नेपाल पावर एक्सचेञ्जको अध्यक्ष बने आचार्य, प्राधिकरणको एकाधिकार तोड्ने प्रतिबद्धता
काठमाडौं । नेपाल पावर एक्सचेञ्ज (नेपेक्स)को अध्यक्षमा कृष्ण आचार्य निर्वाचित भएका छन् । नेपेक्सको शुक्रबार बसेको बैठकले उनलाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको हो । बैठकले म्यानेजिङ डाइरेक्टरमा आसिश गर्ग, सञ्चालकहरुमा शैलेन्द्र गुरागाईं, उत्तर कुमार श्रेष्ठ, उत्तमकुमार लामा मोहन डाँगी र भरत खत्रीलाई चयन गरेकाे छ । यसअघि नेपेक्सको साधारणसभा भएको थियो । उक्त साधारणसभाले सञ्चालक मात्रै छनोट गरेको थियो । ती सञ्चालकहरुबाट अहिले आचार्यलाई अध्यक्ष बनाएको हो । निजी क्षेत्रबाट स्थापना भएको नेपाल पावर एक्सचेन्ज लिमिटेड विद्युत व्यापारमा निजी क्षेत्रको पनि सहभागिता खोज्ने उद्धेश्यका साथ स्थापना भएको कम्पनी हो । नवनिर्वाचित अध्यक्ष आचार्यले अब विद्युत व्यापारमा निजी क्षेत्रको सहभागिता हुने हिसाबले काम गर्ने बताए । ‘विद्युत व्यापारमा अहिले नेपाल विद्युत प्राधिकरणको एकाधिकार छ, विद्युत व्यापारका लागि सरकारसँग माग पनि गरिसकेका छौं, अब अनुमति आउने वित्तिकै काम सुरु गर्छौं, प्राधिकरणको एकाधिकार तोड्नु पर्छ भन्ने हाम्रो उद्धेश्य हो,’ उनले विकासन्युजसँग भने ।
पुँजी बजारका ‘हट केक’ कम्पनी : प्रतिफल दिँदैनन्, सेयर मूल्य उच्च
काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा सुचिकृत कम्पनीहरुको सेयरमा लगानी गरेर राम्रो प्रतिफल पाउने आशा जुनसुकै सेयरधनीको पनि हुन्छ । कम्पनी वर्तमानमा राम्रो लाभांश दिन नसके पनि भविश्यमा राम्रो प्रतिफल दिन सक्ने आँकलन गरेर धेरैले सो कम्पनीको सेयरमा लगानी गरेका हुन्छन् भने कतिपयले सर्टटर्मको लागि भनेर सेयर खरिद बिक्री गर्दै नाफा असुल्छन् । सामान्यतः नेप्सेमा सूचीकृत अधिकांश कम्पनीहरुले आफ्ना सेयरधनीलाई वार्षिक रुपमा लाभांश खुवाउँदै आएका छन् । लगानीकर्ताले पनि प्रतिफल पाउने आशमा कम्पनीमा लगानी गरिरहेका हुन्छन् । जुन कम्पनीले बढी लाभांश अर्थात् प्रतिफल दिन्छ सो कम्पनीको सेयरमा आकर्षण हुनु पनि स्वभाविक नै हो । जसले सेयरधनीले बढी लाभांश दिन्छ उक्त कम्पनीको सयर मूल्य पनि अन्य कम्पनीको सेयर मूल्यको तुलनामा बढी नै हुन्छ । तर, केही कम्पनी यस्ता पनि छन् जुन कम्पनीले सेयरधनीलाई प्रतिफल दिएका छैनन् तर ती कम्पनीको सेयर खरिद गर्ने सेयरधनीको आकर्षण छ भने सेयर मूल्य पनि राम्रो प्रतिफल दिने कम्पनीहरुको तुलनामा उच्च छ । बीमा क्षेत्रको राष्ट्रिय बीमा कम्पनी र ट्रेडिङ समूहको बिशाल बजार कम्पनीले हालसम्म लाभांश वितरण गरेका छैनन् । तर पनि यी दुई कम्पनीको सेयर मूल्य अधिकांश कम्पनीको तुलनामा कयौं गुणा बढीमा दोस्रो बजारमा खरिद बिक्री भइरहेको छ । सरकारको स्वामित्व रहेको राष्ट्रिय बीमा कम्पनी २०७१ पुस २४ गते नेप्सेमा सूचीकृत भएको हो । नेप्सेमा सूचीकृत भएपश्चात् कम्पनीले कुनै पनि आर्थिक वर्ष सेयरधनीलाई लाभांश वितरण गरेको छैन । दोश्रो बजारमा सूचीकृत हुनुभन्दा अघि भने कम्पनीले आर्थिक वर्ष २०६२/६३ को नाफाबाट ११४.