बैंकको किस्ता तिर्ने समय १ वर्ष जति बढाउन पर्नसक्छ
कोरोनाको कारण बैंकिङ क्षेत्रको भविश्य विश्वभरी फैलिरहेको कोरोना भाइरसको महामारीले सबै क्षेत्रलाई असर पारेको छ । बैंकिङ क्षेत्रमा पनि त्यसबाट टाढा रहन सकेको छैन । यसको असर बैंकिङ क्षेत्रमा पनि परेको छ । हामी सबैले के बुझ्नु पर्छ भने बैंकिङ क्षेत्र आमनागरिकको निक्षेपबाट चल्छ । यो निक्षेपलाई सुरक्षित बनाउनको लागि सबै क्षेत्रको सहयोग उत्तिकै चाहिँन्छ । अहिले तत्कालिन रुपमा बैंकिङ क्षेत्रको समस्या भनेको धितो र ऋण हो । निक्षेपकर्ताको निक्षेप त सुरक्षित छ नै तर जसले ऋण लिनुभएको छ । उनीहरुको व्यापार व्यवसाय नचलेपछि तिर्न नसक्ने अवस्था आउँछ । त्यस्तो अवस्था आएको खण्डमा र त्यो अवस्था नआओस् भन्नका लागि सरकारले राहतको व्यवस्था मिलाउन पनि आवश्यक छ । सरकारले उनीहरुको लागि केही सावाँ व्याज तिर्ने म्याद पनि थप्ला । अहिले सरकारले चैतको किस्ता असारमसान्त भित्रसम्म तिर्न सकिने भनेको छ । तर, मलाई लाग्छ यो निर्णय हतारमा भयो । लकडाउन कतिसम्म रहन्छ, कसैलाई थाहा छैन । किनकि देशमा कोरोनाले कतिसम्म असर र संक्रमण विस्तार गर्छ भन्नेमा भर पर्छ । सबैको सहयोगबाट बैंकहरु चल्ने हो । यदि भोलि ६ महिनासम्म लकडाउन रह्यो भने पहिलेको जस्तो बैंकहरुले नाफा गर्यो भन्ने अवस्था आउँदैन । यसको असर बैंकिङ क्षेत्रमा पर्छ नै । हामीले आफै केही पनि गर्न सक्दैनौं । यसका लागि राष्ट्र बैंकको निर्देशन आउनु पर्नेहुन्छ । यदि यो लकडाउन लामो समयसम्म रह्यो भने अस्ति गरेको सम्बोधनले मात्र पुग्दैन । त्यहाँ चैतभित्र तिर्नुपर्ने किस्ता असार भित्र पनि तिर्दा हुन्छ भनेको छ । यदि यो लकडाउन लम्बियो भने अहिलेको पनि असारमा तिर्नु पर्यो र असारको पनि तिर्दा त्यो तिर्न सक्ने अवस्था आउँदैन । मलाई लाग्छ यो निर्देशन ५ महिना, एक वर्ष वा कतिसम्म गर्न सकिन्छ, गर्नु पर्छ । हामी कसरी यसको न्युनिकरण गर्छौं भन्ने कसैलाई थाहा छैन । लकडाउन खोलेर जोखिम निम्त्याउनभन्दा लकडाउन कायम नै गर्नु उचित हुन्छ । बैंकको क्वाटर रिपोर्ट र वित्तीय रिपोर्टमा परिवर्तन यो एक दुई महिनाको लकडाउनले बैंकिङ क्षेत्रको वित्तीय विवरण नराम्रो आउँदैन । ग्राकहलाई व्याज त चार्ज भइरहेको नै हुन्छ । लिने र दिने दुवै व्याज चार्ज भइरहेको हुन्छ । त्यो हिसावले त्यति धेरै परिवर्तन तथा घाटा नहोला जस्तो लाग्छ । तर, व्याज इनकम क्यास नआएकोले वितरणयोग्य नाफा घट्छ । क्यास आएपछि नाफा वितरण गर्न पाइन्छ । तर, अन्य नोक्सान खासै पर्दैन । बैंकहरुलाई अहिले प्रत्यक्ष असर पर्ने भनेको इन्ट्रेस्ट इनकम हो । बैंकको नगद इनकम घट्छ । त्यसमा कर्जाको ग्रोथ रहँदैन । रेमिटान्स पेमेन्ट पनि एकदमै घट्छ । विस्तारै सबै क्षेत्रमा कमि आउँछ । खराब कर्जामा कस्तो असर ? यो विषयमा अहिले नै आँकलन गर्न सकिदैन । समयवद्ध रुपमा कर्जाको सावा र व्याज तिर्यो भने खराव कर्जा बढ्दैन । चैतको पैसा चैतमै तिर्यो भने खराब कर्जा बढ्दैन । अन्यमा भने केही चाप चाहिँ पर्छ नै । लकडाउनको समयमा क्लाइन्ट तथा नोट ह्याण्डलिङ हामी नियमित रुपमा अफिसमै बसेर काम गरिरहेका छौं । हामीहरु मसान्त आउन लाग्यो भनेर दुरी कायम गरेर काम गरिरहेका छौं । हामीले सुरक्षित हुने सामग्रीहरुको प्रयोग बढाएका छौं । कर्मचारीहरुले आफ्नो सुरक्षाका लागि पञ्जा, माक्स लगाउने काम गरिरहेका छन् । ग्राहक पनि नजिक नआओस् भने बार लगाएका छौं । स्यानिटाइजर प्रयोग गरेर मात्र भित्र आउन दिन्छौं । भिडभाड गर्न दिएका छैनौं । यसरी नै हामीले सुरक्षित भएर काम गरिरहेका छौं । ग्राहहको चाप पनि एकदमै घटेको छ । सबै काम इन्टरनेटबाटै गरिरहेका छौं । काउन्टरमा बस्नेलाई जोखिम जोखिम सबै क्षेत्रमा छ । अस्पतालका चिकित्सकलाई पनि जोखिम छ । तर, उनीहरुले सेवा दिनेकि नदिने ? त्यो जोखिम हामीलाई पनि छ । जोखिम भएपनि हामी लागिरहेका छौं । अत्यावश्यक सेवामा आइसकेपछि हामीले सेवा दिने हो । अहिले धेरै स्टाफहरु घरबाटै काम गर्छन् । पहिले ४÷५ जना काउन्टरमा बस्थे भने अहिले एक दुई जना मात्र बसिरहेका छन् । त्यस्तो धेरै समस्या छैन । बैंकिङ क्षेत्रमा कर्मचारी कटौती हुने अवस्था अन्य क्षेत्रमा कर्मचारी हायर एण्ड फायर गर्न सकिन्छ । तर, बैकिङ क्षेत्रमा त्यो सम्भव छैन । हाम्रो नीति नियम पनि कडा छ । जतिबेला जेसुकै भएपनि हाम्रो कम्पनी धान्नसम्म कर्मचारीलाई कटौती गर्ने अवस्था हुँदैन । हामी त्यो पक्षमा छैनौं । मलाई लाग्छ, सबै बैंकहरुको हाम्रो जस्तै छ । कर्मचारी नै कटौती गर्ने खालको समस्या हाम्रोमा आउँदैन । हामी कहाँ कर्मचारी आइसकेपछि अन्य ठाउँमा जाने वातावरण पनि छैन । हामीसँग देशभर ८ सयभन्दा बढी कर्मचारी छन् । एक सय दुई शाखाहरु छन् । सबैसँग राय सल्लाह लिएर काम गरिरहेका छौं । डिजिटल बैकिङतर्फको ध्यान मलाई लाग्छ, विकास बैंकहरुमा मोबाइल बैकिङमा नै हामी लिडर हौं । मोबाइल बैकिङलाई हामीले प्राथमिकताका साथ हेरिरेहका छौं । हामीसँग ३५ वटा एटिएम छन् । बैंकमा नआउने वातावरण निर्माण गरेका छौं । मोबाइल बैकिङको एउटा टोली बनाएका छौं । जोखिम नहुने गरी काम गरिरहेका छौं । त्यो हिसावले सीमित रकम कारोबार गर्न हामीले प्रमोट गरिरहेका छौं । हाम्रोमा मोबाइल बैकिङका ४५ हजारभन्दा बढी प्रयोगकर्ता छन् । मोबाइल बैकिङमा कहिले काहिँ नेटवर्क नभएको कारणले समस्या आउन सक्ने हो । तर, अन्य भौतिक तथा क्यास ट्रान्सर्फरमा त्यस्तो कुनै समस्या र जोखिम छैन । हामीले ग्राहक आउने वित्तिकै योे सुविधा पाउनुहुन्छ भन्ने कूरा गरेका छौं । इमेल मेसेज गरेका छौं । हाम्रो डिजिटल बैंकिङ चलाइरहेका छन् । (महालक्ष्मी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) लामिछानेसँग गरिएको कुराकानीमा आधारित)
४ महिनामा बैंकहरुको करिब ५ अर्ब आम्दानी गुम्दैछ
