सिभिल बैंकले थप २९ साझेदारसँग गर्यो सम्झौता, कुनबाट के-के छुट पाइन्छ ?
काठमाडौं । सिभिल बैंकले थप २९ वटा साझेदारसँग सम्झौता गरेको छ । बैंकिङ्ग सेवा र सुविधामा मात्र सीमित नरहि बैंकले साझेदारहरुसंग समन्वय गरी ग्राहकलाई विशेष छुटको व्यवस्था गरेको हो । यससँगै अब सिभिलका ग्राहकले विभिन्न साझेदारहरुबाट विभिन्न बस्तु वा विभिन्न सेवा उपभोग गरी बैंकको बिद्युतिय भुक्तानी प्रणाली “सिभिल स्मार्ट -मोवाइल बैंकिङ्ग एप” अथवा एटियम कार्डको प्रयोग गरी भुक्तानी गर्दा विभिन्न छुटहरु पाउने छन् । बैंकले हालसम्म यस्ता विभिन्न ६९ साझेदारहरुसंग ग्राहकहरुलाई छुट प्रदान गर्ने सम्वन्धमा सम्झौता गरिसकेको छ । यसका साथै बैंकले आगामी दिनहरुमा यसको परिधि बढाई अन्य संघ संस्थाहरुसँग पनि सम्झौता गरिने योजना रहेको बैंकका चिफ विजिनेस डिपोजिट तथा ट्रान्जेक्सन बैंकिङ्ग भोला बहादुर विष्टले बताए । बैंकले हालसम्म १३ एक्सटेन्सन काउन्टरहरु र ९९ एटीएम रहेका छन् । साथै, बैंकले गत आषाढ मसान्तसम्म ९६ अर्ब रुपैयाँभन्दा बढी निक्षेप परिचालन गरी ८७ अर्बभन्दा बढी कर्जा लगानी गरिसकेको छ । कुन साझेदारीबाट के के छुट पाइन्छ ? [pdf id=344343]
‘छैठौं अन्तर्राष्ट्रिय महिला उद्यमीहरुको व्यापार मेला २०२२’ भदौ २ गतेबाट हुने
काठमाडौं । ‘छैठौं अन्तर्राष्ट्रिय महिला उद्यमीहरुको व्यापार मेला २०२२’ आउँदो भदौमा हुने भएको छ । मेला भदौको २ गतेबाट ६ गतेसम्म ललितपुरको सानेपामा आयोजना गरिने महिला उद्यमी महासंघ नेपालले आज पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो । मेलामा ७ वटै प्रदेशका महिला उद्यमीहरुको सहभागिता हुने आयोजकले जनाएको छ । हातले बनाइएका सामग्री, कृषि उत्पादन, श्रृङ्गारका सामग्री, सजावटका सामग्री, कागजका वस्तुहरु, घरबुनाका सामग्रीहरु, जैविक खाद्य पदार्थ, पुष्प सामग्री, गरगहना, लगायतका वस्तुहरु मेलामा पदर्शन गरिने आयोजकले जनाएको छ । मेलामा भारत, पाकिस्तान र बंंगालादेशका महिलाहरुको समेत स्टल रहने छ । मेलामा १०९ वटा स्टल रहने र प्रति स्टलको भाडा २८ हजार हुने आयोजकले जनाएको छ । आयोजकका अनुसार विभिन्न जिल्लाबाट स्टल राख्न आउने महिला उद्यमीहरुको लागि भने विशेष छुट दिई प्रति स्टल ३ हजारमा उपलब्ध गराइने छ । साथै विभिन्न जिल्लाहरुबाट आउने महिला उद्यमीहरुलाई खाजा खाने र यातायात खर्च उपलब्ध गराइने आयोजकले जनाएको छ । महिला उद्यमीहरुले उत्पादन गरेको वस्तु तथा सेवाहरुको पदर्शनी, प्रवद्धन, बजारीकरण र बिक्रीका लागि साझा स्थलको रुपमा मेलालाई परिणत गर्ने, अन्तर्राष्ट्रिय स्तरसम्म नेपाली उत्पादनलाई प्रवद्र्धन गर्ने, उद्यमीहरुका अनुभव आदानप्रदान गर्ने र संयुक्त लगानीका अवसरहरुको खोजीका लागि मेलाको आयोजना गरिएको आयोजकले जनाएको छ । मेलाको उद्घाटन प्रधानमन्त्री शेरबहादुर देउवाले गर्ने कार्यक्रम रहेको छ । नेपालका महिला उद्यमीहरु सानो अवस्था सुक्ष्म र सानो तहमा भएको र यो मेला ती उद्यमीहरुको प्रवद्र्धनका लागि महत्वपूर्ण हुने महासंघकी अध्यक्ष निरु रायमाझी खत्रीले बताइन् । मेलालाई नेपाल सरकार, युरोपियन युनियन, अन्तर्राष्ट्रिय व्यापार केन्द्र, फिन चर्च एड, एशिया फाउन्डेसन, कृषि विकास बैंक, आदि लगायतका निकायहरुले सहयोग गर्नेभएका छन् ।
यस रेमिटकाे इजाजतपत्र रद्ध
