विकासन्युज

निजी बैंकलाई सरकारी बैंक भारी परे, नाफा वृद्धिमा सिभिल, सेञ्चुरी र लक्ष्मी आक्रामक

काठमाडौं । गत वर्षको वित्तीय विवरण सबै वाणिज्य बैंकले सार्वजनिक गरिसकेका छन् । अघिल्लो वर्षको तुलनामा गत वर्ष बैंकहरुको नाफा २३.१४ प्रतिशतले बढेको छ । प्रत्येक वर्ष वाणिज्य बैंकहरुको नाफा बढरिहेको छ । गत वर्षको तथ्याङ्क अनुसार वाणिज्य बैंकहरुको नाफा पौने एक खर्ब रुपैयाँ पुगेको हो । वित्तीय विवरण अनुसार गत वर्ष बैंकहरुले ७४ अर्ब ८० करोड १४ लाख ३३ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएका छन् । अघिल्लो वर्षको सोही अवधिमा बैंकहरुले ६० अर्ब ७४ करोड ३८ लाख २ हजार रुपैयाँ नाफा आर्जन गरेको थिए । बैंकहरुमा देखिएको तरलता अभावको समस्याका बाबजुत बैंकहरुको नाफा बढेको हो । करोडमा नाफा कमाउने ३ वटा वाणिज्य बैंक अर्ब क्लबमा प्रवेश गरेका छन् । ३ वटा बैंकको नाफा भने घटेको छ । गत वर्षको वित्तीय विवरणले निजी क्षेत्रका बैंकहरुलाई सरकारी बैंकहरु भारी पर्न थालेका छन् । नाफा आर्जनमा अघिल्लो वर्ष तेस्रो स्थानमा रहेको राष्ट्रिय वाणिज्य बैंक सिधैं एक नम्बरमा पुगेपछि बैंकिङ्ग क्षेत्रमा तरङ्ग ल्याएको छ । गत वर्ष ५ अर्बभन्दा बढी नाफा कमाउनेमा राष्ट्रिय वाणिज्य र ग्लोबल आइएमई बैंक रहेका छन् । यस्तै, नबिल बैंक, एनआईसी एशिया बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकको नाफा ४ अर्ब भन्दा बढी रहेको छ । नबिल र एनआईसी एशियालाई नेपाल इन्भेष्टमेन्ट बैंकले केही महिना पछि नै पछि पार्ने देखिन्छ । मेगा बैंकसँग मर्जर सम्झौता गरेको इन्भेष्टमेन्टले मंसिरसम्म एकीकृत कारोबार गरेमा यी दुई बैंकभन्दा अघि पुग्ने देखिन्छ । एनएमबि बैंक, प्राइम बैंक, नेपाल बैंक र सिद्धार्थ बैंकले ३ अर्बभन्दा बढी नाफा आर्जन गरेर प्रतिस्पर्धा गरिरहेका छन् । सरकारी लगानी रहेको नेपाल बैंक पनि आफ्नो स्थान बढाउँदै गएकाले अझै अग्रस्थानमा छिट्टै पुग्ने तथ्याङ्कले देखाएको छ । कुमारी, मेगा, कृषि विकास, प्रभु, एभरेष्ट, हिमालयन, सानिमा, स्ट्याण्डर्ड चार्टर्ड, सिटजन्स, माछापुच्छ्रे, सनराइज र एनसीसी बैंकले २ अर्बभन्दा बढी नाफा आर्जन गरेका छन् । बिओके, नेपाल एसबिआई, लक्ष्मी, सिभिल र सेञ्चुरी बैंक भने एक अर्ब क्लबमा प्रतिस्पर्धा भइरहेको छ । पहिलो पटक एक अर्ब क्लबमा प्रवेश गरेका छन् । नेपाल एसबिआई, सिभिल र सेञ्चुरी पहिलो पटक एक अर्ब बढी नाफा आर्जन गरेर अर्ब क्बलमा पुगेका हुन् । प्रतिशतका हिसावले तुलना गर्ने हो भने यी ३ बैंकको नै सबैभन्दा बढी नाफा बढेको हो । सिभिलको १६२, सेञ्चुरीको ११६ र नेपाल एसबिआई बैंकको नाफा बढेको हो । गत वर्ष ३ वटा वाणिज्य बैंकको नाफा घटेको तथ्याङ्कले देखाएको छ । सानिमा, हिमालयन र कृषि विकास बैंकको नाफा घटेको हो ।

