इन्फ्रास्ट्रचर बैंककाे शेयर प्रत्याभूतिमा नागरिक लगानी कोष

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंककाे साधारण शेयर निष्काशन तथा धितोपत्र प्रत्याभूतिमा नागरिक लगानी कोष नियुक्त भएकाे छ । बैंकले ८ अर्ब रुपैयाँ बराबरको रु.१०० अंकित दरको ८ करोड कित्ता साधारण सेयर निष्काशन गर्न काेषलाई प्रत्याभूतिकर्ता (अन्डरराइटर) मा नियुक्त गरेकाे हाे । सो प्रत्याभूति सम्बन्धी सम्झौतापत्रमा नागरिक लगानी कोषको कार्यकारी निर्देशक रमण नेपाल र नेपाल इन्फ्रास्ट्रक्चर बैंकको नायव प्रमुख कार्यकारी अधिकृत भुपेन्द्र पाण्डेले हस्ताक्षर गरेका हुन् । नेपाल सरकारको समेत लगानी रहेको नेपाल इन्फ्रास्ट्रचर बैंक लिमिटेड नेपालकै पहिलो पूर्वाधार विकास बैंक हो भने बैंकले जारी गर्न लागेको यो सार्वजनिक निष्काशन हाल सम्मकै देशकै ठूलो सार्वजनिक निष्काशन हुनेछ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको अधिकृत पुँजी ४० अर्ब, जारी पूँजी २० अर्ब र चुक्ता पूँजी १२ अर्ब रूपैयाँ रहेको छ भने सर्वसाधारणहरुलाई शेयर निष्काशन गरी बाँडफाँट गरे पश्चात बैंकको चुक्ता पूँजी २० अर्ब रूपैयाँ पुग्ने छ । जलविद्युत, सौर्य उर्जा, होटल, रिसोर्ट, फनपार्क, केवलकार, शिक्षा, स्वास्थ्य लगायतका पूर्वाधार क्षेत्रका उपयुक्त परियोजनाहरुमा श्रोत लगानी गर्ने मुल उद्देश्य लिई स्थापना भएको बैंकले मुलुक भित्र तथा मुलुक बाहिरबाट दीर्घकालीन श्रोत संकलन गरी त्यस प्रकारका परियोजनाहरुलाई आवश्यक पर्ने श्रोत उपलब्ध गराउने लक्ष्य लिएको छ ।

