विकासन्युज

थप छ सय ६० जनामा कोरोना भाइरस सङ्क्रमण

काठमाडौं । शनिबार थप छ सय ६० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको नियमित बुलेटिनका अनुसार चार हजार छ सय ८२ जनामा परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । योसँगै हाल सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच हजार छ सय ४१ पुगेको छ । यस अवधिमा चार सय ४४ जना सङ्क्रमणमुक्त भएका छन् । हालसम्म नौ लाख ७२ हजार ६४ जना सङ्क्रमणमुक्त भएका छन् । यस्तै आज कोरोना भाइरसको सङ्क्रमणबाट एक जनाको निधन भएको छ । यससँगै अहिलेसम्म ११ हजार नौ सय ७१ जनाको सङ्क्रमणबाट निधन भएको छ । पाँच सयभन्दा बढी सङ्क्रमित भएका जिल्ला काठमाडौँ र ललितपुर तथा दुई सयभन्दा बढी सङ्क्रमित भएका जिल्ला मोरङ र कास्की रहेका छन् । सङ्क्रमित शून्य भएका जिल्ला मनाङ, कालिकोट र हुम्ला रहेका छन् । यस्तै होम आइसोलेसनमा पाँच हजार चार सय ७१, संस्थागत आइसोलेसनमा एक सय ७०, सघन उपचारकक्ष ९आइसीयू०मा ४६ र भेन्टिलेटरमा दुई जनाको उपचार भइरहेको छ । विगत २४ घण्टामा २० हजार छ सय ६६ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।