चीनले उपलब्ध गरायो फक्ताङ्लुङलाई स्काभेटर

काठमाडौं । चीनको सीमावर्ती क्षेत्र ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकालाई मित्रराष्ट्र चीनले अनुदानमा स्काभेटर उपलब्ध गराएको छ । चीनसँग सीमा जोडिएको स्थानीय तहको विकास निर्माणका लागि चीनले सो स्काभेटर उपलब्ध गराएको हो । फक्ताङलुङ गाउँपालिका–७ ओलाचुङगोलामा रहेका टिप्ताला नाका बन्द रहेकाले सिन्धुपाल्चोक जिल्लाका तातोपानी नाकाबाट गत साता फक्ताङ्लुङ गाउँपालिकामा स्काभेटर ल्याइपुर्याएको पालिकाले जनाएको छ । तातोपानी नाकादेखि ताप्लेजुङको सदरमुकाम फुङ्लिङमा एक सातामा र फुङ्लिङदेखि दुई दिनमा फक्ताङ्लुङ गाउँपालिका क्षेत्रमा स्काभेटर पुर्याइएको गाउँपालिकाले जनाएको छ । स्काभेटर रु एक करोड ३५ लाख बराबरको रहेको गाउँपालिका अध्यक्ष राजन लिम्बूले बताए । उनका अनुसार चीनदेखि नेपाल ल्याउनका लागि लाग्ने भन्सार शुल्क २५ लाख नेपाल सरकारले छुट दिएको छ । नेपाल सरकारले भन्सार शुल्क छुट दिएसँगै तातोपानी नाकादेखि ढुवानी शुल्क मात्र गाउँपालिकाले बेहोर्नुपरेको अध्यक्ष लिम्बूले बताए। स्काभेटर गाउँपालिका पुगेसँगै गाउँपालिकाभित्रका सडक मर्मत गर्न थालिएको छ । निरन्तर वर्षाका कारण सदरमुकाम फुङ्लिङदेखि गाउँपालिकाको केन्द्रसम्म पुग्ने सडक अवरुद्ध भएको थियो । ठाउँठाउँमा सडक अवरुद्ध हुँदा दैनिक सवारीसाधन चलाउने व्यक्तिले सास्ती खेप्दै आएका थिए तर अहिले स्काभेटरले सडक मर्मत गर्न थालेसँगै दैनिक यातायातमा सहजता आएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाभित्र ठाउँ ठाउँमा सडकको ट्र्याक खोलिएकामा अब तिनको मर्मत तथा स्तरोन्नति गर्ने काम गाउँपालिकाले गर्ने पालिका अध्यक्ष लिम्बूले बताए। उनले भने, ‘विगमा झैं सडकका नाममा रकम विनियोजन गर्नेभन्दा सडक मर्मत तथा स्तरोन्नतिको काम गाउँपालिका आफैँले गर्नेछ । स्काभेटरलाई इन्धनमात्र खरिदका लागि मात्र बजेट विनियोजन हुन्छ ।’ लिम्बूका अनुसार सबै वडादेखि पालिका केन्द्रसम्म बाहै्र महिना यातायात सञ्चालन हुने गरी पालिकाले सडक मर्मत गर्नेछ । गाउँपालिकाभित्रका कृषि सडकका लागि गाउँपालिका आँफैले ट्र्याक खोल्ने मर्मत गर्ने भएको छ विगतमा झैँ कृषि सडकको ट्र्याक खोल्ने सडक मर्मत तथा स्तरोन्नतिमा ठूलो बजेट खर्च भएकामा आगामी दिन शिक्षा, स्वास्थ्य र उत्पादनमूलक क्षेत्रमा लगानी गरिने गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले सडक मर्मत गर्न थालेसँगै स्थानीयवासी खुसी भएका छन् । बिरामी हुँदा, दैनिकरुपमा आवतजावत गर्न, आवश्यक सामग्री ढुवानी गर्न उनीहरुलाई सहज भएको छ ।

सिटिजन्सले ल्यायो १० गुणा प्रतिफल प्राप्त हुने ‘सिटिजन्स चिरायु मुद्दती योजना’