हिमालयन बैंकमा नयाँ नेतृत्वः पब्लिकको हिस्सा बढाउने, सीडीसी भित्र्याउने

काठमाडौं । हिमालयन बैंक संचालक समितिमा सर्वसम्मत रुपमा नयाँ नेतृत्व आएको छ । २९ माघमा हुने बैंकको वार्षिक साधारणसभाको लागि उम्मेदवारी मनोनयनमा सर्वसम्मत भएको हो । बैंक संचालक समितिमा प्रचण्डबहादुर श्रेष्ठ, सुनिलबहादुर थापा, तुलसी गौतम, आशिष शर्मा र फैसल लालानीको मात्रै उम्मेदवारी परेको छ । श्रेष्ठ यसअघि पनि बैंक संचालक समिति सदस्य थिए । थापा पूर्वप्रधानमन्त्री सूर्यबहादर थापाका छोरा तथा पूर्वमन्त्री हुन् । हिमालयन शमशेर जवराका ज्वाइँ थापा पृथ्बीबहादुर पाँडेसमुहको प्रतिनिधित्व गर्दै आएका हुन् । गौतम कर्मचारी संचय कोषको तर्फबाट संचालक बनेका हुन् । शर्मा पूर्वराजदुत दीपकुमार उपाध्यायका छोरा हुन् । शर्मा यसअघि नविल बैंकको संचालक समिति सदस्य भइसकेका छन् भने युनाइटेड इन्स्योरेन्स कम्पनीको संचालक समिति अध्यक्ष पनि भइसकेका हुन् । लालानी पाकिस्तानको हविब बैंकको प्रतिनिधित्व गर्दै संचालक समितिमा आएका हुन् । अबको अध्यक्ष को ? बैंक संचालक समितिले सामना गर्ने पहिलो चुनौति नै यही हुने देखिएको छ । वर्तमान अध्यक्ष मनोजबहादुर श्रेष्ठले संचालक समितिमा उम्मेदवारी नै नदिएर मैदान खाली गरिदिएका छन् । उनका भाइ प्रचण्ड बहादुर श्रेष्ठले अध्यक्षको जिम्मेवारी पाउने सम्भावना कम रहेको बताइन्छ । अर्का संचालक शर्मा पनि अध्यक्ष बन्ने प्रतिस्पर्धामा छैनन् । अध्यक्ष पदको लागि थापा र गौतमबीच प्रतिस्पर्धा हुने देखिएको छ । एउटा पक्षले गौतमलाई अध्यक्ष बनाउने प्रयास गरिरहेको छ भने अर्काे पक्षले पूर्वमन्त्री समेत रहेका थापालाई अध्यक्ष बनाउने प्रयास गरेको बताइएको छ । प्राथमिकतामा ३ सुची हिमालयन बैंकमा अहिले पनि सर्वसाधारणको १५ प्रतिशत मात्रै सेयर हिस्सा छ । यो हिस्सा बढाएर कम्तिमा पनि ३० प्रतिशत पुर्याउन राष्ट्र बैंकले निर्देशन दिएको छ । यो निर्देशन कार्यान्वयनको लागि बैंकले १५ प्रतिशत प्रमोटर सेयरलाई पब्लिकमा परिवर्तन गर्ने प्रक्रिया सुरु गरिसकेको छ । केही साता अगाडि मात्रै बैंकले १० प्रतिशत प्रमोटर सेयरलाई पब्लिक बनाउने प्रस्ताव राष्ट्र बैंक पठाएको थियो । राष्ट्र बैंकले सो प्रस्ताव अस्वीकार गरेको छ । प्रमोटर सेयरलाई किस्ता किस्तामा पब्लिक गर्नुभन्दा पनि एकै पटक १५ प्रतिशत सेयर पब्लिक गराउने गरी प्रस्ताव ल्याउन राष्ट्र बैंकले हिमालयन बैंकलाई निर्देशन दिएको छ । हिमालयन बैंकले राष्ट्र बैंकको निर्देशन अनुसार नै १० प्रतिशत प्रमोटर सेयर मात्रै पब्लिक गर्ने प्रस्ताव पठाएको थियो । राष्ट्र बैंकले जारी गरेको निर्देशनमा एक पटकमा १० प्रतिशत प्रमोटर सेयरलाई मात्रै पब्लिक गराउन पाइने भन्ने थियो । तर, हिमालयन बैंकलाई एकै पटक १५ प्रतिशत सेयर प्रमोटर गर्न दिने सन्देश राष्ट्र बैंकले दिएको छ । हिमालयन बैंकको नयाँ नेतृत्वले राष्ट्र बैंकको निर्देशन अनुसार सर्वसाधारणको सेयर हिस्सा कम्तिमा ३० प्रतिशत पुर्याउनु पर्नेछ । संचालक समितिको अर्काे प्रमुख कार्यभार भनेको हविब बैंकलाई निकास दिनु हो । पाकिस्तानको हविब बैंकले हिमालयन बैंकमा रहेको आफ्नो २० प्रतिशत सेयर विक्री गर्न चाहेको छ । हविबसँग भएको सेयर बेलायती कम्पनी सीडीसीले खरिद गर्ने प्रक्रिया नै अगाडि बढेको थियो । नेपाल राष्ट्र बैंकले पनि हिमालयन बैंकमा सीडीसीलाई भित्र्याउन पहल गरिरहेको छ । अहिलेका संचालक समिति अध्यक्ष मनोज बहादुर श्रेष्ठले अवरोध गरेका कारण सो सेयर खरिद विक्री प्रक्रिया सफल हुन नसकेको चर्चा पनि छ । नेपाल राष्ट्र बैंकले हिमालयन बैंकलाई मर्जरमा जान सुझाव दिइरहेको छ । राष्ट्र बैंकको सुझाव अनुसार उपयुक्त बैंक खोजेर मर्जरमा जानु नयाँ नेतृत्वको अर्काे कार्यभार हुनेछ । यद्यपि अहिलेको संचालक समितिले मर्जरलाई त्यति प्राथमिकता दिने संकेत गरेको छैन । सम्बन्धित सामग्री हिमालयन बैंकको १० प्रतिशत प्रमोटर सेयर पब्लिक बनाउन राष्ट्र बैंकले स्वीकृति दिएन हिमालयन बैंकसँग अझै २ विकल्प, एफपीओ जारी गरे प्रतिकित्ता २ सय रुपैयाँ हिमालयन बैंकको औसत लाभांश २७.५५ प्रतिशत, बाेनसकाे मुखमा सेयर मूल्य ५०० नजिक हिमालयन बैंकलाई राष्ट्र बैंकको चार बुँदे कडा निर्देशन, सञ्चालक समितिमा उथलपुथल हुने इन्भेष्टमेन्ट र हिमालयन बैंक मर्जरको ‘च्याप्टर क्लोज’ सम्बन्धित शिषर्कहरु