काठमाडौं । लैनचौरस्थित यस रेमिटको इजाजतपत्र रद्ध भएको छ । राष्ट्र बैंक अन्तर्गतको विदेशी विनिमय व्यवस्थापन विभागले आइतबार सूचना जारी गर्दै यस रेमिटको इजाजतपत्र रद्ध भएको जानकारी दिएको हो । विभागले सो कम्पनीले गरेको विदेशी मुद्रा कारोबारबाट कुनै व्यक्ति वा संघसंस्थासँग लेनदेन रकम बाँकी भएको अवस्थामा ३५ दिनभित्र विभागमा लिखित रुपमा जानकारी दिन अनुरोध गरेको छ । तोकिएको समयमा लिखित जानकारी प्राप्त हुन नआए यस रेमिटको ग्यारेन्टीसमेत फुकुवा हुने विभाले जनाएको छ ।
२० दिनमा घुस माग्ने ३ सरकारी कर्मचारी पक्राउ, अख्तियारमा उजुरी गर्ने बढे
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालयमा उजुरी पर्ने क्रम बढ्दै गएको छ । आयोगमा चालु आर्थिक वर्षको साउन २० गतेसम्ममा एक हजार ४३२ उजुरी परेका छन् । आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार लिखित उजुरी ५५७, हुलाकमार्फत २७२, इमेतमार्फत २५३, वेभसाइटमार्फत १९३, टेलिफोनमार्फत ८४, समाचारमार्फत ३६, फेसबुकमार्फत १०, भाइबरमार्फत २ र अन्य गरी २५ उजुरी परेका छन् । यसैगरी आयोगको कञ्चनपुरस्थित कार्यालयमा ९५, पोखरामा ७०, बुटवलमा ६७, नेपालगञ्जमा ४१, बर्दिबासमा ९२, सुर्खेतमा ९४, हेटौडामा ८५, इटहरीमा ९४ र आयोगको मुख्य कार्यालय टङ्गालमा ७९४ उजुरी परेको थियो । आयोगले चालु आर्थिक वर्षको २० दिनमा घुस मागेको आरोपमा तीन जनालाई पक्राउ गरेको थियो । पक्राउ पर्नेमा एक उप–सचिव र दुई अधिकृत छन् । यही साउन १ देखि साउन २० गतेसम्ममा अख्तियार दुरुपयोग अनुसन्धान अयोगको कार्यालय, टङ्गाल तथा त्यस मातहतका कार्यालयबाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । साउन १८ गते आन्तरिक राजस्व कार्यालय, महाराजगन्जमा कार्यरत कम्प्युटर अधिकृत विन्दु श्रेष्ठ प्रधानलाई आयोगको टोलीले घुससिहत पक्राउ गरेको हो । प्रधानले कम्प्युटर बिलिङको सफ्टवयर स्वीकृतिका लागि सेवाग्राहीसँग तीस हजार घुस मागेको उजुरी परेपछि आयोग टोलीले रकमसहित उनलाई पक्राउ गरेको आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए । यस्तै साउन १८ गते सेवाग्राहीबाट घुसबापत लिएको ६ लाखसहित र स्रोत नखुलेको १६ लाख ५० हजारसहित संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव प्रमोद नेपाल पक्राउ परे । आयोगको टोलीले नेपाललाई नागपोखरीस्थित एक होटेलबाट घुसबापतको रकमसहित नियन्त्रणमा लिएको थियो । त्यससम्बन्धी अनुसन्धान अघि बढेको प्रवक्ता भण्डारीले बताए । त्यस्तै चालु आवकै पहिलो दिन साउन १ गते कैलालीको मोहन्याल गाउँपालिकाका अधिकृत दीपेन्द्र बुढा क्षेत्रीलाई कञ्चनपुरस्थित आयोगको टोलीले ३० हजार घुससहित पक्राउ गर्याे । घोडाघोडी नगरपालिका–१ स्थित नवरत्न होटेलबाट सेवाग्राहीको ३० हजार घुसबापतको रकमसहित उनी पक्राउ परेका थिए । सेवाग्राहीको रकम भुक्तानी दिने क्रममा ३० हजार घुस माग गरेको भन्ने उजुरीका आधारमा उनी पक्राउ परेका हुन् । आयोगले आव २०७८/७९ मा भ्रष्टाचार भएको भन्दै १३१ अरोपपत्र विषेश अदालतमा दायर गरेको थियो । सार्वजनिक निकायमा हुने भ्रष्टाचारको उजुरीको आधारमा आयोगले अनुसन्धानपछि आरोपपत्र दायर गरेको हो । चालु आर्थिक वर्षको साउन २० गते भित्रमा आयोगले छ आरोपपत्र दायर गरेको छ । रासस
अब सवारी अनुमति पत्र तीन दिनमै !