काठमाडौं । विगत डेढ दशक देखी सर्वसाधारणलाई गुणस्तरिय र सुरक्षित सेवा तथा सूविधा दिदै आएको सिटिजन्स बैंकले २०७९, श्रावण २१ गते थप आकर्षक मुद्दती योजना ‘सिटिजन्स चिरायु मुद्दती योजना’तथा ‘रेमिटेन्स चिरायु मुद्दती योजना’ खाताको शुभारंभ गरेको छ । यी मुद्दती योजनाहरु बैकंका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले सौराहा, चितवनमा आयोजित ३ दिने लिडरशीप डेभलपमेन्ट तथा क्यापसीटी बिल्डीङ कनक्लेभ भन्ने एक कार्यक्रमका बीच आजको मिति देखि नै शुरुवात भएको घोषणा गरे । शाखा प्रबन्धकहरु तथा बरिष्ठ व्यवस्थापकहरुलाई चितवनको सौराहमा सम्बोधन गर्दे बैकंका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेले यस बैकंलाई अब्बल बनाउने घोषणा पनि गरेका छन् । सिटिजन्स चिरायु मुद्दती योजना अन्तर्गत ग्राहकहरूले १३ वर्ष ४ महिना देखि २२ बर्ष १ महिनासम्म मुद्दती खातामा रकम जम्मा गरे अनुसार साँवा तथा व्याज बापत लाग्ने कर पश्चात एक मुष्ट रुपमा चार गुणा देखि १० गुणा सम्म निक्षेप रकम फिर्ता पाउन सक्नेछन् । रेमिटेन्स चिरायु मुद्दती योजना ग्राहकहरूले १२ वर्ष ३ महिना देखि २० बर्ष ३ महिनासम्म मुद्दती खातामा रकम जम्मा गरे अनुसार साँवा तथा व्याज बापत लाग्ने कर पश्चात एक मुष्ट रुपमा चार गुणा देखि १० गुणा सम्म निक्षेप रकम फिर्ता सक्नेछन् । यस मुद्दती निक्षेप योजना अन्तर्गत व्यक्तिगत ग्राहकहरुले यो खाता बैंकको कुनै पनि शाखा मार्फत न्युनतम पचास हजार मौज्दातमा खोल्न सक्छन् । यस मुद्दती निक्षेप योजनाबाट बैंकका व्यक्तिगत, एवं रेमिटेन्स ग्राहक महानुभावहरू लाभान्वित हुने विश्वास बैंकले लिएको छ । माथि उल्लेखित मुद्दती योजनाका साथै उनले ग्राहकहरुको वित्तीयआवश्यकताहरु सहजताका साथ पूरा होस् भन्ने अभिप्रायका साथ बैकंले आफ्नो वेबसाईट मार्फत स्र्माट सर्भिसेस सेवा समेत सुचारु गरेको कुरा बताए ।

