अपर तामाकोशी हाइड्रोपावरले शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्ने
काठमाडौं । अपर तामाकोशी हाइड्रोपावरले शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ । शुक्रबार काठमाडौंमा भएको चौधौं वार्षिक साधरण सभाले कम्पनीको १०० प्रतिशत हकप्रद निष्कासन गर्ने प्रस्ताव पास गरेको हाे । वार्षिक साधरणसभामा बोल्दै नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले कम्पनीको समग्र वित्तीय विश्लेषण गरी उपसमितिबाट विस्तृत अध्ययन गरी प्राप्त प्रतिवेदनको आधारमा हकप्रद सेयरको माध्यमबाट पुँजी वृद्धिको लागि विशेष प्रस्ताव पेश गरे । उनले ७० प्रतिशत ऋण र ३० प्रतिशत छुट पुँजी दिने प्रावधान रहेकोमा विभिन्न नियन्त्रण बाहिरको परिस्थिति उत्पन्न भई निर्माण अवधि बढेर ऋणको भार बढी ऋण र पुँजीको अनुपात कायम हुन नसकेकाले पुँजी वृद्धिको लागि हकप्रद सेयर निष्कासन गर्न लागेको बताए । निर्देशक घिसिङले रोल्वालिङ ड्राइभर्सन,रोल्वालिङ खोला जलविद्युत आयोजनाहरुको निर्माण र माथिल्लो तामाकोशी आयोजनाको लागि अपुग रकम अल्पकालिन ऋण लिएर सम्पन्न गरिएको हुँदा सो ऋण चुक्ता गर्नको लागि वित्तीय व्यवस्थापन गर्न आवश्यक देखिएको बताए । उनले माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको निर्माण कार्य सम्पन्न भएपछि विद्युत गृहबाट निस्कने पानीलाई करिव ८ किलोमिटर सुरुङमार्फत ९९ सय मेगावाट क्षमताको तामाकोशी पाँचौं आयोजना निर्माण गर्ने नेपाल विद्युत प्राधिकरणको लक्ष्य रहेको बताए । उनले त्यसको लागि पनि तामाकोशी जलविद्युत सञ्चालक समितिको बैठकबाट कम्पनीले पनि लगानी गर्ने अवसर सुनिश्चित भएको जानकारी दिए । उनले रोल्वालिङ खोलाको पानीलाई ७ किलोमिटर लामो सुरुङमार्फत लामाबगर स्थित तामाकोशी नदीबाट निर्मित जलाशयमा मिसाई थप २०० सय गिगावट गरी जम्मा ३०० सय गिगावट घण्टा विद्युत उत्पादन गरी विस्तृत अध्ययन गर्ने बताए । उनका अनुसार उक्त आयोजनाकाे साढे चार वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको छ । हाल कम्पनीको चुक्ता पुँजी १० अर्ब २९ करोड रुपैयाँ छ । हकप्रद निष्कासन पश्चात चुक्ता पूँजी २० अर्ब ५८ करोड रुपैयाँ पुग्ने छ । अहिले अपर तामाकोशीको सेयर मूल्य ५ सयभन्दा कम छ । तामाकोशीको १० करोड ५९ लाख कित्ता सेयर नेप्सेमा सूचीकृत भइसकेको छ ।
बैतडी कारागारभित्र फैलियो कोरोना, १६ जनामा पुष्टि
बैतडी । जिल्ला कारागारभित्र कोरोना सङ्क्रमण फैलिएको छ । कारागार प्रमुख धारा भण्डारीका अनुसार कारागारभित्र रहेका १६ कैदीबन्दीमा कोरोना सङ्क्रमण पुष्टि भएको हो । कैदीबन्दीमा ज्वरो, रुघाखोकी लागेर कोरोनाजस्तै लक्षण देखिएपछि गरिएको परीक्षणमा १६ जनामा सङ्क्रमण पुष्टि भएको उनले जानकारी दिइन् । पिसिआरमार्फत चार र एन्टिजेनमार्फत १२ जना गरी १६ जनामा सङ्क्रमण देखिएको हो । कारागार प्रमुख भण्डारीले भनिन्, ‘कोरोनाजस्तै लक्षण देखिएका चार कैदीबन्दीको बुधबार पिसिआर परीक्षण गरेका थियौँ । उनीहरूमा सङ्क्रमण पुष्टि भएपछि अन्य ८९ जनामा पनि एन्टिजेन परीक्षण गर्दा बिहीबार थप १२ जनामा सङ्क्रमण देखापरेको छ ।’ सङ्क्रमण पुष्टि भएका कैदीबन्दीलाई कारागारभित्र छुट्टै राख्न समस्या समस्या भएको छ । क्षमताभन्दा चारगुणा बढी कैदी हुँदा उनीहरूलाई अलग्गै आइसोलेशनमा राख्न नसकिएको उल्लेख गर्दै उनले भनिन्, ‘२५ कैदी अटाउने क्षमता भएको कारागारमा ९३ जना थिए, उनीहरूकै व्यवस्थापन गर्न निकै समस्या रहेका बेला कोरोना फैलिएपछि झनै समस्या भएको छ ।’ कारागारभित्र कोरोना सङ्क्रमण फैलिएपछि कैदीलाई भेटघाट गर्ने कार्यमा रोक लगाइएको छ । सङ्क्रमणको थप जोखिमलाई मध्यनजर गर्दै भेटघाट कार्य बन्द गरिएको हो । क्षमताभन्दा झण्डै चारगुणा कैदी हुँदा ठाउँ अभावले बसाइँ व्यवस्थापनमा निकै असहज भएको कारागार कार्यालयले जनाएको छ । विसं २०४० मा निर्माण भएको कारागार मर्मत र पुनःनिर्माण नहुँदा जीर्ण बनेको छ । रासस