काठमाडौं । तपाईंलाई छिटो सवारी साधनको अनुमति पत्र चाहिएको छ ? यदि चाहिएको भए अब तीन दिनमै तपाईंले प्राप्त गर्नुहुन्छ । बागमती प्रदेश श्रम, रोजगार तथा यातायात मन्त्रालय हेटौँडाले आकस्मिक (इमर्जेन्सी) रुपमा सवारी अनुमति पत्र चाहिने सेवाग्राहीलाई ध्यानमा राखेर छिटोमा तीन दिनमै दिने व्यवस्था गरेको हो । अन्य सेवाग्राहीलाई भने सवारी चालक अनुमतिपत्र लिन १५ देखि १८ दिन लाग्ने छ । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले आफू मुख्यमन्त्री भएसँगै सवारी चालक अनुमतिपत्र लिन पर्खाइमा रहेका सेवाग्राहीलाई छ महिनाभित्र वितरण गरिसक्ने प्रतिबद्धता जनाएका थिए । प्रदेश सरकारले अतिरिक्त समयमा यातायात कार्यालय सञ्चालन गर्न सहज हुनेगरी २०७८ फागुन २६ गते कार्यविधि बनाएको थियो । सोही कार्यविधिअनुसार श्रम, रोजगार तथा यातायात मन्त्रालय हेटौँडाले आफू मातहतका सवारी चालक अनुमतिपत्र लिने कार्यालय बिहान ७ बजेदेखि सञ्चालन सुरु गरेको छ । मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव इञ्जिनियर उमेश रुपाखेती बागतमी प्रदेशले यातायात कार्यालयबाट दैनिकरुपमा प्रवाह हुने सेवाग्राहीको विवरण दैनिकरुपमा सार्वजनिक गर्ने तयारी गरेको बताउँछन् । ‘सेवाग्राहीसँग प्रत्यक्ष जोडिने कार्यालय यातायात कार्यालयको सुधारका लागि बागमती प्रदेश कार्यालय लागेको छ’, उनी भन्छन् । यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र ठूलोभ¥याङ, हेटौँडा, जगातिलगायतका कार्यालयले आज बिहान ७ बजेदेखि सेवाग्राहीलाई सवारी चालक अनुमतिपत्र प्रदान सुरु गरे पनि सवारी चालक अनुमतिपत्र एकान्तकुना, चाबहिलले छिट्टै सेवा प्रदान गर्ने बागमती प्रदेशका श्रम, रोजगार तथा यातायातमन्त्री घनश्याम दाहाल बताउँछन् । मन्त्री दाहाल यातायात कार्यालयभित्र देखिएको अस्तव्यस्तता हटाउँदै सेवाग्राहीलाई सहज ढङ्गले सेवा प्रदान गर्नका लागि कार्यविधि बनाएर बिहानैदेखि कार्यालय सञ्चालन सुरु गरेको बताउँछन् । ‘उपत्यका बाहेकका अरु जिल्लाका सेवाग्राही काठमाडौंभित्र सेवा लिन आउन नपरोस् भन्ने उद्देश्यले उपत्यका बाहिर पनि सवारी चालक अनुमतिपत्र कार्यालय खोल्न लागिरहेका छौँ’, उनी भन्छन् । सेवाग्राही १० बजेदेखि यातायात कार्यालय सञ्चालन हुने भएकाले ७ बजेदेखि नै कार्यालय आएर लाइनमा बसेको अप्ठ्यारो अवस्थालाई महसुस गरेर बिहान ७ बजेदेखि नै कार्यालय सञ्चालन सुरु गरेको उनको भनाइ छ । मन्त्री दाहाल अतिरिक्त समयमा काम गर्ने कर्मचारीलाई मन्त्रालयले भत्ताकोसमेत व्यवस्था गरेको बताउँछन् । आज बिहान सवारी चालक अनुमतिपत्र ठूलोभ¥याङमा सेवा लिन आउनुभएका नागार्जुन नगरपालिका–२ का सेवाग्राही रामबहादुर श्रेष्ठ यति चाँडो लाइसेन्सको काम हुन्छ भन्ने