२७ प्रतिशत लाभांश वितरण गरेको थियो । लामो समयसम्म लाभांश वितरण नगरेको कम्पनीको सेयर मूल्य हाल प्रतिकित्ता १४ हजार २५१ रुपैयाँमा कारोबार भइरहेको छ । विगत एक वर्षमा कम्पनीको सेयर प्रतिकित्ता १८ हजार ५८८ रुपैयाँसम्म कारोबार भएको थियो । २६ करोड ६६ लाख रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको बजार पुँजीकरण ३७ अर्ब ९९ करोड ८३ लाख रुपैयाँ छ । दोश्रो बजारमा कम्पनीको २६ लाख ६६ हजार ३६५ कित्ता सेयर सूचीकृत छ । धितोपत्रको व्यवस्थाअनुसार लाभांश वितरण गर्न कम्पनीले साधारण सभा गर्नुपर्ने हुन्छ । साधारणसभा गर्नको लागि प्रत्येक वर्षको वार्षिक प्रतिवेदन महालेखा परीक्षकको कार्यालयबाट लेखा परीक्षक अनुमोदन गराई सम्बन्धित निकायबाट स्वीकृत गराउनु पर्छ । नियामकले स्वीकृत गरेपछि कम्पनीलाई उक्त वर्षको साधारण सभा बोलाउनको लागि बाटो खुल्छ । तर, राष्ट्रिय बीमा कम्पनीले भने वर्षौंदेखि वार्षिक साधारण सभा गर्न सकेको छैन । कम्पनीले आर्थिक वर्ष २०६७/६८ पछिका कुनै पनि साधारण सभा बोलाएको छैन । नियामक बीमा समितिबाट वार्षिक प्रतिवेदनको स्वीकृति बिना कम्पनीले सभा गर्न पाएको छैन । पछिल्लो समय भने कम्पनी धमाधम विगतका वर्षहरुका वार्षिक रिर्पोट स्वीकृत गराउनतर्फ लागिरहेको छ । नेपाल सरकारका उपसचिव ज्ञानेन्द्रराज ओझाले कम्पनीको सीईओको जिम्मेवारी पाएपछि पेन्डिङ्ग रहेका कामहरु धमाधम हुन थालेको छ । आर्थिक वर्ष २०७१/७२ देखिका परीक्षण हुन बाँकी रहेका प्रतिवेदनहरु हाल आर्थिक वर्ष २०७२/७३ सम्मको प्रतिवेदन स्वीकृत भइसकेको कम्पनीले जानकारी गराएको छ । कम्पनीमा सरकारको ४७.५ प्रतिशत, नेपाल बैंकको १०.५ प्रतिशत र कर्मचारी सञ्चय कोषको २२, सर्वसाधारणको १२ र संस्थापकको ८ प्रतिशत सेयर स्वामित्व छ । यस्तै, २०६४ साउनमा नेप्सेमा सूचीकृत भएको बिशाल बजार कम्पनीको अवस्था पनि त्यस्तै छ । बिशाल बजार दोश्रो बजारमा सूचीकृत भएको १५ वर्ष नाघ्यो । तर, कम्पनीले हालसम्म लगानीकर्तालाई कुनै पनि प्रकारको लाभांश खुवाउन सकेको छैन । हाल यस कम्पनीको सेयर मूल्य हाल ३ हजार ६८० रुपैयाँ छ । बिहीबार कम्पनीको बजार पुँजीकरण १ अर्ब ८० करोड रुपैयाँ थियो । यस कम्पनीको सेयर अधिकतम् ६ हजार ८९० रुपैयाँसम्म पुगेको थियो । हाल कम्पनीको चुक्ता पुँजी ४ करोड ९१ लाख ४० हजार रुपैयाँ छ । बजारमा कम्पनीको ४ लाख ९१ हजार ४०० कित्ता सेयर सूचीकृत छन् । जसमध्ये ८५.