माछापुच्छ्रे बैंकले फेकनसँग आवद्ध कन्सल्टेन्सीलाई सजिलै शैक्षिक कर्जा दिने
काठमाडाैं । माछापुच्छ्रे बैंक र नि:शुल्क शैक्षिक परामर्श संगठन नेपाल (फेकन) बीच विशेष बैंकिङ्ग सेवा प्रदान गर्ने सम्बन्धी व्यवसायिक सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा फेकनको तर्फबाट अध्यक्ष बासु नेपाल र माछापुच्छ्रे बैंकको तर्फबाट प्रमुख व्यवसाय अधिकृत टिका भट्टराई ज्यूले हस्ताक्षर गरेका छन् । सम्झौता पश्चात फेकनमा आवद्ध कन्सल्टेन्सीहरुलाई बैंकले शैक्षिक कर्जा एवम् अन्य आवश्यक बैंकिङ्ग सेवा सरल र सहज रुपमा उपलब्ध गराउने छ । बैंकले आफ्ना सम्पूर्ण शाखा सञ्जालबाट संघ तथा संघमा आवद्ध कन्सल्टेन्सीहरुलाई निक्षेप खाता, शैक्षिक कर्जा तथा अन्य बैंकिङ्ग सुविधाहरुमा विशेष सहुलियत प्रदान गर्नेछ । साथै उक्त सम्झौता अनुसार माछापुच्छ्रे बैंकका ग्राहकहरुले फेकनसँग आवद्ध कन्सल्टेन्सीहरुबाट सजिलै शैक्षिक शुल्क भुक्तानी गर्न सक्नेछन् । माछापुच्छ्रे बैंकले हाल देशका ७ वटै प्रदेशमा १६५ शाखा, ९ एक्सटेन्सन काउन्टर, १६७ शाखारहित बैंकिङ्ग सेवा तथा २०७ एटिएम मार्फत १३ लाखभन्दा बढी ग्राहकहरुलाई अत्याधुनिक सेवा प्रदान गर्दै आइरहेको छ ।
चिनियाँ नाकामा रोकियो सामान, समस्या समाधान गर्न सरकारसँग आग्रह
काठमाडौं । चिनियाँ नाकामा सामान रोकिएपछि व्यवसायीहरु चिन्तित बनेका छन् । दशैं तथा तिहार नजिकिएको बेला नाकामा सामानहरु रोकिएपछि व्यवसायीहरु चिन्तित बनेका हुन् । नेपाल राष्ट्रिय व्यवसायी महासंघले नाकामा देखिएको समस्या कुटनीतिक पहलबाट समाधान गर्न सरकारसँग अनुरोध गरेको छ । आइतबार महासंघका अध्यक्ष कुमार कार्कीले प्रेस विज्ञप्ति जारी गर्दै समस्या समाधान गर्न अनुरोध गरेका छन् । ‘चाडपर्व लक्षित सामानहरु चिनियाँ नाकामा केही समयदेखि रोकिएको र समयमा सामान आइनपुग्दा सम्पूर्ण व्यवसायीहरु धराशायी हुने खतरा बढेको छ, विदेशी मुद्रा सञ्चितिमा भएको कमीका कारण सामान आयात गर्न पनि व्यवसायीहरुले निकै समस्या खेपिरहेका छन्, सीमानामा यही किसिमको अवरोध रहने हो भने धेरै उद्योगी–व्यवसायीहरु आफ्नो व्यवसायबाटै पलायन हुन सक्ने खतरा बढेको छ, यसर्थ, नाकामा देखिएका समस्याहरु समाधान गर्नका लागि आवश्यक कुटनीतिक पहल गरी यथाशिघ्र यी समस्याहरु समाधान गरिदिनु हुन नेपाल सरकार, परराष्ट्र मन्त्रालय लगायत सबै सरोकारवालाहरुसँग नेपाल राष्ट्रिय व्यवसायी महासंघ अनुरोध गर्दछ,’ विज्ञप्तिमा भनिएकाे छ ।
पहिरोका कारण मकवानपुरदेखि काठमाडौं जाने सडकखण्ड अवरुद्ध