विश्वास आफूलाई नलागेको बताउँछन् । ‘यस्तो सेवा सधैँ प्रदान गर्नसके यातायात कार्यालयप्रति सेवाग्राहीले हेर्ने दृष्टिकोणमा परिवर्तन आउँछ’, उनी भन्छन् । सोही कार्यालयमा सेवा लिन आएका डडेलधुराका वीरेन्द्र साउद पछिल्लो समय यातायात कार्यालयले दिने सेवाप्रति आफू सन्तुष्ट रहेको बताउँछन् । यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र ठूलोभ¥याङका निमित्त प्रमुख सञ्जय थापा यातायात क्षेत्रलाई हेर्ने नजरमा परिवर्तन ल्याउनु जरुरी रहेको बताउँछन् । ‘हरेकले आफू कर्मचारीमात्र नभएर सेवाग्राहीको नजरबाट हेर्नसके यातायात क्षेत्रमा सुधार आउँछ’, उनी भन्छन् । ठूलोभ¥याङले दैनिक तीन सय जनालाई सवारी चालक अनुमति पत्र प्रदान गर्दै आएको छ । दैनिक सात सय नयाँ सवारी चालक अनुमतिपत्रका लागि दर्ता, एक सय ५० नवीकरण, दुई सयको राजस्व सङ्कलन र ५० जनालाई प्रतिलिपि प्रदान गर्दै आएको छ । यस्तै हप्ताको पाँच सय जनाको लिखित परीक्षा सञ्चालन गर्दै आएको कार्यालय प्रमुख थापा बताउनुहुन्छ । ठूलोभ¥याङले सवारी चालक अनुमतिपत्रका लागि चन्द्रागिरि नगरपालिकाको गुर्जुधारास्थित भेहिकल एकेडेमीबाट प्रयोगात्मक परीक्षा गराउँदै आएको छ ।
निजामती कर्मचारीका छोराछोरीले पाए साढे १६ करोड छात्रवृत्ति, एक जनालाई ५ लाखसम्म
काठमाडौं । सरकारले निजामती कर्मचारीका छोराछोरीलाई साढे १६ करोड ४९ लाख २९ हजार ८ सय ५० रुपैयाँ छात्रवृत्ति प्रदान गरेको छ । आर्थिक वर्ष ०७८/७९ मा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत् निजामती कर्मचारीका छोराछोरीलाई शैक्षिक प्रोत्साहन वृत्ति स्वरुप सो रकम उपलब्ध गराइएको मन्त्रालयले जनाएको छ । निजामती कर्मचारीका सन्ततिलाई शैक्षिक प्रोत्साहन वृत्ति उपलब्ध गराउने निर्देशिका, २०७८ बमोजिम मन्त्रालयले सो छात्रवृत्ति उपलब्ध गराएको हो । निजामती कर्मचारीका ६८० जना छोराछोरीले उक्त छात्रवृत्ति प्रोत्साहन बापतको रकम प्राप्त गरेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । छात्रवृत्ति प्रोत्साहनको लागि सामान्य प्रशासन मन्त्रालयले गत बैशाख १२ गते अनलाइन आवेदनको लागि आह्वान गरेको थियो । मन्त्रालयले तोकिएको रित पुरा गरी प्राप्त भएका भन्दै गत जेठ ३० गते योग्यताक्रमको आधारमा ६९९ जना विद्यार्थीको सूची प्रकाशन गरी गत असार १७ गते अन्तिम नामावली भन्दै ७०२ जनाको अन्तिम नामावली प्रकाशन गरेको थियो । सो नामावली निर्देशिकाको दफा १५ को व्यवस्था बमोजिम उजुरी लिई गुनासोका सम्बन्धमा दफा १६ बमोजिम सुनुवाई समितिबाट सुनुवाई गरी प्रकाशन गरिएको मन्त्रालयले जनाएको छ । निर्देशिकाअनुसार नेपाली शैक्षिक संस्थाहरुमा स्नातक वा सो सरहको अध्ययन गरिरहेको निजामती कर्मचारीका छोराछोरीले सो छात्रवृत्ति