२६ प्रतिशत अर्थात ४ लाख १८ हजार ९६७ कित्ता साधारण र १४.७४ प्रतिशत अर्थात ७२ हजार ४३३ कित्ता संस्थापक सेयर रहेका छन् । विशाल बजार कम्पनी २०२६ सालदेखि सञ्चालनमा आएको हो । जसको रजिष्टर्ड कार्यालय काठमाडौंको शुक्रपथमा छ । जसको उद्देश्य नेपाल कानुनको अधिनमा रही घर, पसल/कवल, जमिन आदि भाडामा लिने, दिने लगायत फ्याक्ट्री, भवन, बंगला, गोदाम, टहरा, कार्यालय, पसल, ग्यारेज, वर्कशप आदीको कारोवार गर्ने र ग्राहकलाई विभिन्न सुविधा दिई आधुनिक कम्प्लेक्सको रुपमा विकास गर्ने रहेको छ । किन छ आकर्षण ? लाभांश अर्थात प्रतिफल नै नदिने कम्पनीमा लगानीकर्ताको आकर्षण किन हुन्छ भन्ने विषय पनि धेरैले चासाका रुपमा हेरेका छन् । नेपाल इन्भेष्टर्स फोरमका पूर्वअध्यक्ष छोटेलाल रौनियारले लामो समयसम्म वितरण नगरेका कम्पनीले लाभांश दिइहाल्छन् की भन्ने आशमा लगानीकर्ताहरुले यी कम्पनीको सेयर किन्ने गरेको बताउँछन् । ‘यी कम्पनीले चाहे भने २/३ सय प्रतिशत लाभांश दिन सक्छन्, त्यहि आशमा पनि लगानीकर्ताले धेरै नभएपनि थोरै मात्रामा भएपनि सेयर किनेर राखेका छन्, बोनस तथा हकप्रद आयो भने मालामाल भइनेमा लगानीकर्ताहरु आशाबादी छन्,’ रौनियारले भने । त्यस्तै, विशाल बजारको हकमा कम्पनीको अट्याच सेयर हुनेले त्यहाँको पसल पाउने व्यवस्था रहेको छ । र, उक्त अट्याच भएको सेयर भनेको समयमा किनबेच गर्न नमिल्ने जानकारहरु बताउँछन् । बिशाल बजार कम्पनीले लाभांश वितरण गरेको या नगरेको कुनै पनि तथ्यांक आफ्नो वेवसाइटमा राखेको छैन । यता लगानीकर्ता तथा इन्भेष्टर्स फोरमका अध्यक्ष रौनियार भने कम्पनीले विगतमा लाभांश वितरण गरेको बताउँछन् । ‘कम्पनीले विगत १० वर्ष अगाडि लाभांश वितरण गरेको याद छ, बीचमा सरकारसँगको मुद्दा परेको थियो, त्यसपछि भने कुनै पनि लाभांश वितरण गरेको छैन,’ उनले भने । यी कम्पनीहरुले हालसम्म लाभांश नदिएपनि राम्रो सम्पत्ति भएकै कारणले पनि लगानीकर्ताको आकर्षण हुने धेरैको बुझाइ छ । कम्पनीले अहिले प्रतिफल नदिएपनि भोलिको दिनमा राम्रो नाफा हुन सक्ने विश्वास लगानीकर्तामा भएकै कारण लगानी गरिरहेकाे र सेयर मूल्य पनि अन्यकाे तुलनामा राम्राे भएकाे बुझ्न सकिन्छ ।
आईएमएस ग्रुपद्वारा पाराकिटो ब्राण्ड नेपालमा लन्च
