मेटलाइफद्वारा ६ ग्रामिण जिल्लामा बीमा सचेतना कार्यक्रम सम्पन्न
काठमाडौं । मेटलाईफले ६ ग्रामिण जिल्लाहरुमा जीवन बीमा बारे जनचेतना कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले नेपालगन्ज, टिकापुर, धनगढी, भोजपुर, कास्की, र जुम्लामा जीवन बीमा बारे जनचेतना कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा ६०० जनाले विभिन्न बीमालेखका फाइदाहरु बारे जानकारी पाएका थिए । बीमा जागरण कार्यक्रमले मानिसहरूलाई उनीहरूको दीर्घकालीन हितलाई खतरामा नपार्न, उनीहरूका अधिकांश वित्तीय कठिनाइहरूलाई घटाएर आपातकालीन रणनीति विकास गर्न मद्दत गर्ने कम्पनी बताउँछ ।
मनाङमा ४९ नयाँ उद्योग थपिए
मनाङ । हिमाली जिल्ला मनाङमा नयाँ उद्योग थपिने क्रममा छन् । आर्थिक वर्ष २०७८/७९ मा जिल्लामा ४९ नयाँ उद्योग थपिएका छन् । थपिएका यस्ता अधिकांश उद्योग कृषि तथा वन पैदावरमा आधारित छन् । एक वर्षका अवधिमा जिल्लामा ३१ कृषि तथा वन पैदावरमा आधारित नयाँ उद्योग थपिएको घरेलु तथा साना उद्योग कार्यालय मनाङका प्रमुख ऋषिराम पौडेलले जानकारी दिए । उनका अनुसार जिल्लामा १७ पर्यटन उद्योग र सेवा मुलक उद्योग एउटा थपिएको छ । हाल मनाङवासी निजी उद्योग दर्तातर्फ आकर्षित भएको पाइएको उनले बताए । सो अवधिमा जिल्लामा ३६ जिल्ला निजी उद्योग दर्ता भएका छन् भने साझेदारी उद्योग १३ दर्ता भएको उनले बताए । जिल्लामा ५३ उद्योगको नवीकरण, पाँच उद्योगको नामसारी, छ उद्योगको पूँजी वृद्धि, तीन उद्योगको नाम परिवर्तन, दुई वटाको लगतकट्टा र छ उद्योगको प्रतिलिपि बनाइएको उनले जानकारी दिए । वाणिज्यतर्फ पाँच नयाँ दर्ता, सात नवीकरण, दुई नामसारी, तीनको पूँजी वृद्धि, एकको नाम परिवर्तन, एकको प्रतिलिपि, एकको लगतकट्टा गरिएको छ । आर्थिक वर्ष २०७८/७९ मा जिल्लामा उद्योगतर्फ कूल चार सय ८५ र वाणिज्यतर्फ कूल ९३ सञ्चालनमा रहेको घरेलु कार्यालयले जनाएको छ । आर्थिक वर्ष २०७७/७८ मा उद्योगतर्फ कूल चार सय ३६ र वाणिज्यतर्फ कूल ८८ सञ्चालनमा रहेका थिए । घरेलु कार्यालयले आर्थिक वर्ष २०७८/७९ मा उद्योगतर्फ तीन लाख आठ हजार एक हजार ५० राजश्व सङ्कलन गरेको छ । त्यस्तै सोही अवधिमा वाणिज्यतर्फ १९ हजार आठ सय २५ राजश्व सङ्कलन गरेको छ । अन्यबाट दुई हजार आठ सय २० गरी कूल तीन लाख ३० हजार सात सय ९५ राजश्व सङ्कलन भएको प्रमुख पौडेलले बताए । ‘यस आर्थिक वर्षमा जिल्लामा विभिन्न तालिम तथा प्रविधि हस्तान्तरण पनि गरिएको छ,’ कार्यालय प्रमुख पौडेलले भने । उद्योगलाई टिकाउ बनाउन विभिन्न तालिमका साथै प्रविधिको उपयोगलाई प्राथमिकता दिन सञ्चालकलाई सचेत गराउने र उद्योगलाई सक्रिय बनाइरहन प्रोत्साहनसमेत गर्ने गरिएको उनले जानकारी दिए । सोही अवधिमा उद्यमशीलता विकास, अचार बनाउने तालिम, आधारभूत बेकरी निर्माण, आधारभूत हाते बुनाइ तथा पत्रकारिता तालिम लगायतका विभिन्न तालिमका साथै प्रविधि हस्तान्तरणसमेत गरिएको कार्यालयले जनाएको छ । रासस
घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
काठमाडौ । आइतबार नेपाली बजारमा सुन चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महांसघका अनुसार आज छापावाल सुन प्रतितोला ९६ हजार ३०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९५ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । हिजोको तुलनामा आज ५०० रुपैयाँले सुनको मूल्य घटेको छ । शुक्रबार छापावाल सुन प्रतितोला ९६ हजार ८०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९६ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । नेपाली सुनचाँदी व्यवसायी महांसघको अनुसार चाँदीको मूल्य पनि घटेर तोलाको १ हजार २०५ रुपैयाँ कायम भएको छ ।
