बिरामीलाई घरमै रेडियोलोजी सेवा
काठमाडौं । हेल्थ एट होम मेडप्रो इन्टरनेशनलले घरमै पुगेर रेडियोलोजी सेवा दिन सुरु गरेको छ । यसअघी घरमै पुगेर स्वास्थ्य सेवा दिइरहेको हेल्थहोमले घरमै रेडियोलोजी सेवा दिन समेत सुरु गरेको हो । आफ्नो ओछ्यानमै रेडियोलोजी सेवा चाहिने विरामीहरुलाई लक्षित गर्दै कम्पनीले यो सेवाको सुरुवात गरेको जनाएको छ । घरमा स्वास्थ्यको रेडियोलोजी विभागले अल्ट्रासाउण्ड र इकोकार्डियोग्राफि प्रदान गर्ने कम्पनीले बताएका छ । हेल्थ एट होमले निकट भविष्यमा एक्सरे र अन्य विभिन्न रेडियोलोजी सेवा समेत थप्ने लक्ष्य राखेको जानकारी दिएको छ । १२ वर्षअगाडि डा। विशाल ढकालले स्थापना गरेको हेल्थ एट होमले घरघरमा पुगेर स्वास्थ्य सेवा दिँदै आएको छ । हाल हेल्थ एट होममार्फत करिब १ लाखभन्दा बढी घरले स्वास्थ्य सेवा लिइसकेका छन् । हेल्थ एट होमले घरमै पुगेर बिरामीको उपचार गर्ने, ल्याब टेस्ट तथा रिपोर्ट लिने, विभिन्न किसिमका थेरापी दिने लगायतका कार्य गर्दै आएको छ । देशव्यापी सञ्जाल बनाउने उद्देश्य राखेको हेल्थ एट होमले उपत्यकाबाहिर तीनवटा शाखामार्फत आफ्नो सेवा दिँदै आएको छ ।
चंगान अटोको नेपालमा पहिलो वर्ष पुरा
काठमाडौं । चीनको नंबर एक प्यासेन्जर ब्राण्ड चंगान अटोले नेपालमा आफ्नो सेवाको पहिलो वर्ष पुरा गरेको छ । नेपालका लागि अधिकृत बिक्रेता एमएडब्लुले एक वर्ष पहिले चंगानको उत्कृष्ट गाडिहरु नेपाली बजारमा भित्राएको हो । चंगान अटोले नेपाली बजारमा सेडान एल्सभिन मार्फत आगमन गरेको थियो । यससँगै उत्कृष्ट पिकअप हन्टर पनि सार्वजनिक गरिएको थियो । एल्सभिन पेट्रोल भेरिएन्ट हो भने हन्टर डिजेल भेरिएन्ट हो । हन्टर दुई संस्करण ४८२ र ४८२ मा उपलब्ध छ । सुरुवातमा सोल्टी होटेलको प्राङ्गणमा एल्सभिनलाई प्रदर्शनमा राखिएको थियो । यसका साथसाथै चंगान अटोले हाउजिङ, अपार्टमेन्ट, सपिङ मल र अस्पतालमा एक्टिभेसन कार्यक्रम आयोजना गरेको थियो । कम्पनीले आफ्नो आधिकारिक सर्भिस सेन्टर सितापाईला काठमाडौंबाट सञ्चालन गरेको थियो । हन्टर सार्वजनिक भएसँगै कम्पनीले आफ्नो सोरुम नक्सालबाट सेवा सञ्चालन सुरु गरेको थियो । आगमनको पहिलो वर्षमै एल्सभिन बेस्ट सेलिङ मिड साइज सेडानमा चौथौ भएको थियो भने हन्टर बेस्ट सेलिङ पिकअप लक्जरीमा छैठौ भएको थियो ।
क्युबाको तेल भण्डारणमा चट्याङ पर्दा ८० जना घाइते, १७ अग्निनियन्त्रक बेपत्ता