काठमाडाैं । आईएमएस ग्रुपले नेपालमा फ्रान्सेली ब्रान्ड ‘पाराकिटो’ लन्च गरेको छ । यसका साथै आईएमएस पराकिटो ब्रान्डको एकमात्र राष्ट्रिय वितरक बनेको छ। पाराकिटो एक फ्रान्सेली लामखुट्टे र टिक विकर्षक ब्रान्ड हो जसले प्राकृतिक रूपमा लामखुट्टे र टिक्सहरुबाट जोगाउँछ । यसले रिस्टब्यान्ड, स्प्रे, क्लिप र रोल अन जस्ता विभिन्न प्रकारका उत्पादन प्रदान गर्दछ । यसले विशेषगरी बालबालिका, गर्भवती र संवेदनशील छाला भएकाहरुलाई वैकल्पिक र पूर्ण सुरक्षित सुरक्षा प्रदान गर्दछ । पाराकिटो पानी र पसिना प्रतिरोधी, दीर्घकालीन, वातावरणमैत्री, बिरुवामा आधारित र मदिरारहित पनि हो । पाराकिटो आईएमएस लिटल स्माइलस शोरुमहरुमा उपलब्ध छ । आईएमएस लिटल स्माइल शोरुमहरु दरबार मल, दरबार मार्ग र सिटी सेन्टर, कमलपोखरीमा स्थित छ र यहाँ डा. ब्राउन्स, बिबिलभ, हिमालय बेबी केयर, क्रेनजस्ता अरु धेरै शीर्ष अन्तर्राष्ट्रिय ब्रान्डहरु बेच्ने गरिन्छ । पाराकिटो स्मार्टडोकोमा अनलाइन उपलब्ध छ ।
लाखको लगानीबाट करोडौंको कारोबार, ५० जनालाई रोजगारी, छोरी स्टाफ नर्स
काठमाडौं । सानो लगानीबाट सुरु गरिएको व्यवसायले कुनै बेला नसोचेको परिणाम दिन्छ भन्ने कुरा तपाईं कत्तिको पत्याउनुहुन्छ ? विश्वमा धनाड्य बनेका अर्थात सफल व्यवसायी बनेका अधिकांश मानिसहरुले सानै लगानीबाट व्यवसाय सुरु गरेको इतिहास छ । तर, त्यसको लागि निरन्तरको मेहेनत, लगाव र धैर्यताको भने खाँचो अवश्य नै चाहिन्छ । इलाम नगरपालिका वडा नं. ८ तिल्केनीकी दिपा गुरुङले आफु सफल उद्यमीका रुपमा चिनिन्छु भन्ने कहिल्यै सोचेकी थिइनन् । घरको आर्थिक अवस्था कमजोर भएपछि दिपाका श्रीमान १५ वर्ष अगाडि वैदेशिक रोजगारीका लागि दुवईतर्फ लागे । श्रीमान् वैदेशिक रोजगारीमा गएपछि आफूले पनि आय आर्जन हुने काम गर्न पाए परिवार चलाउन अझ सहज हुन्छ भन्ने सोच दिपामा पलायो । उनी कामको खोजीमा भौतारिन थालिन् । छोराछोरी बढ्दै थिए । उनीहरूको शिक्षा दीक्षाको लागि आर्थिक जुटाउनु पर्ने बाध्यता दिनप्रतिदिन बढ्न थाल्यो । कुनै सीप नभएकी दिपालाई कसैले जागिर दिन मानेनन् । आफ्नो विगतलाई स्मरण गर्दै उनले सुनाइन्, ‘जागिर खोज्नु भन्दा आफै उद्योग खोलेर उद्यमी बन्ने रहर पलायो, तर घरखर्च नै चलाउन गाह्रो भइरहेको बेला उद्योग खोल्ने पो कसरी ? मैले साहस बटुलेँ, जिल्लाकै साना तथा मझौला उद्योगले ललिपप र दूधबाट बनाइने परिकारको बनाउने तालिमम दिदैछ भन्ने थाहा पाएँ, अब त्यहीँ सीप सिकेर पछि काम गर्नु पर्छ भन्ने लागेर सीप सिक्न लागेँ ।’ दिपाको तालिम पनि सकियो । विगतका दिनहरुमा सीप छैन भनेर जागिर नपाएकी दिपालाई अब आफ्नै उद्योग खोल्नु पर्छ भन्ने लाग्यो । उनका श्रीमानले पनि अब विदेशबाट घरखर्च चलाउने पैसा पठाउन थाले दुई छोरा छोरी रहेकी दिपाले उनीहरुको पढाइ र घर खर्च चलाएपछि केही बचत गर्न थालिन् । ‘बचेको पैसाले घरेलु उद्योग खोल्ने निर्णय गरेँ, वि.