स्वर्गीय प्रदिप गिरी : ४ पटक सांसद, पुर्ख्यौली सम्पत्ति जति आश्रमलाई
काठमाडौं । विसं २०५६ को प्रतिनिधिसभा निर्वाचनमा नेता प्रदीप गिरीको गृहजिल्ला सिरहा पुगेका प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले गिरीको चुनावी सभामा भनेका थिए ‘’तपाईंहरू प्रदीप गिरीलाई जिताएर पठाउनुस्, म शक्तिशाली मन्त्री बनाउँछु, पछि प्रधानमन्त्री नै बनाउँछु ।’ सोही मञ्चमा बसेका गिरी प्रधानमन्त्रीको यो घोषणापछि हाँसे भने उनका क्षेत्रका समर्थकले गड्गडाहट ताली बजाए । संयोग यस्तो भयो कि पछि उनले चुनाव हारे । आफ्ना स्पष्ट र प्रखर विचारसहित प्रायः सञ्चारमाध्यममा आइरहने नेता गिरीलाई पछि एक अन्तर्वार्ताका क्रममा प्रश्न सोधियो, ‘तपाइँले चुनाव जितेको भए त यतिखेर मन्त्री हुनुहुन्थ्यो होला हगि ?’ उनको प्रतिक्रिया थियो, ‘हो, हुन्थेँहोला । तर मलाई मन्त्री बन्नबाट भगवानले बचाएका छन्, त्यसैले म खुसी छु । किनभने मैले चुनाव जितेको भए किसुनजीको आग्रह टार्न सक्दिनथेँ होला, त्यसैले भगवानले चुनाव हराएर मन्त्री हुनबाट बचाए ।’ प्रदीप गिरी नेपालको समकालीन राजनीतिमा सादगी, चिन्तनशील र अध्ययनशील व्यक्तित्वका रुपमा स्थापित नाम हो । त्यसैले त चार/चार पटकसम्म सांसद बनेका गिरीमा मन्त्री बन्ने चाह कहिल्यै जागेन । उनले सार्वजनिक रुपमै भन्ने गर्थिए, ‘मन्त्री हुँदा स्वतन्त्रता गुम्छ, मैले मनमौजी गर्न मिल्दैन, मेरो आफ्नो स्वतन्त्रता र आफ्नैपनको जीवन गुम्न पनि सक्छ । मन्त्री भएपछि मेरा सबै जीवनशैलीमा परिवर्तन ल्याउनुपर्ने हुन्छ, म फुटपाथमा हिँड्दै त्यहाँका पुस्तक पढ्न नपाउने स्थितिमा पनि पुग्न सक्छु, मप्रति जनताका आशा अपेक्षा बढी होलान्, त्यसैले मलाई व्यक्तिगत जीवनमा हस्तक्षेप मान्य छैन ।’ हाम्रो देशमा यतिखेरको राजनीति त्यस्तो छैन । मन्त्री बन्नुपर्ला भनेर भाग्नखोज्ने नेता सायदै कुनै पार्टीमा भेटिएलान् । अनि उनीजस्तो सांसद पदको पारिश्रमिक आएको दिन पुस्तक पसलमा गएर पुस्तक किन्न रुचाउने अध्ययन र चिन्तनमा समय व्यतित गर्ने नेता पनि विरलै छन् । त्यसैले उनले एक प्रखर चिन्तक मात्र होइन कि समाजवादी विचारका अगुवाको पहिचान निर्माण गर्न सफल भएका छन् । गिरीको जीवनशैली खुल्ला र उच्च विचारका धनीहरुका लागि पनि सरल र सादा जिउन सकिने अनुकरणीय उदाहरण हो । उनको पहिरनको पहिचान धेरै पछिसम्म पनि खद्दरको कुर्था र सुरुवाल थियो । स्वतन्त्रता र समानताका पक्षपाती उहाँको जन्मघर बाहेक अन्यत्र गाडी, घोडा या घरबङ्गला जोड्ने कुनै रहर रहेन । यहाँसम्म कि उनले कहाँ खान्थिए, कहाँ सुत्थिए भन्ने पनि कहिले त ठेगान नै हुँदैनथ्यो । आफ्नो पुर्ख्याैली सम्पत्ति पनि उनले एक आश्रमका रुपमा दिइसकेका छन् । समाजशास्त्रको अध्ययन गरेका गिरीले सिद्धान्तमा भने माक्र्सवादी हौँ भन्नेहरुले भन्दा अब्बल माक्र्सवाद आत्मसात् गरे । लाग्छ, माक्र्सवादी चिन्तकहरुले पनि उहाँको विचार, व्यवहार र चिन्तनबाट धेरै सिक्न सक्छन् । उनी चाहे बनारसमा विपी कोइरालाको साथ र संगतसँगै तरुण पत्रिकाको सम्पादकका रुपमा होस् या उनलाई क्यान्सरले गालिरहँदा नैै किन नहोस्, बाल्यकालदेखि वृद्धसम्म नै प्राज्ञिक चिन्तनमा रमाए । त्यसैले उनी प्राज्ञिकदेखि श्रमिकसम्म सबै क्षेत्र र वर्गका जनताका मन मस्तिष्कमा बस्न सके । मन्त्री या पदमा पुगेका र पदमा पुगेर ठूलो धनराशि आर्जन गरेकालाई मात्र राजनीतिक सफलता नमान्ने हो भने प्रदीप गिरी नेपालका एक सफल राजनीतिज्ञको नाम हो । किनभने उहाँको राजनीतिक चिन्तन र व्यवहार सबै क्षेत्र र वर्गका नेपालीसामु लोकप्रिय छ र यसको आयतन कुनै निश्चित विचारधाराको घेराभन्दा निकै फराकिलो छ । त्यसैले त उनको स्वास्थ्यलाभको कामनादेखि आज उहाँको निधनसम्म आइपुग्दा सामाजिक सञ्जाल होस कि समाजका विभिन्न पेशा, व्यवसाय या विचारधाराभन्दा बाहिर निस्किएर सारा नेपालीले उहाँप्रति श्रद्धा व्यक्त गरिरहेका छन् । देशमा अहिले अन्य राजनीतिक दर्शन अवलम्बन गर्नेहरूको पनि उनीप्रति उत्तिकै सम्मान देखिन्छ । त्यसैले प्रदीप गिरी नाम यतिखेर नेपाली राजनीतिको एक विशेष र विशिष्ट स्वरुपको मानकका रुपमा स्थापित हुन पुगेको छ । सधैँ युवा र यही वर्गप्रति भरोसा राख्ने उहाँको विचारलाई अहिलेको हर दलको युवा पिँढीले पछ्याउन सक्यो भने यही हतियारले हिजोआजकोजस्तो राजनीतिलाई प्रदीप गिरीको वैचारिक उचाइसम्म पु¥याउन सक्छ । उनले भारतको जवाहरलाल नेहरू विश्वविद्यालयबाट दर्शनशास्त्र र अर्थशास्त्रमा स्नातकोत्तर गरेका थिए । बनारसमा छात्र संघमा चुनाव लड्दादेखि नै बीपीको संगत पाएका उनले विपीको राष्ट्रियता, प्रजातन्त्र र समाजवादको सिद्धान्तमा अडिग रही राजनीतिक सङ्घर्ष जारी राख्ने क्रममा पटक पटक गरेर करिब चार वर्ष जेल जीवन बिताए । विसं २०४२ पछि कृष्णप्रसाद भट्टराई र गणेशमान सिंहको नजिक भएर काम गर्नुभएका उहाँ कांग्रेसमा समावेशीकरणका पक्षधर थिए । उनले नै कांग्रेस पार्टीले ‘जमदम’ को नीति लिनुपर्ने भनी प्रस्तुत गरेका थिए । उनी कार्यक्रमलाई ज– जनजाति, म– महिला, द– दलित र म– मधेसी भनी अथ्र्याउथिए । पिछडिएको क्षेत्र कर्णाली र पिछडा वर्ग, अल्पसंख्यकहरूलाई राज्यको मूलप्रवाहमा ल्याउन सक्यो भने मात्र लोकतान्त्रिक गणतन्त्र बलियो हुने तर्क उनी बारम्बार गर्थिए । राष्ट्रपति विद्यादेवी भण्डारीले गिरीको निधनबाट हामीले एक सिद्धान्तनिष्ठ बौद्धिक व्यक्तित्व गुमाएको प्रतिक्रिया दिएका छन् । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेता गिरीको निधनले नेपालको एक सच्चा र असल नेता गुमाएको बताए । नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले देशलाई रुपान्तरणकारी ढङ्गबाट अघि बढाउन स्पष्ट दृष्टिकोण दिनुहुने सांसद गिरीको निधनले असल राजनीतिज्ञको अभाव खड्किएको बताए । उनले भने, ‘गिरीको योगदानबाट प्रेरणा र शिक्षा लिनुपर्छ । राजनीतिलाई उहाँले सदैव समाजसेवामा मात्र प्रयोग गर्नुभएको थियो ।’ नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गिरीलाई नेपाली राजनीतिका एक चिन्तनशील राजनीतिकर्मी भनेका छन् । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले गिरीलाई नेपाली राजनीतिका अग्ला व्यक्तित्व र समाजवादी चिन्तक भन्नुभएको छ । उहाँले नेपालको प्रजातान्त्रिक आन्दोलन तथा पार्टी संगठनमा प्रदिप गिरीले पुर्याएकाे योगदानको जति नै चर्चा गरेपनि अधुरै रहने धारणा राखेका छन् । यही निष्ठा र आस्थाको धरोहरका रुपमा रहेका नेता गिरीको क्यान्सर रोगबाट गएराति निधन भएको छ । उनको निधनले नेपालको राजनीतिमात्र होइन राजनीतिमा निष्ठा र इमान्दारिताको खाँचो महसुस गराएको छ । राजनीतिमा पदमात्र ठूलो होइन, नैतिकता र निष्ठा ठूलो हो भन्ने यथार्थ उनको निधनप्रति देशले व्यक्त गरेको यो भावनाले पनि अभिव्यक्त गर्दछ । उनको यो निष्ठालाई जोगाइराख्नु अहिलेका राजनीतिकर्मीको दायित्व पनि हो । गिरी नेपालका राजनीतिक नेता भन्दा बढी चिन्तक एवं दार्शनिक थिए । भनिन्छ, दार्शनिक एवं चिन्तकको भौतिक शरीर मात्र नष्ट हुन्छ तर उनीहरु मर्दैनन् । उनीहरुका चिन्तन, दर्शन एवं सिद्धान्त युगयुगसम्म जीवन्त रहन्छन् । त्यसैले त माक्र्सवाद अहिले कम्युनिष्टभन्दा बाहिरको घेरामा फैलिँदो छ । विपी कोइरालाका राष्ट्रियता, प्रजातन्त्र र समाजवाद अहिलेको नेपाली राजनीतिमा सबै विचारधाराको साझा विचार बनिरहेको छ । त्यसैले सर्जकहरु मर्दैनन् बरु चोला फेर्दछन् भनिएको हो । प्रदीप गिरीको भौतिक शरीरले यो भौतिक दुनियाँबाट विदा लिए पनि उहाँको विचारले थप युग सुहाउँदो विजारोपण गर्दै जानेछ । उनी आफ्ना विचार र निष्ठासहित नेपाली माटोमा सदा जिवीतै रहनेछन् । हार्दिक श्रद्धाञ्जली प्रदिपी गिरी । रासस
क्युबामा पनि भेटिए मङ्कीपक्सका बिरामी
हवाना । क्युबामा पनि मङ्कीपक्सका बिरामी फेला परेका छन् । देशमा पहिलोपटक इटालीका एकजना पर्यटकमा मङ्कीपक्सको सङ्क्रमण पुष्टि भएको शनिबार अबेर यहाँको जनस्वास्थ्य मन्त्रालयले जनाएको छ । नाम सार्वजनिक नगरिएका ती पुरूष पर्यटक गत साउन ३० गते क्युबा आइपुगेका थिए । गम्भीररूपमा बिरामी भएका उनलाई अस्पताल भर्ना गरिएको उक्त मन्त्रालयले एक विज्ञप्ति निकालेर बताएको छ । बिरामी पर्यटक भाडाको घरमा बसेका थिए र उनले पश्चिमी क्युबाली प्रान्तका धेरै ठाउँको भ्रमण गरेका थिए । रासस/सिन्ह्वा
सिद्धार्थ बैंकका ग्राहकहलाई विराटचोकको नेपालीरिका होटलमा २० प्रतिशत छुट
