दोर्दी करिडोरको बिजुली जोड्ने वैकल्पिक प्रसारण लाइन तयार
काठमाडौं । लमजुङको दोर्दी करिडोरमा निर्माणाधीन जलविद्युत् आयोजनाको बिजुली राष्ट्रिय प्रसारण प्रणालीमा जोड्नका लागि वैकल्पिक व्यवस्थासहितको प्रसारण लाइन तयार भएको छ । सो करिडोरमा निर्माणाधीन जलविद्युत् आयोजनाको बिजुली उदीपुर हुँदै मध्यमस्र्याङदीको स्वीचयार्ड सिउँडीबारमा जोड्ने गरी वैकल्पिक व्यवस्था गरिएको छ । नेपाल विद्युत् प्राधिकरणले कूल छ किलोमिटर लामो प्रसारण लाइनमार्फत बिजुली जोड्न सकिने गरी नयाँ व्यवस्था गरिएको मस्र्याङदी करिडोर २२० केभी प्रसारण लाइन आयोजनाका प्रमुख चिरन्तनविक्रम राणाले राससलाई जानकारी दिए । ‘हामीले सबै परीक्षणको काम सम्पन्न गरिसकेका छौं, प्रवद्र्धकले चाहेको बेलामा नै अब बिजुली जोड्न सक्छन,’ आयोजना प्रमुख राणाले भने ‘कार्यकारी निर्देशकले पनि शिघ्र काम सम्पन्न गर्न दिएका छन्, हामीले सबै काम सम्पन्न गरेर तयारी अवस्थामा बसेका छौं ।’ वन क्षेत्रको रुख कटानमा देखिएको समस्या तथा अन्य स्थानीयवासीको मागका कारण लामो समयदेखि मार्कीचोक हुँदै लमजुङ खण्डमा प्रसारण लाइन निर्माणको कामले गति लिन नसकेपछि प्राधिकरणले आफ्नो प्रतिवद्धताअनुसार प्रसारण लाइन तयार पारेको हो । हाल तयारी हालतमा रहेको प्रसारण लाइनलाई १३२ केभीमा चार्ज गरिने छ । सो प्रसारण लाइनको क्षमता २२० केभी भए पनि तत्काल कम क्षमता चार्ज गरेर प्रवद्र्धकको बिजुली प्रणालीमा जोडिने आयोजना प्रमुख राणाको भनाइ छ । लमजुङकै ङादी तथा त्यसका सहायक खोलामा निर्माणाधीन जलविद्युत् आयोजनाको विद्युत् खुदी सवस्टेसनमा जोडिने छ । मस्र्याङ्दी र त्यसका सहायक नदीमा उत्पादन हुने विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाहका लागि मस्र्याङ्दी करिडोर २२० केभी प्रसारण लाइन आयोजना सुरु गरिएको हो । प्रसारण लाइनबाट करिब एक हजार छ सय मेगावाट विद्युत् प्रवाह गर्न सकिनेछ । उहाँका अनुसार हिमालयन पावर पार्टनरको २७ मेगावाट क्षमताको दोर्दीखोला जलविद्युत् आयोजनाले बिजुली जोड्छौं भनेकै दिन जोड्न सकिने भएको छ । यस्तै लिबर्टी इनर्जी लिमिटेडको २५ मेगावाट क्षमताको माथिल्लो दोर्दी ‘ए’ जलविद्युतको आयोजना निर्माणाधीन छ । त्यस्तै दोर्दीखोला जलविद्युत् कम्पनीको १२।१ दोर्दी–१ पनि तत्कालै जोड्न सकिनेछ । चेपे खोलाका निर्माणाधिन सात मेगावाटको अर्को एक आयोजनाको समेत बिजुली सोही प्रसारण लाइनमा जोडिँदा तत्कालै ७० मेगावाट बराबरको बिजुली केन्द्रीय प्रणालीमा थप हुनेछ । चितवनको भरतपुरदेखि मनाङको धारापानीसम्मको डबल सर्किट प्रसारण लाइनको लम्बाइ करिब एक सय १३ किलोमिटर छ । आयोजनालाई तीन प्याकेजमा विभाजन गरी काम भइरहेको छ । पहिलो प्याकेजअन्तर्गत उदीपुरबाट नयाँ भरतपुर सवस्टेसनसम्मको करिब ६७ किलोमिटर प्रसारण लाइन निर्माण भइरहेको छ । दोस्रो प्याकेजअन्तर्गत नयाँ भरतपुर र उदीपुर सवस्टेसन निर्माणाधीन छन् । तेस्रो प्याकेजअन्तर्गत खुदीबाट धारापानीसम्मको ४६ किलोमिटर प्रसारण लाइन र दुई सवस्टेसन निर्माण भइरहेका छन् । नेपाल सरकारको लगानी र युरोपेली लगानी बैंक ९इआइबी०को सहुलितपूर्ण ऋणमा निर्माणाधीन आयोजनाको अनुमानित लागत करिब १६ अर्ब बराबर छ । लमजुङमा रु २३ अर्बभन्दा बढी लगानीमा पाँच जलविद्युत् आयोजना निर्माणाधीन छन् । यस्तै पिपुल्स हाइड्रोपावर कम्पनीद्वारा ५४ मेगावाटको सुपर दोर्दी ‘ख’ पनि सोही प्रसारण लाइनमार्फत नै प्रवाह हुनेछ । सो करिडोरका सबै आयोजना निर्माण सम्पन्न भएपश्चात् एक सय २५ मेगावाट बिजुली उत्पादन हुनेछ । त्यहाँ निर्माण भएका आयोजनाबाट एक वर्षदेखि पाँच वर्षभित्र विद्युत् उत्पादन गर्ने लक्ष्य छ । त्यस्तै दोर्दी करिडोरमै छ्याङ्दी खोला हाइड्रोपावर कम्पनीले सोही खोलामा चार मेगावाटको जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । दोर्दी करिडोरको सबैभन्दा माथिल्लो तटमा पिपुल्स हाइड्रोपावरको सुपर दोर्दी ‘ख’ (५४ मेगावाट) आयोजनामा कूल रु आठ अर्ब ८० करोड लगानी छ । सो आयोजनामा प्रभावित क्षेत्रका बासिन्दा र जिल्लावासीको पनि २७ करोड लगानी रहेको छ । निर्माण सम्पन्न भएका आयोजनाको बिजुली केन्द्रीय प्रसारण प्रणालीमा जोड्न नपाएको भन्दै गुनासो आएपछि प्राधिकरणले मस्र्याङ्दी करिडोर प्रसारण लाइनको प्रगतिका बारेमा पटक–पटक चासो राख्दै स्थलगत अनुमगनसमेत गरेको थियो । प्राधिकरणका कार्यकारी निर्देशकलगायतको टोलीले सो प्रसारण लाइन र सवस्टेशनको स्थलगत निरीक्षण गरी वैकल्पिक व्यवस्थामार्फत नै भए पनि बिजुली जोड्ने प्रतिवद्धता जनाएको थियो । प्राधिकरणको खुदी सवस्टेसनको निर्माणको काम अन्तिम चरणमा पुग्न लागेको छ । धारापानी सवस्टेसनको काम भइरहेको छ । भौगोलिक रुपमा विकट ठाउँमा रहेकाले धारापानी सवस्टेसनको निर्माणमा आशातित सफलता हासिल हुन सकेको थिएन । नयाँ भरतपुर र उदीपुर सवस्टेसनमा क्रमश २२०/१३२ केभी, ३२० एमभिए र २२०/१३२ केभी, १६० एमभिए तथा १३२/३३ केभी, ५० एमभीए क्षमताका पावर टान्सफर्मर रहने छन् । खुदी र धारापानी सवस्टेसनमा क्रमश : २२०/१३२ केभी, १६० एमभिए तथा १३२/३३ केभी, ५० एमभिए र २२०/१३२ केभी, १०० एमभिए तथा १३२/३३ केभी, ३० एमभिए क्षमताका पावर ट्रान्सफर्मर रहने छन् । वन क्षेत्रको जग्गा प्रयोग तथा रुख कटानका लागि स्वीकृती लिन लामो समय लागेको थियो । सो प्रसारण लाइनअन्तर्गत बाँकी रहेका अन्य काम पनि आगामी एक वर्षभित्रै सम्पन्न गर्ने लक्ष्य राखिएको छ । यस्तै ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले पनि सो आयोजनाको स्थलतगत निरीक्षण गरी काम सम्पन्न गर्न यसअघि निर्देशन दिएकी थिइन्। मन्त्री भुसाल प्राधिकरण सञ्चालक समिति अध्यक्ष छन्।