मकवानपुर । गए रातिको वर्षाका कारण आएको पहिराले गर्दा मकवानपुरका विभिन्न स्थानका सडकखण्ड अवरुद्ध भएका छन् । वर्षासँगै आएको पहिराका कारण सिस्नेरी सडकखण्ड र कान्तिलोकपथ सडकखण्ड अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । जिल्लाको सिस्नेरी सडकखण्डअन्तर्गत इन्द्रसरोवर गाउँपालिका–३ भाल्टारमा राति आएको पहिराका कारण उक्त सडकखण्ड अवरुद्ध भएको इलाका प्रहरी कार्यालय भीमफेदीले जनाएको छ । प्रहरीका अनुसार पहिराका कारण हेटौँडा–भीमफेदी हुँदै काठमाडौं जाने छोटो दूरीको मार्ग भएर सञ्चालन हुने सवारीसाधन रातिदेखि नै वैकल्पिक सडक प्रयोग गरेर सञ्चालन भइरहेको कार्यालयका प्रहरी निरीक्षक प्रतिमा कार्कीले जानकारी दिए । यस्तै पहिरो जाँदा कान्तिराजपथ सडकखण्ड पनि अवरुद्ध भएको छ । हेटौँडाबाट ललितपुर हुँदै काठमाडौं जोड्ने उक्त सडकखण्डको विभिन्न स्थानमा पहिरो जाँदा यातायात अवरुद्ध भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार हेटौँडाबाट काठमाडौं जोड्ने सडकखण्डअन्तर्गत ललितपुरको भट्टेडाँडामा गए राति वर्षासँगै आएको पहिराका कारण उक्त सडकखण्ड अवरुद्ध भएको हो । यस्तै उक्त सडकखण्डअन्तर्गत मकवानपुरगढी गाउँपालिकाको बगुवा खोलामा पनि पहिरो गएको छ । उक्त सडक खुलाउने प्रयास भइरहेको जनाइएको छ । बर्खायाम लागेसँगै विभिन्न स्थानमा पहिराका कारण यातायात अवरुद्ध हुने गरेको छ । प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीका अनुसार जिल्लाको त्रिभुवन राजपथ, पूर्व–पश्चिम राजमार्ग र कुलेखानी–फाखेल सडकखण्डमा भने सवारीसाधन सञ्चालनमा रहेको छ । रासस
बजेटमा नतोकिएका कार्यक्रम सञ्चालन नगर्न निर्देशन
काठमाडौं । निर्वाचन आयोगले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम वा सोही प्रकृतिका योजना र बजेटमा नतोकिएका नयाँ कार्यक्रम सञ्चालन नगर्न/नगराउन नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहलाई निर्देशन दिएको छ । योजना र बजेटमा नतोकिएको नयाँ कार्यक्रम सञ्चालन गर्दा मतदातालाई प्रभावित पार्ने एवं निर्वाचनको स्वच्छता र निष्पक्षतामा प्रभाव पार्न सक्ने देखिएकाले आयोगले त्यस्ता कार्यक्रम कार्यान्वयन नगर्न तीनै तहलाई निर्देशन दिएको हो । विपद् व्यवस्थापनसम्बन्धी कार्य, मानवीय सहायता प्रदान र स्वास्थ्य महामारी रोकथाम गर्न आवश्यक कार्य बाहेक कुनै पनि प्रकारका नयाँ आयोजना तथा कार्यक्रम सञ्चालन तथा कार्यान्वयन नगर्न तीनै तहलाई निर्देशन दिइएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।
विश्वभरी कोरोना सङ्क्रमितको सङ्ख्यामा कमी, एसियामा मृतकको सङ्ख्या वद्धि
काठमाडौं । कोरोना भाइरसबाट नयाँ सङ्क्रमितको सङ्ख्या विश्वभरी घट्दै गइरहेको देखिएको छ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार विश्वभरी कोरोनाका कारण मृतकको सङ्ख्या पनि झण्डै छ प्रतिशतले कम भएको छ । तर एसियामा भने मृतकको सङ्ख्या बढेको सङ्गठनको तथ्याङ्कमा देखिइएको छ । गत हप्ता विश्वभरी ५४ लाख मानिस कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । यो