विकासन्युज

बिजनेस विस्तारमा आक्रामक बने नबिल, सेञ्चुरी र नेपाल बैंक, सजिलै ऋण दिन सक्ने अवस्थामा एक दर्जन बैंक

काठमाडौं । साउन महिनापछि बैंकहरुको कर्जा-निक्षेप अनुपात (सीडी रेसियो) बढ्न थालेको छ । नेपाल बैंकर्स संघका अनुसार २६ वाणिज्य बैंकहरुको सीडी रेसियो बढ्न थालेको हो । बैंकर्स संघका अनुसार साउन अन्तिम सातामा बैंकहरुको औषत सीडी रेसियो ८८.०७ प्रतिशत रहेको छ । पछिल्लो समय बैंकहरुको निक्षेप घट्न र कर्जा लगानी बढ्न थालेसँगै कर्जा निक्षेप अनुपात बढेको हो । साउनको अन्तिम सातासम्ममा सेञ्चुरी, नबिल र नेपाल बैंकको सीडी रेसियो ९० प्रतिशत नाघेको छ । त्यसमा पनि सबैभन्दा बढी सेञ्चुरी बैंकको रहेको छ । साउनको अन्तिम सातामा बैंकको उक्त रेसियो ९१.६३ प्रतिशत देखिएको छ । यस्तै, नबिल बैंकको ९०.९२ र नेपाल बैंकको सीडी रेसियो ९०.७२ प्रतिशत रहेको छ । एक दर्जन बैंकहरुको सीडी रेसियो ८६ प्रतिशतभन्दा तल छ । अन्य बैंकको तुलनामा एक दर्जन बैंकहरू सजिलै ऋण दिन सक्ने अवस्थामा छन् । बैंकहरुमा निक्षेप र कर्जा दुबै बढ्यो सबैभन्दा कम सीडी रेसियो हुनेमा प्रभु बैंक छ । समीक्षा अवधिमा प्रभु बैंकको सीडी रेसियो ८२.८८ प्रतिशत छ । असार महिनामा सबै बैंकहरुले ९० प्रतिशतको सीडी रेसियो कायम गरेका थिए । नेपाल राष्ट्र बैंकले असार मसान्तसम्म ९० प्रतिशतको सीडी रेसियो कायम गर्ने नीति बनाएसँगै बैंकहरुलाई पनि सो व्यवस्था कायम गर्न बाध्यता थियो । तर अहिले बैंकहरुले ९० प्रतिशतको सीमा नाघेका हुन् । कुनको कति ?

एभरेष्ट बैंकले रुकुमको विद्यालयलाई गर्यो ४ लाख ७९ हजार रुपैयाँ सहयोग

काठमाडौं । एभरेष्ट बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत मुसिकोट सेरिगाऊँ रुकुमको  यमुनानन्द नमना माध्यामिक विद्यालयलाई आर्थिक सहयोग गरेको छ । बैंकले  विद्यालयलाई ४ लाख ७९ हजार ९१० रुपैयाँ सहयोग गरेको हो । एक कार्यक्रमका बीच बैंकका सिएसआर कमिटीका तर्फबाट सदस्य डा. गणेश राज गुरुङ्गले विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष महेन्द्र राज गौतमलाई चेक हस्तान्तरण गरे । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा, स्वास्थ, दैवी प्रकोप व्यवस्थापन, वातावरण संरक्षण, संस्कृतिक प्रवर्द्धन, दर्गम क्षेत्रमा पूर्वाधार सुधार, सामाजिक रुपले पिछडिएका वर्गको आय आर्जन, वित्तीय साक्षरता, ग्राहक संरक्षण सम्बन्धी कार्यक्रम तथा विभिन्न परोपकारी कार्य गर्दै आईरहेको छ। बैंकलर् करिब १२ लाख ग्राहकहरुलाई देशैभरि छरिएर रहेको आफ्नो ११८ शाखा संजाल, ४ एक्सटेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालय, १५२ एटिएमसहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल र इन्टरनेट र एसएमएस बैंकिंग सुबिधा प्रदान गर्दै आइरहेको छ । बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३१ वटा संकलन केन्द्रबाट समेत सेवा दिदै आइरहेको छ।

तोकिएको समयसम्म अस्पताल नबस्ने स्वास्थ्यकर्मीलाई कारबाही हुन्छ : स्वास्थ्यमन्त्री