अफ्रिकन स्वाइन फिवरबाट पनौतीको बङ्गुरमा व्यापक क्षति

काठमाडौं । पनौती नगरमा महामारीजन्य ‘अफ्रिकन स्वाइन फिवर’को सङ्क्रमणका कारण ठूलो सङ्ख्यामा पशु मरेका छन् । व्यावसायिकरुपमा फार्ममा पालिएका बङ्गुरमा गत सोमबार मात्रै उक्त सङ्क्रमण पुष्टि भएको थियो । उक्त रोगका कारण नगरका तीन स्थानको फार्ममा छसय सात बङ्गुर मरिसकेको नगर कृषि तथा पशुपक्षी शाखाले जनाएको छ । उक्त रोगले नगरको वडा नं ५स्थित टिम भिजन एग्रिकल्चर प्राली र गैरीगाउँ कृषि तथा पशुपक्षी फार्म तथा वडा नं १० को श्रेष्ठ बङ्गुर फार्ममा क्षति पु¥याएको हो । शाखाप्रमुख लीलाप्रसाद सापकोटाका अनुसार उक्त रोगका कारण हालसम्म किसानको दुई करोडभन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । अति खतरनाक मानिएको उक्त रोग नगरभित्र व्यावसायिकरुपमा पालिएको बङ्गुरमा मात्रै देखिएको हो । विभिन्न स्थानमा पालन गरिएको बङ्गुरको नमूना परीक्षणबाट गत साता उक्त रोग देखापरेको थियो । नगरले निसङ्क्रमणका लागि जैविक सुरक्षा अपनाइएको जनाएको छ । ‘रोगबाट मरेका पशुलाई व्यवस्थित तवरले जमिनमा गाडिएको छ, थप सङ्क्रमण हुन नदिन हाम्रो टोलीले निसङ्क्रमणका विधि अपनाइरहेको छ’, उनले भने। शाखाप्रमुख सापकोटाका अनुसार नगर विपद् व्यवस्थापन समितिले स्थानीय किसानको क्षतिपूर्तिका लागि छलफल अघि बढाएकोे छ । यस्तै सम्भावित क्षेत्रमा थप परीक्षणको तयारी भइरहेको छ । नगरका विभिन्न स्थान पालिएका बङ्गुरमा उक्त सङ्क्रमण पुष्टि भएसँगै नगरले तिनलाई ओसारपसार गर्न निषेध गरेको छ । पशु सेवा विभागले यस रोगलाई उच्च मृत्युदर भएको ‘अति खतरनाक’ महामारीजन्य रोग भनेको छ । विभागका अनुसार यो रोग पशुबाट मानिसमा भने सर्दैन । सन् २०१८ मा छिमेकी भारत, चीन र भूटानमा देखिएको यो रोग नेपाल प्रवेश गरेको करिब पाँच महिनापछि काभ्रेपलाञ्चोकको पनौतीमा पनि देखिएको हो । गत वर्ष चैतमा पहिलोपटक काठमाडौँको कागेश्वरी मनोहरा क्षेत्रमा पालिएका बङ्गुरमा उच्च मृत्युदर देखा परेपछि त्यहाँबाट नमूना सङ्कलन गरी केन्द्रीय पशुपक्षी रोग अन्वेषण प्रयोगशालामा परीक्षण गर्दा अफ्रिकन स्वाइन फिवर रोग पुष्टि भएको विभागले जनाएको छ । विभागका अनुसार गत जेठ २ गते यो रोग नेपालमा आएको पहिलो पटक पुष्टि भएको हो । ललितपुरको गोदावरी र भक्तपुरको चाँगुनारायण क्षेत्रमासमेत उक्त रोग फेला परेको र त्यसबेला उपत्यकाको विभिन्न क्षेत्रमा करिब एक हजार बङ्गुर मरेका थिए ।

काठमाडौंमा मनसुन (फोटोफिचर)

बानेश्वरमा झरि परेपछि । काठमाडौं । प्रकृतिसँग रमाउन न कुनै सीमा न कुनै बाँध, रमाउनका लागि न कसैले संवाद गर्छन् न कसैले विवाद, प्रकृतिमा हरेक बेला रमाउन सकिन्छ । जीवनको गतिलाई नयाँ तरिकाले फरक प्रवाहमा हिँडाउन कहीले काहीँ प्रकृति नै निर्णयक बन्छ । मनलाई खुशी बनाउन र मन बहलाउनका लागि एकान्तको साथी बनिदिन्छ । टुडिखेलमा सिमसार ठाँउ खोज्न आएका बुकुल्ला । काठमाडौंको प्रकृति पनि त्यो भन्दा फरक छैन । बीच शहरमा भन्दा अलि भित्रि गाउँतिर प्रवेश गरेपछिको काठमाडौंको स्वरुप नै फरक छ । अरु बेला धुवाँ र धुलोले हेरिनसक्नु हुने काठमाडौं सिमसिम पानीमा पानीसँगै खेलौँखेलौँ लाग्ने बनाउँछ । प्रकृतिसँगै रमाउन मन लाग्ने बन्छ । प्रकृतिको छटामा एकटक नियाल्न मन लाग्छ अनि त्यसमै हराउन । हाल नेपालमा मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणमा अवस्थित छ । झरिपछि बढेको वागमती । यतिबेला केही स्थानमा अविरल वर्षाका कारण जनजीवन प्रभावित बनिरहेको छ । बाढी,पहिरो र भूक्षयको त्रास पनि त्यत्तिकै छ । प्रकृतिको खेल कतै खुशीयाली त कतै रुवबासी । कतै प्रकृतिकै कारण खुशी मिलेको छ त कतै प्रकृतिकै कारण उठिवास भएको छ । यो अवस्थामा एकले अर्काको साथ लिइ सबैले प्रकृतिको संरक्षण गर्दै होस्टेमा हैसे मिलाएर सुरक्षित र सतर्कता अपनाइ प्रकृतिमा रम्न र रमाउन सक्नुपर्छ । अर्कोतिर मनसुनबाट नै मानिसले प्रकृतिको भरपुर मनोरञ्जन लिइरहेका छन् । धापाखेलको हिलाम्मे सडकबाट गन्तव्यतर्फ जाँदै महिलाहरु । अन्नबाली उत्पादनको लागि पनि यतिबेला प्रकृतिले पानी वर्षाइदिन्छ । साँच्चिकै प्रकृति एउटा रचनाको श्रोत हो । भएका फोहोरलाई पन्छाएर अघि बढ्नसके प्रकृतिले पनि हामी मानवलाई त्यत्तिकै प्रेम गर्नेछ । तस्बिर सौजन्य : नेपाल न्युज एजेन्सी