प्राप्त गर्न सक्छन् । २० लाख भन्दा धेरै शुल्क लाग्ने विद्यार्थीले ५ लाख, १५ लाखभन्दा धेरै शुल्क लाग्ने विद्यार्थीले ४ लाख र १० लाखभन्दा धेरै शुल्क लाग्ने विद्यार्थीले ३ लाख रुपैयाँ छात्रवृत्ति पाउने व्यवस्था निर्देशिकामा रहेको छ । त्यस्तै ५ लाखभन्दा धेरै शिक्षण शुल्क लाग्ने विद्यार्थीले २ लाख, १ लाखभन्दा धेरै शिक्षण शुल्क लाग्ने विद्यार्थीले १ लाख र १ लाख भन्दा कम शिक्षण शुल्क लाग्ने विद्यार्थीले पुरै शुल्क छात्रवृत्तिवापत प्राप्त गर्ने कुरा निर्देशिकामा उल्लेख गरिएको छ । मन्त्रालयले छात्रवृत्ति कार्यक्रममा सहभागी हुनको लागि निजामती सेवा ऐन, नेपाल स्वास्थ्य सेवा ऐन र व्यवस्थापिका–संसद सचिवालय सम्बन्धी ऐन अनुसार नेपाल सरकारको कर्मचारी रहेका व्यक्तिका छोराछोरी र संघीय तहबाट प्रदेश र स्थानीय तहमा समायोजन भएर गएका कर्मचारी, निवृत्तिभरण लिएका कर्मचारी लगायतका छोराछोरीहरुलाई लक्षित गरेर आवेदन संकलन गरेको थियो । आर्थिक अवस्था कमजोर भएका सर्वसाधारणका छोराछोरी विद्यालय जान नसकिरहेको अवस्थामा कर्मचारीका छोराछोरीलाई भने सुविधा दिने गरी निर्देशिका ल्याइएको हाे । २०६८ सालबाट सुरु गरिएको छात्रवृत्ति वितरणमा तल्लो तहका सबै कर्मचारीका छोराछोरीले सुविधा पाउने अवस्था सिर्जना नभएपछि २०७५ सालबाट रोकिएको थियो । गत आर्थिक वर्षको बजेट वक्तव्यमा पुनः बजेटको व्यवस्था गरेर परिमार्जित निर्देशिकाबमोजिम छात्रवृत्ति दिइने भएको हो ।
नेप्से परिसूचक १०.२७ अंकले वृद्धि
काठमाडौं । साताको पहिलो कारोबार दिन आईतबार नेप्से परिसूचक १० अंकले बढेको छ ।आईतबार नेप्से सूचक १०.२७ अंकले बढेर २१२३.८३ बिन्दुमा पुगेको हो । आईतबार कारोबार आएका २१९ कम्पनीको ६१ लाख ६ हजार ५२१ कित्ता सेयर २ अर्ब ६७ करोड ३३ लाख ३८ हजार २३२ रुपैयाँ बराबरको कारोबार भएको छ । नेप्सेका १३ उपसमूहमध्ये लाइफ इन्स्योरेन्स उपसमूह बाहेक १२ वटा उपसमूहको सूचक सकारात्मक देखिएको छ । जसमा जीवनबीमा उपसमूहको सेयर मूल्य ०.५ प्रतिशतले घटेको छ । होटल उपसमूहको सूचक सबैभन्दा धेरै २.१६ प्रतिशतले बढेको छ । नेप्से परिसूचक बढेसँगै मनकामना स्मार्ट लघुवित्तको सेयरमूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । त्यस्तै, तेह्रथुम पावरको ९.६५ प्रतिशत, उपकार लघुवित्तको ९.१३ प्रतिशत, गुह्वेश्वरी फाइनान्सको ८.५७ प्रतिशत र साहस उर्जाको सेयरमूल्य ६.११ प्रतिशतले बढेको छ । तर, यता नयाँ सारथी लघुवित्तको सेयरमूल्य सबैभन्दा धेरै ३.४८ प्रतिशतले घटेको छ भने ग्रामिण विकास लघुवित्तको ३.३८ प्रतिशतले घटेको छ । आईतबार शिवम् सिमेन्टको १३ करोड ८९ लाख रुपैयाँको सेयर कारोबार भएको छ भने नबिल बैंकको १२ करोड ७२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