स २०६८ सालमा ‘ग्रिन सिटी ललीपप उद्योग’ दर्ता गरेँ, सुरुमा करिब ५ लाख रुपैयाँ खर्च गरेर उद्योग सञ्चालन गरेँ, बिस्तारै ललिपपका आइटम तथा दूधका परिकारहरू बनाएँ, उनले भनिन्,‘ एक दिन अवश्य यसले बजार मूल्य पाउँछ भन्ने विश्वास थियो ।’ उनले उद्योग सुरु गर्दा लगानी पो डुब्ने हो कि भन्ने आशंका परिवारमा रहेको पनि बताइन् । सुरुवाती दिनका समस्या, चुनौती र अवरोधहरू पनि उनले सुनाइन् । तर, ती समस्या र चुनौतिहरूलाई एउटा अवसर र सिकाइका रूपमा लिँदै अगाडि बढ्दै गएको उनको भनाइ छ । ‘व्यापारबाट आएको आम्दानी भएको रकमबाट छोरा छोरीलाई पढाउँदै ठिक्क हुन्थ्यो, आफ्नो घरमा उद्योग सञ्चालन गरेको भएर परिवारबाट पनि साथ पाइयो, विस्तार व्यापार फस्टाउँदै गयो, बजारमा माग बढ्न थाल्यो, आम्दानी पनि राम्रै हुन थाल्यो, अहिले हामी सन्तुष्ट छौं,’ उनले भनिन् । आफैले मात्रै काम गरेर बजारको मागलाई धान्न नसक्ने भएपछि कर्मचारीहरू पनि राखेको उनले सुनाइन् । श्रीमानले पठाएको पैसालाई पनि उनले बचत गर्दै गइन् । छोराछोरी पनि पढाइमा अब्बल नै थिए । उच्च शिक्षामा छोरी स्टाफ नर्स बढ्ने बिचार गरिन् । छोरोको कुरामा दिपाले पनि सहमत जनाइन् । छोरी स्टाफ नर्स पढ्न थालिन् । दिपाले आफ्नो पेसालाई निरन्तर दिइन् । ‘छोरीले पनि स्टाफ नर्स उच्च अंकका साथ उतिर्ण गरिन्, स्टाफ नर्समा पास भएको केही महिनापछि नै छोरीलाई जागिर मिल्यो, मैले ललिपपको व्यापार गरेर नै छोरीलाई स्टाफ नर्स पढाएँ, छोरा पनि अहिले स्नातक पढ्दैछन्,’ उनले भनिन । दिपाका अनुसार विराटनगर कोसी अस्पतालमा अहिले छोरी स्टाफ नर्सको रूपमा काम गरिरहेकी छिन् । श्रीमान् विदेश बसाइको केही वर्षपछि नै नेपाल फर्किए । हाल दिपाका श्रीमानले मार्केटिङ गर्न सहयोग पुर्याइरहेका छन् । ५० जनालाई रोजगारी लाखौं आम्दानी दिपाले अहिले सो उद्योग सञ्चालन गरेको करिब १२ वर्ष पुगेको छ । यो अवस्थासम्म आइपुग्दा करिब ५० जनालाई रोजगारी दिएको उनले सुनाइन् । उनका अनुसार फुलटाइम काम गर्ने ४० र पार्ट टाइम काम गर्ने १० जना कर्मचारी छन् । उनीहरूले उद्योगमा ललिपपका आइटम र दूधका परिकार बनाउन सहयोग गर्दै आइरहेका छन् । ‘पहिला विभिन्न समस्या आए, समयसँग लड्दै अगाडि बढे अहिले श्रीमानले पनि साथ दिनु भएको छ, अझै कर्मचारीको संख्यालाइ बढाउने योजना छ, उत्पादनको वृद्धि गर्ने सोच छ,’ उनले भनिन्, पाँच लाखबाट सुरु भएको घरेलु उद्योग ३५ रुपैयाँको बराबरका पुगेको छ ।’ दिपाको उद्योगबाट अहिले मासिक लाखौं रुपैयाँको ललिपपको आइटम बिक्री हुन्छ । कर्मचारीलाई तलब दिएर घर खर्च कटाएर मासिक ६० हजार रुपैयाँ बचत हुने पनि दिपाले बताइन् । दिपाको उद्योगबाट उत्पादन भएको ललिपप नेपालका धेरै जिल्लाहरूसम्म पुग्छ । उनले सुरुदेखि हालसम्म करोडौंको कारोबार गरिसकेकी पनि बताइन् । दैनिक १२ सय लिटर दुध खपत दिपाको उद्योगबाट दैनिक १२ सय लिटर दुध खपत .