काठमाडौं । स्वास्थ्य तथा जनसङख्यामन्त्री भवानीप्रसाद खापुङले तोकिएको समयसम्म अस्पतालमा नबस्ने चिकित्सकलाई कारबाही गर्ने चेतावनी दिएका छन् । कोसी अस्पतालमा पाँच करोड ४७ लाख सात हजारको लागतमा नवनिर्मित ३६ शय्याको बच्चा वार्ड, दुई शल्यक्र्रिया कक्षसहित ४० शय्याको वार्डको आज उद्घाटन गर्दै उनले सरकारले तोकेको समयसम्म चिकित्सकले अस्पतालमा बसी बिरामी उपचार गर्नुपर्नेमा जोड दिए । मन्त्री खापुङले कोसीसहित मुलुकका सरकारी अस्पतालमा चिकित्सक तथा स्वास्थ्यकर्मी अभावलाई समाधान गर्ने सम्बन्धमा मन्त्रालयमा छलफल गरी दरबन्दी सिर्जना गरेर पदपूर्तिको व्यवस्था गर्ने जानकारी दिए । उनले निजी अस्पतालले स्वास्थ्य बीमा बन्द गर्नाले सरकारी अस्पतालमा बिरामीको चाप बढेको उल्लेख गर्दै यो समस्या चाँडै समाधान हुने धारणा राखे । उनले बजेट भाषणमा सरकारी तथा सामुदायिक अस्पतालमा मात्र स्वास्थ्य बीमा लागू हुने आएकाले यसले अन्याैलमा सिर्जना भएको भन्दै स्वास्थ्य बीमालाई आम जनतासमक्ष व्यवस्थित रुपमा पु¥याउन एउटा कार्यदल निर्माण गरिएको जानकारी दिए । मन्त्री खापुङले स्वास्थ्य बीमा सम्बन्धमा छुट्टै ऐन रहेको जनाउँदै मोरङबाहेक अन्य क्षेत्रमा निजी अस्पतालले बीमा लागू गरेको र यस क्षेत्रमा निजी अस्पताले बीमा लागू गर्ने सम्बन्धमा कुराकानी अगाडि बढेकाले चाँडै समाधान हुने बताए । उनले स्वास्थ्य बीमा बोर्डले अस्पतालको बीमा रकमको दाबी सम्बन्धमा कार्य गरिरहेकाले चाँडै बीमा रकम भक्तानी गर्ने बताए । उनले अस्पतालको निरीक्षणका क्रममा प्रदेश नं १ का स्वास्थ्यमन्त्री जयराम यादव, अस्पतालका मेडिकल सुपरिडेण्टेन्ट यज्ञराज खरेललगायत थिए ।

शौच गराउँदा एक किलो सुन निस्किएपछि…

फाइल फाेटाे । काठमाडौं । शनिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल व्यस्त थियो । यात्रुहरुको आवागन बढ्दै थियो । भरिभराउ विमानस्थलमा आवतजावत गर्ने यात्रुहरूकाे भीड बाक्लाे थियाे । प्रहरीहरु चेकिङमा व्यस्त थिए । सोही समयमा दुबईको उडानबाट नेपाल आएका भारतीय नागरिक पनि प्रहरीको चेकिङ मेसिनमा परे । उनी भारतीय राहदानी नम्बर भी ११२२८९० वाहक ३१ वर्षका राहुल रेमानान थिए । उनी फ्लाई दुबईको उडानबाट दुबईबाट काठमाडौं आएका थिए । विमानस्थलको आगमन कक्षको एक्सरे मेसिनमा चेकजाँच गर्दा उनको पेट शंकास्पद देखियो । प्रहरीले उनलाई छेउमा लिएर थप चेकजाँच गर्यो । प्रहरीलाई उनको पेट अस्भाविक लाग्यो । अझै बढी शंका उत्पन्न भएपछि प्रहरीले काठमाडौं मेडिकल कलेजमा लगेर उनको एक्सरे गरायो । एक्सरे गर्दा पेटमा ठोस पदार्थ रहेको भेटिएपछि प्रहरी बृत्त गौशालामा लगेर शौच गराउँदा मलद्वारबाट बेलनाकार देखिने अर्धठोस सुनको ४ वटा डल्ला फेला परेको प्रहरीले जनाएको छ । एक्सरेमा केही वस्तु देखिएपछि प्रहरीले गौशालामा लगेर शौच गराउँदा मलद्वाराबाट बेलनाकारको सुनको चार वटा पोका फेला परेको प्रहरीले जनाएको छ । उनको विषयमा थप अनुसन्धान भइरहेको छ । पछिल्लो समय सुन तस्करी गरेर भित्र्याउनेहरुको संख्या बढेको छ । सुन तस्करीको आशंकामा विदेशबाट फर्किएका यात्रुहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हुने चेक जाँचमा कडाइ पनि गरिँदै आएको छ । पछिल्लो समय विदेशबाट विभिन्न तरिका अपनाएर नेपालमा सुन तस्करी पनि बढ्दै गएको देखिन्छ । तर, अधिकांश घटनामा प्रहरी र भन्सार विभागले सफलता पनि पाउने गरेको छ । केही महिना अगाडि एक जनाले लगाउने कपडाको बटममा सुन लुकाएर ल्याएको भेटिएको थियो ।