आगामी निर्वाचनपछि गठबन्धनकै सरकार बनेमा त्यसले मान्छे कुट्दै हिँड्छ : अध्यक्ष ओली
काठमाडौं । आगामी निर्वाचनपछि पनि यही गठबन्धनको सरकार बनेमा त्यो सरकारले मान्छे कुट्दै हिँड्ने नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले बताएका छन् । परमादेशबाट बनेको सरकारले जनादेश प्राप्त गरेर फेरि पनि अहिले सरकारमा भएका दलहरूको सरकार बन्यो भने ओलीकै शब्दमा त्यो सरकारले मान्छे कुट्दै हिँड्ने उनले दाबी गरे । अध्यक्ष ओलीले गठबन्धनको सरकार बनेको एक बर्षमा देश तहसनहस भएको बताएका छन् । उनले मंसिर ४ गतेको निर्वाचनपछि नेकपा एमालेको सरकार बनेन भने देश झन् बर्बादीतर्फ जाने बताए । शनिवार झापाको बिर्तामोडमा प्रोग्रेसिभ इन्जिनियर्स एसोसिएसनको दोस्रो प्रदेशस्तरीय अधिवेशनको उद्घाटन गर्दै एमाले अध्यक्ष ओलीले सत्ता गठबन्धनकै सरकारका कारण बेतिथि उत्कर्षमा पुगेको बताए । झापाको बिर्तामोडमा भौतिक पूर्वाधार तयार भइसकेको इन्जिनियरिङ कलेज सञ्चालनका लागि इन्जिनियरिङ कलेजहरूकै सिन्डिकेटका कारण सञ्चालन हुन नसकेको ओलीले बताए । आफूले उक्त कलेज सञ्चालनका लागि जोडबल गरिरहेको र जतिसक्दो चाँडो सञ्चालनका लागि आफ्नो प्रयास जारी राख्ने उनले बताए । विकास निर्माणमा इन्जिनियरहरूको योगदान अपरिहार्य रहेको र नेपालको विकासमा अझ गति दिन धेरै काम गर्नुपर्ने भएकाले त्यस्का लागि जतिसक्दो योगदान दिन इन्जिनियरहरूलाई ओलीले आग्रह गरेका छन् ।
मकवानपुरमा राहदानी लिनेको सङ्ख्या बढ्यो
मकवानपुर । मकवानपुरमा राहदानी लिनेको सङ्ख्या बढ्दै गएको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार अघिल्लो वर्षको तुलनामा यस वर्ष अर्थात् गत आर्थिक वर्षमा राहदानी लिनेको सङ्ख्या अत्यधिक भएको जानकारी दिइएको छ । कार्यालयबाट प्राप्त जानकरीअनुसार गत आर्थिक वर्ष २०७८/७९ मा छ हजार पाँच सय ३२ जनाले राहदानी लिएका थिए भने अघिल्लो वर्ष २०७७/७८ मा तीन हजार पाँच सय २४ जनाले राहदानी लिएका थिए । झण्डै यो सङ्ख्या दोब्बर रहेको छ । गत आव २०७८/७९ मा सो कार्यालयबाट छ हजार नौ सय ४७ जनालाई राहदानीका लागि साधारण सिफारिस भएको थियो भने चार हजार एक सय ३८ जनाको द्रूत सिफारिस भएको थियो । त्यसमध्ये प्रिन्ट भएर आएकामध्ये चार सय १५ राहदानी वितरण हुन बाँकी रहेको बताइएको छ । त्यस्तै कार्यालयबाट अघिल्लो आव २०७७÷७८ मा तीन हजार पाँच सय २४ राहदानी वितरण भएको थियो । त्यसमध्ये आठ सय ५० राहदानी वितरण हुन बाँकी रहेको छ । सो अवधिमा चार हजार तीन सय ७४ राहदानीका लागि साधारण सिफारिस भएको थियो भने दुई हजार नौ सय ५१ द्रूत सिफारिस भएको थियो । यसैगरी उक्त कार्यालयले गत आर्थिक वर्षमा विभिन्न प्रकृतिका एक सय ५६ मुद्दा फछ्र्योट गरेको जनाएको छ । गत आवमा दर्ता भएका एक सय ४९ मुद्दा तथा अघिल्लो आवबाट जिम्मेवारी सरेर आएका ३६ मुद्दामध्ये एक सय ५६ मुद्दा फछ्र्योट भएको सो कार्यालयबाट बुझिएको छ । बाँकी २९ मुद्दा चालु आवमा सरेर आएको छ । कार्यालयमा आव २०७८/७९ मा ५३ वटा नयाँ संस्था दर्ता तथा तीन सय सात संस्थाको नवीकरण भएको छ भने सोही अवधिमा दुई पत्रपत्रिका दर्ता गरी सञ्चालन गर्न अनुमति दिइएको बताइएको छ ।
माओवादी पदाधिकारीमा २१ सदस्य प्रस्ताव, महासचिवमा देवप्रसाद गुरुङ
काठमाडौं । लामो प्रयासपछि नेकपा (माओवादी केन्द्र) ले पार्टीको पदाधिकारी पाउने भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको स्थायी समितिको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पदाधिकारीको नाम प्रस्ताव गरेका हुन्। माओवादी केन्द्रीय कार्यालयका अनुसार पार्टीको वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ, उपाध्यक्षमा कृष्णबहादुर महरालाई प्रस्ताव गरिएको छ । यो प्रस्ताव केही समय पहिल्यै गरिएको भए पनि आजको बैठकमा पुनः पेश गरिएको छ । यस्तै महासचिवमा देवप्रसाद गुरुङलाई प्रस्ताव गरिएको छ । पार्टी महाधिवेशन सम्पन्न भएको आठ महिना अध्यक्ष दाहालले २१ सदस्यीय पदाधिकारी चयन गर्ने गरी प्रस्ताव गरिएको हो । माओवादीले गत पुसमा आठौं महाधिवेशनको आयोजना गरेको थियो । स्रोतका अनुसार उपमहासचिवमा नेता हरिबोल गजुरेल, जनार्दन शर्मा, वर्षमान पुन, पम्फा भुसाल, गिरिराजमणि पोखरेल, मात्रिका यादव र शक्ति बस्नेत प्रस्तावित छन् । त्यस्तै सचिवमा गणेश साह, दिनानाथ शर्मा, चक्रपाणी खनाल, देवेन्द्र पौडेल, लिलामणी पोखरेल, हितराज पाण्डे, हितमान शाक्य, राम कार्की र डिलाराम आचार्यको नाम प्रस्ताव गरिएको छ । यसैगरी कोषाध्यक्षमा केन्द्रीय कार्यालयका मुख्यसचिव श्रीराम ढकाललाई प्रस्तावित गरिएको छ । यो प्रस्तावलाई बैठकले छलफलसहित अनुमोदन गर्ने तयारी छ । लामो समयसम्म पदाधिकारी चयन हुननसकेको भन्दै पार्टीका नेता तथा कार्यकर्ताबाट आलोचना भइरहेको सन्दर्भमा त्यसलाई टुङ्गो लगाउन खोजिएको पार्टीले जनाएको छ ।
ट्विट गरेको आरोपमा साउदीमा एक महिलालाई चौतीस वर्षको जेल सजाय
एजेन्सी । ट्विट गरेको आरोपमा साउदी अरबको एक अदालतले एकजना विद्यावारिधीका विद्यार्थीलाई चौँतीस वर्षको जेल सजाय सुनाएको छ । बेलायतको लिड्स विश्वविद्यालयमा विद्यावारिधीको अनुसन्धानमा जुटेकी सलमा अल–शेहाबलाई अफवाह फैलाउने र असन्तुष्टहरूलाई रिट्विट गरेको आरोपमा ३४ वर्षको जेल सजाय सुनाइएको हो । साउदी अदालतको यो निर्णयबाट विश्वसमुदाय स्तब्ध भएको छ भने त्यसको विश्वव्यापीरूपमा निन्दा भएको छ । वासिङटनस्थित मानवअधिकार समूह फ्रिडम इनिसिएटिभका अनुसार बिदामा स्वदेशमा रहेकी उनलाई बेलायत फर्कने