एनेस्थेसियन चिकित्सक नभएपछि मध्यबिन्दु जिल्ला अस्पतालमा शल्यक्रिया सेवा बन्द
कावासोती । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको मध्यबिन्दु जिल्ला अस्पतालमा ‘एनेस्थेसियन’ नहुँदा गत चैतदेखि शल्यक्रिया सेवा बन्द भएको छ । अस्पतालका सूचना अधिकारी छविलाल सुवेदीले करार सेवामा कार्यरत एनेस्थेसियन चिकित्सकले छाडेपछि शल्यक्रिया सेवा नै बन्द भएको बताए । ‘चैतमा एनेस्थेसियन चिकित्सकले जागिर छाड्नुभयो, सर्जन हुनुहुन्थ्यो उहाँ पनि केही समय बिरामी हुनुभयो, यसले गर्दा शल्यक्रिया सेवा बन्द भयो, पछि शल्यक्रियाको बेला बेहोस बनाउने विषयमा चिकित्सकले धेरै जोखिम मोल्न चाहेनन् र सेवा नै बन्द भएको छ’, उनले भने । जिल्ला अस्पतालमा एपेन्डिसाइटिस, हर्निया, हाइड्रोसिल, सीएस लगायतको शल्यक्रिया सेवा हुँदै आएको थियो । सामान्य घाउको चिरफार र शल्यक्रिया बाहेकको शल्यक्रिया सेवा बन्द भएको सूचना अधिकारी सुवेदीले बताए । अहिले अस्पतालमा सजर्न चिकित्सकसमेत छैनन् । जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा वीरबहादुर थापाको सरुवा भएपछि मेसुको पद रिक्त भएको छ । अस्पतालमा हाल स्वीकृत दरबन्दी ३१ को भएपनि ७ मात्रै कर्मचारी छन् । १५ शय्याको जिल्ला अस्पताललाई ५० शय्यामा स्तरोन्नति गरिएपनि सोहीअनुसार दरबन्दी सिर्जना गर्ने र कर्मचारी पठाउने काम भने हुन सकेको छैन् । थोरै कर्मचारी रहँदा जिल्ला अस्पतालबाट सोचेअनुसार प्रभावकारी रुपमा सेवा प्रदान गर्न कठिन हुने गरेको सूचना अधिकारी सुवेदीले बताए । कोभिडका समयमा केही करारका कर्मचारी राखिएको थियो । उनीहरूको समेत करार सकिएको छ । अहिले केही दैनिक ज्यालादारीमा कर्मचारी राखेर सेवा प्रदान गर्नुपर्ने बाध्यता रहेको उनले बताए । रासस
पहिरोबाट म्याग्दीका ७ जलविद्युत् आयोजना प्रभावित
म्याग्दी । पहिरोका कारण म्याग्दीका सात जलविद्युत् आयोजना निर्माण प्रभावित भएका छन् । रघुगङ्गा गाउँपालिकामा ४, धैलागिरिका दुई र मालिकाको एक जलविद्युत् आयोजना निर्माण प्रभावित बनेकोे हो । अरबौ लगानीमा निर्माणाधीन आयोजनाको काम नियमित नहुँदा निर्माण अवधि लम्बिने र लागत बढ्ने देखिएको छ । जिल्लामा तीन सय ५३ मेगावाट क्षमताका ११ जलविद्युत् आयोजना निर्माणाधिन छन् । जलविद्युत् आयोजनाका पहुँचमार्गमा पहिरो जाँदा इन्धन, निर्माण सामग्री र सुरुङ खन्न आवश्यक पर्ने विस्फोटक पदार्थ ढुवानीमा समस्या भएको हो । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावरद्वारा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाका व्यवस्थापक राज विष्टले बाँध र दुई वटा अडिटबाट सुरुङ निर्माण रोकिएको बताए । ‘दग्नामबाट खसेको पहिरोका कारण झिँको सिमानामा रहेको बाँध, अडिट १ र २ को सुरुङ निर्माण रोकिएको छ’, उनले भने, ‘पावर हाउस र अन्य अडितको काम भने निरन्तर भइरहेको छ । बाँधतर्फ जाने पहुँचमार्गमा पैदल हिँडेर पनि जान नसकिने पहिरो खसेको छ ।’ राहुघाट नदीमा आएको बाढीले ठेकेदार कम्पनी जयप्रकाश एसोसियट्सले भाडामा लिएको डोजर बगाएको थियो । तुँदी पावर कम्पनी प्रवद्र्धक रहेको ३७ मेगावाट क्षमताको राहुघाट मङ्गले, ४८.५ मेगावाटको अपर राहुघाट र संयुक्त ऊर्जा प्रालिले निर्माण गरिरहेको २१.३० मेगावाट क्षमताको ठुलोखोला जलविद्युत् आयोजना निर्माणस्थल जोड्ने पहुँचमार्ग अवरुद्ध भएका छन् । तुँदी पावरका इञ्जिनियर प्रकाश तिमिल्सिनाले दग्नामको औरी, चिमखोला र मलाङको पहिरोका कारण डिजेल, सिमेन्ट, रड र विस्फोटक पदार्थ ढुवानी हुन नसकेको बताए । भएका सामान सकिएपछि भरिया र खच्चरमा बोकाउँदा महँगो पर्न गएको इन्जिनियर तिमिल्सिनाले बताए । धौलागिरि कालिका हाइड्रो लिमिटेडले मालिका गाउँपालिकामा निर्माण गरिरहेको २५ मेगावाट क्षमताको दरवाङ म्याग्दीखोला जलविद्युत् आयोजनाका आवासीय इञ्जिनियर बालकुमार रोकाले पहिले दैनिक तीन पटक विस्फोटक हुने गरेकोमा बर्खा लागेपछि एक पटक मात्र गर्न सकिएको बताए । धौलागिरि र मालिका गाउँपालिकामा अपर म्याग्दी हाइड्रोपावर लिमिटेडले निर्माण थालेको ५३.५० मेगावाट क्षमताको अपर म्याग्दी पहिलो र हाइड्रो इम्पायर प्रालिले धौलागिरि गाउँपालिका–४ मा निर्माण गरिरहेको ३७ मेगावाट क्षमताको अपर म्याग्दी जलविद्युत् आयोजनास्थल पनि सडक सम्पर्कविच्छेद भएको छ । नेपाल विद्युत् प्राधिकरणले निर्माण थालेको १३२ केभी क्षमताको डाडाखेत सवस्टेशन निर्माणस्थल जोड्ने सडक पनि अवरुद्ध भएको छ । निरन्तरको बर्सातका कारण दिनमा मर्मत गरिने सडक रातमा भत्किने गर्छन् । निर्माण सामग्री र इन्धनको व्यवस्थापन गर्न नसक्दा आयोजनाका निर्माण कम्पनीले मजदुर घटाएका छन् । अन्नपूर्ण गाउँपालिकामा सञ्चालित ७१ मेगावाट क्षमताको नीलगिरि क्यासकेड, ३८ मेगावाट क्षमताको नीलगिरि पहिलो, १४ मेगावाट क्षमताको घारखोला र छ मेगावाट क्षमताको रेलेखोला जलविद्युत् आयोजना निर्माण कार्यलाई भने निरन्तरता दिइएको प्रवद्र्धकले जनाएका छन् । विद्युत् विकास विभागका अनुसार ४९ मेगावाट क्षमताका तीन वटा जलविद्युत् आयोजना सञ्चालनमा आइसकेको म्याग्दीमा ७००.८३ मेगावाट क्षमताका १७ आयोजनाले निर्माणका लागि अनुमति लिएका छन् । ३४६.०३ मेगावाट क्षमताका छ वटा आयोजना निर्माणको तयारी र प्रक्रियामा छन् । ८३.५ मेगावाट क्षमताका तीन वटा आयोजनाले निर्माणका लागि अनुमति मागेका छन् । जिल्लाभर १४०.१३ मेगावाट क्षमताका १४ वटा आयोजना सर्वेक्षणको क्रममा छन् । सबैभन्दा बढी १० जलविद्युत् आयोजना रहेका अन्नपूर्ण गाउँपालिकाको वडा नम्बर ४ नारच्याङमा ४२ मेगावाट क्षमताको म्रिस्तीखोला, ५ मेगावाटको घलेम्दीखोला र दुई मेगावाट क्षमताको तातोपानी साना जलविद्युत् आयोजना सञ्चालनमा छन् । रासस
बीमितहरुले पाएनन् साढे २७ अर्ब रुपैयाँ, कुनले कति दिन बाँकी ?