हेटौंडाका उद्योगले चौध करोड भाडा बुझाउन बाँकी

हेटौंडा । हेटौंडाका उद्योगले औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयलाई १४ करोडभन्दा बढी भाडा बुझाउन बाँकी रहेको छ । कार्यालयले विभिन्न उद्योगहरुलाई उक्त रकम भुक्तानीका लागि पत्राचार गरेको छ । लामो समयदेखि सहुलियत दरमा भाडा लिइरहेको हेटौंडा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले चार वर्ष अगाडिको निर्णय कार्यान्वयन गर्दै उद्योगलाई बढेको भाडा रकमसहितको भुक्तानीका लागि बिल पठाएको हो । साउनभित्र भुक्तानी दिएमा बिलको रकममा तीन प्रतिशत छुट, असोज मसान्तसम्म बिलअनुसारको रकम र कात्तिकबाट जरिवाना हुनेसमेत जनाएको छ । हेटौंडा औद्योगिक व्यवस्थापन कार्यालयका प्रमुख भोजराज विडारीले केन्द्रीय कार्यालयको निर्णयानुसार उद्योगलाई बिल पठाइएको बताउनुभयो । भाडा रकम नलिने अधिकार आफूहरुसँग नभएको भन्दै यथाशीघ्र रकम भुक्तानी गर्न उनले उद्योगीलाई आग्रह गरेका छन् । चार वर्ष अगाडि निर्णय भएको भाडा रकम उद्योगले भुक्तानी नगरेको पाइएकाले साउनभित्र भुक्तानी गर्न बिल पठाएको उनले बताए। हेटौंडा औद्योगिक क्षेत्रको प्रतिरोपनी आठ हजार तीन सय ३१ तिर्दै आएका उद्योगले अब १९ हजार छ सय ९१ का दरले प्रतिवर्ष भाडा भुक्तानी गर्नुपर्ने हुन्छ । कार्यालयले औद्योगिक क्षेत्रका एक सय ४९ उद्योगलाई पत्रसहित बिलसमेत पठाएको प्रमुख बिंडारीले बताउनुभयो । लिमिटेडको निर्णयानुसार उद्योगले सो भाडा यसै महिनाभित्र तिर्नुपर्ने हुन्छ । आवश्यकताभन्दा बढी जग्गा लिएका उद्योगले उक्त जग्गा अन्य उद्योगलाई प्रयोग गर्न दिनुपर्नेसमेत उनको भनाइ छ । उद्योग संघ हेटांडाका अनुसार औद्योगिक क्षेत्र व्यवस्थापनको २०५७ मङ्सिर ५ गतेको निर्णयानुसारको भाडा तिर्नुपर्ने भन्दै निर्णय भएको चार वर्षपछि कार्यालयले औद्योगिक प्रतिष्ठानलाई पत्र काटेपछि समस्या देखिएको हो । यतिबेला आर्थिक मन्दीले औद्योगिक प्रतिष्ठान समस्यामा पर्न लागेको अवस्थामा पनि सरकारले चार वर्ष अगाडि गरेको निर्णय कार्यान्वयन गर्न खोज्नु असान्दर्भिक भएको उद्योग संघ मकवानपुरका पूर्वअध्यक्ष लेखराज पोखरेलले बताए । गत साउन २ गते औद्योगिक क्षेत्र व्यवस्थापानले औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयलाई २०७५ सालदेखि नै बढेको भाडा भुक्तानीका लागि पत्र काटेपछि कार्यालयले उद्योग प्रतिष्ठानलाई दबाब दिएको उनले बताए । लिमिटेडले हेटौंडा औद्योगिक क्षेत्रको तत्कालीन भाडा दरमा एक सय ३३ प्रतिशत वृद्धि गरेर सोहीअनुसारको भाडा भुक्तानीका लागि कार्यालयलाई पत्र पठाएको उनको भनाइ छ । औद्योगिक क्षेत्र व्यवस्थापन कम्पनी लिमिटेडले जग्गा भाडा बढाउने निर्णय कार्यान्वयन गर्न लागेको भन्दै त्यसको उद्योग संघ मकवानपुरले विरोध गरेको छ । उद्योग संघ मकवानपुरका अध्यक्ष स्वागतराज प्याकुरेलले विज्ञप्ति जारी गर्दै नयाँ भाडा दर लागू गर्न लागेकाप्रति उद्योगी व्यवसायी एवं संघको असहमति रहेको बताए । भाडा नबढाउन ज्ञापनपत्र औद्योगिक क्षेत्रको भाडादर नबढाउन माग गर्दै उद्योग संघ मकवानपुरले संघीय सरकारका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीलेन्द्रप्रसाद बडूलाई ज्ञापनपत्र बुझाएको छ । बिहीबार हेटौँडा आइपुग्नुभएका मन्त्री बडूलाई उद्योग संघका अध्यक्ष प्याकुरेलले ज्ञापनपत्र बुझाएका हुन् । विसं २०७२ को भूकम्प, नाकाबन्दी, कोभिड–१९ को मार, रसिया–युक्रेन युद्धलगायतका कारणले उत्पन्न विषम् परिस्थितिमा उद्योगीले कुनै पनि हालतमा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले बढाएको भाडा भुक्तानी गर्न नसक्ने उल्लेख गर्दै उद्योग संघ मकवानपुरले जमिन बहालसम्बन्धी समस्याको दीर्घकालीन समाधानको उपाय अवलम्बन गर्न पनि मन्त्री बडूको ध्यानाकर्षण गराएको छ ।

मन्त्रालयसँग सम्बन्धित क्षेत्रमा उत्साहित हुनेगरी काम गर्ने श्रममन्त्री कुँवरको प्रतिवद्धता