तयारीमा रहेका बेला गत वर्षको जनवरी १५ मा हिरासतमा राखेर साउदी प्रशासनले कारबाही थालेको थियो । एसोसिएटेड प्रेसले प्राप्त गरेको कानुनी कागजातहरूले उनको मुद्दा अदालतमा पठाउनु अघि अल–शेहाबले न्यायाधीशहरूलाई दुई सय ८५ दिन भन्दा बढी एकान्त कारावासमा राखिएको बताएकी थिइन् । फ्रिडम इनिसिएटिभले अल–शेहाबलाई साउदी अरबको शिया मुस्लिम अल्पसङ्ख्यकको सदस्यको रूपमा वर्णन गरेको छ जसले लामो समयदेखि सुन्नी–शासित राज्यमा व्यवस्थितरूपमा भेदभाव गरेको गुनासो गरेको छ । मानवअधिकारवादी संस्था एम्नेस्टी इन्टरनेशनलले अल–शेहाबको मुद्दालाई ‘घोर अनुचित’ र उनलाई सुनाइएको सजाय ‘क्रुर एवम् गैरकानूनी’ भएको भन्दै आलोचना गरेको छ । न्यायाधीशहरूले अल–शेहाबलाई ‘सार्वजनिक व्यवस्थामा गडबडी’ र ‘सामाजिक संरचनालाई अस्थिर’ गरेको आरोप लगाएका छन् भने आधिकारिक आरोपपत्रमा पनि सामाजिक सञ्जाललमा पोष्ट गरिएका उनका विषयवस्तुले झूटा अफवाह सम्प्रेषण गरेको दाबी गरिएको छ । उनले असन्तुष्ट व्यक्तिका खातालाई फलो र रिट्विट गरेको आरोप लगाइएको छ । दुई हजारभन्दा बढी फलोअर नभएको व्यक्तिगत खाताबाट जिज्ञासावस आफूले ट्विट र रिट्विट गर्नु र उनीहरूका दृष्टिकोढा नियाल्नु आतङ्वाद हो भन्ने आफूलाई नलागेको अपीलका क्रममा न्यायाधीशसमक्ष अल–शेहाबले बताएकी छन् । विशेष फौजदारी अदालतले उनलाई प्रतिआतङ्कवाद र साइबर अपराध कानुनअन्तर्गत ३४ वर्षको यात्रा प्रतिबन्धसहित ३४ वर्षको असाधारण कठोर सजाय सुनाएपछि उनले आफ्नो बचाउमा उक्त दलील पेश गरेकी हुन् ।
यस्ता छन् खाद्य सुरक्षाका लागि विज्ञको सुझाव
काठमाडौं । राष्ट्रियस्तरमा खाद्यान्न बचत देखिए पनि पारिवारिक तहमा झन्डै २१ प्रतिशत नेपाली अझै दैनिक निर्धारित क्यालोरीभन्दा कम खाद्यान्न उपभोग गर्न बाध्य छन् । तथ्याङ्कमा मुलुकको खाद्य सञ्चिति देखिँदै आए पनि असन्तुलित उत्पादन र वितरणले अझै सात दशमलव आठ प्रतिशत मानिस खाद्य असुरक्षाबाट पीडित रहेका देखाएको छ । नेपालको १५औँ पञ्चवर्र्षीय योजनामा पनि २१ प्रतिशत मानिसले पर्याप्त खाना नपाएको उल्लेख छ । कृषिमन्त्री मृगेन्द्रकुमार सिंह यादव देशभित्रको असन्तुलित उत्पादन र वितरणले करिब २० जिल्ला खाद्य असुरक्षाकै अवस्थामा रहेका बताउँछन् । यी तथ्याङ्कले मुलुक खाद्य असुरक्षातर्फ धकेलिइरहेको छ भन्ने कुरा देखाउँछ । त्यसैले मुलुकको खाद्य सुरक्षामा देखिएको यस्ता विषम जटिलतालाई मध्यनजर गर्दै त्यसको चुनौती सामनाका लागि विज्ञहरुले सरकारलाई अत्यावश्यक खाद्यवस्तुको उपलब्धता र मूल्य तथा गुणस्तरको सूचना अनलाइन माध्यमबाट अध्यावधिक गर्ने तथा बजार पूर्वाधार एवं बजार नेटवर्किङ प्रणालीको विकास गर्नुपर्नेलगायत विभिन्न सुझाव दिँदै आएका छन् । राष्ट्रिय सुरक्षा परिषद् र नेपाली सेनाले विज्ञहरुको