हवाना [क्युबा] । शनिबार मातान्जास शहरस्थित तेल भण्डारण केन्द्रमा चट्याङ लागेर आगलागी हुँदा करिब ८० जना घाइते भएका छन् भने १७ जना अग्निनियन्त्रकहरू बेपत्ता भएका छन् । सीबीएस न्युजले ऊर्जा तथा खानी मन्त्रालयलाई उद्धृत गर्दै अग्निनियन्त्रकहरूले अझै पनि माटान्जास सुपरट्याङ्कर बेसमा आगो निभाउने प्रयास गरिरहेका बताएको छ । शुक्रबार राति शुरु भएको आगलागी अहिलेसम्म नियन्त्रण हुन सकेको छैन । यसै बीच सरकारले सबै प्रकारका घरेलु उयाय अवलम्वन गरेपनि नियन्त्रण गर्न नसकेपछि तेल भण्डारण बारे अनुभव भएका मैत्री देशहरूबाट अग्निनियन्त्रण विज्ञहरूको मद्दत मागेको छ।आगलागीको आसपासको क्षेत्रलाई नियन्त्रणमा लिन सेनाले हेलिकप्टरबाट पानी खसाल्दै आगो निभाउँने प्रयास गरिरहेको छ। मातान्जासका अग्निनियन्त्रक प्रमुख रोबर्टो डे ला टोरेले भने अनुसार अग्नि नियन्त्रकहरूले आगो फैलिनबाट रोक्नको लागि ट्याङ्कीहरूलाई चिसो राख्न प्रयास गरिरहेका छन् । मातान्जासको प्रान्तीय सरकारको फेसबुक पेजले घाइतेको संख्या ७७ पुगेको र १७ जना बेपत्ता रहेको उल्लेख गरेको छ। घाइते मध्ये सात जनालाई हवानाको क्यालिक्सटो गार्सिया अस्पतालमा लगिएको बताइएको छ । क्युबाले इन्धन अभावको सामना गरिरहेको बेला यस्तो घटना भएको हो। यद्यपि घटनाको विस्तृत विवरण र क्षति भने अझै यकिन गर्न सकिने अवस्था छैन।
समाजवादी पार्टीको मोरङ जिल्ला संयोजक बने त्रिलोचन गौतम
काठमाडौं । समाजवादी पार्टी मोरङ जिल्लाको संयोजकमा त्रिलोचन गौतम चयन भएका छन् । पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी मोरङ जिल्ला संयोजकमा गौतमलाई चयन गरिएको हो । गौतमको नेतृत्वमा ५१ सदस्य जिल्ला कार्यसमिति चयन भएको हो । गौतम भट्टराईको विश्वासिलो पात्रको रुपमा चिनिन्छन् । नयाँ शक्ति गठन भएदेखि नै संघीय परिषदको सदस्य रहेका गौतम उपेन्द्र यादवसँग पार्टी एकीकरण गरेर जनता समाजवादी बन्दा पनि संघीय परिषद् सदस्य एवम् मोरङ जिल्ला उपाध्यक्ष बनेका थिए । जसपामा रहेका सदस्यहरु पनि आउने क्रम जारी रहेकाले जिल्ला कार्यसमिति गठन भने विस्तार नगरिएको गौतमले बताए । ‘अहिले ५१ जना सक्रिय सदस्यहरु आईसकेका छन, अरु प्रमुख पदमा रहेका व्यक्तिहरु आउने भनेका छन, जिल्ला समितिलाई उहाँहरु आएपछि मात्रै विस्तार गरिनेछ,’ उनले भने । कार्यसमितिलाई विस्तार गरी अगामी निर्वाचनमा लक्षित कार्यक्रम अघि बढाउने तयारी रहेको गौतमले बताए । मोरङ प्रत्येक क्षेत्रमा प्रतिनिधिसभा र प्रदेशमा उम्मेदवारी दिने गरी काम अघि बढाएको उनले बताए । उनले आफै नै प्रदेश सभाको ६ (ख) बाट उम्मेदवारी दिने बताए ।
‘नाफा हुँदा निगमको, घाटा चाहिँ उपभोक्ताको’
