तपाईंलाई थाहा छ ? पिज्जा खाँदा ८ मिनेट जीवन घट्छ
एजेन्सी । यदि तपाईंले एक पटक हट डग खानुभयो भने, तपाईंको जीवन ३६ मिनेटले कम हुनेछ। यससँगै पिज्जा खानेहरूको उमेर ८ मिनेटले घट्नेछ । अचम्म नमान्नुहोस्, वास्तवमा अमेरिकाको एक विश्वविद्यालयले खानाको लतमा अनुसन्धान गरेको छ । यसमा विभिन्न खानेकुरा र हाम्रो जीवनमा आउने उतारचढावको बारेमा उल्लेख गरिएको छ । अब तपाई सोच्दै हुनुहुन्छ कि खाना एक नशा हो जुन लत हुनेछ। यसरी सोच्नुहोस्– त्यो खानेकुरा वा पेय पदार्थको बारेमा सोच्नुहोस्, जस बिना तिमी बाँच्न सक्दैनौ। यो बिना तपाईं बेचैन महसुस गर्न थाल्छ। पिज्जा कसैको दिमागमा आएको हुनुपर्छ। कसैको मनमा चकलेट, कसैको मनमा म्यागी । यसलाई खानाको लत भनिन्छ। आजको आवश्यकताका समाचारमा हामीले खानेकुराको लत किन लाग्छ, यसका बेफाइदाहरु के के छन् र यसबाट कसरी बच्न सकिन्छ भन्ने कुरा थाहा पाउनेछौँ । मलाई किन पिज्जा, बर्गर, चिज र हट डग जस्ता जंक फूडको लत लागेको छरु तिनीहरूमा के हुन्छ कि मानिसहरू नखाएर बाँच्न सक्दैनन् ? मस्तिष्क अर्थात् मस्तिष्कमा एउटा प्रणाली हुन्छ। जसलाई पुरस्कार प्रणाली (रिवार्ड सिस्टम) भनिन्छ। यसमा मस्तिष्कले फिल गुड हर्मोन उत्सर्जन गर्छ । यसमा न्यूरोट्रान्समिटर डोपामाइन हुन्छ, जसले मस्तिष्कलाई आनन्द दिन्छ। पिज्जा, बर्गर, हट डग र चकलेट जस्ता जंक फूडबाट मस्तिष्कलाई दिइने इनाम अन्य खानेकुराबाट प्राप्त हुने पुरस्कारभन्दा धेरै शक्तिशाली हुन्छ । जसका कारण मानिसहरु जंक फूड बढी खान रुचाउँछन् र त्यसको लत लाग्ने गर्छन् । मनोवैज्ञानिक भन्छन्, रक्सी र चुरोटको लत जस्तै खानाको लत पनि जैविक रासायनिक अवस्था हो । यो निश्चित प्रकारको खाना संग राम्रो स्वाद छ। उदाहरण को लागी, केहि मीठो चीजहरु, केहि जंक फूड। यी चिज नखाएर मानिस बाँच्न सक्दैन । धेरै पटक उसलाई थाहा हुन्छ कि उसले जे खाइरहेको छ त्यो स्वास्थ्यको लागि राम्रो छैन। यति हुँदाहुँदै पनि उनले त्यो खानेकुरा खान्छन् । अब अनुसन्धानको बारेमा कुरा गर्नुहोस् जसले भन्छ कि पिज्जा-हट डगले जीवन छोटो पार्छ। यो अनुसन्धान अमेरिकाको मिशिगन विश्वविद्यालयका विज्ञहरुले गरेका हुन् । जसमा पिज्जा, हट डग, प्रशोधित मासु, गाईको मासु, झिंगा, सुँगुरको मासु, चिज बर्गर, आइसक्रिम, चकलेट जस्ता करिब ५ हजार ८०० खाद्यवस्तु राखिएको थियो । यस अनुसार यदि तपाईंले एकपटक पिज्जा खानुभयो भने, तपाईंले आफ्नो जीवनबाट ८ मिनेट गुमाउन सक्नुहुन्छ। अर्कोतर्फ, हट कुकुरहरू खानाले जीवनको ३६ मिनेट घटाउन सक्छ। यो अनुसन्धान नेचर फुड जर्नलमा प्रकाशित भएको छ । यस अनुसन्धानमा प्रोफेसर ओलिभियर जोलियट भन्छन्– यस अनुसन्धानमा बाहिर आएको नतिजाले मानिसलाई आफ्नो स्वास्थ्य र वातावरण सुधार्न मद्दत गर्नेछ । मानिसहरूले आफ्नो आहार अनुसार परिवर्तन गर्नुपर्छ। स्वास्थ्य विज्ञहरू पनि एक चुरोट पिउनाले जीवन ११ मिनेट कम हुने बताउँछन् । अब तपाई आफै सोच्नुहोस् कि पिज्जा र हटडगहरू चुरोट जत्तिकै खतरनाक छन् कि छैनन् ?