पाल्पा रामपुरमा आयुर्वेद सेवालाई विस्तार गरिँदै

पाल्पा । आयुर्वेद पद्धतिको उपचार सेवा विस्तार गर्न पूर्वाधार विकासमा जोड दिइएको छ । नागरिकको आवश्यकता र सेवाको क्षेत्र फराकिलो बनाउँदै रामपुरमा १५ शय्याको आयुर्वेद अस्पताल भवन निर्माण कार्य धमाधम चलिरहेको छ । रामपुर नगरपालिका–५ स्थित आयुर्वेद औषधालयको भवन स्तरोन्नति गरी सोही ठाउँमा १५ शय्याको अस्पताल निर्माण कार्य भइरहँदा कालीगण्डकीबेँसीका स्थानीय उत्साहित बनेका छन् । यो पाल्पा जिल्लाकै ठूलो क्षमताको आयुर्वेद अस्पतालमा विकास हुँदैछ । संघीय सरकारको भवन निर्माणअन्तर्गत नौ करोड ५४ लाख ८७ हजार लागतमा ठेक्का सम्झौता भई भवन निर्माण भइरहेको छ । विसं २०७६ पुस २५ गते ठेक्का सम्झौता गरी फागुनबाट शिवशक्ति कन्ट्रक्सन प्रालिले निर्माण कार्य थालनी गरेको हो । कोरोना भाइरस सङ्क्रमणको बढ्दो जोखिमलाई मध्यनजर गर्दै विसं २०७६ चैत ११ गतेदेखि नेपाल सरकारले अनिश्चितकालसम्मका लागि बन्दाबन्दी जारी गरेपछि निर्माण कार्य केही समय प्रभावित भयो । बन्दाबन्दी खुकुलो भएपछि २०७७ को मङ्सिरदेखि पुनः भवन निर्माणको काम थालियो । सो भवन २०७८ भदौ २४ गतेभित्रमा सम्पन्न हुने सम्झौता भए तापनि कोरोनाको कहरले भने काम प्रभावित बन्न पुग्यो । पाल्पा सदरमुकाम तानसेनदेखि करिब ६५ किलोमिटर पूर्वी भेगको रामपुरमा निर्माण हँुदै गरेको सो भवनको हालसम्म करिब ८० प्रतिशत निर्माण कार्य सकिएको निर्माण कम्पनीका सुपरभाइजर गङ्गा श्रेष्ठ बताउँछन् । उनका अनुसार आगामी माघ मसान्तभित्रमा म्याद थप गरी निर्माणको काम सक्ने सम्झौता रहेको र सो समयावधिमा भवन निर्माण गरी हस्तान्तरण हुनेछ । अब भवन रङरोगन, बिजुली बत्ती जडान, आल्मुनियम जडान, ग्रिललगायतका काम बाँकी छन् । रामपुर आयुर्वेद औषधालयको स्वामित्वमा १२ रोपनी आठ आना जग्गा छ । सोही जग्गामा नै तीनतले सुविधा सम्पन्न नयाँ भवनमा एक योगाभ्यास हल रहनेछ । संघीय आयोजना कार्यालय एकाइ भैरहवाको रेखदेखमा भवन निर्माण भइरहेको छ । हाल दैनिक १५ देखि २० मजदुर काममा खटिएका छन् । यस आयुर्वेद औषधालयमा २०२४ सालदेखि आफूले नियमित सेवा लिँदै आइरहेको र अब भवन निर्माणपश्चात् अस्पतालको रुपमा परिणत भएपछि नागरिकले राम्रो सेवा पाउने समाजका अगुवा ७० वर्षीय नगिलाल पौडेल बताउनुहुन्छ । रक्तचाप, ग्याष्ट्रिकलगायतको औषधि सेवन नियमितरुपमा गरेको उनी बताउँछन्। ‘अब १५ शय्याको अस्पताल चालु भएपछि शतप्रतिशत सेवा पाइनेछ, भवन स्तरीय र निर्माणको कार्य दु्रतगतिमा अगाडि बढेको देख्दा थप सेवा छिट्टै उपयोग गर्न पाइनेमा विश्वस्त छौँ, कालीगण्डकीबेँसीको केन्द्रका रुपमा रहेको यहाँबाट धेरै नागरिक लाभान्वित हुनेछन्’ उनले भने। यहाँ अस्पताल चालु भएपछि पूर्वी पाल्पाका रामपुर नगरपालिकासहित