प्रभु बैंकको नाफा १ अर्ब ८ करोड, स्प्रेड दर केही घट्यो

काठमाडौं । प्रभु बैंकले चालु आर्थिक वर्षको ६ महिनामा १ अर्ब ८ करोड ५७ लाख रुपैयाँ नाफा गरेको छ । गत वर्षको ६ महिनामा बैंकले १ अर्ब ४ करोड १८ लाख रुपैयाँ नाफा गरेको थियो । बैंकले सर्वसाधारणलाई ९४ अर्ब ७१ करोड ६४ लाख रुपैयाँ कर्जा तथा लगानी गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले ८५ अर्ब ८२ करोड ११ लाख रुपैयाँ कर्जा तथा लगानी गरेको थियो । बैंकले चालु आर्थिक वर्षको पुस मसान्तसम्मको कारोबारको आधारमा प्रकाशित गरेको अपरिष्कृत वित्तीय विवरणमा यस्तो देखिएको हो । यस्तै, बैंकमा गत पुस मसान्तसम्ममा सर्वसाधारणको १ खर्ब १५ अर्ब ५० करोड रुपैयाँ निक्षेप छ । गत आर्थिक वर्षको पुस मसान्तसम्ममा बैंकमा १ खर्ब ५ अर्ब ४८ करोड ८५ लाख रुपैयाँ निक्षेप थियो । गत पुस मसान्तसम्ममा बैंकले ५ अर्ब ९९ करोड रुपैयाँ व्याज आम्दानी गरेको छ भने ३ अर्ब ५३ करोड २९ लाख रुपैयाँ व्याज खर्च गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले ५ अर्ब २२ करोड ४९ लाख रुपैयाँ व्याज आम्दानी गरी ३ अर्ब ७ करोड १८ लाख रुपैयाँ व्याज खर्च गरेको थियो । गत आर्थिक वर्षको ६ महिनामा २ अर्ब १५ करोड ३० लाख रुपैयाँ खुद व्याज आम्दानी गरेको प्रभु बैंकले चालु आर्थिक वर्षको सोही अवधिमा २ अर्ब ४५ करोड ७१ लाख रुपैयाँ खुद व्याज आम्दानी गरेको छ । प्रभु बैंकको खराब कर्जा अनुपात ३.१२ प्रतिशत छ । गत वर्षको पुस मसान्तमा यस्तो अनुपात २.४७ प्रतिशत थियो । यस्तै, कष्ट अफ फण्ड ६.२९ प्रतिशत छ । गत वर्षको पुसमा ६.१९ प्रतिशत थियो । गत वर्षको पुस मसान्तमा ७६.५९ प्रतिशत रहेको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) यो वर्षको पुस मसान्तमा ७४.७ प्रतिशत छ । बैंकले प्रकाशित गरेको विवरण अनुसार गत पुस मसान्त आधार दर ९.४५ प्रतिशत छ । गत वर्षको पुस मसान्तमा यस्तो दर ९.३७ प्रतिशत थियो । आधार दर बढी भयो भने कर्जाको व्याज महंगो पर्छ । गत वर्षको पुस मसान्तमा ४.८७ प्रतिशत रहेको बैंकको व्याज अन्तर (स्प्रेड) दर यो वर्षको पुस मसान्तमा ४.८३ प्रतिशत छ ।