ढुक्क हुनुस्, मेरो पालामा कुनै बीमा कम्पनीले लाइसेन्स पाउँदैनन् : अध्यक्ष सिलवाल
बीमा समितिले कम्पनीहरुको पुँजी वृद्धिको योजना ल्याएसँगै धेरै कम्पनीहरुले मर्जर सम्झौता गरिसकेका छन् । हिमालयन र एभरेष्ट इन्स्योरेन्सबीच मर्जर सम्झौता भएर एकिकृत कारोबार पनि भइसकेको छ । धेरै कम्पनीहरु मर्जर सम्झौता सकेर एकिकृत कारोबार गर्ने तयारी गरिरहेका छन् । समितिले एकपछि अर्को मर्जर सम्झौता गरेर कम्पनीहरुको संख्या कम भएपछि कतै समितिले नयाँ कम्पनीलाई लाइसेन्स त दिने होइन भन्ने चिन्ता कम्पनीहरुबीच छ । अहिलेको कम्पनीको मर्जरको विषय, नयाँ लाइसेन्स दिने विषयमा समितिको धारणा लगायत विविध विषयमा विकासन्युजकी मञ्जरी पौडेलले बीमा समितिका अध्यक्ष सुर्यप्रसाद सिलवालसँग कुराकानी गरेकी छन् । तीन महिनाको अवधिमै ५० प्रतिशत कम्पनीलाई मर्जर गराएर सफलता प्राप्त गर्नुभएको छ, कस्तो रह्यो अनुभव ? यो त सामान्य हो । कम्पनीबाटै आइरहेको विषय थियो की हामी संख्यामा धेरै भयौं । जसले गर्दा बजारमा अस्वस्थ प्रतिस्पर्धा बढ्यो । जस्तै, उधारोमा बीमा गर्ने, ब्याड डेब्टमा बीमा गर्ने, सरेन्डर गर्ने लगायतका विकृतिहरु बीमा बजारमा छन् भन्ने हामीले पनि स्पष्ट रुपमा देखिरहेका थियौं । त्यसैले कम्पनीहरुबाट पनि यसलाई लिमिटेड गरौं भन्ने आइरहेको थियो । नेपालमा कति संख्यामा बीमा कम्पनीहरु हुनुपर्छ भन्ने अध्ययनमा गएर बीमा कम्पनीका लाइसेन्सहरु जारी गर्नुपर्ने देखिन्छ । यसले पनि अर्को समस्या थपियो । अहिले क्रमश जोखिममा आधारित जान थालेका छौं । जोखिममा आधारित पुँजी बनाउनु पर्यो । किनभने कम्पनीहरुले थोरै पुँजी राखेर जति पनि जोखिम व्यहोर्न सक्ने अवस्था भएन । अहिलेको निर्जीवन बीमाको एक अर्ब र जीवन बीमाको साढे २ अर्बको पुँजी छ, त्यो ५ वर्ष अगाडि गरेको निर्णय थियो । यी सबैलाई समग्र रुपमा राखेर हेर्दा के देखियो भने पुँजी अपर्याप्त भयो । कम्पनी क्षमतावान नहुने हो भने उसले दावी भुक्तानी गर्न सक्दैन, उसले जोखिम पनि लिन सक्दैन र व्यवसाय विस्तार पनि गर्न सक्दैन भन्ने भएपछि पुँजी वृद्धि गर्नुपर्यो भन्ने निर्णयमा हामी पुग्यौं । र, पुँजी वृद्धि गर्दा कति गर्ने भन्ने भयो र ठूलो कम्पनी बन्न कम्तिमा पनि ५ अर्बको पुँजी हुनुपर्छ भन्ने निर्णय गरियो । र, साढे २ अर्ब रुपैयाँ ननलाइफको गर्नुपर्छ भन्ने निर्णयमा पुग्यौं र सोहि अनुसार कम्पनीहरुलाई प्रत्राचार गरेका हौं । साथै, उक्त पुँजी तथा पैसा चैत महिनाभित्रमा पुर्याउनु पर्यो भनेर हामीले समय पनि तोकिदियौं । जहाँ समितिले मर्जरको कुरा गरेकै छैनौं । कम्पनीले राम्रो नाफा गरेका भए, सेयरधनीलाई राम्रो प्रतिफल दिन सकेका भए पैसा थपेर पुँजी पर्याउँथे । तर कसैले नाफा दिन नसकेका अवस्थामा पैसा थप्ने कुरा आएन । त्यसको विकल्पमा हामीले उस्तै उस्ता कम्पनीहरु जोडिनुस्, त्यसले कम्पनीको पुँजीको आवश्यकतालाई पुरा गर्छ, कम्पनीको साइज पनि ठूलो हुन्छ, तपाईंहरुलाई नयाँ पुँजी ल्याउने अवस्था पनि रहँदैन भनेपछि, यसमा धेरै कम्पनीहरु सहमति भएर तपाईंले भनेजस्तै १९ वटा कम्पनीहरु मर्जरको लागि निवेदन दिएर सहमति लिएर