नबिल बैंककाे सजिलो एक्सप्रेस कर्जा योजना भैरहवामा सार्वजनिक
काठमाडौं । नबिल बैंकले नबिल सजिलो एक्सप्रेस कर्जा योजना भैरहवामा सार्वजनिक गरेको छ । साना तथा मझौला उद्यमको विकासका निम्ति नबिल बैंक र यूकेएड सक्षम एक्सिज टु फाइनान्सको सहकार्यमा उक्त योजना ल्याएको हो । कर्जासम्बन्धी निर्णय प्रकृयालाई गति दिँदै जोखिममा आधारित मूल्यांकन सहित क्रेडिट स्कोरिङ मोडल कर्जा आंकलन ढाँचाका आधारमा यो योजना आरम्भ गरिएको बैंकले जानकारी दिएको छ । सरल र शीघ्र प्रशोधनसहित अधिकतम साढे १० प्रतिशतको ब्याजदरमा यो कर्जा उपलब्ध हुनेछ । यस याेजनाअनुसार क्रेडिट स्कोरिङ विधिको प्रयोग गर्दै कर्जा स्वीकृत गर्ने तथा ब्याजदर तोक्ने नबिल बैंक पहिलो बैंक बन्न पुगेको छ । यसबाट साना तथा मझौला उद्यमका ग्राहकका लागि ७५ लाख रूपैयाँसम्मको कर्जा प्रतिस्पर्धी ब्याजदरमा उपलब्ध गराइनेछ । ऋणीको कर्जा आवेदनमा शीघ्र निर्णय लिँदै आवेदन प्राप्त भएको ३५ घण्टाभित्र स्वीकृति प्रदान गर्ने उद्देश्यले यो योजना ल्याइएको बैंकले जानकारी दिएको छ । नबिल सजिलो एक्सप्रेस कर्जा योजना निःशुल्क कारोबार सूचना, निःशुल्क मासिक विद्युतीय बैकिङ विवरण, व्यवसायको मुख्य मानिसलाई निःशुल्क क्रेडिट कार्ड हस्तान्तरणका साथै ३५ घण्टाभित्र निर्णय दिइसकिने आकर्षक प्याकेजका साथ आएको छ । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले यस क्षेत्रमा नबिल बैंक पहिलो स्थानको बैंकको रूपमा मान्यता पाएको र साना तथा मझौला उद्यम ग्राहक तथा व्यवसायका लागि पनि शीर्ष स्थानमा रहेको बताए । साथै, कर्जा प्रशोधन प्रकृयालाई छिटोछरितो, सहज र सरल बनाउने दिशामा नबिल सजिलो एक्सप्रेस कर्जाजस्ता रचनात्मक योजनाहरू अघि सार्दै साना तथा मझौला उद्यमका ग्राहकको पहिलो रोजाइ बनेको उल्लेख गरेका छन् । उद्यमको कर्जा आवेदन फारमको प्रशोधनका निम्ति अंकन विधि अँगालेबाट नबिलले कर्जा निर्णय प्रकृयामा थप वस्तुनिष्ठता ल्याउन सघाउनेछ । यसबाट अन्ततः नेपालको साना तथा मझौला उद्यम क्षेत्रलाई लाभ मिल्नेछ । नबिल बैंकले आफ्नो देशभर ९३ वटा शाखा कार्यालयहरू, एक सय ४२ एटिएम र १५ सयभन्दा धेरै नबिल रेमिट एजेन्टहरूसहित विभिन्न देशमा रहेका ऐजेन्टको बृहत् सन्जालमार्फत सेवा प्रवाह गरिरहेको छ ।
कुमारी बैंकको नाफा ८० करोड, सीडी रेसियो ७८ प्रतिशत माथि