माछापुच्छ्रे बैंक लिमिटेडले प्रमुख कार्यकारी अधिकृत पदमा सन्तोष कोइरालालाई नियुक्त गरेको तीन साता भएको छ । यद्यपी उहाँले प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी बैशाख १ गतेदेखि समाल्दै हुनुहुन्छ । कोरोना महामारीले विश्व आक्रान्त भएको र नेपालसहित विश्व अर्थतन्त्रमा ठूलो क्षति भईरहेको बेलामा उहाँले सीईओको जिम्मेवारी पाउनु भएको छ । यस्तो अवस्थामा बैंकलाई कसरी चलाउनुहुन्छ ? स्टेकहोल्डरको अपेक्षाहरु कसरी पूरा गर्नुहुन्छ ? प्रस्तुत छ यहि विषयमा केन्द्रीत भई कोइरालासँग विकासन्युजका लागि प्रधान सम्पादक रामकृष्ण पौडेलले गरेका विकास वहस । नेपालसहित विश्वको अवस्था खराब भएको बेलामा तपाई बैंकको सीईओमा नियुक्त हुनुभयो । यो अवस्थामा बैंकलाई कसरी अगाडि बढाउनु हुन्छ ? यो कसैले पनि नसोचेको अवस्था हो । र, विश्वभर देखिएको समस्या हो । बेलायत जस्तो राम्रो हेल्थकेयर सिस्टम भएको देशका प्रधानमन्त्री बोरिस जोनशन आईसीयूमा बस्नुपरेको छ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रप जस्तो शक्तिशाली व्यक्ति अहिले निकै तनावमा पुगेका छन् । भारतमा समेत कोरोना संक्रमण निकै फैलिएर गएको छ । विश्व अर्थतन्त्रमा नै ठूलो समस्या आएको छ । अत्यन्तै कठिन अवस्थामा मैले यो जिम्मेवारी पाएको छु । चुनौतिलाई अवसरको रुपमा लिएर बैंकलाई अगाडि बढाउनुपर्ने अवस्था छ । डराएर, आत्तिएर हुँदैन । पद नयाँ भए पनि बैकिङ क्षेत्र मेरो लागि नयाँ होइन । २१ वर्षसम्म यहि क्षेत्रमा काम गरेको अनुभव छ । कोरोना महामारीको असर सबै बैंकलाई पर्छ, माछापुच्छ्रे बैंकलाई पनि पर्छ । अब कसरी असरलाई न्युनिकरण गर्ने भन्ने हो । बैशाख १ गतेदेखि लागू हुने गरी बैंक सञ्चालक समितिले मलाई प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी तोकेको छ । पहिला आफू, आफ्नो परिवार, बैंकको परिवारलाई र सर्वसाधारणलाई कसरी सुरक्षित राख्न सकिन्छ भनेर ध्यान दिनुपर्यो । त्यसपछि बैंकको सेवा कसरी राम्रो बनाउने, बिजनेश कसरी बढाउने, लगानीकर्तालाई कसरी उच्चतम लाभ दिने भन्नेमा हाम्रो ध्यान केन्द्रीत हुनुपर्छ । लकडाउनको समयमा बैंक कसरी चलाइरहनु भएको छ ? ग्राहकको माग र सुविधालाई हेरेर विभिन्न ठाउँमा शाखाहरु सञ्चालन गरेका छौं । ग्राहकहरुले फोन गरेर, इमेल गरेर, भाइवर वा फेसबुकबाट विभिन्न विषयमा जानकारी माग्नु भएको छ । हामीले उहाँहरुलाई सहयोग गरिरहेका छौं । दैनिक औसतमा ३३ वटा शाखा खुलिरहेका छन् । विस्तारै थप शाखाहरु पनि सञ्चालनमा ल्याउने तयारीमा छौं । काठमाडौं, पोखरा, भैरहवा, विराटनगर, चितवनमा एक भन्दा बढी शाखा खोलेर सेवा दिईरहेका छौं । चैत मसान्त ऋणीहरुले किस्ता तिर्ने समय हो । यतिबेला ऋणीहरुको प्रतिक्रिया कस्तो छ ? मिश्रित छ । केही दुविधा पनि देखिन्छ । राष्ट्र बैंकको सर्कुलरमा चैत मसान्तभित्र किस्ता तिर्नेलाई व्याजमा १० प्रतिशत छुट दिने भनिएको छ । हाम्रो बुझाइमा यस्तो छुट टर्म लोन (आवाधिक कर्जा) लिनेका लागि मात्र हो । ओभर ड्राफ्ट लिनेको लागि होइन । तर अहिले ओभरड्राफ्ट सुविधा लिनेहरुले पनि यस्तो सुविधा पाउनु पर्ने हो भन्ने चाहना राख्नु भएको छ । यो विषयमा हाम्रो बैंक भित्र पनि र बैंकर्स संघमा पनि छलफल भएको छ । व्याज छुट दिन तत्काल हाम्रो सफ्टवेयरले