जानुभएको छ । मलाई लाग्छ अझ पनि कम्पनीहरु आउनुपर्छ । किनभने अर्को विकल्पै छैन । केही कम्पनीले एकीकृत कारोबार गरिसकेका छन् । कतिपय पाइपलाइनमा छन् । कतिको डीडीए र एक्चिुरीको काम भइरहेको छ । मलाई लाग्छ, यसले राम्रै गर्ला किनभने यो कम्पनीको हितमा पनि हुन्छ । तर यो अन्तिम नै होइन । अहिलेलाई विस्तार भएको बजारलाई क्याप्चर गर्नको लागि पनि कम्पनीसँग पुँजी पर्याप्त हुनुपर्यो । मलाई लाग्छ, चैतसम्ममा केही कम्पनीले पुँजी थप्लान् भने अधिकांश कम्पनी मर्जमा जान्छन् । मर्जरमा जान प्रकृया शुरु गरेका कम्पनीहरुको पनि पुँजी पुगेको छैन । मर्जरमा जाँदा जाँदै पनि पुँजी नपुगेको अवस्थामा के गर्नुहुन्छ ? हकप्रद सेयर जारी गर्न दिनुहुन्छ ? यो पछिको कुरा हो । म कुनै पनि कम्पनीलाई शतप्रतिशत हकप्रद सेयर दिएर बजार बिगार्न दिन्न । २०७९ चैतसम्ममा पुँजी पुर्याउन प्रयास गरेका तर पुँजी नपुगेका कम्पनीलाई अधिकतम २५ प्रतिशतसम्म हकप्रद सेयर जारी गर्न पाउँलान् । तर त्योभन्दा बढी हकप्रद मिल्दैन । तर व्यक्तिगत रुपमा भन्नुपर्दा म २५ प्रतिशत पनि दिने पक्षमा छैन । किनभने कम्पनीले आफ्ना क्षमता बढाउनु पर्यो । हकप्रद पनि किन बिक्री हुँदैन भने कम्पनीले पैसा आर्जन गरेर नाफा दिए पो हकप्रद बिक्री हुन्छ । कम्पनीले आफ्नो कारोबारको संख्या जति नै देखाएपछि नाफा दिन नसकेको यथार्थ देखिएको छ । नाफा नै नदिने कम्पनीमा कसले लगानी गर्छ र ? त्यसले हकप्रदमा हामीले धेरै फोकस गर्नुहुन्न भन्ने मेरो भनाई छ । बैंकजस्तो बीमा क्षेत्रमा डिमर्जको सम्भावना कत्तिको देख्नु भएको छ ? मर्जरको एउटा प्रकृयामा प्रवेश गरिसकेको कम्पनीले म मर्जर गर्दिन भन्छ भने त्यो पाउँछ । तर पुँजी पुर्याउन पर्यो । यदि पुँजी पुर्याउन सकेन भने त्यसको थप उपचार हुन्छ । तपाईं आफै भन्नुस् एउटा लाइफ इन्स्योरेन्स ५ अर्ब रुपैयाँको बन्यो । अर्को २ अर्बको पुँजी लिएर बसेको छ भने त्यसले कति कारोबार गर्न पाउने ? ५ अर्ब रुपैयाँ बराबरको कारोबार गर्न त पाउँदैन । त्यसकारण कारोबार रोक भन्नुपर्छ मैले । सेम केश ननलाइफमा पनि जान्छ । एक अर्बको पुँजी हुँनु र डेढ अर्बको पुँजी हुनुमा धेरै फरक पर्छ । यसको नकारात्मक प्रभाव पछि देखिन्छन् । अहिले तत्काल देखिने बेला भएको छैन । पछिल्लो समय बीमा कम्पनीहरुले गैरकानुनी रुपमा मर्जरको सम्झौता गरे भन्ने सुनिन्छ, यसमा कत्तिको सत्यता छ ? त्यस्तो केही होइन । तपाईंले सूर्या लाइफको बारेमा भन्न खोज्नु भएको होला । मलाई लाग्छ, सूर्या लाइफ र ज्योति लाइफमा ठूला प्रमोटरहरु केही मात्र छन् । जो मर्जरमा जान सहमत छन् । जुन चिठी हामीकोमा आएको पनि छ । यो विषय बोर्डले निर्णय गरेर साधारणसभाबाट अनुमोदन गराउने विषय हो । जुन सभाबाट अनुमोदन समेत भइसकेको छ । यो ठूलो समस्या भएन । समस्या के हो भने हामीले कम्पनी मिल्दा मन मिलायौं की मिलाएनौं भन्ने समस्या हो । मन मिलेको छ भने जे पनि मिल्छ । तर मन नै मिलेको छैन भने यसको नाम मिलेन, टाउको मिलेन, सिंङ मिलेन, पुच्छर मिलेन भन्ने हुन्छ । त्यो बाहाना समितिमा नआओस् । मर्जरपछिको बीमा क्षेत्रमा कस्ता चुनौती देख्नुभएको छ ? बीमा सधैं चुनौति छ । अर्काको पैसा जम्मा गरेर बस्नु परेको छ । ३० वर्षसम्मको जिम्मा लिनु परेको छ । चुनौति त भइहाल्छ । बीमाको पैसाहरु बैंकमा गएर बसेको त्यसलाई कसरी च्यानेलाइजिङ गर्ने । चालु आवको बजेटले बीमामा दुई प्रकारको बण्ड जारी गर