काठमाडौं । बीमा गरेका बीमितिहरु साढे २७ अर्ब रुपैयाँ बराबरको दावी भुक्तानी पाउनबाट बञ्चित भएका छन् । आर्थिक वर्ष २०७८/७९ मा मात्रै जीवन र निर्जीवन बीमा गर्ने दुबैं प्रकारका बीमितले दावी गरेबापत २७ अर्ब ४९ करोड ७२ लाख रुपैयाँ बराबरको भुक्तानी नपाएका हुन् । बीमा समितिका अनुसार जीवन बीमाका बीमितले ६ अर्ब ६ करोड र निर्जीवन बीमाका बीमितले २१ अर्ब ४३ करोड रुपैयाँ बराबरको दावी भुक्तानी नपाएका हुन् । जीवन र निर्जीवन बीमा कम्पनीहरुले कूल १ लाख ५८ हजार ५७४ वटा बीमालेखबाट सो रुपैयाँ बराबरको दावी भुक्तानी दिन बाँकी रहेको हो । समितिले बीमा कम्पनीहरुमा गरेको स्थलगत निरीक्षणको प्रतिवेदन अनुसार प्रभु लाइफ र रिलायबल लाइफबाहेक बाँकी ३७ वटा कम्पनीले आफ्ना बीमितहरुलाई समयमा दावी भुक्तानी दिन सकेका छैनन् । निर्जीवन बीमातर्फ प्रिमियर इन्स्योरेन्सले सबैभन्दा बढी दावी भुक्तानी दिन बाँकी छ । प्रिमियरले आफ्ना बीमितहरुलाई एक वर्षको अवधिमा ५ हजार ६५४ वटा बीमालेखबाट २ अर्ब ९५ करोड रुपैयाँ बराबरको दावी भुक्तानी दिन बाँकी रहेको छ । त्यस्तै, एक अर्ब रुपैयाँभन्दा बढी दावी भुक्तानी नदिनेमा अन्य ८ कम्पनी रहेका छन् । जसमा नेको, सगरमाथा, एनएलजी, आईएमई जनरल, शिखर, नेशनल, अजोड र सिद्धार्थ इन्स्योरेन्सले आफ्ना बीमितहरुलाई १ अर्ब रुपैयाँभन्दा बढी भुक्तानी दिन बाँकी रहेको समितिले जनाएको छ । रकमको आधारमा दावी भुक्तानी नदिनेमा प्रिमियर इन्स्योरेन्स अगाडि रहेको संख्याको आधारमा भने सगरमाथा इन्स्योरेन्स रहेको छ । सगरमाथाले ९ हजार ९८५ वटा बीमालेख संख्याबाट १ अर्ब ७१ करोड रुपैयाँ बराबरको दावी भुक्तानी गर्न बाँकी छ । त्यसैगरी, नेपाल र यूनाईटेड इन्स्योरेन्सले क्रमशः ९५ करोड ५३ लाख र ९५ करोड ७ लाख रुपैयाँ बराबरको दावी भुक्तानी गर्न बाँकी छ । सबैभन्दा कम दावी भुक्तानी बाँकी रहनेमा सानिमा इन्स्योरेन्सको छ । इस्योरेन्सले बीमितहरुलाई २ हजार ३१३ वटा बीमालेखबाट ४१ करोड ५८ लाख रुपैयाँ बराबरको दावी भुक्तानी गरेको छैन । कुनले कति दिन बाँकी ? यता जीवन बीमातर्फ सबैभन्दा बढी दावी भुक्तानी नगर्नेमा सरकारी कम्पनी रहेको छ । सरकारको स्वामित्व रहेको राष्ट्रिय बीमा संस्थानले गत वर्षमा २ अर्ब ८३ करोड रुपैयाँ बराबरको दावी भुक्तानी गरेको छैन । संस्थानले आफ्ना बीमितहरुलाई २२ हजार १९८ वटा बीमालेखबाट दावी भुक्तानी गर्न बाँकी छ । त्यसैगरी, नेपाल लाइफका बीमितले १ अर्ब ३३ करोड रुपैयाँ र नेशनल लाइफकाले ९४ करोड ९८ लाख रुपैयाँ बराबरको भुक्तानी पाउन बाँकी छ । संख्याको आधारमा हेर्ने हो भने नेशनल लाइफले सबैभन्दा बढी अर्थात ११ हजार १२९ वटा बीमालेखको दावी दिन बाँकी छ । त्यस्तै, १ करोडभन्दा बढी र ९५ करोडभन्दा कम रुपैयाँ बराबरको दावी नतिर्नेको सूचीमा अधिकांश कम्पनीहरु रहेका छन् । जसमा नेशनल लाइफ, मेट लाइफ, लाइफ इन्स्योरेन्स कर्पोरेशन, प्राइम, एशियन, ज्योति, यूनियन, महालक्ष्मी, सूर्या, आईएमई र सिटिजन लाइफ इन्स्योरेन्स रहेका छन् । रिलायन्स लाइफले ७८ लाख, सानिमा लाइफले ५७ लाख, सन नेपालले ३१ लाख र गुराँस लाइफले दावी परे वापत १९ लाख रुपैयाँ बराबरको भुक्तानी गर्न बाँकी छ । यता प्रभु र रिलायबल लाइफ इन्स्योरेन्सको तथ्यांक आउन बाँकी रहेको समितिले जनाएको छ । कुनले कति दिन बाँकी ?