सेयर बजार सामान्य अंकले घट्दा रिडीको सर्वाधिक कारोबार, मन्दाकिनीको सेयरमा सर्किट

काठमाडौं । साताको पहिलो दिन पूँजी बजार सामान्य अंकले घटेको छ । यसअघि पनि घट्दै आएको बजार आइतबार पनि घटेको हो । शुक्रबारका दिन स्थिर रहेको नेप्से परिसूचक आइतबार भने दिनभरिको उतार चढाव हुँदै सामान्य अंकले घटेर बन्द भएको छ । बैंकिङ्ग क्षेत्रमा देखिएको तरलता अभाव कायम रहेको कारण बैंकहरुले कर्जा प्रवाह गर्न रोकेका छन् । यसको प्रत्यक्ष प्रभाव पूँजी बजारमा परेको लगानीकर्ताहरु बताउँदै आएका छन् । घरजग्गा क्षेत्रमा सुरु भएको मन्दीले पनि सेयर बजार घटेको हुनसक्ने अनुमान लगानीकर्ताले गरेका छन । तर, कित्ताकाट रोक्का गरेका कारण घरजग्गा कारोबार बन्द भएकाले घरजग्गा कारोबारी व्यवसायीहरु पूँजी बजारमा आउने र नेप्से बढ्ने धारणा लगानीकर्ताको छ । अन्तराष्ट्रिय बजारमा आएको पेट्रोलियम पदार्थको मूल्य घट्दै गएकाले अर्थतन्त्र सुधार हुने संकेत देखिएको सेयर बजार जानकार बताउँछन । आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि बजारमा खर्च बढ्ने र रेमिट्यान्स पनि बढ्दै जाने भएकाले बजारले आगामी दिनमा बढ्ने अनुमान विज्ञहरुले गरेका छन । आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ७.७२ प्रतिशत घटेर २०६०.५५ अंकमा बन्द भएको छ । यस्तै आज दिनभरिमा २१८ कम्पनीको ५३ लाख ३९ हजार ४ कित्ता सेयर ४३ हजार ४५५ पटक किनबेच हुँदा २ अर्ब ४ करोड ७० लाख ९३ हजार ६८९ रुपैयाँ बराबरको कारोबार भएको छ । आइतबार बैंकिङ्ग समूह ०.०८ प्रतिशत, होटल एण्ड टुरिजम समूह १.०६ प्रतिशत, निर्जीवन बीमा समूह ०.१ प्रतिशत र म्यानुफ्याक्चरिङ्ग एण्ड प्रोसेसिङ्ग समूह ०.४५ प्रतिशत बढेको छ । यस्तै, ट्रेडिङ्ग समूह १.९३ प्रतिशत, अन्य समूह १.६७ प्रतिशत, जीवन बीमा समूह ०.३९ प्रतिशत, इन्भेष्टमेन्ट समूह ०.७८ प्रतिशत, वकास बैंक समूह ०.९२ प्रतिशत, हाइड्रोपावर समूह १.१५ प्रतिशत, फाइनान्स समूह ०.९२ प्रतिशत, माइक्रोफाइनान्स समूह ०.१६ प्रतिशत र म्युचुअल फण्ड समूह ०.६२ प्रतिशत घटेको छ । आज मन्दाकिनी हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशत बढेको छ । यस्तै, उपर हेवीखोलाको सेयर मूल्य ९.९८ प्रतिशत र स्वेतगंगाको ३.५६ प्रतिशतले सेयर मूल्य बढेको छ । यस्तै, रिभरफल्स पावरको सेयर मूल्य ५.१९ प्रतिशत घटेको छ । हालै रैराङ पावरसँग मर्जर भएको रिडी पावरको सबैभन्दा धेरै १२ करोड २८ लाख ५० हजार ९६८ रुपैयाँ र अपि पावरको १० करोड २५ हजार ७०२ रुपैयाँ बराबरको कारोबार भएको छ ।