सपोर्ट गर्दैन । त्यसैले चैत मसान्तमा पुरै व्याज लिन बैशाख लागेपछि बैंकका कर्मचारीले हिसाव निकालेर सम्बन्धित ग्राहकको चालु खातामा पैसा फिर्ता गर्नु पर्ने भएको छ । ओभर ड्राफ्ट लिने ग्राहकहरुले व्याजको १० प्रतिशत छुट नपाउने हो भने किन चैतमा व्याज लिन्छौं, जेठसम्म हामीले तिर्न पाउने सुविधा छ भनेर भनिरहेका छन् । यसले ऋणीहरुमा केही दुविधा भएको देखाउँछ । दुविधा हटाउने गरि भनिदिनुहोस् न त । ऋणीले के के सुविधा पाउँछन् ? के के सुविधा नखोज्दा हुन्छ ? चैत मसान्तभित्र मासिक वा त्रैमासिक किस्ता भुक्तानी गरेमा चैत महिनामा लाग्ने व्याजको १० प्रतिशत बैंकले नै तिरिदिन्छ । यदि उनीहरुले चैतमा कर्जा तिर्न सकेनन् भने असारमा एकै पटक तिर्नुपर्ने हुन्छ । चैतको किस्ता नतिरेबापत कुनै पनि प्रकारको जरिवाना वा हर्जना लाग्दैन । असारमा तिर्दा चैत मसान्तमा तिर्नु पर्ने र असार मसान्तसम्ममा तिर्नु पर्ने दुबै किस्ता तिर्नुपर्छ । तर ओभरड्राफ्ट लोनको व्याजमा सरकारले कुनै पनि किसिमको छुट दिएको छैन । चैत अन्त्यमा वर्किङ क्यापिटलको व्याज तिर्न सकेन भने जेठ अन्त्यसम्म तिर्दा पनि कुनै पनि प्रकारको पेनाल, शुल्क वा हर्जना लगाउन पाइदैन । ऋणीहरु चैत मसान्तमा किस्ता तिरेर व्याजको १० प्रतिशत छुट लिने लाइनमा छन् कि असार मसान्तसम्म कुर्ने लाइनमा छन् ? कतिपयले माघ, फागुन र चैतको व्याजमा १० प्रतिशत छुट पाउने हो भनेर सोधिरहेका छन् । तर राष्ट्र बैंकले चैत महिनाको व्याजको १० प्रतिशत मात्रमा छुट दिने भनेको छ । मलाई लाग्छ चैत मसान्तमा धेरैले किस्ता नतिरे असारमा नै तिर्ने मनस्थिति बनाएको हुनुपर्छ । यो अवस्थामा बैंकहरुको चैत मसान्तको वित्तीय विवरण कस्तो आउँछ ? एनएफआरएस अनुसार एक्रोलबेसमा वित्तीय विवरण तयार हुन्छ । किस्ता नआउँदैमा वा कर्जा नविकरण नहुँदैमा प्रोभिजन गर्नुपर्दैन । त्यसैले चैत मसान्तको वासलातमा धेरै असर नगर्ला । तर आम्दानी घट्छ । डिजिटल सेवाहरुमा कुनै शुल्क लिन नपाउने भनेर राष्ट्र बैंकले भनेको छ । त्यसले बैंकहरुको आम्दानी सिधै घट्ने भयो । दोस्रो, चैतमा कर्जा नविकरण नहुने भयो । कर्जा नविकरण हुँदा पनि बैंकहरुको आम्दानी प्रत्यक्ष रुपमा घट्ने भयो । पुसको तुलनामा चैतमा बैंकहरुको आम्दानी घट्छ, नाफा पनि केही घट्छ । असार मसान्तको वासलातमा कस्तो असर देखिएला ? धेरै कुरा अनिश्चित छ । लकडाउनको अवधि बैंशाख ३ पछि पनि थपियो भने बैंकहरुको वासलातमा धेरै ठूलो असर गर्छ । नयाँ विजनेशन नहुने भयो । आर्थिक वृद्धि पनि अढाई प्रतिशत कम हुन्छ भन्ने विश्लेषण हुन थालिसक्यो । सरकारको विकास खर्च नहोला । सबैतिर डाउन हुने, बैंकको मात्र नाफा बढ्ने भन्ने नहोला । मलाई लाग्छ डिजिटल बैकिङबाट २७ वटा बैंकले ४ महिनामा २ अर्ब कमाउँथे । त्यो सेवा बन्द हुने बित्तीकै नाफा घट्ने नै भयो । चैत मसान्तमा कतिले कर्जा तिर्छन्, प्रष्ट छैन । तर तिर्नेहरुको व्याजको १० प्रतिशत फिर्ता गर्नुपर्छ । त्यसमा बैंकहरुले करिब १ अर्ब नोक्सान खाँदैछन् । कर्जा