भनेको छ । एउटा इन्स्योरेन्स बण्ड, अर्को महाविपत्ति बण्ड । त्यसमा बीमाले पैसा हाल्छ । जति पैसा हाल्छ त्यति पैसा तोकिएको समयसम्मको लागि सुरक्षित हुन्छ । यस्ता अरु अरु क्षेत्रहरु पनि खोज्नु पर्यो । जस्तै, हाइड्रोपावर, पर्यटन हुन सक्छ । हाउजिङ हुन सक्छ, जहाँ लगानी हुन सक्छ । एउटै कम्पनीमा नसक्ने भए सबैको साझा कम्पनी खडा गरेर लगानी गर । अब लगानीलाई च्यानेलाइज्ड गर्न सकेनौं भने जीडीपीमा यति योगदान भन्ने प्रत्यक्ष रुपमा देखिन्न । जीडीपीमा ७/८ प्रतिशत योगदान हुनुपर्नेमा ३.५८ प्रतिशत मात्रै छ । हामीले अहिले भइरहेको लगानीको निर्देशिका पनि परिवर्तन गर्दैछौंं । यो बाहेक बीमितको पैसाको सुरक्षा अन्तिमसम्म गरिदिनु पर्यो । उक्त पैसालाई उचित ठाउँमा लगानी गरेर सरकारको जीडीपीमा योगदान गर्ने ठूलो पार्टनर हो भन्ने हिसावले बीमा समिति र कम्पनीले उठाउन सक्यो भने भोलिका दिनमा सरकारले यसलाई प्राथमिकता दिन्छ । ३ प्रतिशतको योगदान दिने पर्यटन क्षेत्र सरकारको प्राथमिकतामा छ तर हामी छैनौं । त्यसैले बीमा क्षेत्रले आफूलाई बिक्री गर्न जानेर सरकारको दृष्टिमा पर्न सक्नु पर्यो । अब छिट्टै बीमा नीति आउँदै छ । जुन क्याबिनेटले पास गरेपछि अहिलेसम्म नेपालमा नभएको राष्ट्रिय नीति आउँछ । जुन नीतिको बेसमा सरकार, समिति र कम्पनी बस्नु पर्ने हुन्छ । यसले सबैलाई एउटा बाटोमा डोहोर्याउने ठाउँ दिन्छ । समितिले पुराना कम्पनीलाई मर्जर गराएर नयाँलाई लाइसेन्स दिने हो की भन्ने त्रास कम्पनीहरुमा छ । समितिले साँचै नयाँ लाइसेन्स दिन लागेको हो ? विश्वास गर्नुस् । मेरो कार्यकालभरी कुनै पनि जीवन र निर्जीवन बीमा कम्पनीहरुले नयाँ लाइसेन्स पाउँदैनन् । तर, बजारले माग गर्यो भने दिन सक्छौं । त्यसको लागि पहिला बजार अध्ययन गर्नुपर्ने हुन्छ । त्यसै हुँदैन । यो होइन की, म अध्यक्ष भएर आएँ । मलाई जे मन लाग्छ त्यहि गर्न । म के राजा हो ? कानुन त लाग्छ नि मलाईं पनि । त्यसकारणले आधार नभई दिनुहुन्न । मलाई लाग्छ अब आउने ५/७ वर्ष नेपालमा नयाँ कम्पनी चाहिँदैन । मलाई कम्पनीहरुकै अध्यक्षहरुले पनि सोध्छन् नयाँ लाइसेन्स दिन लाग्या हो भनेर । तर म यसमा के प्रष्ट छु भने मेरो पालामा लाइसेन्स जाँदैन । र, लाइसेन्स दिन हुन्न भन्ने विधि बनाएर अघि जानुपर्छ । नेपालमा कति वटा कम्पनी चाहिन्छ भन्ने विषयमा अध्ययन गर्छौं भन्नुभएको थियो, कहाँ पुग्यो अध्ययन प्रकृया ? अब गर्छौं । बल्ल आर्थिक वर्ष शुरु भयो । यो वर्षको कार्यक्रममा हामीले राखेका छौं । अब विज्ञबाट हामीले अध्ययन गराउनु पर्यो । नेपालमा कति वटा कम्पनी ठीक हुन्छ । अधिकतम लेभलमा नेपालको मार्केटलाई मान्ने हो भने कति वटा लाइफ र कति वटा ननलाइफ इन्स्योरेन्स भए पुग्छ भन्ने विषयमा अध्ययन भयो भने भोलिसम्मको लागि बाटो देखाउँछ । त्यो हामी गर्छौं । यहि आवमा गर्छौं । पछिल्लो समय अन्डरराइटिङमा समस्या देखिँदै आएको हामीले लेख्दै सुन्दै आएका छौं । यसमा समस्या कसको हो, किन बढ्दैछन् यस्ता विकृति ? कम्पनीहरुमा समस्या छ । के छ भने कम्पनीका सीईओहरुलाई कम्पनीले लक्ष्य दिन्छ । त्यो लक्ष्य पुर्याउने ध्याउन्नमा कम्पनीको सीईओ अथवा डिपार्टमेन्टको मान्छेको उन्नत्ति हुने की अवनति हुने भन्नेमा भर पर्छ । यसलाई म फेयर बिजनेस भन्दिन एक खालको थ्रेट हुन्छ । पहिले बीमा क्षेत्रमा यस्तो थियो की कम्पनीहरुले सित्तैमा बीमा गरेर महिनौं बित्दा पनि पैसा