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले मन्त्रीको रुपमा आफूले पाएको जिम्मेवारी अस्थायी भएपनि सो पदमा बसुन्जेल सम्बन्धित क्षेत्रलाई उत्साहित तुल्याउने गरी काम गर्ने बताएका हुन् । राष्ट्रिय नागरिक विकास समाजले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले नेपाल राष्ट्र र नेपाली जनताको हितका लागि आफूले सक्दो योगदान पुर्याउने आश्वासन समेत दिएका छन् । मन्त्री कुँवरले सरकारलाई सही बाटोमा हिँडाउने काममा नागरिक समाजका अगुवाहरुको भूमिका महत्वपूर्ण हुने विश्वास समेत व्यक्त गरे । उनले भने, ‘मैले पनि मन्त्रीपरिषद सदस्यको जिम्मेवारी पाएको छु । मैले आफ्नो मन्त्रालयमा कति बस्छौं, त्यो बेग्लै कुरा हो । जीवन त अस्थायी छ । पद, प्रतिष्ठान भनेको सधैं रहिँरहदैन । यो दुनियाँलाई थाहा भएको कुरा हो । तर हामी जति बस्छौं, जुन क्षेत्रमा हामीले काम गर्यो । त्यो क्षेत्रले उत्साह पाउने गरी हामीले काम गर्नुपर्छ भन्ने मेरो मान्यता छ । र, मैले खेल्नुपर्ने भूमिकाको लागि र यो मन्त्रालयबाट खेल्नुपर्ने भूमिकालाई अवश्य पनि मैले सकेपछि सहयोग अवश्य पनि रहने विश्वास म दिलाउन चाहन्छु । मैले आफ्नो तर्फबाट यो राष्ट्रका लागि, नेपाली जनताको लागि खेल्नुपर्ने भूमिका सक्दो सहयोग पु¥याउने विश्वास म यहाँहरुलाई दिलाउन चाहन्छु ।’ मन्त्री कुँवरले देश र जनताको हितमा सबैले आ–आफनो क्षेत्रबाट योगदान पुर्याउन जरुरी रहेको पनि बताए । सामाजिक क्षेत्रका विविध विषयका विज्ञहरुको राय र सुझावको आधारमा आफूले कार्यसम्पादन गर्ने उनको भनाई थियो ।

स्वदेशी वस्तुको उपयोग गर्न सके आयात घटछ

काठमाडौं । स्वदेशी वस्तुको उपयोग गर्नुपर्नेमा राजधानीमा आयोजित एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् । सहरी विकास मन्त्रालयले आर्थिक वर्ष २०७८।७९ को वार्षिक प्रगति समिक्षा तथा आर्थिक वर्ष २०७९।८० को कार्यक्रम कार्यान्वयन सम्वन्धी गरेको गोष्ठीमा सहभागीहरुले स्वदेशी वस्तुको प्रयोग गर्न सके मात्रै आयातलाई विस्थापन गर्न सहयोग मिल्ने बताए । सहभागी इन्जिनियरहरुलाई कार्यपत्र प्रस्तुत गर्दै नेपाल इको प्यानलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) इन्जिनियर कृष्णभक्त दुवालले विदेशी वस्तुहरुको आयातले देश नै संकटतर्फ उन्मुख भइरहेको विषयलाई गम्भीर हुन सहभागी इन्जिनियरहरुलाई अनुरोध गरे । उनले यसकारण निर्माण क्षेत्रमा पनि स्वदेशी वस्तुहरुको उपयोगका लागि निर्माणकर्ताहरुलाई सिफारिस गर्न अनुरोध गरे । कार्यक्रममा सहरी विकास मन्त्री मेटमणि चौधरीले स्वदेशी वस्तुका उपयोग नीतिलाई सरकारले अगाडि वढाउँदै लगेको बताए । उनले सवै नेपालीलाई स्वदेशी वस्तुको उपयोगका लागि आग्रह गरे ।