नविकरण ढिला हुँदा बैंकको आम्दानी घट्छ । रेमिट्यान्स कारोबार कम हुँदा, फरेक्सको कारोबार कम हुँदा झण्डै ४ अर्ब नोक्सान हुन्छ । एयरलाइन्स, होटल, टुर एण्ड ट्राभल्स कम्पनी लगायत पर्यटन क्षेत्रबाट कर्जा उठ्न निकै गाह्रो छ । उनीहरुले व्याज पनि दिन सक्दैनन् जस्तो लाग्छ । बैंकहरुको एनपीए कति बढ्छ, हेर्न बाँकी नै छ । त्यसैले असारसम्ममा के हुन्छ भन्ने अनुमान गर्न गाह्रो छ । विगतमा उद्योग व्यापार नफस्टाउँदा, आर्थिक वृद्धिदर २/३ प्रतिशत हुँदा पनि बैंकिङ व्यवसायको विस्तार राम्रो देखिएको थियो । यसपाली पहिला जस्तो नहोला ? पहिला जस्तो अहिले हुँदैन । कोरोनाको असर धेरै छ । अर्थिक वृद्धि अढाई प्रतिशत कम हुन्छ भन्ने प्रक्षेपण हुन थालेको छ । विप्रेषण आय निकै घट्छ । नेपालमा भन्दा विदेशमा स्थिति खराब छ । नेपालमा बरु कोरोनाको कारण एक जनाको पनि मृत्यु भएको छैन अहिलेसम्म । तर, विदेशमा नेपालीहरुको निधन भएको खबर आईरहेका छन् । विदेशमा धेरै नेपालीले रोजगारी गुमाएको खबर आइरहेका छन् । त्यसकारण रेमिट्यान्स आय धेरै घट्छ । नेपाल भित्रको पर्यटन र यातायात क्षेत्र नराम्ररी प्रभावित भयो । उद्योगहरु पनि बन्द छ । लकडाउन खुलेपछि पनि उद्योगहरु समान्य अवस्थामा चल्न समय लाग्छ । यी सबै क्षेत्रको असर बैकिङ क्षेत्रमा पर्छ नै । मानिसहरुलाई डिजिटल कारोबारमा अभ्यस्त गराउन माछापुच्छ्रे बैंकले कस्तो भूमिका खेल्दैछ ? हामीले ग्राहकहरुलाई डिजिटल कारोबार गर्न अनलाईन मिडियाहरुबाट, सामाजिक सञ्जालबाट, फोनबाट, इमेलबाट सन्देश दिईरहेका छौं । अहिले हामीले कल सेन्टरबाट ग्राहकलाई डिजिटल बैकिङ सिकाइरहेका छौं । उपभोक्तालाई डिजिटल कारोबार सिकाउनको लागि बैंकका कर्मचारी आफैमा कति प्रशिक्षित छन् ? हामीले ट्रेन गरिसकेका छौं । कोरोना आउँछ भनेर होइन, हामीले पहिले नै डिजिटल बैकिङमा धेरै काम गरेका थियौं । बैंकलाई डिजिटाईज बनाउने हाम्रो दीर्घकालिन योजना नै थियो । सोहीअनुसार हामीले प्रडक्टहरु डिजाईन गरेका थियौं । हाम्रो डिजिटल डिपार्टमेन्ट नै अलगै छ । ११/१२ जना कर्मचारीले पहिलादेखि नै यस डिपार्टमेन्टमा काम गरिरहेका छन् । हामीले हरेक ब्रान्चलाई डिजिटल बैकिङ सेन्टरको रुपमा विकास गरेका छौं । कर्मचारीहरुलाई तालिम प्रशस्त थिएका छौं । हाम्रा बैंकका कुनै पनि कर्मचारीलाई कसरी डिजिटल कारोबार गर्ने भनेर सोध्नुभयो भने उहाँहरुले सिकाईदिनुहुन्छ । अहिले त हाम्रो कर्मचारीहरु सबैले ग्राहकलाई फोन गरेर उहाँहरूलाई पनि घरबाटै काम गर्न सिकाईरहनु भएको छ । ग्राहकलाई तपाईं सकेसम्म अफिसमा नआउनुहोस्, मोवाइलबाट, कम्प्युटरबाटै कारोबार गर्नुहोस् भनेर भनिरहेका छौं । विगत ३/४ वर्षयता बैंकहरुले शाखा विस्तारमा ठूलो लगानी गरेका छन् । डिजिटल कारोबार वृद्धि गर्दा बैंकहरुको भैरहेको शाखा काम विहिन हुने अवस्था आउँला कि नआउँला ? यो प्रश्न धेरै सान्दर्भिक छ । हाम्रो पनि १५९ वटा शाखा छन् । अब डिजिटाईजेशनमा जानैपर्छ भन्नेमा हामीमा कत्ति पनि दुविधा छैन । तर डिजिटाईजेशनको