हुन्छ । सो दूधबाट ललिपपका विभिन्न आइटमहरूको उत्पादन हुन्छ । उनले दूधबाट बन्ने ६ वटा परिकारहरू बनाउँदै आइरहेका छिन् । ‘इलाम दूधको खानी नै हो भन्दा पनि हुन्छ, वरपरका कृषकहरुले उत्पादन गरेको दूधलाई संकलन गरेर ललिपपहरू बनाउने हो, हामीले उहाँहरूसँग प्रति लिटर ५० रुपैयाँका दरले दूध खरिद गर्दै आइरहेका छौं,’ उनले भनिन्, माग बढेपछि ललिपपको उत्पादन गर्नले बिहानदेखि बेलुकासम्म फुर्सद छैन ।’ उनका अनुसार उत्पादन अनुसारको खपत पनि राम्रो हुन्छ । इलाम पर्यटकीय क्षेत्र भएको कारणले पनि घुन्न आउनेहरूले यहाँ उत्पादन भएको चकलेट कोसेलीको रूपमा लिएर जान्छन् । यसले पनि व्यापारमा धेरै टेवा पुगेको छ । दिपा दूधका परिकारहरूको संख्यालाई बढाउने सोचमा छिन् । व्यापार राम्रो भएका कारण कर्मचारी थप्ने तयारीमा दिपा जुटेकी छिन् । यस प्रोडक्टलाइ ब्रान्डको रुपामा स्थापित गर्ने लक्ष्यमा दिपा छिन् । ‘इलामको चकलेट खरिद गर्दा महँगो पर्छ भन्छन् तर यस्तो भने होइन, यो यहाँको लोक उत्पादन हो, दुधको लागत, कर्मचारीको लागत हेरेर मूल्य निर्धारण हुन्छ, विदेशी चकलेट चाहिँ महँगो भए पनि नहिचकिचाई किन्छौं, नेपालमा उत्पादन भएको लोकल स्वास्थ्य खानेकुरा चाहिँ महङ्गो भयो भन्छौं, यस्तो खालको मानसिकता हामीले हटाउनु पर्छ,’ उनले भनिनन् ।
राउण्ड टेबल नेपालले २ करोड लगानीमा मोरङको सरस्वती सदन विद्यालयमा बनायो कक्षाकोठा
काठमाडाैं । राउण्ड टेबल नेपालले मोरङको बुढीगंगा गाउँपालिकस्थित सरस्वती सदन आधारभुत विद्यालयलाई कक्षाकोठा निर्माण गरी हस्तान्तरण गरेको छ । राउण्ड टेबलले २ करोड बढीको लगानीमा विद्यालयलाई कक्षाकोठा निर्माण गरी हस्तान्तरण गरेको हाे । राउण्ड टेबल नेपालले सोही संस्थासँग सहकार्य गर्दै उक्त विद्यालयमा यस अघि नै १६ वटा कोठा निर्माण गरिसकेको छ । थप गरिएको ४ कोठासँगै हालसम्म राउण्ड टेबल नेपालले उक्त विद्यालयमा २० वटा कोठको निर्माण सम्पन्न गरिसकेको छ । विराटनगर राउण्ड टेबल नेपालले सन् २००६ यता उक्त विद्यालयको अभिभावकत्व ग्रहण गरेको हाे । अभिभावकत्व ग्रहण गरिएयता विद्यालयमा निरन्तर भौतिक संरचनाको निर्माण गर्दै आएको विराटनगर राउण्ड टेबल प्लाटिनम ११ का अध्यक्ष प्रणव तोदीले बताए । आफुहरुले अभिभावकत्व ग्रहण गर्नु अघि उक्त विद्यालय नजिकैको जग्गामा टिनको छानो भएको कोठामा संचालन हुने गरेको राउण्ड टेबल नेपालका पुर्व अध्यक्ष दिवाकर राठीले जानकारी दिए । बिजोग अवस्था देखेर आफ्नो संस्थाले सो विद्यालयको अभिभावकत्व ग्रहण गरेको र त्यसयता