मेरो लक्ष्य नै विकास र समृद्धि हो वरिष्ठ-नेता पौडेल
तनहुँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले विकासबाहेक आफ्नो अरु स्वार्थ नभएको बताएका छन् । तनहुँको भानु नगरपालिका–१ भन्सारमा आज आयोजित कार्यकर्ता भेटघाटमा वरिष्ठ नेता पौडेलले जिल्लाको विकास र समृद्धि नै आफ्नो लक्ष्य रहेको बताएका हुन्। जिल्लाको विकास र समृद्धिबाट जनताको जीवनस्तर उकास्नका लागि राजनीति गरेको बताउँदै वरिष्ठ नेता पौडेलले त्यसका लागि आफू क्रियाशील रहेको बताए। मङ्सिर ४ गते हुने निर्वाचनमा तनहुँ क्षेत्र नम्बर १ बाटै उम्मेदवार बन्ने उनले बताए। संविधानको रक्षाका लागि गठबन्धन गरिएको र गठबन्धनले आगामी दिनमा पनि निरन्तरता पाउने उनले बताए। निर्वाचनको मिति तोकिएसँगै वरिष्ठ नेता पौडेलले गृहजिल्लामा कार्यकर्ता भेटघाटलाई तीव्र बनाएका छन् । पौडेलले आजै भानु नगरपालिका–३ खहरे, भानु नगरपालिका–६ कटहरे, शेपाबगैंचा, भानु नगरपालिका–५ नारेश्वरटारलगायतका ठाउँमा कार्यकर्ता भेटघाट गर्ने कार्यक्रम रहेको छ ।
करेन्ट लागेर बाबु र छोराको मृत्यु
बाँके । नेपालगञ्जमा करेन्ट लागेर आज बाबु र छोराको मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका–१७ निवासी करिब ४० वर्षीय परसुराम कलवार र २५ वर्षीय बब्लु कलवारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिनुभयो । अटो रिक्सा चार्ज गर्ने क्रममा छोरा बब्लुलाई करेन्ट लागेको र उनलाई बचाउन खोज्दा बाबु पर्शुरामलाई पनि करेन्ट लागेर गम्भीर घाइते भएपछि उनीहरुको नेपालगञ्जस्थित नर्सिङ होममा उपचारको क्रममा मृत्यु भएको थियो । शव परीक्षणका लागि भेरी अस्पताल लगिएको छ ।
कृषिमा यान्त्रीकरणले गोरु र राँगा पाल्नुपर्ने बाध्यता हट्दै
सुदूरपश्चिम । ट्र्याक्टर, थ्रेसर मेसिनसहितका कृषियन्त्रको प्रयोगले किसान गुलाब रानालाई खेती गर्न पहिलेको भन्दा निकै सहज भएको छ । विगतमा हलगोरु पालेर खेतीको काम गर्दै आउनुभएका उहाँले पछिल्ला वर्षमा ट्र्याक्टर, थ्रेसर, रोटाभेटरजस्ता कृषियन्त्रको प्रयोग गरेर खेती गरिरहनुभएको छ । कृषियन्त्रको प्रयोगपछि खेती गर्न पहिलेभन्दा सहज भएको र आम्दानी पनि भइरहेको अनुभव उनले सुनाए । ‘गोरुले खेत खनजोत गर्दा लागत खर्च र परिश्रम बढी लाग्थ्यो,’ उनले भने, ‘कृषियन्त्रले खेती गर्न निकै सहज भएको मात्र नभई छरछिमेकमा बेला बखत काम पाउँदा आम्दानी पनि भइरहेको छ ।’ धनगढी उपमहानगरपालिका–१३ निवासी कृषक राना गाउँका अन्य किसानसँग खेती गर्दा प्रयोगमा आएका आधुनिक कृषियन्त्रको फाइदाका बारेमा छलफल गर्दै थिए। ललितसिंह राना गोरु जोतेर खेती गर्दा आफूले बाल्यकालमा गर्नुपरेको कठिन परिश्रमका दिन स्मरण गराउँदै थिए। उनले भने, ‘उतिबेला राँगा वा गोरु जोतेर कडा मेहनत गरेर खेती गर्नुपर्दा दुःख झेलेका थियौँ, अहिले सबै चिजको सुविधा पुग्दा किसान भाग्यमानी छन् ।’ समय परिवर्तनसँगै पहिलेको भन्दा कृषिकर्म गर्न सहज भइरहे पनि मौसममा देखिने परिवर्तनले निम्त्याउने समस्याबाट भने विभिन्न बाली प्रभावित हुने गरेको उनीहरुको भनाइ छ । लालितसिंहले भने, ‘हालको जस्तो मौसमी समस्या भने उहिले थिएन, उतिबेलाको समयमा हिउँदे याममा अहिलेको जस्तो शीतलहर र गर्मीयाममा डुबान र खडेरी देखिने समस्या थिएन ।’ उनले घरमा रहेको राँगा र गोरु बेचेर खेत खनजोतमा प्रयोग हुने पावर टिलरसहितको कृषियन्त्र जोडेका छन् । कृषिमा यान्त्रीकरणको बढ्दो प्रयोगसँगै तराई क्षेत्रका किसानले खेती गर्दा गोरु र राँगा पाल्नुपर्ने बाध्यता विस्तारै हट्न थालेको छ । पहिले कृषियन्त्रको सहज उपलब्धता नहुँदा किसानले खेतीको काम गर्न घरमा गोरु र राँगा पाल्नुपर्ने बाध्यता थियो । आर्थिक अवस्था कमजोर भएका कतिपय साना किसानले भने अहिले पनि गोरु र राँगा पाल्ने गरेका छन् । कृषियन्त्रको प्रयोगले खेती गर्दा लाग्ने लागत खर्च घटेको, समयको बचत हुने गरेको र कृषितर्फ युवाको आकर्षण पनि बढाउन मद्दत पु¥याएको कृषि प्राविधिकले बताएका छन् । कृषि ज्ञान केन्द्र कैलालीका प्रमुख खगेन्द्रपसाद शर्मा कृषिमा यान्त्रीकरण दर बर्सेनि बढ्दै गएको बताउँछन् । पहाडका जिल्लाको तुलनामा तराईका जिल्लामा कृषियन्त्रको प्रयोग दर बढेको जनाइएको छ । उनले भने, ‘जिल्लामा वर्षभरिमा विभिन्न कृषिसम्बन्धी कार्यक्रमका नामबाट वार्षिक झण्डै एकहजार थान सानाठूला कृषियन्त्र अनुदानमा कृषक र कृषक समूहलाई उपलब्ध भइरहेको अनुमान छ ।’ कृषि कार्यक्रमअन्तर्गत सञ्चालित ‘कष्टम हाइरिङ सेन्टर’ मार्फत कृषकलाई सहुलियत भाडादरमा कृषियन्त्र उपलब्ध गराएर कृषिसम्बन्धी काम हुने गरेको पनि छ । सरकारका विभिन्न कृषि कार्यक्रमअन्तर्गत कृषकलाई सामान्यतया ५० प्रतिशत अनुदानमा कृषियन्त्र उपकरण उपलब्ध गराउने गरिएको छ । कृषियन्त्रको प्रयोग बढ्दा काम गर्न सहज भए पनि चाहिएको बेला रासायनिक मल नपाउने समस्याले भने हैरानी खेप्नुपरेको किसानको भनाइ छ । खेत खनजोत गर्नेदेखि लिएर बाली काट्ने भित्र्याउने काममा प्रयोग हुने ट्र्याक्टर, रोटाभेटर, मिनी टिलर, पावर टिलर, धान काट्ने रिपर, गहुँ दाउने थ्रेसर, काटेको बाली सुकाउने ड्रायरलगायतका कृषियन्त्रको प्रयोग पछिल्ला वर्षमा बढेको छ । ‘हलो जोत्ने हली, ट्र्याक्टर चलाउने ड्राइभर’ भन्ने भनाइ समाजमा छ । समाजमा हलो जोत्ने भन्दा चालकको बढी मानसम्मान गरिने हुँदा कृषियन्त्र चालाउनमा युवाको आकर्षण पनि बढेको जनाइएको छ । नेपालमा अधिकांश नागरिकले अपनाएको कृषि पेसाअन्तर्गत कृषिउपजको उत्पादन गरेर हुने आम्दानीबाट जीविका चलाउने गरेका छन् । कृषकले आफूलाई वर्षभरि आवश्यक पर्ने कृषिउपज घरमै भण्डारण गरी बढी भएको कृषिउपज व्यापारीलाई बिक्री गरेर घर खर्चको आवश्यकता पूरा गर्दै आएका छन् । सुदूरपश्चिम प्रदेश सरकारले कृषि र पशुपन्छी क्षेत्रको व्यवसायीकरण, आधुनिकीकरण र बजारीकरणलाई मुख्य प्राथमिकता दिँदै आएको छ ।
बेनीको बजार बढ्यो तर ब्यापार खस्कियो
