नबिल बैंकको ३४ प्रतिशत लाभांश पारित, प्रतिशेयर आम्दानी साढे ५० रूपैयाँ
काठमाडौं । नबिल बैंकको प्रस्तावित ३४ प्रतिशत लाभांश पारित भएको छ । मंगलबार सम्पन्न बैंकको ३५औं वार्षिक साधारणसभाले शेयरधनीलाई चुक्ता पुँजीको १२ प्रतिशत बोनस र २२ प्रतिशत नगद गरी सो मात्राको प्रस्तावित लाभांश पारित गरेको हो । उक्त बोनस पछि बैंकको चुक्ता पुँजी १० अर्ब ९ करोड रुपैयाँ नाघेको छ । बैंकले आर्थिक वर्ष २०७५/७६मा ४ अर्ब २४ करोड रुपैयाँ नाफा कमाएको छ । बैंकले प्रतिशेयर आम्दानी ५०.५७ रुपैयाँ हासिल गरी आफ्नो वासलात विस्तार गर्दै २ खर्ब १ अर्ब रुपैयाँ पुर्याएको छ । बैंकको संचालन मुनाफा ६ अर्ब ३ करोड रुपैयाँ रहेको छ । अघिल्लो वर्षको तुलनामा बैंककोे यस वर्षको संचालन मुनाफा र खुद मुनाफामा क्रमश ६.६१ प्रतिशत र ६.४५ प्रतिशतले वृद्धि भएको छ । बैंकको संचालक समितिका अध्यक्ष शम्भु प्रसाद पौड्यालको सफल नेतृत्वमा अघि बढिरहेको यस बैंकको “नेटवर्थ” २३ अर्ब १९ करोड रुपैयाँ रहेको छ । कार्यक्रममा अध्यक्ष पौड्यालले नबिल बैंकले नेपालको बैकिङ्ग क्षेत्रलाई आधुनिकीकरण गर्न, देशको व्यवसायीक एवं औद्योगिक गतिविधिहरुलाई गतिशिलता प्रदान गर्न, देशमा रोजगारीका अवसरहरु सिर्जना गर्न सहयोगीको भूमिका निर्वाह गर्न तथा सरकारी कोषमा कर मार्फत योगदान पुर्याउन सफल भएको बताएका छन् ।
गरिमा विकास बैंकको नयाँ शाखा रुपन्देहीको मुर्गियामा
काठमाडौं । गरिमा विकास बैंकले बुधबार रुपन्देही स्थित मुर्गिया शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । उक्त शाखाको उद्घाटन सैनामैना नगरपालिकाका नगर प्रमुख चित्र बहादुर कार्कीले गरेका हुन् । कार्यक्रममा विकास बैंकका अध्यक्ष चन्द्रकान्त बरालले औधोगिक तथा व्यवसायिक विकासमा राम्रो सम्भावना बोकेको रुपन्देही जिल्लाको मुर्गियास्थित शाखा कार्यालयले त्यस क्षेत्रको पूँजी परिचालन तथा व्यवसायिक विकासमा महत्वपूर्ण योगदान गर्ने विश्वास रहेको बताए । विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकालले आधुनिक सुविधा सहित स्थापना गरिएको मुर्गिया शाखाबाट ग्राहकहरुले सहज रुपमा सम्पूर्ण बैंकिङ्ग सेवा प्राप्त गर्ने उल्लेख गरे । यस बैंकले काठमाण्डौं उपत्यकाभित्र १० वटा शाखा सहित देशभर ९० शाखा, ५१ एटीएम र गरिमा रेमिटका करिब १०,००० एजेण्टमार्फत ग्राहकहरुलाई सेवा प्रदान गर्दै आईरहेको छ । साथै, बैंकले २०७६ पौष १३ गतेसम्म ३७ अर्ब ५० करोड निक्षेप संकलन गरी करिब ३३ अर्ब २५ करोड कर्जा लगानी गरेको छ ।
प्रभु बैंकको एक्स्टेन्सन काउण्टर सिराहामा
काठमाडौं । प्रभु बैंकले सेवा विस्तार गर्ने क्रममा सिराहा नगरपालिकास्थित प्रशासन कार्यालयमा एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । उक्त काउन्टरको उद्घाटन सिराहाका प्रमुख जिल्ला अधिकृत गोपाल कुमार अधिकारीले गरेका हुन् । नेपाल राष्ट्र बैंक तथा अन्य सम्बन्धित निकायसँग समन्वय गरी विभिन्न सरकारी निकायहरुको बैंकिङ्ग कारोबार प्रभावकारी रुपमा सञ्चालन गरिरहेको प्रभु बैंकले जिल्ला प्रशासन कार्यलयमा पनि आफ्नाे सेवा विस्तार गरेकाे हाे। यस बैंकको एक्स्टेन्सन काउण्टरबाट सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीहरुलाई रकम जम्मा गर्न र जिल्ला प्रशासन कार्यलयको काम गर्न सहज र सरल हुने भएको छ । प्रभु बैंकले २ सय २ वटा शाखा कार्यालय, १ सय ५२ वटा एटिएम ४० वटा एक्स्टेन्सन काउण्टर तथा १७ वटा शाखा रहित बैंकिङ्ग सेवा मार्पmत बैंकिङ्ग सेवा प्रवाह गरिरहेको छ ।