ल्याउन नसकेको अवस्था थियो । यसलाई हामीले धेरै प्रयास गरेर उधारो बीमा रोक्यौं । र, अहिले यसमा जिरो छ । राम्रो भएको छ । टार्गेटले गर्दा पैसाको भोल्युम हेर्ने पट्टी कम्पनीहरु लागे । पैसाको भोल्युम मिलाउनको लागि के कस्ता डकुमेन्टहरु, के कस्ता अन्डरराइटिङ हुनुपर्छ भन्ने पाटोमा कम्पनीहरुको कमजोरी रह्यो । यहाँ कमजोरी छ भन्ने थाहा पाएर हामीले गत वर्ष दुई पटकसम्म सबै कम्पनीका अन्डरराइटिङ डिपार्टमेन्टकालाई बोलाएर मिटिङ गरेका थियौं । सीईओहरुसँग ३र४ पटकसम्म मिटिङ भएको छ । यति हुँदा हुँदै पनि बजारमा यस्ता घटनाहरु आइरहेका छन् । जुन सिरियस केश हो । यो जस्तै, अर्को सिरियस केस हो सरेन्डर । पछिल्लो समय पनि धेरै सरेन्डरहरु भएका छन् । यो सरेन्डर नहुने बाटो के छ । र, बीमितलाई पनि मर्का नपर्ने बाटो के हुन सक्छ । छिमेकी मुलुकमा अभ्यास के छ, त्यो अध्ययन गरेर हामीले यस्ता विकृतिलाई कसरी रोक्ने र यो अवस्था नआउने वातावरण कसरी सिर्जना गर्ने भन्ने बाटो बनाउनु पर्ने अवस्था छ । यो समस्या अहिलेको मात्रै होइन । ५०औं वर्षदेखि यस्ता सबै समस्याहरु गुजिल्टिएर बसेका छन् । जुन एकैपटक सफा गर्न सकिँदैन । अलिकति सफाइ त मर्जरमा गएर कम्पनीकोे संख्या घटेपछि हुन्छ । जसले नियामकीय क्षमतालाई बढाउँछ । र, हामी सबै कम्पनीलाई हेर्न सक्ने अवस्थामा पुग्छौं । यो अन्तर्राष्ट्रिय व्यवसाय भएपछि हामीले मात्रै यो गर्छौं भन्ने पनि हुँदैन । विदेशी पुनर्बीमकले के भन्छ । कस्ता डकुमेन्ट चाहिन्छ भन्छ । यी सबै विषयलाई हेरेर नीति बनाउनु पर्ने हुन्छ । पछिल्लो घटनाले हामीलाई थप झस्कायो । यस विषयमा जीवन बीमा कम्पनीका सीईओहरुसँग छलफल पनि भइसकेको छ । बीमा समितिको कुरा गर्नुहुन्छ भने ठूला रकमका बीमा गर्दा के कस्ता डकुमेन्टहरु चाहिन्छ भनेर बारम्बार छलफल भएको छ । तर, यो घटना हेर्दा कम्पनीहरुमा केही पालना भएको देखिएन । त्यसकारण अब यो पालना गर्ने बाटो खोज्नुपर्छ । स्थलगत रिपोर्टिङबाट के कस्तो पाइरहनु भएको छ, प्रोगेसको लेभल कस्तो छ ? हामीले लगातार रिपोर्टिङ गरिरहेका छौं । लगातार निरीक्षण भएपछि कम्पनीलाई पनि एक खालको डर हुने रहेछ । समिति आउँछ । समिति आएपछि कैफियत दिनुपर्छ । कारवाही हुन सक्छ । भन्ने हुने रहेछ । गत वर्ष मात्रै हामीले सबै कम्पनीको दुई दुई पटक स्थलगत निरीक्षण गर्यौं । अनलाइन निरीक्षण त प्राय जसो गरिरहेका नै हुन्छौं । उक्त निरीक्षणबाट धेरै जसो कम्पनीहरुमा दावीको समस्या देखिएको थियो । दावीको समस्या देखिइसकेपछि हामीले प्रत्येक कम्पनी (विशेष गरी निर्जीवन बीमा) को दावी विभाग, सीईओ, दावी हेर्ने समिति सबैलाई व्यक्तिगत रुपमा बोलाएर मैले आफैले टार्गेट दिएको थिएँ । टार्गेट के थियो भने आउने असार मसान्तसम्म भित्र दावीलाई घट्नु पर्छ । मलाई लाग्छ गत असार मसान्तमा अधिकांश कम्पनीको दावी घटेको छ । हालै मात्र कम्पनीहरुलाई दावी कति थियो र कति भुक्तानी गर्नुभयो भनेर फर्म्याटसहितको पठाउन आग्रह गरेका छौं । कम्पनीको सीईओ भनेको प्रमुख मान्छे हो । उसको प्रफर्मेन्ससँग हामीले यी सबै विषयलाई नजोडेसम्म कम्पनी अगाडि बढ्न सक्दैन । उसले डर के मान्नु पर्यो भने मैले कानुनको पालना गर्नै पर्छ, सुशासनमा बस्नै पर्छ, समयमा विवरण बुझाउनै पर्छ, आफ्नो विभागलाई अनुगमन गर्नै पर्छ, भन्ने भान हुनुपर्छ । यी सबैलाई सीईओको प्रफरमेन्ससँग नजोड्ने हो भने खासै प्रभावकारिता देखिँदैन । एउटाले