काठमाडौं । सिद्धार्थ बैंक र विराटचोकस्थित नेपालीरिका होटलबीच सम्झौता भएको छ । बैंक र होटलबीच बैंकका ग्राहकलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको हो । उक्त सम्झौता पत्रमा सिद्धार्थ बैंकका तर्फबाट विराटनगर शाखा प्रमुख सूर्य प्रसाद शर्मा तथा नेपालीरिका होटलका तर्फबाट प्रबन्ध निर्देशक राजेश कुमार अग्रवालले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार बैंकका ग्राहकहरुले नेपालीरिका होटलमा सिद्घार्थ बैंकको डेबिट, क्रेडिट तथा प्रिपेड कार्ड, मोबाईल बैैंकिङ्ग मार्फत होटल बसाई सेवाको भुक्तानी गर्दा २० प्रतिशतसम्मको छुट र खानाको भुक्तानी गर्दा १५ प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन् ।
हुन्डाई नेपालले चुनिखेलमा गर्यो वृक्षारोपण
काठमाडौं । हुन्डाई नेपालले बिभि द चेन्ज अभियान अन्तर्गत चुनिखेलमा वृक्षरोपण गरेको छ ।हुन्डाईले रातोमाटे डाँडा सामुदायिक वनको समन्वयमा चुनिखेलमा २०० भन्दा बढी बिरुवा रोपेको हो । उक्त कार्यक्रमको लागि हुन्डाईको कोना र आइवोनिक्यु फाइभ गरी ४० भन्दा बढी विद्युतीय गाडीहरू थापाथलीबाट बुढानिलकण्ठसम्म गएका थिए । बिभि द चेन्ज हुण्डाई मोटर कम्पनीको पर्यावरण मैत्री प्रतिबद्धतामा ऐक्यबद्धता गर्ने पहल स्वरूप ल्याईएको कम्पनीले जनाएको छ । बिभि द चेन्ज अभियान अन्तर्गत गरिएको प्रारम्भिक चरणका कार्यक्रमहरूमध्ये एक वृक्षरोपणले साधारण सवारी साधनहरुको कार्बन उत्सर्जन र तिनका प्रभावलाई कम गर्ने आशा राखेको कम्पनी बताउँछ । गएको वर्ष सेप्टेम्बरमा हुन्डाई मोटर कम्पनीले सन् २०५० को ग्लोबल कार्बन न्यूट्रल लक्ष्यभन्दा पाँच वर्ष अगाडि सन् २०४५ सम्ममा आफ्नो उत्पादन र सञ्चालनका सबै चरणहरूमा कार्बन न्युट्रालिटि कायम गर्ने लक्ष्य सार्वजनिक गरेको थियो । कम्पनीले कार्बन न्यूट्रालिटी तर्फको यात्रामा सन् २०२५ सम्ममा २३ वटा पर्यावरण मैत्री लाइनअप ल्याई १० लाखभन्दा बढी विद्युतीय सवारी साधन तयार गर्ने योजना बनाएको छ ।
सेयर धितो कर्जामा नबिल र ग्लोबलबीच टक्कर, २० बैंकले घटाउँदा ५ ले बढाए
काठमाडौं । गत आर्थिक वर्ष २०७८/७९ को असार मसान्तसम्म वाणिज्य बैंकहरुले पौने ६५ अर्ब रुपैयाँ बढीको सेयर धितो कर्जा प्रवाह गरेका छन् । नेपाल राष्ट्र बैंकले सेयर धितो कर्जामा कडाइ गरेपनि बैंकहरुले भने खासै कर्जा घटाएका छैनन् । अघिल्लो आर्थिक वर्ष (आव) २०७७/७८ को तुलनामा बैंकहरुले १.६९ प्रतिशतले मात्रै सेयर धितो कर्जा घटाएका छन् । बैंकहरुले अघिल्लो आवमा ६५ अर्ब ९३ करोड रुपैयाँ सेयर धितो कर्जा प्रवाह गरेकोमा गत आवमा भने ६४ अर्ब ८१ कराेड रुपैयाँ लगानी गरेका छन् । नेपाल राष्ट्र बैंकका अनुसार सबैभन्दा बढी सेयर धितो कर्जा नबिल बैंकले दिएको छ । सो बैंकले एक वर्षमा २३.३४ प्रतिशतले उक्त कर्जा लगानी घटाएपनि ७ अर्ब ६१ करोड रुपैयाँ सेयर धितो कर्जा प्रवाह गरेको छ । बैंकले अघिल्लो आवमा ६ अर्ब ८ करोड रुपैयाँ लगानी गरेको थियो । यस्तै, ग्लोबल आइएमई बैंकले अन्य बैंकको तुलनामा उच्च रुपमा सेयर धितो कर्जा लगानी गरेको छ । अघिल्लो आवमा ७ अर्ब १४ करोड रुपैयाँ कर्जा लगानी गरेको बैंकले गत आवमा भने ४ अर्ब ९९ करोड रुपैयाँ लगानी गरेको देखिन्छ । यद्यपि, बैंकको सेयर धितो कर्जा लगानी भने अघिल्लो आवको तुलनामा ३०.