काठमाडौं । भारतबाट दुई–दुई पटक इन्धनको मूल्य घटेर आयो तर नेपाल आयल निगमले सार्वजनिक सूचना नै जारी गरी घाटा रहेको जनाउँदै उपभोक्ताका लागि मूल्य नघटाएको जनायो । प्रतिनिधिसभाका सांसदले त्यस विषयमा गम्भीर ध्यानाकर्षण गराएका छन् ।प्रतिनिधिसभाको आजको बैठकमा सांसद प्रदीपकुमार ज्ञवालीले तत्काल इन्धनको मूल्य घटाउन माग गर्नुभएको हो । सदनको विशेष समयमा सांसद ज्ञवालीले मूल्य ३१ रुपैयाँ घटेर आए पनि उपभोक्ताले महँगोमै इन्धन किन्नुपर्ने अवस्था रहेको बताए । ‘नाफा हुँदा नाफा जति आयल निगमको पोल्टामा घाटा हुँदा त्यसको भार उपभोक्ताकामा, यो कहाँको न्याय हो, सभामुख महोदय’, ज्ञवालीले प्रश्न गरे । उनले तत्काल मूल्य घटाएर उपभोक्तालाई राहत दिन र सरकार भएको अनुभूति दिन आग्रह गरे । उनले आयल निगमलाई विवादित बनाउन मूल्य नघटाएको आरोप पनि लगाए । सांसद ज्ञवालीले निर्वाचनको सन्दर्भ जोड्दै मिति घोषणा भइसकेपछि सरकार काम चलाउ भएको र उसले संसद्लाई नयाँ ‘विजनेश’ दिन नमिल्ने जिकिर गरे । यस्तो अवस्थामा सदनको कार्यवधि सकिने बेलामा प्रधानन्यायाधीशमाथिको महाअभियोगको विषय ल्याउनु उचित नभएको पनि बताए । उनले विप्लब नेतृत्वको नेकपाका कार्यकर्तालाई पक्राउ पुर्जी जारी गरेर गलत गरिएको जिकिर गरे । सांसद ज्ञवालीले ताइवानको घटनाप्रति गम्भीर हुन आग्रह गर्दै एक चीन नीतिमा अडिक रहन सरकारसँग आग्रह गर्नुभयो । आन्तरिक मामिलामा कसैले पनि हस्तक्षेप गर्न हुँदैन भन्ने धारणा सार्वजनिक गर्न सरकारको ध्यानाकर्षण गराए । उनले देशको अर्थतन्त्र गम्भीर अवस्थाबाट गुज्रिरहेको उल्लेख गर्दै करको दर हेरफेरका सन्दर्भमा छानविन समितिले सम्पूर्ण अङ्ग पूरा गर्न नपाएको र त्यसको असर भोलि पनि अर्थमन्त्रालयमा पर्ने दाबी गरे । विशेष समयमा सांसद योगेशकुमार भट्टराईले स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारीरुपमा सञ्चालन गर्न माग गर्नुभयो । अहिले १७ लाख परिवार यसमा आबद्ध रहेका र सरकारले २० अर्बभन्दा बढी भुक्तानी गरिसकेको अवस्थामा अहिलेको बजेटमा स्वास्थ्य बीमामाथि गम्भीर आघात परेको बताए । उनले बीमा कार्यक्रम पूर्ववत् अवस्थामा सञ्चालन गर्न ध्यानाकर्षण गराए । उहाँले बीमाको दायरा फराकिलो गरी १० लाख बनाउन माग गरे । उनले कोरोनाबापतको बीमासमेत भुक्तानी नभएको बताए । सांसद सीतादेवी यादवले बाढीपहिरा प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाको कामलाई प्रभावकारी बनाउन माग गरिन् । सार्वजनिक स्थानमा धूमपान गर्न नहुने कानुन भए पनि जथाभावी सुर्तीजन्य पदार्थको प्रयोग भइरहेको भन्दै सरकारको ध्यानाकर्षण गराए । सांसद दुर्गाबहादुर रावतले द्वन्द्वपीडित शिक्षकलाई दुःख दिने काम भइरहेको भन्दै यस्ता गतिविधि रोक्न माग गरे । शिक्षामा व्यापारीकरण र विभेदीकरण कायम रहेको भन्दै उहाँले शिक्षा ऐन संसद्मा ल्याएर परिवर्तत परिस्थितिअनुसार बनाउन माग गरे । सांसद डा पुष्पाकुमारी कर्ण कायस्थले लोकसेवा