निरन्तर विकास निर्माण तथा भौतिक सामग्री जुटाइदिने काम गर्दै आएको राठीले बताए । राउण्ड नोपाल ११ ले हालसम्म विद्यालयमा स्वच्छ खानेपानी, शोैचालय, साईकल पार्किङ लगायत आवश्यक सम्पूर्ण भौतिक पुर्वाधार निर्माण गरिदिएको छ । बितेको १५ वर्षमा युरो ११ सँग सहकार्य गर्दै उक्त विद्यालयमा राउण्ड टेबल ११ ले २ करोड बढीको लगानी गरिसकेको छ । विद्यालयका लागि आवश्यक सम्पुर्ण भौतिक संरचना राउण्ड टेबलले जुटाई दिएपछि अब आफुहरु विद्यालयको स्तरोन्नती र शैक्षिक गुणस्तर बृद्धि गर्न लागिपरेको विद्यालयका व्यवस्थापन समिति अध्यक्ष हक्मुद्धिनले बताए ।
वात्सल्य आइ.भि.एफले देशका तीन शहरमा स्वास्थ्य शिविर गर्दै
काठमाडौं । वात्सल्य आइ.भि.एफले आज (कृष्ण जन्माष्टमी को दिन) आफ्नो छैठौं वार्षिकोत्सव मनाउँदै छ । छैठौं वार्षिकोत्सवको अवसरमा प्रजनन् उपचारमा काठमाडौं बाहिरका दम्पतीको पनि पहुँच बढाउन् देशका तीन प्रमुख शहरहरूमा स्वास्थ्य शिविर आयोजना गर्ने भएको छ । वात्सल्यका वरिष्ठ प्रजनन् तथा स्त्रीरोग विशेषज्ञ डा. आकृति भारतीको संलग्नता रहने यो एक दिने शिविर पोखरा, विर्तामोड र नेपालगञ्जमा हुने बताइएको छ । उक्त शिविर भदौ ४ गते मेघा हेल्थकेयर, सभागगृह चौक, पोखरामा, भदौ ११ गते निशा एड्भान्स अल्ट्रासाउण्ड एण्ड डाइग्नोष्टिक क्लिनिक, विर्तामोड तथा भदौ १८ गते वात्सल्य हेल्थकेयर, नेपालगञ्ज शाखा, बि.टि.एस चौक, नेपालगञ्जमा हुने बताइएको छ । शिविरमा सेवाग्राहीहरूले आफ्नो प्रजनन् अवस्था सम्बन्धि छलफल गर्न तथा निःसन्तान हुनुको कारण पहिचान गर्न सक्नेछन् भने सम्भावित उपचार विधिबारे जानकारी पनि प्राप्त गर्न सक्ने जनाइएको छ । पूर्ण परीक्षणपछि आइ.भि नै गर्नुपर्ने भएमा विशेष छुटको समेत व्यवस्था गरिएको क्लिनिकले बताएको छ । उक्त क्लिनिकले २५ सयभन्दा बढी दम्पतीलाई सन्तान प्राप्तिको खुशी दिइसकेको बताएको छ ।
मेलम्ची–हेलम्बु सडक अवरुद्ध
सिन्धुपाल्चोक । गएरातिको बाढीले मेलम्ची–हेलम्बु सडकअन्तर्गत मेलम्ची ११ मा सडक अवरुद्ध भएको छ । सिमखेत नजिकै नदीले सडक कटान गरी यातायातका साधन सञ्चालनमा समस्या आएको इलाका प्रहरी कार्यालय मेलम्चीले जनाएको छ । सडक अवरुद्ध हुँदा हेलम्बु गाउँपालिका र मेलम्चीको वडा नं ६ र ७ का स्थानीय प्रभावित भएका छन् । पानीको बहाव हेरेर सडक सञ्चालन गरिने मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले जानकारी दिए । सिन्धुपाल्चोकको मेलम्ची तिपेनी सडकखण्डको विभिन्न स्थानमा पहिरो जाँदा बाटो अवरुद्ध भएको छ । अवरुद्ध बाटोका कारण गाउँदेखि काठमाडौंसम्मको सिधा यातायात सञ्चालन नहुँदा पाँचपोखरी थाङपाल गाउँपालिकाका यात्रुलाई सास्ती