निस्दी, पूर्वखोला, रम्भा गाउँपालिका, स्याङ्जाको चापाकोट नगरपालिका, तनहुँको घिरिङ गाउँपालिका र नवलपरासी पूर्वको बौदिकाली गाउँपालिकाका नागरिक प्रत्यक्ष लाभान्वित हुने रामपुर नगरपालिका आयुर्वेद शाखा प्रमुख तथा आयुर्वेद औषधालयका कविराज चेमप्रकाश पोखरेलले जानकारी दिए । उनी भन्छन्, ‘चार जिल्लाको केन्द्र रामपुरमा व्यापारिक, शैक्षिक, उपचार सेवाका लागि ठूलो सङ्ख्यामा आउने गरेकाले आयुर्वेद अस्पताल सञ्चालनमा सबैको चासो बढेको छ, उपचार सेवा थपिने हुँदा अन्यत्र जानुपर्ने अवस्था हट्नेछ ।’ आयुर्वेद अस्पतालमा नवौँ तहसम्मका डाक्टरको दरबन्दी रहनेछ । जसमा डाक्टर, कविराज, वैद्य, प्राविधिक, कार्यालय सहयोगीलगायतका सरकारले मापदण्ड तोकेका कर्मचारीबाट सेवा दिइनेछ । आयुर्वेदिक तथा प्राकृतिक अस्पतालबाट आकस्मिक, एक्सरे, प्रयोगशाला, बहिरङ्ग, पायल्स, बिरामी भर्ना, योगको थेरापीलगायतका सेवा सञ्चालन गरिनेछ । औषधालयमा कविराज र वैद्य एक/एक, प्राविधिक दुई, कार्यालय सहयोगी दुई कर्मचारीको दरबन्दी छ । औषधालयमा बहिरङ्ग, साधारण, स्तनपायी आमा सेवा कार्यक्रम, ज्येष्ठ नागरिकलगायतका सेवा प्रवाह भइरहेको छ । सरकारी अस्पतालको पहुँच नपुगेको पाल्पाको रामपुरमा विसं २०१७ मा रामपुर आयुर्वेद औषधालय स्थापना भएपछि यहाँका नागरिकले सरकारीस्तरको स्वास्थ्य सेवाको अनुभूति गर्न पाएका थिए । विसं २०२९ मा भने अञ्चल आयुर्वेद औषधालयका रुपमा परिणत भई सेवा दिन थालियो । अञ्चल कार्यालय सदरमुकाम बुटवलमा मात्रै राख्ने तत्कालीन सरकारको निर्णय रहेकाले विसं २०४३ माघ ६ गते अञ्चल कार्यालय बुटवलमा स्थानान्तरण भएपश्चात् पुनः आयर्वेद औषधालयकै रुपमा सेवा दिन थालियो । सदरमुकाम तानसेनमा पाल्पा आयुर्वेद स्वास्थ्य केन्द्र रहेको छ भने रामपुर नगरपालिकाभित्र दुईवटा रामपुर आयुर्वेद र गाँडाकोट आयुर्वेद औषधालय, रैनादेवी छहरा, रिब्दीकोट, बगनासकाली, माथागढी र पूर्वखोला गाउँपालिकामा एक/एक आयुर्वेद औषधालय छन् । यस्तै रम्भा गाउँपालिकाले आफ्नै लगानीमा आयुर्वेद औषधालय स्थापना गरेको छ भने तिनाउ र निस्दी गाउँपालिकामा प्रदेश सरकारअन्तर्गत नागरिक आरोग्य केन्द्र स्थापना गरी सेवा दिइएको छ । आर्थिक वर्ष २०७८/०७९ मा पाल्पामा ३६ हजार पाँच सय १५ ले आयुर्वेद सेवा लिएको जिल्ला आयुर्वेद कार्यालयले जनाएको छ । जसअन्तर्गत रामपुरमा आठ हजार चार सय २५, पूर्वखोलामा दुई हजार तीन सय ३६, बगनासकालीमा दुई हजार छ सय ६४, रिब्दीकोटमा चार हजार सात सय तीन, रैनादेवीछहरामा दुई हजार तीन सय ७९, माथागढीमा तीन हजार सात सय ४२ र तानसेन नगरपालिका (यहाँ नागरिक आयोग्य सेवा केन्द्र निस्दी, तिनाउँ र रम्भाको सहित) १३ हजार तीन सय ६५ रहेको छ । पालिकामा सबैभन्दा धेरै आयुर्वेद सेवा लिने रामपुर हो ।