परीक्षाको सन्दर्भ जोड्दै परीक्षार्थीलाई ट्युसन पढाउने ट्युसन सेन्टरमा कर्मचारी खटिएर सेवा प्रभावित भएको र परीक्षार्थीकोसमेत ठूलो धनराशि खर्च हुने गरेको भन्दै त्यसतर्फ ध्यानाकर्षण गराए । उनले सुरक्षाकर्मीका लागि एउटै पाठ्यक्रम निर्माण गरी एकैपटक परीक्षा सञ्चालन गरी मेरिटका आधारमा सिफारिस गर्ने तथा सबै सङ्गठित संस्था वा सार्वजनिक संस्थाका लागि एउटै पाठ्यक्रम सञ्चालन गरी मेरिटका आधारमा सिफारिस हुनुपर्ने माग गरे । सांसद नरमाया ढकालले कैदीबन्दीसँग सम्बन्धित मुद्दामा ढिलासुस्ती हुने गरेकाले बन्दी प्रत्यक्षीकरणको मुद्दासरह प्राथमिकता दिन माग गरे । सांसद दुर्गा पौडेले आमनिर्वाचन घोषणा गर्दा पनि लाखौँ प्रवासी नेपालीलाई मतदानको अधिकार सुनिश्चित गर्न सरकार गम्भीर हुन नसकेको बताए । सांसद प्रेम सुवालले ताइवानका सन्दर्भमा हालै भएका गतिविधिबारे नेपाल सरकारको ध्यानाकर्षण गराए । सांसद गोकुलप्रसाद बाँस्कोटाले काभ्रे जिल्लामा बाँदर र बँदेलले हैरान पारेको र ठूलो मात्रामा अन्नबाली नष्ट पारेको जानकारी गराउँदै सरकारले कुनै राहतको व्यवस्था गर्न नसकेको गुनासो गर्नुभयो । विशेष समयमा सांसदहरु भीमसेनदास प्रधान, राजेन्द्रकुमार केसी, नवराज सिलवाल, दुर्गाकुमारी विश्वकर्मा, तेजुलाल चौधरी, मोहन बानियाँलगायतले धारणा राखेका थिए ।
सहकारीलाई लाभांश वितरण नगर्न अपील, घरजग्गा पनि खरिद गर्न नपाइने
काठमाडौं । सहकारी अभियानले सहकारी संस्थाहरुलाई नगद लाभांश वितरण नगर्न अपील गरेकोृ छ । आइतबार राष्ट्रिय सहकारी महासंघमा पत्रकार गर्दै अभियानले अहिले तरलताको अभाव भएकोले नगद लाभांश वितरण नगर्न अपील गरेको हो । सहकारी महासंघ, राष्ट्रिय सहकारी बैंक, नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लगायत संघहरुले संयुक्त रुपमा राष्ट्रिय सहकारी महासंघमा पत्रकार सम्मेलन गर्दै सदस्यहरूसँगको परामर्शमा नगद लाभांश वितरण नगर्न अपील गरेको हो । महासंघले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सदस्यहरूसँगको परामर्शमा नगद लाभांश वितरण नगर्ने, कारोबारलाई सकेसम्म डिजिटल प्रणालीमा लैजाने, वित्तिय मापदण्ड (पर्ल्स) लागु गर्ने र महासंघ, सहकारी बैंक, केन्द्रीय संघ, प्रदेश वा जिल्ला संघहरूले संचालन गरेकास्तरिकरण कार्यक्रममा संस्थालाई सहभागि गराउने र उद्देश्य मिल्ने अन्य सहकारी संस्थासँग एकिकरण गर्ने ।’ यस्तै, सहकारी अभियानले सहकारीको पैसा सहकारीमा राख्ने अभियानको प्रचार प्रसार गर्ने, व्यवस्थापन चुस्त दुरूस्त र क्षमतावान व्यवसायिक बनाई राख्न शिक्षा तालिममा नियमित सहभागि गराईराख्न पनि अपील गरेको छ । तरलता समस्यामा सुधार नहुन्जेलसम्म संस्थाले अचल सम्पत्ति खरिद नगर्ने, अनावश्यक खर्चहरू नगरी जोखिमव्यवस्थापन र सुशासनमा सहयोग हुने शिक्षा, तालिममा व्यववस्थापन एवं समिति, उपसमितिहरू र सदस्यहरूलाई सहभागि गराउने कार्य गर्न पनि अभियानको आग्रह छ ।