अस्वस्थ प्रतिस्पर्धा नगर्न बीमा कम्पनीहरुलाई अध्यक्ष सिलवालको निर्देशन

काठमाडौं । बीमा कम्पनीहरुलाई अस्वस्थ प्रतिस्पर्धा नगर्न बीमा समितिका अध्यक्ष सुर्यप्रसाद सिलवालले निर्देशन दिएका छन् । शुक्रबार समितिले निर्जीबन बीमा सम्बन्धी समसामयिक विषयमा निर्जीबन बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरुसँग गरेको अन्र्तक्रिया कार्यक्रममा अध्यक्ष सिलवालले सो कुरा बताएका हुन् । अध्यक्ष सिलवालले बीमा कम्पनीहरूलाई सुशासन कायम गर्न, अस्वस्थ प्रतिस्पर्धा नगर्न, तोकिएको दरभन्दा कममा बीमा नगर्न, जोखिमांकनमा कमीकमजोरी हुन नदिन, तोकिएको समयमा बीमा दाबी भुक्तानी गर्न र संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ग्रामीण क्षेत्रमा गएर बीमाको प्रचार प्रसारमा समेत योगदान पुग्ने गरी काम गर्न निर्देशन दिए । अध्यक्ष सिलवालले समितिले बीमा व्यवसायलाई स्वच्छ, पारदर्शी, बलियो र विश्वसनीय बजारका रूपमा स्थापित गर्न खोजेको बताए । साथै उनले बीमा क्षेत्रका कहाँ कहाँ कमी कमजोरीहरू छन् भन्ने बीमा समितिले देखाएको र त्यस्ता कमीकमजोरीहरूलाई दोहोरिन नदिई सुधार गरेर अघि बढ्न निर्जीवन बीमा कम्पनीहरूलाई निर्देशन दिए । अध्यक्ष सिलवालले समितिले विभिन्न विषयमा निर्णय गर्नु र निर्देशिकाहरू जारी गर्नुभन्दा अगाडि बीमा कम्पनीहरूसँग पर्याप्त छलफल गरी सुझावहरू लिएर मात्र गर्ने गरेको उल्लेख गर्दै समितिका निर्णय र जारी निर्देशिकाहरू बीमा कम्पनीहरूले कार्यान्वयन गर्नै बताएका थिए । बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले निर्जीवन बीमा व्यवसायमा देखिएका समस्याहरूका बारेमा छलफल गरी त्यस्ता समस्याहरू समाधान गर्दै जाने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए । कार्यकारी निर्देशक पौडेलले विशेष गरी कृषि तथा पशुपन्छी बीमामा दाबी भुक्तानी नपाएको भन्ने धेरै गुनासाहरू आउने गरेको र सम्पत्ती बीमा, सामुन्द्रिक बीमा तथा दुर्घटना बीमामा पनि समस्याहरू देखिएको उल्लेख गर्नुहुँदै ती समस्याहरूको समाधान खोज्नैपर्ने कुरामा जोड दिए । कार्यक्रममा बीमा समितिका निर्देशक सुशीलदेव सुवेदीले बीमकको सुपरीवेक्षण, कृषि, लघु तथा पुनर्बीमा, निर्देशक पूजन ढुंगेल (अधिकारी) ले बीमालेख सम्बन्धी समस्या र समाधानका उपाय तथा निर्देशक दिनेश कुमार लालले जोखिमांकनमा देखिएका समस्या एवम् चुनौती र समाधानका उपाय सम्बन्धमा छुट्टा छुट्टै कार्यपत्रहरू प्रस्तुत गरेका थिए । कार्यपत्रहरू प्रस्तुतीका क्रममा उनीहरूले बीमा क्षेत्रबाट पूर्वाधार र राष्ट्रिय महत्वका क्षेत्रमा लगानी नगरिनु, लगानी स्वीकृतिका लागि बीमा समितिमा पेश गर्दा जोखिमको विश्लेषण नगरिनु, तोकिएको रेटिंगभन्दा कमसल पुनर्बीमा कम्पनीसँग कारोवार गरिनु, कृषि तथा पशुपन्छी बीमामा साना साना दाबीको भुक्तानी नदिइनु, बीमालेख विकास गर्दा पर्याप्त अध्ययन एवम् अनुसन्धान नगरिनु, समितिमा बीमालेख स्वीकृतिका लागि पेश गर्दा पर्याप्त कागजात पेश नगरिनु, जोखिम व्यवस्थापन प्रभावकारी नहुनु, सूचना प्रविधिको उचित प्रयोग नगरिनु, बीमा सचेतनामूलक कार्यक्रमलाई प्राथमिकता नदिइनु, शंकास्पद कारोवार पहिचान सम्बन्धी संयन्त्र स्थापना नगरिनु र बीमकले आफ्ना शाखा कार्यालयहरूमा पर्याप्त अधिकार प्रत्यायोजन नगर्नु लगायतका विभिन्न समस्याहरू रहेको उल्लेख गरेका थिए । कार्यक्रममा निर्जीवन बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरूले बीमा समितिबाट भएका निर्णय र जारी निर्देशिकाहरू कार्यान्वयन गर्न कम्पनीहरू प्रतिवद्ध रहेको उल्लेख गर्दै राष्ट्रिय पूर्वाधारका क्षेत्रमा लगानी गर्न निर्जीवन बीमा कम्पनीहरू तयार रहेको, कृषि तथा पशुन्छी बीमामा सरकारले घोषणा गरेको अनुदान आउन ढिलाई हुने गरेको लगायतका धारणा राखेका थिए । कार्यक्रममा सबै निर्जीवन बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरूको सहभागिता रहेको थियो ।