गरिरहेको छ, अर्कोले गरिरहेको छैन । अब नगर्नेलाई कारवाहीमा जानुपर्छ । उसको म्याद थपिन्न । दोश्रो पटक उसलाई सीईओ बन्न नदिने, तलब वृद्धिको प्रस्ताव आउँदा प्रफर्मेन्स राम्रो छैन भनेर दिँदैनौं । यी सबै एकैपटक गर्दा कम्पनी आत्तिएलान् भन्ने पनि छ । तर पनि हाम्रो प्रयास जारी छ । हामी कहि न कहिबाट कडाई गर्छौं । इन्स्योरेन्स इन्स्टिच्युट नेपाल (आईआईएन) किन प्रभावकारी हुन सकेन ? एकदमै ठिक भन्नु भयो । यसलाई प्रभावकारी बनाउन उसलाई जनशक्ति हामीले दिनु पर्यो । यो संस्था भरखरै स्थापना भएको हो । थोरै पैसाबाट सञ्चालन गरेको हो । तथापि यसपाली ८ सयभन्दा बढी अभिकर्ताको तालिम सबै उसले सञ्चालन गरेको हो । यो बाहेक पनि संस्थाले दुई दुई पटक सुदुरपश्चिम, कर्णाली, गण्डकी लगायतका अन्य प्रदेशमा अभिकर्ताको तालिम गर्यो । यसलाई हामीले हाम्रो क्षेत्रमा खडा भएका कार्यालयसँग जोड्नु पर्छ । क्षेत्रले सबै आयोजना गर्छ, यहाँबाट आईआईएन जान्छ र विज्ञहरुले तालिम सञ्चालन गर्ने व्यवस्था मिलाउनु पर्छ । त्यस्तै, संस्थाले पनि वर्षभरिमा के गर्ने भन्ने योजना बनाएको जस्तो लाग्छ । अहिले मकहाँ आइपुगेको छैन । आएपछि पेश गरौंला । संस्थालाई प्रभावकारी बनाउनु पर्यो । अब यो कुद्नु पर्यो । समितिभन्दा अघि अघि आईआईएन कुद्नु पर्छ । संस्थालाई मैले के भनेको छु भने नयाँ अभिकर्ताको लाइसेन्स दिनुभन्दा पहिला जाँच दिनु पर्यो । पुरानालाई त हामीले केही गर्न सकेनौं । अब आउने नयाँले कुनै परीक्षा पास गरेपछि मात्रै लाइसेन्स पाउने व्यवस्था गर्नुपर्यो । यो पाटोमा काम गर्न आग्रह गरेको छु । हामीले अभिकर्तालाई बीमाको बारेमा नबुझाई लाइसेन्स दियौं भने धेरै घटना घट्न सक्छ । तर उसले आफ्नो अधिकार, कर्तव्य बुझेर जान्छ भने अहिले बीमा क्षेत्रमा भएका घटनालाई न्यूनिकरण गर्न सक्छौं भन्ने विश्वास छ । चालु आवमा समितिको योजनाहरु के कस्ता छन् ? प्राथमिकता केलाई दिनु भएको छ ? थुप्रो छन् । कार्यक्रम नै धेरै छन् । पहिलो त, बीमा शब्द सबैले सुनेको शब्द हो । तर बीमाको अभ्यासमा धेरै कम लागेका छन् । यद्पि अहिलेको वर्षमा हाम्रो पहुँच ३८ प्रतिशतभन्दा बढीमा पुगेको छ । जबकी म आउँदा २७र२८ प्रतिशतको हाराहारीमा थियौं । हामीले यसमा फड्को मार्यौं भन्ने देखिएको छ । बीमाको फाइदा पाउनु पर्ने गरिबले हो । राज्यको नीति नै गरिबी निवारण गर्ने नीति छ । त्यो नीतिलाई सघाउ पुर्याउनको लागि पनि बीमा एउटा साधन हुन सक्छ । गरिबको घर भत्किसकेपछि त्यही घर बनाउन उसले सक्दैन । घर बनाउनलाई उसले लोन लिनुपर्ने हुन्छ । लोन तिर्न उसले सक्दैन । अनि गरिबी बढ्ने भयो । दुई लाखको घर भत्क्यो र उसले त्यो दुई लाख बीमाबाट पायो भने गरिबी त बढ्ने भएन । यो विषयमा हामीले स्थानिय सरकारसँग छलफल शुरु त गरेका छौं । गएकै वर्ष पनि हामी ७० वटामा पुग्यौं । प्रदेशमा तीन वटा कार्यालय पनि स्थापना भएका छन् । उनीहरुलाई पनि हामीले आ आफ्ना क्षेत्रमा यी विषयमा जोड दिन जिम्मेवारी दिएका छौं । यसमा स्थानीय सरकार, नगरपालिका लगायतले बुझ्नु पर्यो । उनीहरुले सक्ने जतिको अनिवार्य रुपमा बीमा गराउनु पर्यो । नसक्नेको बीमा नगरपालिका तथा गाउँपालिकाले गर्नुपर्यो । यसरी गयौं भने हामी पहुँचको हिसावमा पनि अघि बढ्छौं र सुरक्षा जसलाई दिन खोजेको हो त्यसले पाउँछ । अब यो पाटोबाट काम गर्नु पर्छ ।
आइएमई लाईफ इन्स्योरेन्सले एकैदिन ७ सय ४८ जना अभिकर्तालाई दियो बीमा तालिम