०२ प्रतिशतले घटेको छ । एक वर्षको अवधिमा २० वटा बैंकले सेयर धितो कर्जा लगानी घटाएका छन् भने ५ वटा बैंकले बढाएका छन् । स्ट्याण्डर्ड चार्टर्ड बैंकले कर्जा लगानी गरेको तथ्यांकमा देखिँदैन । अघिल्लो आवमा सेयर धितो कर्जा लगानी नगरेको नेपाल एसबिआई बैंकले गत आवमा भने ३ करोड २७ लाख रुपैयाँ लगानी गरेको देखिएको छ । सबैभन्दा बढी कर्जा घटाउनेमा एभरेष्ट बैंक देखिएको छ । अघिल्लो आवमा २ अर्ब ६९ करोड रुपैयाँ बराबरको सेयर धितोमा ऋण दिएको बैंकले गत आवमा भने ७ अर्ब ३६ करोड रुपैयाँ लगानी गरेको छ । जुन प्रतिशतको आधारमा ७२.६९ प्रतिशतले घटी हो । नेपाल राष्ट्र बैंकले गत आवको मौद्रिक नीति मार्फत सेयर धितो कर्जामा ४ करोड र १२ करोडको सीमा तोकेको थियो । तर चालु आवको मौद्रिक नीति मार्फत भने बैंकले १२ करोड रुपैयाँको मात्रै सीमा लगाउने व्यवस्था गरेको छ । कुनले कति दिए ?
कालीकोटमा प्रशासन र नगरपालिकाको कमजोरीले २ हजार बढीको नागरिकतामा त्रुटि
कर्णाली । कालीकोट जिल्ला प्रशासन कार्यालय र तिलागुफा नगरपालिकाको कमजोरीका कारण दुई हजारभन्दा बढीको नागरिकताको प्रमाणपत्रमा त्रुटि भएको पाइएको छ । विसं २०७४ वैशाख १ गतेदेखिका नागरिकता बाहक तिलागुफाका नागरिकको नेपाली नागरिकता एउटै भए पनि अङ्ग्रेजी अनुवादमा भने त्रुटि पाइएको हो । नगरपालिकाले जन्म, विवाह, मृत्युदर्ता, नाता प्रमाणित, नागरिकता बनाउनेलगायत अन्य सबै कामका लागि सेवाग्रहीलाई सिफारिस लेटरप्याडमा एउटा र प्रशासनले दिने नागरिकताको अङ्ग्रेजी भाषामा अर्को अक्षर हुँदा सेवाग्रहीलाई सरकारी कामकाज गर्न समस्या भएको हो । नगरपालिकाले २०७४ वैशाख महिनादेखि सेवाग्रहीलाई दिएका हरेक सिफारिस कागजपत्रमा तिलागुफाको ‘फा’ अक्षरको अङ्ग्रेजीमा ‘पिएचए’ छ तर स्थानीय प्रशासनले दिएको नागरिकतामा ‘एफए’ भएर फरक पर्दा सेवाग्राही समस्यामा परेका हुन् । उक्त नगरपालिकाको वडा नं ३स्थित कालीकोट फोइमहादेव गाउँका दीक्षा हमालले नागरिकता र शैक्षिक तथा अन्य महत्वपूर्ण कागजमा अक्षर फरक पर्दा समस्या भएको बताइन् । ‘राहदानी विभागमा पासपोर्ट बनाउँदा नगरपालिकाले दिएको कागजपत्र र मेरो शैक्षिक प्रमाणपत्रअनुसार ‘पिएचए’ नै आधिकारिक हुन्छ भनेर उल्लेख ग¥यो,’ हमालले भनिन्,’यता नागरिकताको अंग्रेजी भर्सनमा ‘एफए’ छ ।’ काठमाडौँबाट कालीकोट पुगी साउन ९ गते नागरिकता बनाएर फर्केको बताउँदै उनले नागरिकता र अन्य कागजमा फरक परेको अक्षर सच्याउन फेरि कालीकोट पुगेको जना । उनले भनिन्,’नागरिकता बनाएको एक महिनाभित्रै नागरिकता सच्याउने प्रावधान छ भनेपछि साउन २९ गते नागरिकतामा ‘एफए’ अक्षर विस्थापन गरी ‘पिएचए’ बनाइदिन भनेर काठमाडौंबाट पुनः कालीकोट फर्के तर साउन ३१ गते कालीकोट प्रशासनले अक्षर नसच्याएर ‘एफए’ र ‘पिएचए’ अक्षर भएको ठाउँ (पालिका) एउटै हो भन्ने थप कागज दिएपछि काठमाडौं फर्कनुको विकल्प रहेन ।’ प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले गृह मन्त्रालयको सफ्टवेयरले ‘एफए’ नै देखाउने भएकोले त्यही अनुसारको नागरिकता दिइएको बताए । उनले भने, ‘तिलागुफा नगरपालिकाले ‘पिएचए’ नै बनाउन भनेर प्रशासनमार्फत गृह मन्त्रालयमा निर्णय गरेर पठाएमा सफ्टवेयर त्यही बनेर आउँछ र त्यही अनुसार नागरिकता बन्छ ।’ यो त्रुटि हुनुमा नगरपालिका मुख्य जिम्मेवार रहेको प्रजिअ शर्माले बताए । सहायक प्रमुख जिल्ला अधिकारी सरोज अधिकारीका अनुसार विसं. २०७४ वैशाख १ गतेदेखि हालसम्म ‘एफए’ अक्षरबाटै प्रदान गरिएका प्रतिलिपि र नयाँ नागरिकताको सङ्ख्या दुई हजार २२० रहेको जानकारी दिए । विसं २०७२ माघ यतादेखि भने जिल्ला प्रशासनले तिलागुफाका दुई हजार ७३५ जनालाई नागरिकता प्रदान गरेको उनले बताए । हमालका बुबा चित्रबहादुर हमालले यत्रो सङ्ख्यामा नागरिकता बनाउँदासमेत ध्यान नदिनु स्थानीय प्रशासन र नगरपालिका दुवैको लापरबाही भएको बताए । ‘आधिकारिक निकायले लामो समयदेखि गरेको त्रुटिले धेरैलाई समस्या भएको छ,’ उनले भने, ‘यसले गर्दा हामीले भौतिक दुःखका साथै बिना कारण दोब्बर पैसा खर्च गर्नुपरेको छ । ती निकायको बेलैमा ध्यान जाओस् ।” यता नगर प्रमुख शङ्करप्रसाद उपाध्यायले पहिलेका पदाधिकारीले त्यसमा ध्यान नदिएकाले यो समस्या आएको बताए । उनले आज कार्यपालिकाको बैठक बसी ‘एफए’ अंगे्रजी अक्षर हटाएर ‘पिएचए’ कायम हुनुपर्ने निर्णयप्रति संलग्न राखी गृह मन्त्रालयलाई अनुरोध पत्र पठाउने जनाए । रासस
कुमारी बैंकले माग्यो चार्टर्ड एकाउन्टेन्ट
काठमाडौं । कुमारी बैंकले चार्टर्ड एकाउन्टेन्ट मागेको छ । बैंकले आइतबार एक सूचना प्रकाशन गर्दै चार्टर्ड एकाउन्टेन्टको लागि केही संख्यामा कर्मचारी मागेको हो । बैंकका अनुसार एचार्टर्ड एकाउन्टेन्टका लागि सिएपिपि आइआइ वा प्लस टु सरह आइसिएएन अथवा आसिएआई उतिर्ण गरेको हुनुपर्छ । इच्छुक आवेदकले आफ्नो बायोडाटा सहितको प्रमाणपत्र बैंकको वेवसाइटमा गएर भदौ १५ गतेभित्र आवेदन दिनसक्ने बैंकले जनाएको छ ।
आइसिएफसि फाइनान्सको सीइओमा पुन: सुनिल पन्त
काठमाडौं । आइसिएफसि फाइनान्सको प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा पुन: सुनिल पन्त नियुक्त भएका छन् । सञ्चालक समितिको निर्णय बमोजिम असोज २५ गतेबाट ४ वर्षको कार्यकालका लागि पन्त दास्रो कार्यकालका लागि नियुक्त भएका हुन् । विगत २७ वर्ष देखि बैंकिङ क्षेत्रमा सकृय रहेका कुशल नेतृत्वकर्ता, सफल बैकरका रुपमा आफ्नो परिचय स्थापित गर्न सफल भएका छन् । पन्तले फाइनान्सको स्थापनाकालदेखि नै विभिन्न पदमा रहेर कार्यसम्पादन गर्दै आएका छन् ।