बंगालादेशमा इन्धनको मूल्य इतिहासकै बढी

एजेन्सी । बंगालादेशमा सरकारले इन्धनको मूल्य इतिहासकै सबैभन्दा उच्च बनाएको छ । सन् १९७१ मा देश स्वतन्त्र भएपछि पहिलोपटक खुद्रा इन्धनको मूल्यमा उच्च वृद्धि भएको हो । बंगालादेश सरकारले शुक्रबार राति आजदेखि लागू हुने गरी इन्धनको मूल्य ५१.७ प्रतिशतले बढाएको हो । ऊर्जा तथा खनिज स्रोत मन्त्रालयले जारी गरेको मूल्य सूचनाअनुसार अहिले एक लिटर अक्टेनको मूल्य १३५ टाका पुगेको छ । हिजो अपराह्नसम्म सोही परिमाणको पेट्रालको मूल्य ८९ टाका थियो । डिजेल र मट्टितेलको मूल्य पनि ४२.५ प्रतिशतले बढाएर प्रतिलिटर ११४ टाका कायम भएको छ । पेट्रोलको मूल्य ४४ टाकाले बढेर १३० पुगेको छ । अधिकारीहरूले भने कि खुद्रा स्तरमा पछिल्लो मूल्य वृद्धि राज्य सञ्चालित वितरण कम्पनीहरूलाई दिइएको सहुलियतको बोझ कम गर्न अपरिहार्य भएकाले इन्धनको मूल्य बढाइएको उक्त मन्त्रालयले प्रेस विज्ञप्ति निकालेर जनाएको छ । साथै मन्त्रालयले अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बंगालादेशको भन्दा धेरै बढी भएको बताएको छ । आर्थिक क्षेत्रका जानकाररूले इन्धनको मूल्यवृद्धिले मुद्रास्फीतिलाई बढाउने बताएका छन् गत जुनमा मुद्रास्फीति बढेर ७।५६ प्रतिशत पुगेको थियो । बितेका नौ वर्षयता पहिलोपटक यति उच्च बिन्दुमा मूल्यवृद्धि पुगेको हो ।