सहभागितामा यही भदौ १ र २ गते काठमाडौँमा खाद्य सुरक्षाका विषय दुई दिनसम्म कार्यशाला गोष्ठी आयोजना गरी खाद्य असुरक्षाका विभिन्न पाटा केलाएर सरकारलाई केही राय÷सुझाव पेस गरेको हो । कार्यशाला गोष्ठीले खाद्य अधिकार र खाद्य सम्प्रभुताको सम्बन्धी ऐन २०७४ को प्रभावकारी कार्यान्वयन र खाद्य सम्प्रभुताको सुनिश्चितता गर्नुपर्ने, कृषि क्षेत्रको प्रतिस्पर्धाको क्षमता बढाउँदै कृषिमा युवाको आकर्षण बढाउनुपर्ने र आत्मनिर्भरतर्फ उन्मुख गराउनुपर्ने आवश्यकता औँल्याएको नेपाली सेनाका सहायकरथी तथा परिषद्का सहायक संयोजक कृष्णराज आचार्यले बताए । उनका अनुसार मुलुकको खाद्य सुरक्षा व्यवस्थापनका लागि खाद्य भण्डार सुनिश्चित गरी खुला सिमानाको कारण भइरहेको खाद्यसम्बन्धी अनौपचारिक व्यापारको अध्ययन अनुसन्धानमार्फत तथ्याङ्क यकिन गर्नुपर्ने सुझाव पनि दिइएको छ । प्रभावकारी अनुगमनका साथै नीति नियमको कार्यान्वयन, कृषि तथ्याङ्क व्यवस्थापनमा डिजिटल सेवा विस्तार र खाद्य सुरक्षा र गुणस्तरीय खाद्य उपयोगसम्बन्धी चेतना अभिवृद्धिको आवश्यकता पनि औँल्याइएको छ । सहायक संयोजक आचार्यका अनुसार विज्ञ सहभागी उक्त छलफलले एकीकृत कृषि कानुन तर्जुमा र कार्यान्वनयमा जोड दिएको छ । कृषिसँग सम्बन्धित ११ मन्त्रालय र २३ राष्ट्रिय नीति र ३८ कानुन आकर्षित हुने हुँदा अन्तरमन्त्रालय र अन्तरविभागबीच समन्वय र सहकार्यको संरचनागत परिवर्तनको जरुरी रहेको औँल्याइएको छ । कृषिको व्यावसायिकीकरण तथा औद्योगिकरण गर्न, अनुसन्धानमा आधारित कृषि नीति तर्जुमा गर्न, परम्परागत धानबाहेक बालीको उत्पादन तथा उपभोग बढाउन, नेपाल कृषि अनुसन्धान परिषद्९नार्क०लाई थप सक्रिय बनाई हाइब्रिड बालीलाई विस्तार गर्न र कृषियोग्य जमिनको खण्डीकरणलाई रोक्ने विषयमा पनि सरकारलाई राय दिइएको छ । यस्तै भूमिको उत्पादकत्व वृद्धि र सदुपयोग गरी आन्तरिक उत्पादन बढाउँदै कृषिजन्य वस्तुको आयात निरुतसाहित गर्न, तराई तथा भित्री मधेसमा खाद्य पकेट क्षेत्र घोषण गरी त्यहाँका किसानलाई स्तरीय सेवा, बीउ, मल, कीटनाशक औषधिलगायत सामग्री सहुलियत दरमा उपलब्ध गराउन, उत्पादनका लागि बढी प्रेरित गर्न, सार्वजनिक संस्थाले खाद्यान्न आपूर्ति तथा वितरणमा सार्वजनिक निजी साझेदारीको ढाँचा अवलम्बन पनि सुझाव पनि दिइएको आचार्यले जानकारी दिनुभयो । खाद्यान्न उत्पादन, सङ्कलन, भण्डारण तथा वितरणमा स्थानीय सरकार र सहकारीलाई प्रोत्साहन गरी स्वदेशी उत्पादन र उपभोगलाई प्राथमिकता दिने खालका कार्यक्रम तीनै तहका सरकारबाट अघि बढाउनुपर्ने सुझाव विज्ञहरुबाट आएको छ । स्थानीय स्तरमै खाद्यान्नको माग र आपूर्तिको विश्लेषण गरी खाद्यान्नको विविधीकरणमा जोड दिइएको छ । कृषि जनशक्ति प्रक्षेपण र विकास र भूमिको उत्पादकत्व वृद्धि र सदुपयोग