बेतन कर्णाली आयोजनाबाट ३८४ परिवार प्रभावित हुने
कर्णाली । निर्माणको तयारीमा रहेको बेतन कर्णाली जलविद्युत् आयोजना (४३९ मेगावाट)बाट सुर्खेत र अछामका तीन सय ८४ परिवार प्रभावित हुने भएका छन् । प्रवद्र्धन बेतन कर्णाली सञ्चयकर्ता हाइड्रोपावर कम्पनीका अनुसार तीन सय ३१ परिवारले घरजग्गा दुवै गुमाउने र ५३ परिवारले घर मात्र गुमाउने छन् । आयोजनाबाट अछामका ढकारी र तुर्माखाँद गाउँपालिका तथा सुर्खेतका चौकुन गाउँपालिका र पञ्चपुरी नगरपालिका प्रभावित हुनेछन् । तीन सय ३१ परिवारको ७० हेक्टर जग्गा अधिग्रहण गर्ने तयारी गरिएको आयोजनाका प्रबन्धक उपेन्द्र न्यौपानेले जानकारी दिए । यसबाट तीन सय ३८ निजी घर संरचना प्रभावित हुनुका साथै ३५ जना व्यापार व्यवसायबाट विस्थापित हुने उनले बताए । आयोजना निर्माणबाट तीन झोलुङ्गे पुल, एउटा लघु जलविद्युत, एउटा मन्दिर, आठ खानेपानी धारा र दुई सिँचाइ कूलो प्रभावित हुनेछन् । ‘अछामतर्फको जग्गाको मुआब्जा निर्धारण समितिले मूल्याङ्कन गरिसकेको छ, बैंकको टुङ्गो लाग्न नसक्दा मुआब्जा वितरण हुन सकेको छैन्,’ न्यौपानेले भने, ‘सुर्खेततर्फ मूल्याङ्कन हुन बाँकी छ, ऐलानी जग्गा र ती जग्गामा बनेका संरचनाको क्षतिपूर्तिका हकमा सरकारले निर्णय गर्छ ।’ आयोजनाले अछामतर्फ एक हजार आठ सय ४४ तथा सुर्खेतमा करिब चार सय रोपनी जग्गा अधिग्रहण गर्दैछ । प्रभावित क्षेत्रका लागि आयोजनाले कूल लागतको कम्तीमा ० दशमलव ५ प्रतिशत रकम छुट्ट्याइ सामुदायिक सहयोग कार्यक्रम सञ्चालन गर्नेछ । ८८ अर्ब लागत रहेको यो आयोजना पाँच वर्षभित्र सम्पन्न गर्ने लक्ष्य रहेको प्रवद्र्धक कम्पनीले जनाएको छ । कर्मचारी सञ्चयकर्ताको मुख्य लगानीमा बन्न लागेको सो आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन (ईआइए) अन्तिम चरणमा पुगेको छ । आयोजनाका प्रबन्धक न्यौपानेले जग्गा अधिग्रहण तथा मुआब्जा वितरण, बैंक काउन्टर स्थापना गरी खाता खाल्न, बेलिब्रिज निर्माण गर्न, कन्स्ट्रक्सन पावर जडान र विद्युत् खरिद सम्झौता (पिपिए) गर्न बाँकी रहेको बताए । उनले भने, ‘अछामतर्फ पहुँच सडक निर्माण भइसक्यो, सुर्खेततर्फ सात किमी ट्र्याक खोल्न बाँकी छ, पिपिए एग्रिमेन्ट र कन्स्ट्रक्सन पावर जडानका लागि पनि प्रक्रिया अघि बढिसकेको छ, मुख्य ठेक्का लाग्न अझैं कम्तीमा एक/डेढ वर्ष लाग्छ ।’ यो अर्धजलाशययुक्त आयोजना हो । आयोजनाको बाँधस्थल अछामको ढकेरी गाउँपालिका–६ मालुमेला, सुर्खेतको चौकुने गाउँपालिका–६ र विद्युतगृह अछामको ढकेरी गाउँपालिकाकै टटालीघाटमा रहनेछ । डाइभर्सन टनेल चौकुने गाउँपालिका–६ मा पर्दछ । मुख्य पावरहाउसबाट ४३० दशमलव २ मेगावाट र वातावरणीय बहावबाट थप ८ दशमलव ८ मेगावाट विद्युत् उत्पादन गर्ने गरी डिजाइन गरिएको छ । मालुमेलामा एक सय ४० मिटर अग्लो बाँधबाट २१ किमी लामो कृत्रिम ताल बन्नेछ । कर्मचारी सञ्चय कोषमा रकम जम्मा गर्ने करिब छ लाख सञ्चयकर्ताको सञ्चित रकममा कोषबाट प्राप्त हुने प्रतिफललाई जलविद्युत् क्षेत्रको विकासमा लगानी गर्न कोषले आयोजना निर्माण गर्न लागेको हो । शेयर संरचना अनुसार कोषमा रकम जम्मा गर्ने सञ्चयकर्ता कर्मचारीको ४० प्रतिशत, कर्मचारी सञ्चय कोषको १५, नेपाल विद्युत् प्राधिकरणको १०, विद्युत् उत्पादन कम्पनी लिमिटेडको १०, प्रभावित बासिन्दाको १०, सर्वसाधारणको १३ र आयोजना प्रभावित क्षेत्रका अति विपन्न परिवारको दुई प्रतिशत शेयर स्वामित्व रहने व्यवस्था गरिएको छ । यहाँबाट उत्पादित विद्युत्ले पहिलो वर्ष रु १४ अर्ब ५० करोड तथा निर्माण सम्पन्न भएको नौ वर्षपछि रु १८ अर्ब ३७ करोड २१ लाख वार्षिक आम्दानी गर्ने अनुमान गरिएको छ । आयोजना सञ्चालनबाट प्राप्त हुने रोयल्टीको २५ प्रतिशत स्थानीय सरकार, २५ प्रतिशत प्रदेश सरकार र ५० प्रतिशत सङ्घीय सरकार राख्ने सहमति भएको छ ।
सफ्टवेरिका कलेजको नि:शुल्क इथिकल ह्याकिङ र साइबर सेक्युरिटी वर्कसप सम्पन्न
काठमाडौं । सफ्टवेरिका कलेजले आयोजना गरेको ‘इथिकल ह्याकिङ र साइबर सेक्युरिटी’ सम्बन्धि नि:शुल्क वर्कसप सम्पन्न भएको छ । टेक एण्ड ट्रेन्डी स्टुडेन्टस पार्टनरसँगकाे सहकार्यमा कलेजले कक्षा ११ र १२ काे परीक्षा दिएर नतिजा कुरिरहेका हरुकाे लागि उक्त एकदिने वर्कसप आयाेजना गरेकाे थियाे । कलेजका इथिकल ह्याकिङ एण्ड साइबर सेक्युरिटी विभागीय प्रमुख मनोज तामाङकाे अनुसार वर्कसपमा २०० जना विद्यार्थीहरू सहभागी भएका थिए । ‘कार्यक्रममा सिसिआरसी कलेज, नामी कलेज, सेनलरेन्स कलेज, सेनजेभियर कलेज, काथफोर्ड इन्टरन्यासनल कलेज, कान्जिरोवा नेसनल कलेज, एनआइटी, केयमसी लगायत विभिन्न विद्यालयबाट र पासआउट २ सय जना विद्यार्थीहरू सहभागी भएका थिए,’उनी भन्छन् ‘हामीले साइबर सुरक्षाकै विषयलाई जोड दिएर वर्कसप सञ्चालन गरेका थियौँ।’ वर्कसपमा सहभागी विद्यार्थीलाई इथिकल ह्याकिङ र साइबर सेक्युरिटीको परिचय, इथिकल ह्याकिङ र साइबर सेक्युरिटी बिचको भिन्नता, साइबर सेक्युरिटी इन्डस्ट्रीमा भविष्य, इथिकल ह्याकिङ ट्रिक र वेब सेक्युरिटी, पासपोर्ट ट्र्याकिङ, नेटवर्क सेक्युरिटीको दुरुपयोग बारे विस्तृत तालिम एवं जानकारी प्रदान गरिएको कलेजले जनाएको छ ।