नेपाल ब्राजिल चेम्बरको अध्यक्षमा चापागाईं पुनः निर्वाचित

काठमाडौं । नेपाल ब्राजिल उद्योग वाणिज्य संघको अध्यक्षमा व्यवसायी अखिलकुमार चापागाईं पुनः निर्वाचित भएका छन् । शनिबार राजधानीमा सम्पन्न संघको आठौं वार्षिक साधारणसभाले चापागाईंको अध्यक्षतामा १४ सदस्यीय कार्यसमिति निर्विरोध चयन गरेको हो । संघको उपाध्यक्षमा चेङ्ग अग्रवाल र विक्रम राई तथा महासचिवमा उमेश रायमाझी, सचिवमा ज्योत्सना श्रेष्ठ र कोषाध्यक्षमा निरज तिमिल्सिना निर्वाचित भएका छन् । कार्यसमिति सदस्यहरुमा जया शिवाकोटी, भरत आचार्य, शिवहरि दंगाल, प्रदीप रुंगटा, राकेशकुमार श्रेष्ठ, लवराम दाहाल र प्रेम पाण्डे निर्वाचित भएको संघले जनाएको छ । यस्तै, संघको सल्लाहकारमा निवर्तमान उपाध्यक्ष विनय लामिछाने चयन भएका छन् भने अम्बिका शर्मा लामिछानेलाई अध्यक्ष चापागाईंले सदस्यमा मनोनित गरेका छन् । कार्यक्रममा अध्यक्ष चापागाईंले नेपाल र ब्राजीलबीच द्विपक्षीय व्यापार अभिवृद्धि तथा आर्थिक सम्बन्ध विस्तारका लागि संघले प्रभावकारी भूमिका निर्वाह गरिरहेको बताए । अध्यक्ष चापागाइँका अनुसार गत आर्थिक वर्षमा नेपालबाट ४ लाख २७ हजार डलर बराबरको वस्तु ब्राजिल निकासी भएको छ भने ब्राजिलबाट ६ करोड १० लाख डलर बराबरको वस्तु तथा सेवा आयात भएको छ । ‘हामी अहिले ब्राजिलसँग ठूलो व्यापारघाटामा रहेका छौं,’ अध्यक्ष चापागाईंले भने, ‘नेपालबाट ब्राजिलमा निकासीको ठूलो सम्भावना देखेका छौं र आगामी दिनमा निकासी बढाउनेतर्फ हाम्रो कार्यक्रम केन्द्रित हुनेछ । नेपालबाट हाल हस्तकलाजन्य सामग्रीसहित कार्पेट, गार्मेन्ट जस्ता वस्तु निकासी भइरहेको र आगामी दिनमा यसलाई बढाउँदै लैजाने उनको भनाइ छ । संघको नेतृत्वमा नेपाली व्यवसायीले दुईपटक ब्राजिलमा व्यावसायिक भ्रमण सम्पन्न गरिसकेको उल्लेख गर्दै अध्यक्ष चापागाईंले आउँदा दिनमा व्यावसायिक सम्बन्ध विस्तार गर्दै लैजाने प्रतिवद्धता जनाए । कार्यक्रममा पूर्व वाणिज्य तथा आपूर्तिमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुनिलबहादुर थापाले आर्थिक विकासमा सशक्त रुपमा अघि बढिरहेको ब्राजिलसँग सम्बन्ध विस्तारले नेपालको आर्थिक विकासमा सहयोग पुग्ने धारणा राखे । पूर्वमन्त्री थापाले ब्राजिलबाट कृषि तथा खानीजन्य क्षेत्रमा पुँजी र प्रविधि भित्र्याएर नेपालले फाइदा लिनसक्ने उल्लेख गर्दै विश्व अर्थतन्त्रको नवौं शक्तिशाली मुलुकसँगको सम्बन्ध विस्तारमा जोड दिए । ब्राजिलका लागि नेपाली राजदूत निर्मलराज काफ्लेले आफ्नो कार्यकालमा लगानी प्रवद्र्धन तथा नेपाली वस्तुको बजारीकरणमा जोड दिने प्रतिवद्धता जनाए । ब्राजिलबाट नेपालमा पर्यटक बढाउन पहल गर्ने उनको भनाइ छ । यस्तै, नेपालका लागि ब्राजिल दूतावासका मिनिष्टर कन्सुलर डेपुटी चिफ जोसे मारियो फेरिरिा फिल्होले नेपाल ब्राजिल चेम्बरको स्थापनापछि दुई मुलुकबीचको व्यापारमा उल्लेख्य वृद्धि भएको स्मरण गर्दै ब्राजिलको जलविद्युत् दक्षतालाई नेपालले पनि उपयोग गर्नसक्ने धारणा राखे ।