जिडब्लुएम नेपालले ल्यायो ‘विङ्गल ५’ पिकअप ट्रक, मूल्य साढे ५२ लाख रुपैयाँ
काठमाडौं । जिडब्लुएम नेपालले नेपालमा पिकअप ट्रक ‘विङ्गल ५’ लन्च गरेको छ । यो विदेशी बजारमा निर्यात र अष्ट्रेलियामा बिक्री हुने पहिलो चिनियाँ पिकअप ट्रक हो । यो कम्प्याक्ट पिकअप ट्रकलाई चिनियाँ अटोमेकर जि.डब्लु एम द्वारा डिसेम्बर २००६ मा निर्माण र मार्केटिङ गरेको थियो । पिकअप बिक्री र बलको आधारमा, यसको पिकअप लाइन अपमा यसको चीनमा बिक्री हुनेमा धेरै वर्ष शीर्ष स्थानमा रहेको छ । पिक-अप विङ्गल ५ मा १०५ केडब्लू (१४१ एचपी) र ३०५ एनएम क्षमता प्रदान गर्ने नयाँ २ लिटर टर्बो-डिजेल इन्जिन छ । विङ्गल ५मा स्तरीय अलोई ह्वील, रेडियो, इलेक्ट्रिक विन्डोज, लेदर-ट्रिम गरिएको सिट, रियर डिफरेंशियल लक, टीपीएमएस र अटो-एयर कन्डिसनले सुसज्जित छ । यसमा रहेको २ लिटर ईन्जिनले उच्च दक्षता, कम इन्धन खपत र उल्लेखनीय कार्य क्षमता प्रस्तुत गर्दछ । यसमा अगाडिको भागमा स्टाइलिश ग्रिल डिजाइन भएको डीआरएल छ । यसको बाह्य साइड मिररहरूमा टर्न इन्डिकेटर जस्ता सुविधाहरू पनि समावेश गरिएको छ । यसको भागमा हलोजन बत्तीहरूको साथ सीधा डिजाइन छ र कार्गो बढीमा स्क्रयाच वा कुनै पनि प्रकारको क्षतिबाट बच्न कम्पनी फिट बेडलाइनरहरू छन् । यसको अलोई लुकले बाहिरी बनावटलाई प्रिमियम देखिन मद्दत पुर्याएको छ । स्काई सिल्भर, पर्ल ब्ल्याक, र टाइटेनियम ह्वाइट जि. जीडब्लुएम विङ्गल ५ को लागि उपलब्ध तीन रंगहरू हुन् । जसको मूल्य नेपाली बजारका लागि ५२ लाख ४९ हजार रुपैयाँ तोकिएको कम्पनीले जानकारी गराएको छ ।
धितोपत्र बोर्डका चार जना निर्देशक उप-कार्यकारी निर्देशकमा बढुवा
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) को उप–कार्यकारी निर्देशकमा ४ जना नियुक्त भएका छन् । गत विहीबार बसेको सेबोनको संचालक समितिले ४ जनालाई निर्देशक पदबाट उपकार्यकारी निर्देशक पदमा बढुवा गरेको हो । आन्तरिक प्रतिस्पर्धाको माध्यमबाट निर्देशकबाट उपकार्यकारी निर्देशकमा बढुवा हुनेमा निरन्जय घिमिरे, अम्बिका प्रसाद गिरी, नारायण प्रसाद शर्मा र दिपेश ताम्राकार बढुवा भएका हुन् ।
एनसेलले पुनः ल्यायो ‘सही यो ! पावर सिम’, साउन २३ गतेदेखि लिन पाइने