म्याग्दी । कुनै समय ग्राहकको चापले खाना खाने समय नपाउने बेनी नगरपलिका–७ शान्तिटोलका व्यापारी भद्रबहादुर केसी अहिले फुर्सदिला छन् । विसं २०५० मा पर्वतको धाइरीङबाट बसाइँसराइ गरेर आउनुभएका केसी पछिल्लो समय बेनीमा खुद्रा ब्यापार खस्किदै गएको अनुभव सुनाउँछन् । ‘बेनीमा केही सरकारी अड्डा र थोरै मात्र घर थिए । अहिले घरैघरले भरिएको ठाउँ उ बेला बारी, झाडी र चरन क्षेत्र थियो, उनले विगत सम्झिए, ‘बिहानैदेखि पसलमा ग्राहकको लस्कर लाग्दथ्यो । उनीहरुलाई सामान दिँदादिँदै बिहानको खाना खाने फुर्सदै पाइँदैनथ्यो । अहिले बजार बढ्यो तर ब्यापार खस्कियो ।’ पन्ध्र वर्षअघिसम्म म्याग्दी, मुस्ताङ र पर्वतको उत्तरी मल्लाज क्षेत्रको व्यापारिक केन्द्र थियो बेनी बजार । मुस्ताङ जाने आउने तीर्थयात्री र पर्यटकमात्र नभएर सरकारी सेवादेखि रेमिट्यान्सका लागि आएका गाउँका मानिसले बेनी बजारका भट्टीदेखि होटल भरिभराउ हुन्थ्ये । अन्य जिल्लामा जाने आउनेको ‘ट्रान्जिट’ बेनी थियो । खुद्रादेखि थोक व्यापारीलाई भ्याइनभ्याइ हुन्थ्यो । अहिले थोक बिक्रेता (डिलर) बाहेकका साना व्यापारी बेनीमा प्रतिस्पर्धा गर्न र टिक्न गाह्रो भएको गुनासो गर्छन् । बेनीका पुराना व्यापारी धर्मनारायण श्रेष्ठले यातायात सुविधाको विस्तारसँगै व्यापारको शैली फेरिएको बताए । ‘नौडाँडा, बुटवलबाट भरिया, घोडा र खच्चरमा सामान बोकाएर ल्याइन्थ्यो । ग्राहक सामान खोज्दै बजारका पसलमा आउँथे‘ उनले भने, ‘अहिले उत्पादकबाट सिधै डिलरकहाँ सामान आउँछ । डिलरले गाडीमा ग्राहकको घरदैलोमै पु¥याउँछन् । किनमेलका लागि बजार आउनेको चहलपहल घटेको छ ।’ करिब दुई किलोमिटर दूरीमा म्याग्दी र कालीगण्डकीको दोभानमा रहेको बेनीबजार बेनी नगरपालिकाको वडा नम्बर ७ र ८ मा पर्छ । यहाँ एक हजारभन्दा बढी घर छन् । मङ्गलाघाट पश्चिमी क्षेत्र, हुलाकचोक र न्युरोड बजार आसपास तथा कालीपुल उत्तरीक्षेत्र र मुस्ताङको व्यापारिक केन्द्र थियो । विसं २०६४ मा कालीगण्डकीमा मोटरेबल पुल नबन्दासम्म अधिकांश डिलरका गोदाम पर्वतको जलजला गाउँपालिकाको वडा नम्बर ३ वारीबेनीमा थिए । वारीबेनीमा अहिले थोरै मात्र डिलरका गोदाम छन् । खच्चर र किनमेलका लागि आउने मानिसको भीड हुने वारीबेनी अहिले सुनसान भएको व्यापारी डिलबहादुर बरुवाल बताउँछन् । कास्की, पर्वत, बागलुङबाट व्यापारका लागि म्याग्दीमा आएका धरैले बेनी छोडिसकेका छन् । त्यसबेलाका ठूला व्यवसायी पोखरा, चितवन, काठमाडौँमा सरेका हुन् । मङ्गलाघाटका घरका सटर खाली हुन थालेको धेरै भयो । डेरामा बस्ने क्याम्पस पढ्ने विद्यार्थी र कर्मचारी धेरै छन् । कालीपुल र वारीबेनीको व्यापारिक अवस्था पनि मङ्गलाघाटको भन्दा फरक छैन । घरले भरिएर बजारभित्र करिब खाली ठाउँ भेटिँदैनन् । क्याम्सचोक, अस्पताल चोक र महारानीथान, कुरिलाखर्कको पाखोमा बजार विस्तार भएको छ । शान्ति प्रक्रियापछि सडक र यातायात विस्तारले तीव्रता पायो । म्याग्दीका ४५ मध्ये धौलागिरि गाउँपालिकाको वडा नम्बर १ मा पर्ने गुर्जाबाहेकका वडा र बस्तीमा सडक यातायात पुगेको छ । यातायातका साधनमार्फत ग्राहक र गाउँका व्यापारीको घरदैलोमा सामान पुग्न थालेको खाद्यान्न व्यापारीसमेत रहनुभएका म्याग्दी उद्योग वाणिज्य सङ्घका अध्यक्ष बेलबहादुर कटुवालले बताए । अर्कोतर्फ विसं २०६८ सम्म