बैंकहरुमा निक्षेप र कर्जा दुबै बढ्यो

काठमाडौं । वाणिज्य बैंकहरुमा निक्षेप संकलन र कर्जा लगानी दुबै बढेको छ । नेपाल बैंकर्स संघका अनुसार साउनको अन्तिम सातामा निक्षेप १२ अर्ब र कर्जा लगानी २ अर्बले बढेको हो । साउन लागेदेखि निरन्तर घटेको निक्षेप अन्तिम सातामा बढेर ४४ खर्ब ३३ अर्ब रुपैयाँ पुगेको छ । जुन अघिल्लो साता ४४ खर्ब २१ अर्ब रुपैयाँ थियो । साउनको पहिलो सातामा भने बैंकहरुमा ४४ खर्ब ७८ अर्ब रुपैयाँ संकलन थियो भने असार अन्तिम सातामा ४५ खर्ब ४१ अर्ब रुपैयाँ थियो । यससँगै असारको तुलना साउनको निक्षेप १ खर्ब ८ अर्ब रुपैयाँले घटी हो । त्यस्तै, समीक्षा अवधिमा बैंकहरुले ४१ खर्ब ७७ अर्ब रुपैयाँ बराबरको कर्जा लगानी गरेका छन् । अघिल्लो साता ४१ खर्ब ७५ अर्ब रुपैयाँ रहेको यस्तो रकम २ अर्ब रुपैयाँले बढेको हो । गत असार अन्तिम सातामा पनि बैंकहरुले ४१ खर्ब ७५ अर्ब रुपैयाँ बराबरको कर्जा लगानी गरेका थिए ।

आइएमई पेबाट दराज वालेट डे अफरमा भुक्तानी गर्दा १० प्रतिशत छुट पाइने

काठमाडौं । आइएमई पे र दराजबीच ‘दराज वालेट डे’ को लागि सम्झौता भएको छ । सम्झौता अनुसार हरेक बुधबार आइएमई पे मार्फत भुक्तानी गर्दा १० प्रतिशत छुटको रिडिम भाउचर पाइने छ । प्रयोगकर्ताहरुलाई हरेक बुधबार आइएमई पे एपको १० प्रतिशत छुट (३५० रुपैयाँसम्मको) पाइने रिडिम भाउचर दराजको होम पेजमा प्रदान गरिने छ । यस अघि पनि आइएमई पे दराजको भुक्तानी पार्टनर रही यस्ता विभिन्न छुट सम्बन्धित अफरहरु ल्याएका छन् । दराज नेपाल र आइएमई पेबीच फाल्गुन १३ गते आइएमई कम्प्लेक्समा भएको यो सम्झौताले पुरानो प्रयोगकर्ताहरुको साथै नयाँ प्रयोगकर्ताहरुलाई डिजिटल प्रविधि चलाऊन प्रोत्साहन दिने दुवै कम्पनीले जनाएका छन् ।

एक्सेल डेभलपमेन्ट बैंकले ल्यायो ९.०५ प्रतिशत ब्याज दिने खाता, महिनादिनमै भुक्तानी

काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंकले सर्वसाधारणहरुको लागि ‘एक्सेल समृद्धि बचत खाता’ संचालनमा ल्याएको छ । बैंककाे अनुसार यसबचत खातामा वार्षिक ९.०५ प्रतिशत ब्याजदर प्राप्त गर्न सकिने छ । बैंककाे अनुसार न्यूनतम २ हजार रुपैयाँमा याे खाता खोल्न सकिने छ भने ब्याज मासिक रुपमा प्राप्त हुनेछ । सबै उमेर समुहका नेपाली नागरिकहरुले याे खोल्न सक्ने बैंकले जनाएकाे छ । बैंकले यस एक्सेल समृद्धि बचत खाताका खातावालाहरुलाई निःशुल्क मोबाइल बैंकिङ्ग, एटिएम कार्ड, चेक बुक लगायत अन्य बैंकको एटिएमबाट रकम निकाल्दा शुल्क मिनाहाका साथै ग्राहकको अनुरोधमा होम बैंकिङ्गको सुविधा पनि उपलब्ध गराउने जानकारी दिएकाे छ । हाल बैकले बैदेशिक विप्रेषणलाई प्रोत्साहन गर्न बार्षिक १०.०५ प्रतिशत व्याज प्राप्त हुने रेमिट बचत खाता र बार्षिक १३.०५ प्रतिशत व्याज प्राप्त हुने रेमिट मुद्धति खाता समेत संचालन गरिरहेको छ । यसका अतिरिक्त १० वर्षमा ३ गुना तथा १५ वर्षमा ५ गुना हुने मुद्दती निक्षेपहरु पनि संचालनमा रहेका छन् । झापा, मोरङ्ग, सुनसरी, इलाम र पाँचथर कार्यक्षेत्र भएको यस बैंकले ४४ वटा शाखामार्फत स्थानिय स्तरमा बैंकिंङ्ग सेवा प्रदान गर्र्दै आएको छ । बैंकले १ नं. प्रदेश भरी सेवा विस्तार गरी प्रादेशिक बैंक बन्नका लागि आवश्यक पुँजी समेत पुर्याई नेपाल राष्ट्र बैंकमा आवेदन दिईसकेको छ ।