काठमाडौं । कुमारी बैंकले चालु आर्थिक वर्षको ६ महिना अर्थात पुस मसान्तसम्ममा ८० करोड ३० लाख नाफा गरेको छ । गत वर्षको ६ महिनामा बैंकले ६६ करोड ६८ लाख रुपैयाँ नाफा गरेको थियो । बैंकले प्रकाशित गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणले यस्तो देखाएको हो । यो अवधिमा बैंकले ८० अर्ब ९२ करोड ५२ लाख रुपैयाँ कर्जा तथा लगानी गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले ७३ अर्ब १ करोड ७९ लाख रुपैयाँ कर्जा तथा लगानी गरेको थियो । बैंकसँग गत पुस मसान्तसम्म सर्वसाधारणको ८० अर्ब ६७ करोड ५२ लाख रुपैयाँ निक्षेप छ । गत वर्षको सोही अवधिमा ७३ अर्ब २० करोड ११ लाख रुपैयाँ निक्षेप थियो । कुमारीको निक्षेप र कर्जा करिब बराबर नै बढेको छ । कुमारीले ५ अर्ब २० करोड २१ लाख रुपैयाँ व्याज आम्दानी गरेको छ भने ३ अर्ब ३७ करोड ९१ लाख रुपैयाँ व्याज खर्च गरेको छ । बैंकको खुद व्याज आम्दानी १ अर्ब ८२ करोड २९ लाख रुपैयाँ छ । गत वर्ष कुमारीको खुद व्याज आम्दानी १ अर्ब ५१ करोड ७१ लाख रुपैयाँ थियो । बैंकको खराब कर्जा अनुपात १.०४ प्रतिशत छ । गत वर्षको पुस मसान्तमा यस्तो अनुपात १.२२ प्रतिशत थियो । यस्तै, कष्ट अफ फण्ड ७.५० प्रतिशत छ । गत वर्ष ८.१२ प्रतिशत थियो । कर्जा निक्षेप अनुपात (सीडी रेसियो) गत वर्ष ७८.०७ प्रतिशत थियो, यो वर्ष ७८.६१ प्रतिशत छ ।
६ महिनामा माछापुच्छ्रे बैंकको नाफा ८३ करोड रुपैयाँ
काठमाडौं । माछापुच्छ्रे बैंकले पुस मसान्तसम्ममा ८२ करोड ९१ लाख रुपैयाँ नाफा गरेको छ । उक्त नाफा अघिल्लो वर्षको सोही अवधिको तुलनामामा करिब ४ करोड रुपैयाँ बढी हो । गत वर्षको पुस मसान्तसम्ममा बैंकको नाफा ७८ करोड १३ लाख रुपैयाँ थियो । बैंकले पुस मसान्तसम्ममा निक्षेप ९७ अर्ब ५२ करोड रुपैयाँ संकलन गरेको छ । अघिल्लो वर्षको पुस मसान्तमा निक्षेप ८५ अर्ब १९ करोड रहेको थियो । एक वर्षमा बैंकको निक्षेप १४.४७ प्रतिशतले वृद्धि भएको छ । यस्तै बैंकले पुस मसान्तसम्ममा ८७ अर्ब ५४ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । अघिल्लो वर्ष कर्जा ७५ अर्ब ९ करोड रहेको थियो । ०.४५ प्रतिशत एनपीएल रहेको बैंकको कर्जा निक्षेप अनुपात ७८.७२ प्रतिशत रहेको छ । पुँजी पर्याप्तता अनुपात १३.४८ प्रतिशत छ । बेसरेट १०.२६ प्रतिशत रहेको छ । अघिल्लो वर्ष १०.९९ प्रतिशत थियो । बैंकको ५.२४ प्रतिशत स्प्रेडदर रहेको छ । ८ अर्ब ४५ करोड चुक्ता पूँजी रहेको माछापुच्छ्रे बैंकको रिजर्बमा २ अर्ब रुपैयाँ रहेको छ । प्रति सेयर आम्दानी १९.३७ रुपैयाँ रहेको छ । समग्रमा बैंकका परिसूचक राम्रो छ भने विजनेशको नाफा वृद्धिदर पनि राम्रो छ । राष्ट्र बैंकको निर्देशन स्प्रेडदर ४.५ प्रतिशतमा झार्नु पर्ने दवाव बैंकलाई छ भने नाफाको वृद्धिदर उच्च बनाउन बैंकका लागि थप मिहेनत गर्नु पर्ने देखिन्छ ।