काठमाडौं । आइएमई लाईफ इन्स्योरेन्सले एकैदिन ७४८ जना नयाँ अभिकर्ताहरुलाई बीमा तालिम प्रदान गरेको छ । कम्पनीले स्थापनाको पाँचौं वर्ष पुरा गरेको अवसरमा नयाँ अभिकर्ताहरुलाई बीमा तालिम प्रदान गरेकाे हाे । कम्पनीका प्रमुख सञ्चालन अधिकृत दिनेश अमात्यले एकैदिन ५ सय जना अभिकर्तालाई बीमा तालिम दिने लक्ष्य राखिएकोमा ७ सय ४८ जना लाई तालिम प्रदान गर्न सफल भएको जानकारी दिए । आई .एम .ई लाइफ इन्स्योरेन्सका काठमाडौं उपत्यकाभित्रका बानेश्वर, महाराजगञ्ज र गोंगबु, गट्ठाघर लगायतका शाखाका कार्यालयमा अभिकर्ताहरुलाई तालिम दिइएको थियो । त्यस्तै उपत्यका बाहिर बिर्तामोड, बिराटनगर, ईटहरी, धरान, मिर्चैया, बीरगञ्ज, लहान, नुवाकोट, पोखरा, गुल्मी, दमौली, लेखनाथ, सोतीपसल, बुटवल, परासी, मुर्गीया, खजुरा , राप्ती सोनारी, भैरहवा, नेपालगन्ज,, बाँसगढी, गुलरिया, लम्की, भुरीगाँउ, टीकापुर, अत्तरिया, लम्की, झलारी, पुर्नबास, महेन्द्रनगर लगायतका स्थानहरुमा तालिम प्रदान गरिएको कम्पनीले जनाएको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत कवि फुयाँलले बीमा व्यवसायको लागि समयसापेक्ष दक्ष जनशक्ति तयार पार्ने क्रममा कम्पनीद्धारा बीमा अभिकर्ता आधारभूत तालिम प्रदान गरिएको बताए । पाँचौ वर्ष वर्ष पुरा गरेको अवसरमा कम्पनीले शनिवार सातवटै प्रदेशमा वृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको थियो । उक्त कार्यक्रममा ५ सय ७१ जनाले रक्तदान गरेका थिए ।
आगामी आमनिर्वाचनका लागि दल दर्ता सुरु
काठमाडौं । निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि आजदेखि दल दर्ता सुरुआत गर्ने भएको छ । आयोगले प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको प्रत्यक्ष र समानुपातिक निर्वाचन प्रणाली तर्फको निर्वाचनमा भाग लिन आयोगमा यही साउन १९ गतेसम्म दर्ता कायम रहेका राजनीतिक दललाई साउन २२ देखि ३१ गतेसम्म दल दर्ताका लागि निवेदन दिन सूचित गरेको हो । निवेदन दिँदा दलसम्बन्धी विवरण, दलको केन्द्रीय कार्यकारिणी समिति, प्रदेश र जिल्ला समितिका पदाधिकारी तथा सदस्यको सङ्ख्या, आयोगमा दलले वार्षिक लेखापरीक्षण प्रतिवेदन पेस गरेको मितिलगायत विवरण खुलाउनुपर्ने छ । यसैगरी दलको केन्द्रीयस्तर र प्रदेशस्तरको कार्यकारिणी समितिको पछिल्लो निर्वाचन भएको मिति, राजनीतिक दलको सङ्गठनात्मक स्वरुप केन्द्रीयस्तर र प्रदेशस्तरको छ÷छैन, त्यसको जानकारी खुलाउनुपर्ने आयोगले जनाएको छ । दल दर्ताका लागि प्रतिनिधिसभा सदस्यका लागि अनुसूची–१२ बमोजिम र प्रदेशसभा सदस्यको हकमा प्रदेशगत रूपमा सातवटा प्रदेशका लागि छुट्टाछुट्टै अनुसूची–१२ बमोजिमको निवेदन पेस गर्नुपर्नेछ । राजनीतिक दलसम्बन्धी ऐनबमोजिम दुई वा दुईभन्दा बढी दलले एकल चुनाव चिह्न लिई निर्वाचनमा भाग लिने प्रयोजनका लागि राजनीतिक दलसम्बन्धी नियमावली बमोजिमको ढाँचामा निवेदन दिनुपर्ने आयोगद्वारा आज जारी सूचनामा उल्लेख छ । दल दर्ता गर्न केन्द्रीय समितिबाट भएको निर्णयको प्रतिलिपि, दलको विधान, नियमावली तथा घोषणापत्र, आर्थिक वर्ष २०७७÷७८ को वार्षिक लेखा परीक्षण प्रतिवेदन लगायतका आवश्यक कागजात पेस गर्नुपर्नेछ र दलको प्रमुख पदाधिकारीले दस्तखत गरी पेस गर्नुपर्नेछ । यसैगरी उम्मेदवारलाई दलको औपचारिक पत्र प्रदान गर्ने गरी पदाधिकारी तोकिएको केन्द्रीय समितिको निर्णयसहित तोकिएको ढाँचामा पदाधिकारीको