सङ्ख्या अघिल्लो हप्ताको तुलनामा २४ प्रतिशत कम भएको जनाइएको छ । अफ्रिकामा ४० प्रतिशतका दरले नयाँ सङ्क्रमितको सङ्ख्यामा कमी आएको छ । युरोप र मध्यपूर्वमा पनि कम देखिएको सङ्गठनले जनाएको छ । पश्चिमी प्रशान्त र दक्षिण पूर्वीएसियामा भने मृतकको सङ्ख्यामा वृद्धि भएको छ । ती क्षेत्रमा क्रमश ३१ र १२ प्रतिशतका दरले मृतकको सङ्ख्यामा वृद्धि भएको देखिएको हो । विश्वभरी अझै पनि कोरोना भाइरसको असर बाँकी नै रहेकाले यसबाट बच्नका लागि अपनाउनु पर्ने उपाय अपाउन उत्तिकै आवश्यक रहेको डब्लुएचओका अधिकारीले जनाएका छन् । उनीहरुले खोप लगाउन, मास्कको प्रयोग गर्न, सामाजिक दुरी कायम गर्न, सङ्क्रमण भएमा कम्तीमा एक हप्ता छुट्टै बस्न सबैलाई अनुरोध गरेका छन् । कोरोना भाइरसको महामारी अन्त्य भइसकेको भन्ने नठान्न पनि उनीहरुले ध्यानाकर्षण गराएका छन् ।
नेपाली होटल व्यवसायी सङ्घको अध्यक्षमा ढकाल
काठमाडौं । नेपाली होटल व्यवसायी सङ्घको अध्यक्षमा गणेश ढकाल निर्वाचित भएका छन् । सङ्घको शनिबार सम्पन्न २०औँ वार्षिक साधारणसभा एवं १२औँ अधिवेशनबाट ढकालको नेतृत्वमा १८ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएको हो । सङ्घको प्रथम उपाध्यक्षमा काजीबहादुर कटुवाल, द्वितीय उपाध्यक्षमा प्रकाश राई, महासचिवमा समदेन (दीपक) लामा, सचिवमा चन्द्रबहादुर गोदार, कोषाध्यक्षमा इन्द्रप्रसाद ढकाल र कोषाध्यक्षमा दुर्गा थापा निर्वाचित भएका छन् । यस्तै सदस्यमा शेरबहादुर विष्ट, पुष्पराज तामाङ, शेरबहादुर कार्की, अम्बर रिजाल, यामबहादुर राना, जयलाल श्रेष्ठ, प्रेमबहादुर सिंजाली, देवराज घिमिरे, शोभाखर न्यौपाने, लिलावल्लभ पराजुली र भूपराज दाहाल भएका छन् । होटल व्यवसायीको हक, हित र अधिकारका लागि लड्ने उद्देश्यले विस २०५७ मा स्थापना भएको नेपाली होटल व्यवसायी सङ्घमा चार सय व्यवसायी आवद्ध छन् ।
१३६ वर्ष पुरानो जोन्सन एन्ड जोन्सन पाउडरको यस्तो छ इतिहास
एजेन्सी । जोन्सन एन्ड जोन्सन फार्मा संसारको सबैभन्दा ठूलो कम्पनीहरू मध्ये एक हो । यसको ६० भन्दा बढी देशहरूमा २७५ भन्दा बढी कम्पनीहरु सञ्चालनमा रहेका छन् । विश्वभर करिब डेढ लाख कर्मचारी छन् भने भारतमा मात्रै करिब ६ हजार कर्मचारीले यस कम्पनीमा काम गर्छन् । सन् १८८६ मा जोन्सन एन्ड जोन्सन स्थापना हुँदा कम्पनीको पहिलो १४ कर्मचारीमध्ये ८ जना महिला थिए। सन् २०१३ मा ‘वर्किङ मदर’ म्यागजिनले जोन्सन एन्ड जोन्सनलाई काम गर्ने आमाहरूको लागि उत्कृष्ट कम्पनीहरू मध्ये एक घोषित गरेको थियो । आज सोही कम्पनीको विरुद्धमा ३८ हजारभन्दा बढी महिलाले मुद्दा दायर गरेका छन् । सन् १८८६ थियो, जब तीन भाइहरू – रोबर्ट वुड जोन्सन, जेम्स वुड जोन्सन र एडवर्ड मीड जोन्सनले संयुक्त राज्य अमेरिकाको न्यु जर्सीमा जोन्सन एन्ड जोन्सनको