गर्न पनि भनिएको छ । उक्त कार्यशालामा प्रस्त्त सन् २०२१ को एक तथ्याङ्कले नेपाल जलवायु परिवर्तनका दृष्टिले १२औँ जोखिमयुक्त मुलुक रहेकाले त्यसको असरबारे सजक र सतर्क सही सम्भावित चुनौतीको सामनाका लागि तयार हुनुपर्नेमा जोड दिएको छ । सन् २०२२ को अन्त्य सम्ममा रुस र युक्रेन युद्धका कारण उब्जने परिस्थितिले थप पाँच करोड मानिस भोकमरीको सङ्कटमा पर्नसक्ने विश्लेषण रहेको छ । सन् २०२० को जनवरीको तुलनामा खाद्यान्नको मूल्य अन्तर्राष्ट्रिय बजारमा ४० प्रतिशतसम्म वृद्धि भएको यथार्थताबीच यहाँ उक्त कार्यशाला गोष्ठी भएको हो । भारतले विश्व चामल व्यापारमा करिब ४० प्रतिशत हिस्सा ओगटेकामा यो वर्ष १३ प्रतिशत रोपाइँ कम भएकाले धान उत्पादनमा कमी हुने विश्लेषण गरिएको छ । रासायनिक मलको मूल्यमा वृद्धि र समयमै उपलब्ध हुन नसक्दा श्रीलङ्का, पाकिस्तान बङ्गलादेश र नेपालको धान उत्पादनसमेत घट्नसक्ने प्रक्षेपणसमेत गरिएको छ । उक्त कार्यशाला गोष्ठीमा प्रधानमन्त्री शेरबहादुर देउवाले समेत सम्बोधन गरेको र त्यहाँबाट आएको निष्कर्षले खाद्य सुरक्षा व्यवस्थापनमा महत्वपूर्ण सहयोग मिल्ने विश्वास व्यक्त गरेका थिए । कोभिड–१९ ले विश्व अर्थतन्त्रमा थोपरेको चुनौती र भविष्यमा समेत आउनसक्ने यस्ता सम्भावित चुनौतीले खाद्य सुरक्षा स्थितिको यथार्थतालाई नकार्न नसकिने स्थिति रहेको कार्यशालाको निष्कर्ष छ । दुई दिनको गोष्ठीमा खाद्य उत्पादन क्षमताको वर्तमान अवस्था, कृषि क्षेत्रको समग्र विश्लेषण, नेपालमा खाद्यान्न उपलब्धताका अवस्था र चुनौती, नेपालमा खाद्य सुरक्षा यकिन गर्न गरिएको नीतिगत व्यवस्था, त्यसको कार्यान्वनयको अवस्था, अन्तर्राष्ट्रिय, क्षेत्रीय तथा आन्तरिक राजनीतिक एवं आर्थिक परिवेशमा खाद्य सुरक्षामा आउने चुनौतीका विषयमा विश्लेषण गरी उक्त निष्कर्ष निकालिएको हो ।
कुहिने फोहर व्यवस्थापनका लागि स्थान पहिचान भएन
काठमाडौं । काठमाडौँ उपत्यकामा उत्पादन हुने कुहिने फोहर यहीँ नै व्यवस्थापन गर्ने भने पनि हालसम्म स्थान पहिचान हुन सकेको छैन । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साहले कुहिने फोहर यहीँ व्यवस्थापन गर्ने घोषणा गरेपनि हालसम्म कार्यान्वयन हुन सकेको छैन । सम्भावित पाँच स्थानको पहिचान गरे पनि स्थानीय सकारात्मक हुन नसक्दा थप प्रक्रिया अघि बढ्न नसकेको कामपाले जनाएको छ । कामपाका प्रमुख साहको सचिवालय सदस्य सुनील लम्सालका अनुसार अहिलेसम्म विभिन्न पाँच स्थानमा ५० देखि एक सय ५० रोपनी जग्गाको पहिचान भएको छ । उक्त विषयमा स्थानीय सकारात्मक हुन नसकेका उनको भनाइ छ । उनीहरुलाई कुहिने फोहरबाट मल उत्पादन गर्दा हुने फाइदा र त्यसको सकारात्मक पक्षका बारेमा जानकारी दिन आवश्यक रहेको लम्सालले बताए। स्थानीय सकारात्मक नभएकै कारण गत