नाम पर, पद र सम्पर्क नम्बर सहितको दस्तखत नमूना पेस गर्नुपर्नेछ । दल दर्ताका लागि संविधानबमोजिम राजनीतिक दलको विधान र नियमावली लोकतान्त्रिक हुनुपर्ने, राजनीतिक दलको विधानबमोजिम कम्तीमा पाँच वर्षमा एकपटक सो दलको सङ्घीय र प्रदेश तहका प्रत्येक पदाधिकारीको निर्वाचन भएको हुनुपर्ने र दलको विभिन्न तहका कार्यकारिणी समितिमा नेपालको विविधतालाई प्रतिबिम्बित गर्ने गरी समावेशी प्रतिनिधित्वको व्यवस्था गरिएको हुनुपर्ने आयोगले जनाएको छ ।
पिपुल्स पावरले साउन ३१ गतेदेखि आईपीओ निष्काशन गर्दै
काठमाडौं । पिपुल्स पावर लिमिटेडले साउन ३१ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले सर्वसाधारण लगानीकर्ताका लागि आईपीओन निष्काशन गर्ने भएको हो । कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका २४ लाख ६७ हजार ४ सय कित्ता सेयर निष्काशन गर्नेछ । जसमध्ये २ प्रतिशत अर्थात ४९ हजार ३४८ कित्ता सेयर कम्पनीका कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात १ लाख २३ हजार ३७० कित्ता सेयर सामूहिक लगानी कोषहरुका लागि, बाँकी २२ लाख ९४ हजार ६८२ कित्ता सेयर सर्वसाधारणका लागि छुट्याएको छ । कम्पनीको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम ५० हजार कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा छिटोमा भदौ ५ गते र ढिलोमा भदौ १४ गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ । कम्पनीको आईपीओमा लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिइ आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट आवेदन दिन सक्नेछन् । साथै, मेरो सेयर एपबाट पनि आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओलाई केयर एनपी डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । जसले दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ ।
तीन प्रदेशमा भारी वर्षाको सम्भावना : सतर्कता अपनाउन आग्रह
काठमाडौं । देशभर आंशिकदेखि सामान्य बदली रही तीन प्रदेशमा भारी वर्षा हुने भएको छ । देशभर आंशिकदेखि सामान्य बदली रही देशका पहाडी भू–भागका केही र बाँकी भू–भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावनाका साथै सुदूरपश्चिम, लुम्बिनी र कर्णाली प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणमा अवस्थित रहेको छ । विभागले आगामी २४ घण्टा देशका पहाडी भू–भागका केही र बाँकी भू–भागका थोरै स्थानहरूमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षा र सुदूरपश्चिम, लुम्बिनी र कर्णाली प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले विभागले जनाएको छ । उक्त भू–भागहरूमा भू–क्षय, पहिरो तथा गेग्र्यान बहावको जोखिम रहनाका साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने र दैनिक जनजीवन/यातायात क्षेत्रसमेत प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन विभागले सबैमा अनुरोध समेत गरेको छ । रातको समयमा देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली तथा लुम्बिनी प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम २० दशमलव तीन डिग्री र अधिकतम तापक्रम ३० दशमलव पाँच डिग्री सेल्सियस रहेको छ । त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम १६ दशमलव नौ डिग्री र सबैभन्दा धेरै दिपायलको अधिकतम तापक्रम ३५ दशमलव दुई डिग्री सेल्सियस रहेको छ ।