भएको छ । मेलम्ची नगरपालिकाअन्तर्गत पर्ने उक्त सडकखण्डको राम्चेमा पहिरो जाँदा यातायात सञ्चालन गर्न जोखिम देखिएपछि स्थानीय तहले नै मर्मतका लागि बाटो बन्द गरेको हो । बाटो मर्मतको काम भइरहेको भए पनि नियमित यातायात सञ्चालनका लागि दुई सातासम्म लाग्ने मेलम्ची नगरपालिकाका इञ्जिनीयर जीतबहादुर कार्कीले बताए । बाढीका कारण मेलम्ची बजारमा पुल नहुँदा वैकल्पिक सडकको प्रयोग गर्दै आइरहेका पाँचपोखरीका स्थानीयलाई खाद्यान्नलगायतका अत्यावश्यक सामग्रीको ढुवानीमा समेत समस्या परेको छ । गएराति भारी वर्षापछि आएको बाढीका कारण मेलम्ची हेलम्बु सडकखण्ड पनि अवरुद्ध भएको हो । मेलम्ची ११ सिमखेतमा खोलाले सडक कटान गर्दा यातायात सञ्चालन हुन नसकेको इलाका प्रहरी कार्यालय मेलम्चीले जनाएको छ । त्यस्तै मेलम्ची १० रामपुरबेंसीमा पहिरो जाँदा यातायात अवरुद्ध भएको छ । रासस
लगानी गर्न कुन बैंकसँग कति छ तरलता ?
काठमाडौं । नेपाली बैंक तथा वित्तीय संस्थाहरु लामो सयमदेखि लगानीयोग्य पुँजीको समस्या खेपिरहेका छन् । नयाँ आर्थिक वर्ष सुरु भएसँगै बजारमा प्रयाप्त पैसा आउला र त्यसको सकारात्मक प्रभाव बैंकहरुमा पनि देखिएला भन्ने अपेक्षामा रहेका बैंकहरुमा अझै पनि तरलताको अभाव छ । बैंकहरु ऋण लगानीका लागि पैसा नपाउँदा समस्यामा छन् भने उद्योगी व्यवसायीहरुले पनि बैंकहरुले ऋण नदिएको गुनासो गर्ने गरेका छन् । साउन महिनामा मात्रै बैंकिङ प्रणादीबाट सवा एक खर्ब रुपैयाँ बाहिरिएपछि बैंकरहरु थप त्रसित बनेका छन् भने सो पैसा कहाँ गयो भन्ने चासो पनि धेरैको बनेको छ । भदौ सुरु भएसँगै बैंकहरुको लगानीयोग्य पुँजी पनि थप टाइट हुँदै गएको बैंकरहरु बताउँछन् । नेपाल राष्ट्र बैंकका अनुसार अहिले बैंकिङ प्रणालीमा अधिक तरलता केही घटेको केही घटेको छ । बैंक तथा वित्तीय क्षेत्रमा कुल ५० खर्ब ३४ अर्ब रुपैयाँ निक्षेप छ भने ४७ खर्ब कर्जा लगानी छ । असार मसान्तसम्मको तथ्यांक हर्ने हो भने वाणिज्य बैंकहरुसँग औसत २५.२२ प्रतिशत तरलता अनुपात छ । नेपाल राष्ट्र बैंकले २० प्रतिशत तरलता अनुपात हुनु पर्ने व्यवस्था गरेको छ भने ९० प्रतिशतको सीडी रेसियो कायम गर्नु पर्ने व्यवस्था गरेको छ । तर, अहिले लगानीयोग्य पुँजी नभएकै कारण आधा दर्जन बैंकले साे सीमा नाघेका छन् । असार मसान्तसम्मको तथ्यांक अनुसार सबैभन्दा बढी तरलता एभरेष्ट बैंकसँग छ । सो बैंकसँग कुल ३३.६७ प्रतिशत तरलता अनुपात छ । दोस्रोमा नेपाल इन्भेष्टमेन्ट, तेस्रोमा स्ट्याण्डर्ड चार्टर्ड बैंक र चौथोमा एनएमबि बैंकको तरलता अनुपात बढी छ । राष्ट्रिय वाणिज्य बैंकको भने सीमा भन्दा पनि तल छ । सो बैंकको तरलता अनुपात १४.११ प्रतिशत तरलता अनुपात छ ।