सेञ्चुरी बैंकको नाफा ११६ प्रतिशत बढ्यो, ईपीएस १४.२१ रुपैयाँ

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकको गत आर्थिक वर्षको चौथो त्रैमासमा खुद नाफा ११५.६६ प्रतिशत बढेर १ अर्ब ३७ करोड ७२ लाख ३१ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्षमा बैंकले ६२ करोड ९३ लाख २० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । असार मसान्तसम्ममा बैंकको खुद ब्याज आम्दानी २९.२२ प्रतिशत बढेर ३ अर्ब २० करोड १६ लाख रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्ष बैंकले २ अर्ब ४३ करोड रुपैयाँ ब्याज आम्दानी गरेको थियो । बैंकको चुक्ता पूँजी ९ अर्ब ५५ करोड ३९ लाख रुपैयाँ, जगेडा कोष १ अर्ब ७३ करोड ५ लाख रुपैयाँ, निक्षेप ९८ अर्ब ६५ करोड ४१ लख रुपैयाँ र कर्जा ८८ अर्ब ८५ करोड ६० लाख रुपैयाँ रहेको छ । बैंकको वितरणयोग्य नाफा ९१ करोड १८ लाख ५४ हजार रुपैयाँ रहेको छ । समिक्षा अवधिमा बैंकको प्रतिसेयर १४.२१ रुपैयाँ रहेको छ । बैंकको पीई रेसियो १२.८८ रहेको छ भने प्रतिसेयर नेटवर्थ १२७.६४ रुपैयाँ रहेको छ ।

बीओकेको खुद ब्याज आम्दानी २३.७७ प्रतिशत बढ्यो, ईपीएस १७.०४ रुपैयाँ

काठमाडौं । बैंक अफ काठमाण्डू (बीओके) ले गत आर्थिक वर्षको चौथो त्रैमासमा खुद नाफा ५ प्रतिशत बढेर १ अर्ब ८१ करोड २ लाख ७६ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा बैंकले १ अर्ब ७२ करोड ६४ लाख ९ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो । बैंकको खुद ब्याज आम्दानी २३.७७ प्रतिशत बढेर ४ अर्ब ३ करोड ७१ लख ४ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वार्ष ३ अर्ब २६ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । बैंकको नेट फि एण्ड कमिसन आम्दानी ५३ करोड ८२ लाख ४ हजार रुपैयाँ, सञ्चालन नाफा २ अर्ब ५३ करोड ४३ लाख ६८ हजार रुपैयाँ रहेको छ । असार मसान्तसम्म बैंकको निक्षेप १ खर्ब ९ अर्ब २ करोड ५३ लाख रुपैयाँ, कर्जा १ खर्ब २ अर्ब ५१ करोड ११ लाख रुपैयाँ रहेको छ । अघिल्लो वर्ष बैंकको निक्षेप १ खर्ब ३ अर्ब ४० करोड रुपैयाँ र कर्जा ९३ अर्ब ८० करोड ८१ लख रुपैयाँ रहेको थियो । बैंकको चुक्ता पूँजी १० अर्ब ६२ करोड ३९ लाख रुपैयाँ र जगेडा कोष ५ अर्ब ८९ करोड ९९ लाख रुपैयाँ रहेको छ । गत असारसम्म बैंकको प्रतिसेयर आम्दानी १७.०४ रुपैयाँ रहेको छ ।