शेयर रहेको छ । ग्लोबल आईएमई र जनता बैंकबीच १००ः८५ अनुपातको स्वाप रेसियोमा मर्जरमा जाने प्रारम्भिक समझदारी भएको थियो । तर यो लाभांश घोषणापछि यो हिस्सा १००ः८० मा झर्छ । अर्थात् बराबर शेयरसंख्या रहेका दुई शेयरधनीबीच तुलना गर्ने हो भने ग्लोबल आईएमई बैंकका शेयरधनीले १०० कित्ता शेयर पाउँदा जनता बैंकका शेयरधनीले ८० कित्ता मात्रै शेयर पाउँछन्, यहाँ करिब ५ रुपैंयाको फरक बोनस शेयरको भिन्नताका कारण भएको हो । अर्कोतर्फ, नगद लाभांश समेत ग्लोबल आईएमईका शेयरधनीले बढी पाउने अवस्था छ । लाभांश वितरण पछिमात्रै मर्जरमा जाने भएकोले नगद लाभांशको असर प्रत्यक्ष रुपमा नदेखिन सक्छ तर बोनस शेयरले भने शेयर संख्यामा प्रत्यक्ष रुपमा असर पार्छ । तर पनि जनता बैंकबाट ६ प्रतिशत नगद पाउँदा ग्लोबल आईएमईका शेयरधनीले १२.७५ प्रतिशत नगद लाभांश पाउने अवस्था हुन्छ, यसले मर्जर सहमति भई कारोबार रोक्का भएको दिनको तुलनामा जनता बैंकको वास्तविक स्वाप रेसियो ७५ रुपैंयाभन्दा पनि कम हुन जान्छ । जनता बैंकले अघिल्लो आर्थिक वर्षको अन्त्यसम्ममा १ अर्ब ३२ करोड रुपैंया खुद नाफा गरेको थियो । ८ अर्ब १ करोड मात्रै चुक्तापुँजी भएको जनताले १२ प्रतिशतका दरले लाभांश दिँदा करिब ९६ अर्ब १२ करोड रुपैंयाँ बराबरको लाभांश दिएको छ । त्यस्तै ग्लोबल आईएमई बैंकले २ अर्ब ७८ करोड ६८ लाख रुपैंया नाफा कमाएको र उसकाे १० अर्ब ३१ करोड रुपैंया चुक्ता पुँजी भएको बैंकले २५.५ प्रतिशतको दरमा जम्मा २ अर्ब ६२ करोड रुपैंया बराबरको लाभांश बाँडेको छ । यो नाफा लेखापरीक्षण नगरिएको वित्तीय विवरणमा आधारित हो । यो नाफा अनुसार ग्लोबल आईएमईले कुल नाफाको करिब ९५ प्रतिशत बाँड्दा जनताले भने करिब ७३ प्रतिशत मात्रै नाफा वितरण गरेको छ । जनता बैंक नेपाल प्रस्तावित लाभांश सहित वार्षिक प्रतिवेदन राष्ट्र बैंकले स्वीकृत गरिसकेकाे प्रमुख कार्यकारी अधिकृत क्षेत्रीले जानकारी दिए । ग्लाेवल आईएमई बैंक भने राष्ट्र बैंककाे स्वीकृतिकाे प्रतिक्षामा रहेकाे छ । ग्लाेवल आईएमई बैंककाे वार्षिक प्रतिवेदन स्वीकृत पछि डीडीए रिपाेर्टलाइ अन्तिम दिइने छ । डीडीएकाे रिपाेर्टले १००ः८५ स्वाप रेसियाे अनुपात गर्ने समझदारीलाई समर्थन गरेकाे स्राेतले बतायाे । डीडीएसँगै दुबैं बैंकले एकै दिन साधारणसभा बाेलाउने भएका छन् ।