४ करोड सकिएपछि अरुण नदीमा बन्दै गरेको पुलको ठेक्का रद्द
सांकेतिक तस्विर भोजपुर । झण्डै चार करोड खर्च गरेपछि भोजपुर र सङ्खुवासभालाई जोड्ने अरुण नदीमा बन्दै गरेको लम्सुवाघाटको पुलको ठेक्का रद्द गरिएको छ । बाह्र वर्षसम्म पनि पुल निर्माण नभएपछि ठेक्का प्रक्रिया रद्द गरिएको हो । पुल निर्माणमा हालसम्म तीन करोड ८५ लाख खर्च भइसकेको सडक डिभिजन कार्यालय तुम्लिङटारले जनाएको छ । पुल निर्माणको कामलाई चाँडो सम्पन्न गर्न पटक/पटक ताकेता गर्दा पनि निर्माण कम्पनीले ढिलाइ गरेपछि ठेक्काको सम्झौता नै रद्द गरिएको सडक डिभिजन कार्यालय तुम्लिङटारका प्रमुख राजेन्द्रप्रसाद शाहले जानकारी दिए । स्वच्छन्द निर्माण कम्पनीले २०६७ सालमा पुल निर्माण सुरु गरेको थियो । सम्झौता अनुसार पुल २०७० सालमा निर्माण सम्पन्न गर्नुपर्ने थियो । निर्माणमा ढिलाइ भएको विषयमा जानकारी माग्दा निर्माण कम्पनीका प्रमुख दयाराम लामिछानेले पुल बनाउन नसक्ने लिखित जवाफ दिएपछि ठेक्का रद्द गरिएको शाहले बताए । ‘हामीले कार्यालयको तर्फबाट गर्न सक्ने काम गरेका हौँ । निर्माण कम्पनीलाई पटक÷पटक काम चाँडो गर्न आग्रह गर्दा गर्न नसक्ने जानकारी दिएको छ,’ उनले भने । पुल निर्माणका क्रममा जग खन्ने ठाउँमा ठूलो चट्टान भेटिएको भन्दै कम्पनीले कामलाई अघि बढाउन नसेकेको बताउँदै आएको थियो । ठेक्का रद्द गरेर अहिले कम्पनीको धरौटीबापतको ७७ लाख रोकेर कालोसूचीमा राख्नका लागि पत्र पठाएको शाहको भनाइ छ । धरौटी नरोक्न तथा कालोसूचीमा नहाल्न कम्पनीले पाटन अदालतमा मुद्दा हालेको शाहले बताए । मुद्दा परेपछि काम नगर्न अदालतले आदेश दिएकाले थप प्रक्रिया अघि बढ्न नसकेको शाहले जानकारी दिए । ‘हामीले बैंकमा रहेको धरौटी बापतको रकम रोक्का गरेर कालो सूचीमा हाल्ने प्रक्रिया थालेका छौँ,’ उनले भने । पुल निर्माणका लागि छ पिलर उठाइएको भए पनि काम अघि बढ्न सकेको छैन । पुल नबन्दा स्थानीयवासी जोखिम मोलेर काठको डुङ्गाबाट यात्रा गर्न बाध्य छन् । तत्कालीन समयमा सडक डिभिजन कार्यालय धनकुटा र निर्माण कम्पनीबीच सम्झौता भएको भए पनि पछि उक्त पुल सडक डिभिजन कार्यालय तुम्लिङटार मातहात आएको बताइएको छ । पुलको डिजाइनमा समेत त्रुटी रहेको पाइएको छ । यहाँ सुरुमा १६० मिटर लामो पुल बनाउने सम्झौता गरिएको थियो । पछि १२ मिटर बढाएर १७२ मिटर निर्माण गर्ने गरी काम थालिएको थियो । प्राविधिकले डिजाइन गरे भन्दा करिब ७२ मिटर छोटो रहेको पाइएको छ । ‘घाटको जम्मा लम्बाइ २३४ मिटर छ । सम्झौता १७२ मिटर लामो बनाउन भएको छ,’ उनले भने । पुलले भोजपुरको षडानन्द नगरपालिका–६ सतिघाट र सङ्खुवासभाको मनकामनालाई जोड्ने छ । पुल बनाउन सङ्घीय सरकारले २४ करोड उपलब्ध गराएको थियो । रासस