सरकारले भूमि बैंक खोल्दै, जग्गा नभएकाहरुले पनि खेतियोग्य जमिन पाउने
काठमाडौं । सरकारले उत्पादन वृद्धि गर्न भूमि बैंक खोल्ने भएको छ । अर्थमन्त्री युवराज खतिवडाले काठमाडाैंमा आयाेजित एक कार्यक्रममा बाेल्दै सरकार भूमि बैंक खोल्ने प्रयासमा रहेकाे बताएका हुन् । ‘सरकार भूमि बैंक खोल्ने तयारीमा लागेको छ, भूमि बैंकको स्थापना पछि खेतियोग्य जमिन बाँझो रहँदैन, आफुले उपयोग गर्न नसक्ने जग्गा धनीले भूमी बैंकमा लगेर राख्न र जग्गा नहुने तर कृषि उत्पादन गर्न चाहानेहरुले पनि भूमि बैंकबाटै जग्गा प्राप्त गरी उत्पादन गर्न सक्ने छन् ।’ अर्थमन्त्रीले भने । सरकारले तोकेको मूल्य भूमि बैंकमा बाँझो जग्गा राख्नेले पाउने छ भने उत्पादन गर्न चाहानेले पनि सरकारले तोकेको मूल्यमा जग्गा प्रयोग गरी उत्पादन गर्न पाउने छन् । सरकारले कृषिमा आत्मनिर्भर गराउन, न्यून ब्याजदरमा कृषि ऋण उपलब्ध गराएर बाँझो खेती योग्य जग्गालाई प्रयोगमा ल्याउन लागेको हो । कृषकलाई बैंकिङ ऋण, बीमा र बजार मूल्यसम्बन्धी जोखिम बहन गर्नुपर्ने अवस्थाको अन्त्य गर्न र उत्पादित वस्तु बिक्री-वितरणमा सजिलो हुने पनि उनले बताए । ‘समावेशीभन्दा अलि माथि उठ्ने गर्नु पर्यो, हामी समावेशी विकासमा नै छौ, लैंगिक विभेद पनि छ, हाम्रो जातजातीबीचमा पनि कमाईमा फरक छ, सम्पत्तिको असमान वितरणले पनि समाज भएको प्रभावलाई सरकारले हेर्नु पर्नेछ, यो अवस्थामा भूमि बैंक खोल्न उचित हुन्छ ।’ उनले भने । खानी भएको देशमा पनि समान र समावेशी विकास भएको छैन । आर्थिक वृद्धिमात्रै भएको छ । सबै स्रोतको प्रयोग गर्दा मात्रै समावेशी विकास हुने उनको भनाइ छ । सम्पूर्ण उत्पादन क्षेत्रमा सरकारले हेर्न नसकेको उनले बताए । भूमि र पुँजीको समानुपातिक वितरण गर्ने कुरामा सरको काम गरी रहेको उनको भनाइ छ । जग्गा धनीलाई जमिन बाँझो नराख्न र खेती गर्न प्रोत्साहनस्वरुप कार्यक्रम ल्याउने र आफैँले नसक्ने भएमा अरुलाई भाडामा दिएर भए पनि जमिन बाँझो नराख्ने नीति ल्याउने उनकाे भनाइ छ । विभिन्न स्थानिय सरकारले पनि भूमि बैंक कार्यक्रम अगाडि सारेका छन् । नेपालको २७ प्रतिशत जमिन कृषियोग्य भए पनि भूमि बैंकको अभावका कारण कार्यान्वयनमा कठिनाइ रहेको छ । विसं २०६८ को जनगणना अनुसार देशको ७४ प्रतिशत जनसङ्ख्या कृषिमा आत्मनिर्भर भए पनि ५३ प्रतिशत नागरिकसँग आधा हेक्टरभन्दा थोरै जमिन छ । हाल देशमा धेरै जमिन बाँझो छ । सरकारको यो प्रयासले पनि धेरै जमिन उपयोग विश्वास छ । भू-उपयोग नीतिअनुसार सरकारले याे कार्यक्रम अगाडि बढाउने भएकाे हाे ।
सानिमा बैंक र नेपाल मेडिसिटि हस्पिटलबीच छुटसम्बन्धी सम्झौता
काठमाडौं । सानिमा बैंक र नेपाल मेडिसिटि हस्पिटलबीच स्वास्थ्य उपचार सुविधा सम्बन्धी सम्झौता भएको छ । यस सम्झौतापत्रमा सानिमा बैंकका प्रमुख निक्षेप अधिकृत बबी सिंह गड्तौला र नेपाल मेडिसिटि हस्पिटलका महाप्रबन्धक विजय रिमालले हस्ताक्षर गरेका हुन् । यसम्झौता अनुसार सानिमा बैंकको डेबिट वा क्रेडिट कार्ड प्रयोगकर्ताले नेपाल मेडिसिटि अस्पतालमा उपचारको क्रममा सहज रुपमा भुक्तानी गर्न सक्नेछन् । साथै, प्रयोगकर्ताले सानिमा बैंकको कार्ड प्रयोग गरी विभिन्न उपचार खर्चहरुमा ७ प्रतिशतसम्म छुट पाउने छन् ।
एनआईबिएल सहभागिता फण्डको इकाइ बिक्रीका लागि गुडविल फाईनान्स र मुक्तिनाथ विकास बैंकबीच समझदारी
काठमाडौं । एनआईबिएल सहभागिता फण्डको इकाईहरुको खरिद बिक्रीलाई सहजीकरण गर्नका लागि गुडविल फाईनान्स र मुक्तिनाथ विकास बैंकबीच सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा एनआईबिएल एस क्यापिटल लिमिटेडका नायव प्रमुख कार्यकारी अधिकृत मेख बहादुर थापा, गुडविल फाईनान्सका प्रमुख कार्यकारी अधिकृत सरोज काजी तुलाधर र मुक्तिनाथ बिकास बैंकका सहायक नायव प्रमुख कार्यकारी अधिकृत तिल प्रसाद गुरुङ्गले हस्ताक्षर गरेका हुन् । गुडविल फाइनान्स तथा मुक्तिनाथ विकास बैंकका तोकिएका शाखा कार्यालयहरुबाट यहि माघ १ गते देखि “एनआईबिएल सहभागिता फण्ड” को ईकाइहरु लगानीकर्ताहरुले खरिद बिक्री गर्न सक्नेछन् । यस अघि सो योजनाका इकाईहरुको कारोबार नेपाल ईन्भेष्टमेण्ट बैंक लिमिटेडका तोकिएका शाखा कार्यालयहरु तथा एनआईबिएल एस क्यापिटल लिमिटेडका सम्पूर्ण शाखा कार्यालयहरुबाट असोज २७ गतेदेखि हुदैं आइरहेको छ ।