साउन अन्तिम सातादेखि कीर्तिपुरमा केही कुहिने फोहर व्यवस्थापन गर्ने भने पनि काम सुरु हुन नसकेको कामपाले जनाएको छ । तीन महिनापछि हानिकारक फोहर बञ्चरेडाँडामा नफाल्ने गरी कार्य अघि बढाइएको कामपाको दाबी छ । दुई महिनादेखि विसर्जन हुन नसकेको काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापनको सम्बन्धमा बुधबार काठमाडौँ, धादिङ र नुवाकोटका प्रमुख जिल्ला अधिकारी, सिसडोल र बञ्चरेडाँडाका स्थानीयबीच भएको चारबुँदे सहमतिपछि बिहीबारदेखि साबिकबमोजिम फोहर व्यवस्थापन हुन थालेको छ । पटकपटकको सहमति कार्यान्वयन नगरेको भन्दै स्थानीयले समयसमयमा अवरोध गर्दै गर्दा काठमाडौँमा फोहरको डङ्गुर थुप्रने गरेको छ । यसरी स्थानीयले सहमतिपछि पनि अवरोध गर्ने गरेकाले हालको सम्झौता पनि दीर्घकालीन नभएको भन्दै कामपाले अन्य स्थानमा पनि फोहर व्यवस्थापन गर्न स्थान पहिचानको काम जारी राखेको जनाएको छ । साबिकबमोजिम फोहर व्यवस्थापनका लागि स्थानीयले अवरोध नगरे, पानी परेर बाटो बन्द नभए आगामी १० दिनमा यसअघि थुप्रिएको सबै फोहर अन्तिम व्यवस्थापनस्थलसम्म लग्ने कामपाको योजना छ । हाल कामपासहित अन्य १७ स्थानीय तहको फोहरको अन्तिम व्यवस्थापन बञ्चरेडाँडामा हुने गरेको छ ।
बेरोजगार अन्त्य गर्ने कार्यमा वर्तमान सरकार केन्द्रीत छ मन्त्री कार्की
काठमाडौं । नेपाल सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले घरघरमा रोजगार सृजना गर्ने कार्यमा वर्तमान सरकार केन्द्रित रहेको बताएका छन् । सुनसरीको बराहक्षेत्र नगरपालिका–१० प्रकाशपुरमा शनिबार नेटवर्क विस्तार तथा शुभारम्भ कार्यक्रमको उद्घाटन गर्दै मन्त्री कार्कीले वर्तमान सरकारले सूचना प्रविधिको विकास गरेर रोजगारी सृजना गर्नमा केन्द्रित भएको बताए। देशमै रोजगारी नहुँदा युवा खाडी मुलकमा गएर जोखिम मोलेर कार्य गरिरहेको उल्लेख गर्दै मन्त्री कार्कीले त्यसको अन्त्यका लागि सरकार विभिन्न किसिमको काम गरिरहेको बताए । स्वदेशमै रोजगारीको सृजना नहुँदा युवायुवती विदेश जान बाध्य भएको उनको भनाइ थियो । मुलुकलाई विकसित गर्न सबै मिलेर देशबाट बेरोजगारी र गरिबी अन्त्य गर्न आवश्यक भएको मन्त्री कार्कीले बताए । कार्यक्रममा सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, प्रहरी प्रमुख प्रभुप्रसाद ढकाल तथा सरोकारवालाको सभागिता थियो । यसैबीच मन्त्री कार्कीले आजै बाढीपीडित क्षेत्रको निरीक्षण गरेका छन् । केही दिनअगाडि सप्तकोसी नदीले बहाव परिवर्तन गर्दा सुनसरी बराहक्षेत्र नगरपालिका–६ र ८ मा बाढीबाट प्रभावित क्षेत्रको उनले निरीक्षण गरेका हुन्। उक्त क्षेत्रलाई मन्त्रिपरिषद् बैठकले सङ्कटग्रस्त क्षेत्रका रुपमा घोषणा गरिसकेको जानकारी दिनुहुँदै मन्त्री कार्कीले आवश्यक राहतका लागि काम भइरहेको बताए ।