मुस्ताङ जोड्ने बेनी–जोमसोम सडकमा देशका विभिन्न ठाउँबाट सिधा यातायात सम्पर्क थिएन । मुस्ताङ जाने र आउने यात्रुु, तीर्थयात्री र पर्यटक बेनीमा झर्ने गर्दथे । सडक विस्तार र स्तरोन्नतिसँगै मुस्ताङ मात्र नभएर म्याग्दीका गाउँ गाउँबाट सिधै पोखरा–काठमाडौँका लागि गाडी छुट्न थालेका छन् । सङ्घीयताको कार्यान्वयनपछि सरकारी, बैंक र वित्तीय संस्थाको सेवा विकेन्द्रित भयो । सदरमुकामका कार्यालयमा सेवा लिन आउने ग्रामीण क्षेत्रका सर्वसाधारण बिहान आएर काम सकेर साँझै घरमै पुग्ने गरेका छन् । निजी विद्यालय, क्याम्पस र दश जोड दुई तह अध्ययन गर्ने विद्यार्थीको चाप भने बेनीमा घटेको छैन् । दरबन्दी र पूर्वाधार अभावमा ५० शय्यामा स्तरोन्नति भएको बेनी अस्पतालले प्रभावकारी सेवा दिन नसक्दा उपचारका लागि पोखरा, काठमाडौँ जाने बेनीमा अडिन सकेका छैनन् । मानिसको चहलपहल घट्नु, प्रतिस्पर्धा बढ्नु र कोरोना महामारीका कारण यसअघिका दुई वर्षमा भएको बन्दाबन्दी, निषेधाज्ञाले साना पुँजीका खुद्रा व्यापारीलाई समस्या परेको उद्योग वाणिज्य सङ्घका अध्यक्ष कटुवालले बताए । खुद्रा पसल, फेन्सी, भाडा, तरकारी तथा फलफूल पसल सञ्चालक छिटोछिटो परिवर्तनका साथै बजारका सटर खाली हुन थालेका छन् । बेनीको आर्थिक गतिविधिलाई चलायमान बनाउन व्यापारको विकल्प खोजी गर्नुपर्ने व्यवसायी जीवनबहादुर विश्वकर्माको भनाई छ । ‘बेनीमा विगतको जस्तो व्यापार छैन,’ उनले भने, ‘आर्थिक गतिविधिलाई चलायमान बनाउने योजना बनाएर कार्यान्वयन गर्न नसके बेनीका ब्यापारी पलायन हुनेछन् ।’ तातोपानी कुण्ड, गलेश्वर, लभ्लीहिल, पछै, जगन्नाथ, टोड्के, रुइसे, मल्लाजमा पर्यटकीय पूर्वाधार बनाएर पर्यटक भित्र्याउन र बसाई लम्ब्याउन सकेमा मात्र बेनीको व्यापारलाई पुरानै लयमा फर्काउन सकिने नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष प्रमोद श्रेष्ठले बताए । ‘तत्काललाई प्राकृतिक उपचारस्थलको रुपमा परिचित तातोपानी, पश्चिमको पशुपतिनाथ भनेर चिनिने गलेश्वर, ऐतिहासिक बेनी कोत, महारानी थान, बरको रुखमुनि रहेको अनौठो बेनी शिवालय मन्दिरको प्रवद्र्धन गर्नुपर्छ,’ उनले भने, ‘बेनीलाई केन्द्र बनाएर साहासिक पर्यटकीय पूर्वाधारको अध्ययन भइरहेको छ ।’ बेनी नगरपालिकाका प्रमुख सुरत केसीले बेनीलाई व्यापारिकबाट पर्यटकीय केन्द्रमा रुपान्तरण गर्न अल्पकालीन र दीर्घकालीन योजना कार्यान्वयन थालिएको बताए । बेनीको शिरमा रहेको पछैमा रावण पार्क बनाउन सुरु गरिएको र तातोपानीमा प्राकृतिक उपचार केन्द्र सञ्चालनको तयारी भएको उनले बताए । बेनीमा रहेको बाइसेचौबिसे राज्यको पालामा निर्मित ऐतिहासिक बेनीकोत घरको हालै पुनःनिर्माण र जीर्णोद्धार भएको छ । तातोपानी कुण्डमा बिरामीबाहेकका पाहुनालाई पनि चौबिसै घण्टा स्नान गर्ने व्यवस्था मिलाइएको छ । चिनको सिमानामा रहेको मुस्ताङस्थित कोराला नाका सञ्चालन भएमा म्याग्दीको व्यापारमा पनि सहयोग पुग्ने अपेक्षा गरिएको छ । कालीगण्डकी कोरिडोरअन्तर्गत कोरला नाका जोड्ने सडक स्तरोन्नतिको काम भइरहेको छ ।(