प्रक्रियाले लामो समय लिन्छ । डिजिटाईजेशन भन्दा पहिला बैकिङ विषयमा जनचेतना फैलाउने काम गर्न जरुरी छ । अझै पनि ठूलो जनसंख्यालाई बैकिङ प्रणालीभित्र ल्याउन सकिएको छैन । उनीहरुलाई डिजिटल बैकिङ सिकाउने, एपहरु डाउनलोड गर्न सिकाउने काम बाँकी नै छ । यी सबै काम गर्नको लागि पनि बैंकहरु गाउँका दुरदराजमा पुग्नैपर्छ । अझै पनि मानिसहरुलाई बैंकबाट कारोबार गर्नुपर्छ, साहुमहाजनसँग होइन भनेर सिकाउनु पर्ने अवस्था छ । यी सबै काम गर्न अझै १० वर्ष लाग्ला । त्यसैले अहिले नै बैंकको शाखा, एटीएम जरुरी छैन भन्न मिल्दैन । लकडाउनको अवधिमा बैंकका कुन कुन सेवा खुलेका छन् ? वर्क फर्म होमको कल्चर छ । घरबाट बसेर सबैले काम गरिरहेका छौं । हामीसँग क्राइसिस् म्यानेजमेन्ट टिम पनि छ । २०७२ सालको भूकम्पपछि हामीले संकटको बेलामा कसरी बैकिङ सेवा सुचारु गर्ने भनेर एउटा टिम बनाएका थियौं । त्यो टिमले अहिले प्रभावकारी रुपमा काम गरिरहेको छ । हामीले क्राइसिस् म्यानेजमेन्ट पोलिसी बनाएका छौं । नयाँ कर्जा प्रवाह बन्द भएको छ । किनभने कर्जा दिन बिजनेश हेर्न जानुपर्छ । धितो हेर्न, मूल्याङ्कन गर्न जानुपर्छ । तर अत्यावश्यक वस्तुको आयात गर्न हामीले एलसी खोलिरहेका छौं । धेरै ठाउँमा टेलर कारोबारहरु चलिरहेको छ । शाखामा आउनेहरुलाई सेवा बन्द छ भनेर फर्काएका छैनौं । ट्रेजरीको काम पनि घरबाट गरिरहेका छौ । आईटीको काम घरबाटै भईरहेको छ । बैंकको आफ्नै अपरेटिङ सिस्टम हुन्छ । घरमा बसेर काम गर्नेको लागि अपरेटिङ सिस्टममा पहुँच कसरी हुन्छ ? जसले कोर बैकिङ सिस्टम प्रयोग गर्नुपर्ने हुन्छ, ऊ अफिसमा नै जानुपर्छ । ट्रेलर ट्रान्जेक्सन गर्न बैंकमा नै जानुपर्छ । एलसी खोल्ने कामको लागि अफिसमा जानै पर्छ । तर अहिले एलसी खोल्न आउने ग्राहकको कमी भएकोले एलसी डिपार्टमेन्टका कर्मचारी पालैपालो थौरै जनाले काम गर्ने व्यवस्था गरेका छौं । शाखा खोल्दा पनि बढीमा तीन जना मात्र बोलाएर काम गरेका छौं । कर्मचारीबीच पनि सोसिएल डिस्टेन्स मेन्टेन गरेका छौं । रेमिट्यान्समा पनि १/२ जना मात्र कर्मचारी परिचालन गरेका छौं । चेक क्लियरिङको काम पनि पुरै भएको छ । नोटबाट कोरोना संक्रमणको जोखिम बढी हुने बताइएको छ । सबैभन्दा बढी नोट चलाउनु पर्ने बैंकहरुले हो । यस्तो बेलामा कर्मचारीको सुरक्षा कसरी गर्नु भएको छ ? भल्टबाट पैसा निकाल्नुपूर्व हामी स्प्रे गछौं ताकी कुनै पनि किसिमको भाइरस संक्रमणको जोखिम नहोस् । दोस्रो, सबै कमचारीलाई पञ्जा अनिवार्य गरेका छौं । सबै कर्मचारीलाई मास्क उपलब्ध गराएका छौं । हरेक टेलरको अगाडि स्यानिटाईजर राखेका छौं । ग्राहक-ग्राहकबीच र कर्मचारी-ग्राहकबीचको निश्चित दुरी कायम गरेका छौं । एक त बैंकका कर्मचारी आफैमा सचेत हुन्छन् । दोस्रो बैंकले पनि उनीहरुलाई पटक पटक सचेत गराएकाे छ। हामीले आन्तरिक रुपमा सुरक्षा विधिबारे सर्कुलर जारी गरेका छौं । हामीले हाम्रो स्टाफको पूर्ण ख्याल गरेका छौं । अहिलेसम्म हाम्रा कुनै पनि कर्मचारी बिरामी भएको रिपोर्ट