जग बसालेका थिए । सन् १८८५ मा एन्टिसेप्टिक अधिवक्ता जोसेफ लिस्टरको भाषण सुनेर जोन्सन भाइहरूलाई यो व्यवसाय शुरु गर्न प्रेरित भएको बताइएको छ । त्यो समय अमेरिकामा ठूलो मात्रामा पूर्वाधार निर्माण भइरहेको थियो । रेल लाइनहरू बिछ्याइएको थियो । यस्ता सानातिना दुर्घटना धेरै भएका छन् । यो समयसम्म कसैले पनि प्रयोग गर्न तयार सर्जिकल किटको बारेमा सोचेका थिएनन् । यो विचारले तीन जना जोन्सन भाइहरूलाई यो कम्पनी बनाउने विचार दियो ।रोबर्ट वुड जोन्सन कम्पनीको पहिलो अध्यक्ष बने र सरसफाइ अभ्यासहरू सुधार गर्न काम सुरु गरे । जोन्सन एन्ड जोन्सनले पहिलो पटक प्राथमिक उपचार किट बनाए, जुन रेलवे कामदारहरूलाई मद्दत गर्न डिजाइन गरिएको थियो। जोन्सन दाजुभाई : रोबर्ट वुड, जेम्स वुड र एडवर्ड मीड जोन्सन (बायाँ देखि दायाँ) जोनसन प्रसूति किट र बेबी पाउडर लिएर हरेक घरमा पुग्थे जोन्सन एण्ड जोन्सनको हेरिटेज बेबी ब्यापार १८९४ मा मातृत्व किट को सुरुवात संग शुरू भयो। यी किटहरूको उद्देश्य प्रसवको समयमा आमा र बच्चालाई सबै तरिकाले सुरक्षित राख्नु थियो। सोही वर्ष जोन्सनको बेबी पाउडर पनि बिक्रीको लागि बजारमा आएको थियो । यो निकै सफल भयो । रोबर्ट वुड जोनसनकी नातिनी मेरी लीले बेबी पाउडरको बक्सको तस्विर भेट्टाइन्। मेरी पहिलो बच्चा थिइन् जसको फोटो बेबी पाउडर प्रवर्द्धन गर्न प्रयोग गरिएको थियो । जोन्सन एण्ड जोन्सनको फर्मा किङ बन्ने उद्देश्य सन् १९५९ मा, जोन्सन एन्ड जोन्सनले अमेरिकाको म्याकनिल ल्याबोरेटरीज र युरोपको सिलाग केमी, एजीलाई पनि अधिग्रहण गर्यो। यी दुई अधिग्रहणहरूले कम्पनीलाई पहिलो पटक फार्माको क्षेत्रमा साम्राज्यको रूपमा स्थापित गर्यो । जोन्सन एण्ड जोन्सनले त्यसपछि बच्चाहरूको लागि पहिलो एस्पिरिन -रहित दुखाइ निवारण गर्ने उत्पादको शुरुवात गर्यो, जुन निकै चर्चित भयो । अर्ल डिक्सन जोन्सन एन्ड जोन्सन कम्पनीमा काम गर्थे । उनकी श्रीमती जोसेफिनले भान्साकोठामा काम गर्दा उनलाई धेरै चोटि चोट लाग्थ्यो । चोट लागेको ठाउँमा तुरुन्तै कपडाको पट्टी लगाइदिन्थिन् तर सहयोग नहुँदा पट्टी चाँडै चिप्लिने र खस्ने गर्दथ्यो । अर्ल डिक्सनलाई त्यहाँबाट एउटा आइडिया आयो । उसले औषधिको धेरै रेशम स्ट्रिप्सलाई वर्गमा काट्यो र टेपमा टाँस्यो। कम्पनीका मालिक जेम्स वुडले अर्लबाट यो पट्टीको बारेमा सुनेपछि उनी पनि छक्क परे । यो आइडिया कम्पनीमा सबैले मन पराए कि त्यही आधारमा कम्पनीले सन् १९२० देखि ‘ब्यान्डएज’ बनाउन थाल्यो । र चाँडै अर्ल डिक्सनलाई पनि कम्पनीको उपाध्यक्ष बनाइयो । जोन्सनले कोविड महामारीमा नन फ्रिजिङ सिंगल डोज भ्याक्सिन बनाएको थियो कोविडसँग लड्न जोन्सन एण्ड जोन्सनले बनाएको सिंगल डोज भ्याक्सिनलाई अस्पताल नपुग्दासम्म फ्रीजरमा राख्न आवश्यक पर्दैन । यसअघि