नवौँ राष्ट्रिय खेलकुदमा पूर्वाधारको समस्या
कास्की । विसं २०७६ वैशाखमा लुम्बिनी प्रदेशमा भएको आठौँ राष्ट्रिय खेलकुदको समापन समारोहमा गण्डकी प्रदेशले नवौँ आयोजनाको जिम्मेवारी पायो । गण्डकीको टोलीलाई दुई वर्षपछि नवौँ आयोजनाको जिम्मेवारीसहित झण्डा हस्तान्तरण गरियो । गण्डकीमा विसं २०७७ को फागुन अन्तिम सातालाई तय भएको राष्ट्रिय खेलकुद यसबीचमा कोरोनाका कारण पटक पटक प्रभावित बन्यो । पछिल्लो पटक आगामी असोज २८ देखी कात्तिक ३ गतेसम्म प्रतियोगिताको मिति तय गरेर तयारीका काम अघि बढाइएको छ । तरपनि खेल पूर्वाधारकै चिन्ता कायमै छ । गण्डकीमा प्रतियोगिता तय भएको तीन वर्षभन्दा बढी समय भयो । तर, अहिलेपनि कतिपय खेलका पूर्वाधारनै छैनन् । गण्डकी प्रदेश अन्य प्रदेशका तुलनामा खेलकुद पूर्वाधारमा अब्बल रहेपनि नवौँलाई लक्ष्य गरी निर्माण गरिने तय भएका खेल पूर्वाधार निर्माण नहुँदा ती खेल कहाँ खेलाउने यकिन भएको छैन । खेल पूर्वाधारमा वर्षेनी बजेट विनियोजन गरिएपनि स्वीमिङ (पौडी पोखरी), सुटिङ, हक्की र रग्वी खेलका पूर्वाधार बन्न सकेनन् । प्रतियोगिताको मिति नजिकिदै जाँदा पूर्वाधार तयार नभएका खेल कहाँ खेलाउने भन्ने चिन्ता खेल पदाधिकारी र खेलाडीमा कायम छ । पोखरा रङ्गशालाभित्र पौडी पोखरी र सुटिङको पूर्वाधार बनाउन जमिन व्यवस्था गरिएको थियो । राष्ट्रिय खेलकुद परिषद्ले बजेट व्यवस्था गरेको हो । तर यी खेलका पूर्वाधार बनाउन पर्याप्त समय भएपनि कामनै सुरु हुन सकेन । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीलाई आयोजक राष्ट्रिय खेलकुद परिषद्ले विभिन्न उपसमिति गठन गरी तयारीका काम अघि बढाएको छ । खेलस्थल व्यवस्थापन उपसमितिले अहिले प्रदेशका अधिकांश जिल्लामा पुगेर खेल पूर्वाधार अवलोकन गरेको छ । यहाँ अधिकांश खेलका पूर्धाधार तयारी अवस्थामै छन् । राष्ट्रिय खेलकुद परिषद्का सदस्य एवं खेलस्थल व्यवस्थापन उपसमितिका संयोजक राजेश गुरुङले पूर्वाधार तयार नभएका खेल कहाँ खेलाउने भन्ने चिन्तामा आफूहरु रहेको बताए । सो समिति पौडीका लागि पोखरामा रहेका निजी विद्यालय र होटलका पौडी पोखरीलाई प्रतियोगिताका लागि प्रयोगमा ल्याउने योजनामा छ । आठौँ राष्ट्रिय खेलकुदमा पनि होटलको पौडी पोखरीमा प्रतियोगिता सञ्चालन गरिएको थियो । पोखरामा पूर्वाधार नभएका खेल काठमाडौँमा खेलाउने योजना रहेपनि यहाँका खेल पदाधिकारी तथा खेलाडी सबै खेल गण्डकीमै हुनुपर्ने पक्षमा छन् । ‘राष्ट्रिय खेलकुदका लागि मुख्य गरी पौडी र सुटिङको पूर्वाधार हामीसँग छैन । पूर्वाधार नभएका खेल कहाँ खेलाउने भन्ने चिन्ता रहेपनि यसलाई हामी व्यवस्थापन गछौं,’ खेलस्थल व्यवस्थापन उपसमिति संयोजक गुरुङले भने,‘राखेपका सदस्य सचिव र पौडी सङ्घको अध्यक्ष सहितको प्राविधिक टोली पोखरा आउँदै हुनुहुन्छ, उहाँहरुसँग छलफल गरेर हामी विकल्प तयार गर्छौं । पोखरा रङ्गशालामा नभएका खेलका पूर्वाधार निर्माण गर्न पर्याप्त समय छ । तर आवश्यक बजेटको सुनिश्तिता नहुँदा काम सुरु नभएको पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिले जनाएको छ । पोखरा रङ्गशालाभित्र पौडी र सुटिङका लागि यसअघिका दुई आर्थिक वर्षमा लगातार बजेट विनियोजन गरिएपनि सो पर्याप्त नभएको र थप बजेटका लागि स्रोत सुनिश्चित नहुँदा टेण्डर आह्वान लगायतका काम नभएको समितिका कार्यालय प्रमुख लक्ष्मण योगीले बताए । ‘पौडी पोखरीलाई ३५ करोड हाराहारीमा लागत स्टीमेट तयार गरिएकोमा सरकारले अघिल्लो वर्ष पाँच करोड छुट्टाएको थियो । योगीले भने, ‘विनियोजित बजेट अपर्याप्त रह्यो र थप स्रोतको सुनिश्तिता नहुँदा टेण्डर आह्वानलगायतका काम अघि बढाउन सकिएन ।’ पोखरा रङ्गशालाभित्र सबै खेलको पूर्वाधार अटाउन सक्ने अवस्था नभएकाले रङ्गशाला बाहिर व्यवस्थापन गरेर सुटिङ बाहेकका नवौँका सबै खेल पोखरा र गण्डकी प्रदेशमै गर्ने योजना रहेको समितिले जनाएको छ । सुटिङलाई भने गण्डकीमा सम्भव नदेखिएको र काठमाडौँमै गर्नुपर्ने बाध्ता रहेको बताइन्छ । रग्वी र हक्कीलाई प्रशिक्षणस्थल तय भएकाले समस्या नहुने समितिले जनाएको छ । नवौँलाई गठन गरिएको खेलस्थल व्यवस्थापन उपसमितिले यही भदौ १५ गतेभित्रमा प्रतियोगिताको खेलस्थल तय गर्ने योजनामा छ । खेल पूर्वाधार रहेका जिल्लामा आवास, अस्पताल, यातायात र सुरक्षालाई ध्यानमा राख्दै कुन जिल्लामा कुन खेल सञ्चालन गर्ने भन्ने निर्णय गरिने गुरुङले बताए। उनले भने, ‘प्रदेशका अधिकांश जिल्लाहरुमा रहेका खेल पूर्वाधारहरुको निरीक्षण गरेका छौँ । खेल सञ्चालन गर्न आवश्यक सबै पक्षलाई हेरेर खेलस्थलको टुङ्गो लगाउने तयारीमा छौँ ।’ नवौँ राष्ट्रिय खेलकुदका ३६ र दुई प्रदर्शनी खेलमध्येमा अधिकांश प्रदेशको राजधानी र पूर्वाधार भएका हिसाबले पोखरामानै हुनेछन् । राष्ट्रिय खेलकुदको अपनत्व सबैलाई दिलाउन प्रदेशका ११ वटै जिल्लामा कम्तिमा एक÷एक खेल खेलाउने योजना आयोजकको छ । राष्ट्रिय खेलकुदमा सात प्रदेश, तीन विभागीय र एनआरएनको एक गरी ११ टोलीले सहभागिता जनाउने निश्चित भएको प्रदेश खेलकुद परिषद् गण्डकीले जनाएको छ । प्रतियोगितामा चार सय सात स्वर्ण पदकका लागि खेलाडबीच प्रतिस्पर्धा हुनेछ । कुनै टोलीले ३६ वटै खेलमा भाग लिएको अवस्थामा एक टोलीमा सात सय आठ जनासम्म खेलाडी सहभागी हुने भएकाले प्रतियोगितामा कूल सात हजार सात सय ८८ खेलाडीमात्र सहभागी हुने सदस्य सचिव तेजबहादुर गुरुङले जानकारी दिए। खेलाडी बाहेक प्रशिक्षक, टोलीका व्यवस्थापक, रेफ्री गरी नौ हजार हाराहारीमा खेलकुदकर्मीको सहभागिता प्रतियोगितामा हुने बताइन्छ ।
काठमाडौं उपत्यकामा अवैध प्लटिङमा गएको पहिरो (फोटो फिचर)
ललितपुरको लामाटार । काठमाडौं । शहरमा खाली ठाँउ छैन । जग्गा व्यावसायीले काठमाडौंको काँठका कुना काप्चा र पहाडका कान्लामा समेत जग्गा प्लटिङ गरिसकेका छन् । पहाडका भीरमा सरकारी मापदण्ड र अनुमति बिना बनाइएको यी प्लटिङ वर्षाको पहिरोले बगाएको छ । वर्षे भेल पस्दा सबैजसो प्लटिङ काम नलाग्ने भएर बगेको छ । पहिरोका कारण सबैजसो प्लटिङमा बसोवास गराउँदा ठूलो क्षति हुने सम्भावना छ । निजी क्षेत्रलाई व्यवस्थित बसोवासका लागि जग्गा टुक्रा पारेर प्लटिङ गरेर बिक्री वितरण