आएको छैन । पन्जा लगाएर नोट कसरी गन्ने ? ठूलो कारोबारमा तपाईले भनेको जस्तो समस्या हुन्छ । तर अहिले त्यस्तो ठूलो कारोबार नै भएको छैन । पातलो खालको पन्जा लगाउँदा नोट गन्न पनि धेरै गाह्रो हुन्न । लकडाउन अवधिका कुनै पनि शाखाबाट ५० वटा भन्दा बढी कारोबार नै भएको छैन । कति शाखा दिनभर खुल्दा १/२ वटा मात्र कारोबार भएको पाइएको छ । कोरोना महामारीसँगै एयरलाईन्स, पर्यटक स्तरीय होटल लगायत पर्यटन क्षेत्रमा गरिएको लगानी बढी जोखिममा परेको देखिन्छ । माछापुच्छ्रे बैंकले यो क्षेत्रमा कति लगानी गरेको छ ? यस क्षेत्रमा हाम्रो धेरै लगानी छैन । एयरलाइन्समा हाम्रो लगानी शुन्य छ । होटलमा करिव २ अर्ब रुपैयाँ लगानी छ । अन्य पयर्टन क्षेत्रमा अर्ब लगानी छ । पयर्टन क्षेत्रमा गरिएको लगानी उठ्ला वा बालुवामा पोखिएको पानी जस्तो होला ? लगानी डुब्दैन । पर्यटन क्षेत्र धेरै सम्भावना बोकेको क्षेत्र हो । सरकार, निजी क्षेत्र सबैको प्राथमिकताको क्षेत्र हो । दुर्भाग्य २०२० शुरु हुने बित्तीकै कोरोना महामारी भयो । केही महिना लागेपनि कोरोना महामारी नियन्त्रण हुन्छ नै । त्यसपछि त यो क्षेत्रले फेरी पिकअप लिइहाल्छ । बैंककाे प्रमुख कार्यकारी अधिकृतकाे भूमिकामा तपाईं नयाँ मान्छे । तपाईंबाट स्टेकहोल्डरले के अपेक्षा गर्ने ? बजारले के अपेक्षा गर्ने ? बैंकको सीईओको भूमिका भनेको सबैभन्दा पहिला सर्बसाधारण बचतकर्ताको पैसाको सुरक्षा गर्नु हो । नियामकको नीति निर्देशनको पालना गर्नु हो । बैंकलाई विश्वसनीय रुपमा बैंकलाई चलाउनु हो । दोस्रो, हाम्रा स्रोत साधानको अधिकतम प्रयोग गरेर सेयरधनीलाई उच्चतम प्रतिफल दिनु हो । लगानीकर्ताले पाउने प्रतिफल कतिसम्म घट्ला ? आजको अवस्थामा भन्न सकिदैन । गत वर्ष हामीले १६/१७ प्रतिशत रिटर्न दिएका छौं । हाम्रो प्रयास १८/२० प्रतिशत लाभांश दिन हुनेछ । तर अहिले अवस्था सामान्य छैन । कोरोना महामारीले कति ठूलो असर पार्छ भन्ने अनुमान गर्न कठिन भएको बेलामा बैंकले गर्ने नाफा र सेयरधनीले पाउने लाभांशको बारेमा क्यालकुलेशन गर्न मिल्दैन । यसअघि यस बैंकका दुई वटा सीईओहरुले आफ्नो करार अवधि नसकिँदै राजीनामा दिनु भयो । आफ्नो कार्यकाल पूरा गर्नेमा तपाई कति विश्वस्त हुनुहुन्छ ? २०७७ बैशाख १ गतेदेखि मेरो कार्यकाल शुरु हुन्छ । म मेरो कार्यकालमा पूरा काम गर्छु । म १०० प्रतिशत समय र इफोर्ट बैंकलाई दिन्छु । समग्रमा विश्लेषण गर्दा हामी अहिले पनि राम्रो पोजिशनमा छौं । कम्प्लान्सको मामलामा, इएमएल/सीएफटीको मामलामा, कस्टुमर सर्भिसको मामलामा, डिजिटाइजेशनको मामलामा, नेटवर्कको मामलामा, रिर्टनको मामलामा हामीले राम्रो गरिरहेका छौं । मलाई बैंकले जुन जिम्मेवारी दिएको छ त्यसलाई म कार्यान्वयन गर्न सक्छु भन्ने मलाई विश्वास छ ।
बैंकहरुले व्यवसायीका कूरा नसुनेपछि एफएनसीसीआईले सरकारलाई गुहार्यो