काठमाडौं । एनसेल आजियाटाले युवाहरुले धेरै मन पराएको आफ्नो स्टार्टर प्याक ‘सही यो ! पावर सिम’ पुनः संचालनमा ल्याएको जनाएको छ । इन्स्टाग्राम, माईफाइभ लगायत विभिन्न डिजिटल सेवाहरुमा निःशुल्क पहुँचका साथै आकर्षक बन्डल सेवा यो प्याकको प्रमुख विशेषता हो । ग्राहकहरूले करसहित मात्र रु. ९७ मा सोमबार (साउन २३) बाट यो सिम लिन सक्नेछन् । । यो सिममा ग्राहकले रु. २० को मेन ब्यालेन्स सहित सात दिन समयावधि रहेको २०० एमबी डेटा, २० मिनेट अन नेट टक टाइम र २० वटा अन नेट एसएमएस पाउनेछन् । यसका साथै युवाहरुको लागि विशेष यस सही यो प्याक लिने ग्राहकले प्याक सुचारु भएको दिनबाट ३० दिनसम्म इन्स्टाग्राम सेवा नन्स्टप रुपमा निःशुल्क चलाउन सक्नेछन् । यति मात्र हैन यो प्याक सुचारु गर्ने ग्राहकले ३० दिन सम्म माईफाइभ सेवा पनि निःशुल्क सुचारु गर्न सक्नेछन् । माईफाइभ सेवाअन्तर्गत ग्राहकले कुनै ५ वटा एनसेल नम्बरहरु पेयर गरि ती पाँच माईफाइभ नम्बरहरूमा प्रति मिनेट मात्र ५० पैसामा कुराकानी गर्न सक्नेछन् । यस प्याकको अर्को विशेषता भनेको ग्राहकले सीम सुचारु गरेको २ देखि ६ महिनाको अवधि भित्र रु ५० वा सोभन्दा बढि रिचार्ज गरेमा निःशुल्क इन्स्टाग्राम र माईफाइभ सेवा पुनः सुचारु हुनेछ । निःशुल्क इन्स्टाग्राम र माईफाइभ सेवा कुल ६ महिना संचालनमा रहने छ । ग्राहकले एस्ट्रिक्स१७१६४ह्यास डायल गरी माइफाइभ सेवा अन्तर्गत कुनै पाँच एनसेल नम्बर पेयर गर्न सक्छन् र आफ्ना साथीभाइ तथा परिवारसँग सुलभ दरमा धेरै भन्दा धेरै कुराकानी गर्न सक्छन् । यसै प्याक अन्तर्गत ग्राहकले मेरो स्कुल, रमाइलो गेम्स् र हङगामा म्यूजीक जस्ता विभिन्न डिजिटल सेवाहरुको ३० दिनसम्म निःशुल्क मजा लिन सक्नेछन् । यो सिम लिनका लागि ग्राहकले नागरिकता वा म्याद नसकिएको सवारी चालक अनुमतिपत्र वा राहदानी, पासपोर्ट साइजको एक प्रति फोटो र म्याद नसकिएको विद्यार्थी परिचयपत्र आवश्यक पर्दछ ।
ब्रिटिस कलेजले जित्यो ‘तेस्रो द ब्रिटिस कप २०२२’ टोर्नामेन्टको उपाधि
काठमाडौं । द ब्रिटिस कलेजले ‘तेस्रो द ब्रिटिस कप २०२२’ टोर्नामेन्टको उपाधि जितेको छ । ब्रिटिस कलेजको आयोजनामा काठमाडौंका विभिन्न १३ वटा कलेजहरूबीच भएको फुटसल प्रतियोगितामा ब्रिटिस कलेजले नै उक्त उपाधि जितेको हो । उक्त खेलको फाइनल राउण्डमा ब्रिटिस र एपेक्स कलेजबीच प्रतिस्पर्धा भएको थियो । शुक्रबार भएको यी दुई कलेजबीचको फाइनल खेलमा ब्रिटिस कलेजले एपेक्सलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै उपाधि जित्यो । निर्धारित समयमा यी दुईबीचको खेल एकएक गोलमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो । विजेता टोली द ब्रिटिस कलेज ब्लु टिमले एक लाख नगद पुरस्कार जितेको छ । उपविजेता एपेक्स कलेजले पचास हजार नगद पुरस्कार जितेको छ । टोर्नामेन्टको उत्कृष्ट खेलाडी कप्तान अर्जुन श्रेष्ठ भए भने उत्कृष्ट गोलरक्षक नोवा हाङ लिम्बु भए । उनीहरु दुवैले १० हजार नगद जिते । कप्तान अर्जुनले उत्कृष्ट खेलाडीको अवार्ड जितेपछि भने,‘टिमको खेल प्रदर्शनप्रति गर्व छ, साथै टोर्नामेन्टभर हौसला प्रदान गर्ने दर्शकप्रति धन्यवाद दिन चाहन्छु ।’ द ब्रिटिस कलेजका म्यानेजिङ डाइरेक्टर महेन्द्रराज कँडेलले भने,‘हाम्रो विद्यार्थीहरुले टोर्नामेन्टमा सहभागीमात्रै भएनन्, टोर्नामेन्ट जित्न पनि सफल भए । उक्त सफलता प्रति हामी गर्व गछौँ । साथै, यो कार्यक्रमलाई सफलतापुर्वक सम्पन्न गराउन सहयोग पुर्याएका सबैलाई धन्यवाद दिन चाहन्छौं ।’ दुई वर्ष कोरोना महामारीका कारण यो प्रतियोगिता हुन सकेको थिएन । यो प्रतियोगिताको मुख्य प्रायोजक ब्रिटिस अमेरिकन एडुकेयर रहेको थियो । त्यस्तै अन्यमा एयरलाइन्स पार्टनरः टर्किस एयरलाइन्स, ट्राभल पार्टनर स्वा ट्राभल्स, होलिडे ट्राभल्स, सिनेमा पार्टनर, क्युएफएक्सः हस्पिटालिटी पार्टनर, मोजो बुटिक होटल र मेडिकल पार्टनर भयोदा हस्पिटल प्रायोजक रहेका थिए । प्रतियोगिताको साइनेज पार्टर ब्राइट एलइडी रहेको थियो भने सहयोगी पार्टनर कता खेल्ने रहेको थियो । सो कार्यक्रममा ब्रिटिस कलेजसहित लिटल एन्जल्स, सफ्टोरिका, प्राइम, एपेक्स, आइआइएमएस, सिल्भर माउन्टेन, पिसिपीएस कलेज, एस इन्टरनेशनल, थेम्स कलेज, क्याम्पियन कलेज, कुसोम, द ब्रिटिस प्रोफेसनल कलेजले प्रतियोगितामा भाग लिएका थिए । द ब्रिटिस कलेजका मार्केटिङ प्रमुख अमरदिप मण्डलले भने, ‘यो कार्यक्रमलाई सफलतापुर्वक सम्पन्न गराउन सहयोग गर्ने सबैलाई धन्यवाद छ । टोर्नामेन्ट सफलतापुर्वक सम्पन्न गर्न महत्वपुर्ण भुमिका खेलेका हिमाल कार्की र सुदीप भट्टराई विशेष धन्यवाद । आगामी वर्ष योभन्दा ठुलो र भव्य तरिकाले चौथो ब्रिटिस कपको तयारी गर्ने प्रतिवद्धता गर्छौं ।’
छोरीको जन्मदिनमा चौधरीले गुराँस लाइफबाट गराइन् १० लाखको बीमा
काठमाडौं । छोरीको जन्मदिनको अवसरमा कैलालीकी भौनी देवी चौधरीले जीवन बीमा गराएकी छन् । जिल्लाको गोदावरी नगरपालिका १ बस्ने भौनीले आफ्नी छोरी रिनाको गुराँस लाइफ इन्स्योरेन्स अत्तरिया शाखामा १० लाखको गुराँस जीवन श्री सावधिक तथा आजीवन बीमा गराएकी हुन् । फजुल खर्च गर्नुभन्दा पनि छोरीको बचत तथा सुरक्षाका दृष्टिकोणले जीवन बिमा गराएको भौनी चौधरीले बताइन् । उनले फजुल खर्च गर्नुभन्दा पनि जीवनको सुरक्षा तथा बचतको लागि सबैलाई जीवन बीमा गर्न आग्रह गरिन् । गुराँस लाइफ इन्स्योरेन्स अत्तरिया शाखाका प्रमुख गजेन्द्र बहादुर भण्डारीले जन्मदिनको शुभकामना दिँदै आउने दिनहरूमा पनि यसरी बचत हुँदै जाने बताए।