एनआईबीएल र इसेवा फोन पेबीच अनलाईन भुक्तानी सम्झौता

काठमाडौँ । नेपालको पहिलो पेमेन्ट गेटवे इसेवा फोन पे प्रालि र नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड(एनआईबीएल) बीच अनलाइन भुक्तानी सम्झौता भएको छ । सम्झौतासँगै अब नेपाल इन्भेष्टमेन्ट बैंकबाट इसेवामा रकम लोड गर्न तथा विभिन्न वस्तु तथा सेवाहरूको सहजै भुक्तानी गर्न सकिनेछ । ग्राहकहरूले बैंकको इन्टरनेट बैंकिङ तथा कुनै पनि शाखा मार्फत सहजै इसेवामा रकम लोड गर्न सक्नेछन् भने इसेवा खातामा भएको रकम पनि सिधै बैंकमा जम्मा गर्न सक्नेछन् । इसेवाबाट मोबाईल रिचार्ज, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, हवाइ जहाज तथा बसको टिकट, विद्यालय/क्याम्पसको शुल्क भुक्तानी, होटेल र रेष्टुरेण्टको बिल भुक्तानी लगायत विभिन्न सुविधा उपभोग गर्न सकिनेछ । पछिल्लो समयमा इसेवाले क्युआरकोड मार्फत गरिने भुक्तानीलाई प्रवद्र्धन गरिरहेको छ । हाल इसेवामा ५५ हजार क्युआर मर्चेन्ट आबद्ध भइसकेका छन् भने क्युआर कोडमा इसेवाले आकर्षक क्यास ब्याक तथा छुटको व्यवस्था समेत गरेको छ । अबदेखि नेपाल इन्भेष्टमेन्ट बैंकका ग्राहकले इसेवामा पैसा लोड गरी सजिलै क्युआर कोड मार्फत भुक्तानीको सुविधा पनि लिन सक्नेछन् ।

एभरेष्ट बैंकले मनायो रजत जयन्ती

काठमाडौँ । एभरेष्ट बैंकले २५औं स्थापना दिवसको अवसरमा शुक्रबार लाजिम्पाटस्थीत प्रधान कार्यलयमा नर्भिक इन्टरनेशनल अस्पताल र नेपाल रेडक्रस सोसाइटीको सहकार्यमा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमहरुको आयोजना गरेको छ । बैंकले रक्तदान कार्यक्रम, निशुल्क स्वास्थ्य जाँच तथा नर्भिक अस्पतालका डाक्टर यादव भट्टसँग टक सो सञ्चालन गरेको थियो । समारोहमा बोर्ड अफ डिरेक्टर, प्रमुख कार्यकारी अधिकृत तथा वरिष्ठ अधिकारीहरुको उपस्थीति रहेको थियो । १ हजारभन्दा बढीको उपस्थीति रहेको उक्त कार्यक्रममा करिब १ सय जनाले रक्तदान गरेका थिए । सोही कार्यक्रममा बैंकले स्थापनाकालदेखि नै सेवा पुर्याइरहेका कर्मचारीहरुलाई सम्मानित गरेको छ । यसबाहेक, सबै प्रदेशमा रहेको बैंकका शाखाहरुमा पनि पुराना ग्राहकहरुलाई सम्मान गर्दै केक काटेर २५ औं वार्षिकउत्सव मनाइएको छ ।

आरविवि मर्चेन्टको सीईओमा बद्रीप्रसाद प्याकुरेल नियुक्त

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको सहायक कम्पनी आरविवि मर्चेन्ट बैंंकिङ्ग लिमिटेडकोे प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा मिति बद्रीप्रसाद प्याकुरेललाई नियुक्त गरिएको छ । कात्तिक १ गतेदेखि लागु हुने गरी चार वर्षको लागि प्याकुरेललाई सीईओ नियुक्त गरिएको हो । सीईओ प्याकुरेलले शुक्रबारनै एक समारोहका बीच पदबहाली गरेका छन् । प्याकुरेलकोे अर्थशास्त्र विषयमा स्नातकोत्तर गरी बैंकिङ्ग तथा पूँजीबजारमा १५ वर्ष भन्दा बढीको अनुभव रहेको छ । उनी यसअघि एनआईबिएल एस क्यापीटलमा सहायक महाप्रबन्धक पदमा कार्यरत थिए । सो अवसरमा राष्ट्रिय वाणिज्य बैंकका नायब प्रमुख कार्यकारी अधिकृत एवम् आरविवि मर्चेन्ट बैंकिङ्गका सञ्चालक केशबप्रसाद लम्सालले स्वागत गर्दै सफल कार्यकालको शुभकामना दिए । सो समारोहमा रावा बैंकका मूख्य प्रबन्धक एवम् सञ्चालक पवन रेग्मी, रावा बैंकका मूख्य प्रबन्धक एवम् आरविवि मर्चेन्ट बैंकिङ्गका निमित्त प्रमुख कार्यकारी अधिकृत रामकुमार थापा लगायत कर्मचारीहरुको उपस्थिती रहेको थियो । समारोहलाई कम्पनी सचिव खगेन्द्र उप्रेतीले सहजीकरण गरेका थिए । हाल शहरी क्षेत्रमा मात्र रहेको मर्चेन्ट बैकिङ्ग सेवा राष्ट्रिय वाणिज्य बैंकको ७७ जिल्लामा रहेका २३८ वटा शाखा कार्यालयबाट पनि यो सेवा लिन सकिने हुंदा दूरदराजमा रहेका जनताहरुले पनि मर्चेन्ट बैकिङ्ग सेवा लिन सकिने सम्भावना देखिएको नवनियुक्त सीईओ प्याकुरेलले बताए । आरविवि मर्चेन्ट बैंकिङ्गको हाल २० करोड चुक्तापूंजी रहेको छ ।