खोपको परीक्षण र निर्माण यति छिटो भएको थिएन। जोन्सन एण्ड जोन्सनले कोरोना भाइरसबाट मानव कोषहरूमा जीन लैजान एडेनोभाइरस प्रयोग गरेको थियो । एडिनोभाइरसको काम भ्याक्सिनलाई चिसो राख्नु हो, तर यसलाई जम्मा गर्नु आवश्यक छैन । जोन्सन एण्ड जोन्सनले कोभिड–१९ विरुद्ध लड्न अमेरिकी सरकारसँगको साझेदारीमा आफ्नै खोप निर्माणमा काम सुरु गरेको छ । सुरुमा कम्पनीको अवस्था अन्य कम्पनीजस्तै कोभिडले प्रभावित भएको थियो । तर कम्पनीले आफ्नो एकल-डोज खोपको साथ अगाडि बढ्यो, यसको धेरै प्रमुख प्रतिद्वन्द्वीहरूको डबल-डोज दृष्टिकोणको विपरीत । हाल कम्पनीले धेरै महत्त्वपूर्ण परियोजनाहरूमा काम गरिरहेको छ। लेजेन्ड बायोटेक सँगको साझेदारीमा विकसित गरिएको सिएआर-टी थेरापी सहित । राजस्वको हिसाबले, जोन्सन एन्ड जोन्सन विश्वको सबैभन्दा ठूलो फार्मा कम्पनीहरू मध्ये एक हो । सन् २०२१ मा कम्पनीको आम्दानी ९३.७७ अर्ब डलर (करिब ७ करोड रुपैयाँ) थियो । १२८ वर्ष पुरानो जोन्सन पाउडर बन्द जॉनसनको बेबी ट्याल्क पाउडर १९८४ देखि कम्पनीले बिक्री गर्दै आएको थियो। परिवारमैत्री भएकाले यो कम्पनीको नमूना उत्पादनको रुपमा ठानिएको थियो । जोन्सन एन्ड जोन्सनको बेबी पाउडर सबैभन्दा प्रसिद्ध ट्याल्कम पाउडर मध्ये एक हो। १२८ वर्ष देखि यो पाउडर संसारका धेरै मानिसहरुले प्रयोग गर्ने गर्दथे । जोन्सन एण्ड जोन्सनले सन् १९४७ देखि भारतमा स्थानीय रूपमा ट्याल्कम पाउडर बेच्दै आएको थियो। भारतमा उत्पादित टाल्कम पाउडर छिमेकी मुलुक श्रीलंका, नेपाल, माल्दिभ्समा पनि बिक्री हुने गरेको छ । जोन्सन एण्ड जोन्सन कम्पनीले सन् २०२३ देखि आफ्नो बेबी पाउडर बिक्री बन्द गर्ने घोषणा गरेको छ । अब कम्पनीले ट्याल्कमा आधारित पाउडरलाई मकैको स्टार्चमा आधारित पाउडरले प्रतिस्थापन गर्नेछ। कम्पनीको पाउडर अमेरिका र क्यानडामा एक वर्षअघि नै बन्द भइसकेको छ । अमेरिकामा हजारौं उपभोक्ता सुरक्षा मुद्दा चलिरहेकाले यस उत्पादनको बिक्री रोकिएको कम्पनीले जनाएको छ । यद्यपि, जोन्सन एन्ड जोन्सनले आफ्ना उत्पादनहरूले क्यान्सर निम्त्याउन सक्ने दाबीलाई निरन्तर अस्वीकार गर्दै आएको छ ।
लोकतान्त्रिक आन्दोलनका वैचारिक नेता गिरीको निधन
काठमाडौं । नेपाली कांग्रेशका नेता तथा प्रतिनिधिसभा सदस्य प्रदिप गिरीको निधन भएको छ । नेता गिरीको उपचारको क्रममा गत राति ९ः३० बजे ललितपुरस्थित नेपाल मेडिसिटी अस्पतालमा निधन भएको हो । स्वर्गीय नेता गिरीको पार्थिव शरिरमा आज विहान ९ बजेदेखि ११ बजेसम्म नेपाल मेडिसिटी अस्पतालमा र ११ः३० देखि २ बजेसम्म नेपाली कांग्रेश केन्द्रीय कार्यालय सानेपामा अन्तिम श्रद्धाञ्जलीको दिइने कार्यक्रम रहेको नेपाली कांग्रेसले विज्ञप्तिमार्फत जनाएको छ । स्वर्गीय नेता गिरीको आजै पशुपति आर्यघाटमा अन्त्यष्टि गरिने जनाइएको छ ।