गर्नदिने कानूनी व्यवस्था छैन । स्थानीय सरकारसँग जग्गा सम्याउने अनुमति लिएर व्यावसायीले मालपोतसँग साँठगाँठ गरेर जग्गा कित्ताकाट गरेर प्लटिङ गर्दै आइरहेका छन् । ललितपुरको लेले । अव्यवस्थित रूपमा गरिएको प्लटिङका कारण वर्षेनी बाढीले बबन्डर मच्चाउने गरेको छ । बर्खायाम शुरु भएपछि बस्तीहरु अव्यवस्थित प्लटिङकै कारण जोखिममा परिरहेका छन् । काठमाडौंका सिमित क्षेत्रमात्र होइन, प्लटिङको समस्या उपत्यकाभर नै छ । काठमाडौं उपत्यकाका मुख्य नदी र खोलाको नै अवस्था उही हो । अव्यवस्थित प्लटिङका कारण भौतिक संरचनासँगै स्थानीयवासीको अन्नबालीमा पनि ठूलो क्षति पुगेको छ । प्लटिङ गर्नलाई खोलाको बगरसमेत छोडिएको छैन । प्लटिङले जथाभावी समस्या सिर्जना गरिरहेपनि स्थानीय सरकार मौन छ । साथमा स्थानीयहरु पनि मौन बस्न बाध्य छन् । विशंखुनारायण । खेतीयोग्य जमिनमा जथाभावी खण्डीकरण रोक्न सरकारले वि.सं.२०७४ साउन २६ मा कृषियोग्य जग्गा कित्ताकाट गरी घडेरीका रूपमा बिक्रीवितरण गर्न/गराउन नपाउने निर्णय गरेको थियो । उक्त निर्णयले सर्वसाधारणलाई समस्या भएको र भूमाफियासमेत मौलाएको भन्दै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले २०७५ पुस २७ मा भूमिको वर्गीकरण र उपयोगसम्बन्धी कानून तर्जुमा नहुन्जेल फर्म, संस्था वा कम्पनीले स्थानीय तहको स्वीकृति लिएर कित्ताकाट गर्न पाउने व्यवस्था गरेको थियो । मन्त्रालयको नयाँ निर्देशनमा स्थानीय तहबाट खेतीयोग्य जग्गा होइन भन्ने लेखी आए कित्ताकाट गर्न सकिने व्यवस्था छ । ललितपुरको लामाटार सिस्नेरी । जथाभावी प्लटिङका कारण अहिले धेरै समस्या सिर्जना भएका छन् । प्लटिङ गरिएका जग्गामा पहिरो गएको छ भने बस्ती नै जोखिममा परिरहेको छ । स्रोत : न्युज एजेन्सी नेपाल
हेटौंडा औद्योगिक क्षेत्रका दुई उद्योगमा सिलबन्दी
मकवानपुर । मकवानपुरको हेटौँडा औद्योगिक क्षेत्रमा सञ्चालित दुई उद्योगमा जिल्ला प्रशासन कार्यालय मकवानपुरले शुक्रबार सिलबन्दी गरेको छ । मानव र पशुपन्छीको स्वास्थ्यमा प्रतिकूल असर पु¥याउने किसिमले अखाद्य पदार्थ उत्पादन र बिक्री गरेको भन्दै प्रशासनले दुवै उद्योगमा सिलबन्दी गरेको जनाएको छ । मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी वद्रीनाथ गैरेको नेतृत्वमा औद्योगिक क्षेत्रमा अनुगमनमा खटिएको टोलीले अनामिका खाद्य उद्योग र भ्याली फिड प्रालि उद्योगमा सिलबन्दी गरेको हो । अनामिका उद्योगले २०७६ सालदेखि खाद्यपदार्थको अनुज्ञापत्र नलिएर गैरकानुनीरुपमा खाद्य पदार्थको उत्पादन गरी सञ्चालनमा रहेको छ भने भ्याली फिड उद्योगले उत्पादन गरेको बोरामा उत्पादन मिति र उपभोग्य मिति नलेखेर उपभोक्तालाई ठगी गरेकाले कानुनी प्रक्रिया पूरा नभएसम्म सिलबन्दी रहने बताइएको छ । भ्याली फिडको १३ हजार केजीको रु नौ लाख २३ हजार मूल्य बराबरको दुई सय ६० बोरा दाना बिक्री वितरणमा प्रशासनले रोक लगाएको छ । साथै तीन दिनभित्र जिल्ला प्रशासन कार्यालयमा आवश्यक कागजपत्रसहित उपस्थितिका लागि निर्देशनसमेत सहायक प्रमुख जिल्ला अधिकारी गैरेले दिए ।