काठमाडौं । बैंकहरुले व्यवसायीका माग तथा आग्रहहरुको अटेर गरपेछि उद्योगी व्यवसायीहरुले सरकारलाई गुहारेका छन् । विभिन्न औपचारिक तथा अनौपचारिक भेटघाटमा व्यवसायीहरुले बैंकहरुलाई ऋणको व्याज घटाउन, व्याजलाई ऋणमा परिणत गर्ने गरी पुर्नकर्जाको व्यवस्था गरिदिन माग गरेपनि बैंकहरुले त्यसको वास्ता नगरेकोले सरकारलाई गुहारेको उनीहरुको भनाइ छ । विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस ( कोभिड १९)को सन्त्रास फैलिरहँदा अर्थतन्त्रलाई पनि ठूलो धक्का परेको छ । नेपाली उद्योगी व्यवसायी पनि त्यसको प्रत्यक्ष मारमा परेका छन् । उनीहरु बेला बखत सरकारसमक्ष व्याज घटाउने र उद्योगीलाई विशेष प्याकेजको आव्हान गरिरहेका छन् । शुक्रबार पनि नेपाल उद्योग वाणिज्य महासंघका प्रतिनिधिहरुले अर्थमन्त्री डा. युवराज खतिवडालाई भेटेर १७ बुँदे सुझाव पत्र दिएका छन् । उनीहरुले सो सुझाव पत्रमा कोरोना भाइरसको संक्रमणमा उद्योग व्यवसाय चलाउन समस्या भएकोले राहत प्याकेज र बैंकमा भएको ऋणको व्याजदर घटाउन माग गरेका हुन् । बैंकहरुको चर्को ब्याजदरका कारण उद्योगी व्यवसायीलाई समस्या परेको भन्दै व्यवसायीहरुले ब्याजदर एकल अंकमा राख्न दबाब बढाउन थालेका छन् । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश तीनका अध्यक्ष दिनेश श्रेष्ठले अहिले तत्काल राज्यले केही गरदिओस् भन्ने चाहनाले सुझावपत्र दिएको बताए । ‘राज्यले केही गर्छ भन्ने आशा छ, छिमेकी देशमा सरकारले घोषणा गरेको प्योकज लागु भइसक्छ, हाम्रो देशमा दिन्छु भनको कूरा पनि घुमाइफिराई गरिरहेको छ’ उनले भने । ‘बैंकहरुले लिने कुरा लिइसकेको छ, राष्ट्र बैंकले ४ प्रतिशत निक्षेप गर्नु पर्ने तीन प्रतिशत गरिदिएको छ, कर्पोरेटको व्याज घटाउन सक्छ, उद्योगी व्यवसायीलाई दिनु पर्ने व्याज उनीहरुले घटाएको छैन, जेठमा मात्र घटाउने भन्छ त्यो पनि एक प्रतिशत मात्रै, उनले भने । बैंकहरु आफ्नो नाफा घटाउन नहुने अवस्थामा रहेको उनको भनाइ छ । यो संकटको समयमा बैंकहरुले हामी पनि सँगै छौं भन्ने वातावरण देखाउनु पर्ने अवस्थामा दिएको सरकारले दिएकाे सुविधा दिन पनि बैंकहरूले आनाकानी गरिरहेको उनको भनाइ छ । ‘हामी समस्या र नोक्सानमा गयौं भने जम्मै बैंक पनि धरायसी बन्छन्, त्यसैले हामीले केही सुझाव दिएका छौं, यी सुझावलाई कमजोरीको रुपमा लियो भने सबै व्यवसायीहरु समस्यामा पर्छन्,’ उनले भने । नेपाल राष्ट्र बैंकका नियमन विभागका प्रमुख देब कुमार ढकालले भने बैंकहरुले राष्ट्र बैंकले दिएको निर्देशन बमोजिम नै चल्नु पर्ने भएकोले परिपत्र गरे बमोजिम नै उनीहरु काम गर्न तयार भएको बताए । उनले बैंकरर्स एसोसिएसन सँग नियमित कूरा भएकोले सबै बैंकहरु राष्ट्र बैंकले दिएको परिपत्र बमोजिम काम गर्न सकारात्मक देखिएको उनको भनाइ छ । उद्योगी व्यवसायीहरुले विभिन्न समयमा राष्ट्र बैंक समक्ष उद्योगी व्यवसायीको ऋणको व्याजदर घटाउन र लिएको व्याजको किस्ताको समयावधि बढाउन माग गरेपनि बैंकहरुले त्यसको आनाकानी तथा त्यसलाई घुमाइफिराई गरिरहेको उनीहरुको आरोप छ । यस अघि सरकारले पनि उद्योगी व्यवासायीलाई चैतको किस्ता असारभित्र तिर्न सक्ने भनेर घोषणा गरिसकेको छ ।