तनहुँका दस क्रसर उद्योग दर्ता बिना सञ्चालन

तनहुँ । जिल्लाका विभिन्न स्थानमा रहेका क्रसर उद्योग बिना दर्ता सञ्चालन हुँदै आएका छन् । जिल्लामा सञ्चालनमा रहेका १९ क्रसर उद्योगमध्ये १० वटा दर्ता नभएको र सर्त पूरा नगरी सञ्चालन हुँदै आएका हुन् । अन्य नौवटाले दर्ता गरी सञ्चालन गरे पनि मापदण्ड पूरा नगरेकाले नवीकरण रोकिएको जिल्ला समन्वय समितिले जनाएको छ । क्रसर उद्योग सञ्चालनका लागि राजमार्ग र खोला वा नदी किनार, पक्की पुल, ऐतिहासिक तालतलैया, जलाशय र पोखरीबाट पाँच सय मिटर टाढा हुनुपर्ने मापदण्ड छ । त्यसैगरी शिक्षण संस्था, स्वास्थ्य, धार्मिक, सांस्कृतिक, पुरातात्विक महत्वका स्थान तथा सुरक्षा निकाय, अन्तर्राष्टिय सीमा, वन, निकुञ्ज तथा आरक्ष, घना बस्तीबाट दुई किलोमिटर, चुरे पहाडको फेदीबाट एक हजार पाँच सय मिटर र हाइटेन्सन लाइनबाट दुई सय मिटर दूरीमा उद्योग सञ्चालन गर्नुपर्ने प्रावधान छ । कुनै सर्त पूरा नगरी र उद्योग पनि दर्ता नगरी सञ्चालन गर्ने उद्योगहरुमा विद्युत् आपूर्ति बन्द गर्न नेपाल प्राधिकरणमा पत्राचारका लागि जिल्ला प्रशासन कार्यालयलाई अनुरोध गरिएको छ । जिल्ला अनुगमन समितिले विभिन्न मितिमा अनुगमन गरी मापदण्ड विपरीत सञ्चालन हुँदै आएका क्रसर उद्योग बन्द गर्न समितिले निर्णय गरे पनि अटेर गरी सञ्चालन गर्दै आएका जिल्ला समन्वय समितिका सुब्बा नरबहादुर मगरातीले जानकारी दिए। त्यसरी सञ्चालन भएका क्रसर उद्योगहरुमा शुक्लागण्डकी नगरपालिकाभित्र सात, म्याग्दे गाउँपालिकामा दुई र बन्दिपुरमा एकवटा छन् । शुक्लागण्डकी–७ स्थित ए सिक्स एग्रिगेट कम्पनी प्रालि, मेलमिलाप ढुङ्गा, बालुवा, गिट्टी उद्योग, शुक्लागण्डकी–२ मा एसएन एलए एग्रिगेट एन्ड क्रसर उद्योग प्रालि, सिद्धेश्वर एग्र्रिगेट एन्ड कङ्क्रिट ब्लक उद्योग, जय महालक्ष्मी एग्रिगेट इन्डस्ट्रिज प्रालि र शुक्लागण्डकी–५ स्थित प्रोपर कन्स्ट्रक्सन एन्ड क्रसर इन्डस्ट्रिज प्रालि छन् । त्यसैगरी म्याग्दे गाउँपालिका–४ र ५ मा क्रमश ः सेती दोभान ब्लक एन्ड एग्रिगेट उद्योग र ढोर बाराही एग्रिगेट इन्डस्ट्रिज रहेका छन् । अधिकांश क्रसर उद्योग घरेलु तथा साना उद्योग समितिलगायत अन्य निकायमा पनि दर्ता नगरी सञ्चालन गरेको भेटिएकाले बन्द गर्नका लागि निर्णय गरी सम्बन्धित पालिकामा परिपत्र गरिएको जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेले जानकारी दिए ।