भारतमा १५ हजार सात सय भन्दा बढी कोरोना सङ्क्रमित
काठमाडौं । भारतमा एक दिनमा पन्ध्र हजार सात सय ५४ जना कोरोना भाइरस सङ्क्रमित भएका सङ्घीय स्वास्थ्य मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको छ । यसैसँगै भारतमा चार करोड ४३ लाख १४ हजार छ सय १८ जना कोरोना भाइरस सङ्क्रमित भईसकेका छन् । दैनिक सङ्क्रमितको सङ्ख्यामा उतारचढाव भइरहेको छ । भारतमा अहिले सक्रिय सङ्क्रमितको सङ्ख्या एक लाख एक हजार ३० जना रहेका छन्। गत २४ घण्टाको समयअवधीमा कोरोना सङ्क्रमणबाट यहाँ ३० जनाको मृत्यु भएको छ । यसैसँगै कोरोना सुरु भएबाट हालसम्म यहाँँ पाँच लाख २७ हजार दुई सय ५३ व्यक्तिको मृत्यु भइसकेको छ । भारतमा हिजो एक दिनमा १५ हजार दुई सय २० जना कोरोना मुक्त भएका छन् । यसैसँगै कूल चार करोड ३६ लाख ८५ हजार पाँच सय ३५ जना कोरोनामुक्त भएका छन् । नयाँ सङ्क्रमितको सङ्ख्याभन्दा सङ्क्रमणमुक्त भएकाको सङ्ख्या धेरै रहेकाले सक्रिय सङ्क्रमित घटेका छन् । भारतमा सन् २०२१ को जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको थियो । सो समयबाट हालसम्म दुई अर्ब नौ करोड २७ लाख ३२ हजार दुई सय ५१ मात्रा खोप लगाइएको छ । भारतमा कोरोना सुरु भएयता हालसमम ८८ करोड ६० भन्दा बढीको कोरोना भाइरस परीक्षण भएको जनाइएको छ । रासस –
स्याङ्जाको छाङ्छाङ्दीमा साउनमा मात्रै साढे १२ लाख भेटी
वालिङ । स्याङ्जाको प्रसिद्ध धार्मिकस्थल छायाँक्षेत्र शिव मन्दिर छाङ्छाङ्दीमा साउन महिनामा मात्रै १२ लाख ६० हजार छसय ९९ भेटी सङ्कलन भएको छ । भिरकोट नगरपालिका–४ छाङ्छाङ्दीमा रहेको उक्त शिवमन्दिरमा साउनको सोमबार आउने भक्तजनबाट भेटी सङ्कलन भएको मन्दिर व्यवस्थापन समितिका सचिव कृष्णप्रसाद श्रेष्ठले बताए । मन्दिरमा दर्शनका लागि आउने भक्तजनले दान गरेको, सहयोग रसिद, आजीवन सदस्यता, चामल बिक्री, पार्किङ व्यवस्थापन, बजार बिक्री कर, भजन मण्डली, दानपेटिका, द्रुत सेवा र क्युआर कोडमार्फत उक्त भेटी सङ्कलन भएको हो । ‘साउन महिना महादेवको प्रिय महिना र त्यसमा पनि सोमबार विशेष दिन भएको हुँदा यहाँ भक्तजनको भीड लागेको हो’, उनले भने, ‘यसपटक साउन महिनाका पाँच वटा सोमबार रहेको र यहाँ आउने भक्तजनले विभिन्न शीर्षकमा दिएको भेटी सङ्कलन गरी आम्दानी बाँधेर राखेका छौँ ।’ मन्दिरमा भजन मण्डलीद्वारा भजनकीर्तन गरिने हुँदा त्यहाँ धेरै भक्तजनले भेटी चढाउने गरेको सचिव श्रेष्ठले बताए । विभिन्न शीर्षकबाट सङ्कलन भएको भेटीलाई बैंकिङ प्रणालीमार्फत खर्च गर्ने गरिएकाले पारदर्शितामा समितिले ध्यान दिएको छ । मन्दिरका नाममा माछापुच्छ्रे बैंकसँग समन्वयमा ‘क्युआर कोड’ मन्दिर परिसरमै राखिदिएकाले पनि भेटी सिधै बैंकमा जम्मा हुने गरेको छ । ‘सङ्कलन भएको भेटीको सही सदुपयोग गरी सोहीमार्फत मन्दिरमा पूजापाठ सञ्चालन गर्ने, भौतिक पूर्वाधार विस्तार गर्ने गरिएको छ’, उनले भने, ‘यहाँ बर्सेनि नयाँनयाँ भौतिक संरचना तथा विभिन्न मूर्तिहरू प्रतिस्थापन गर्दै थप व्यवस्थित गर्दै अगाडि बढेका छौँ ।’ यस ठाउँमा हिमालयकी पुत्री पार्वतीको अन्तिम अङ्ग पतन भएको किंवदन्ती छ । दिवङ्गत भएकी पत्नी पार्वतीको शव लिएर हिँड्नेक्रममा बाँकी रहेको अन्तिम अङ्ग पनि पतन भएपछि पत्नी वियोगमा ब्याकुल बनेका महादेवले त्रिशूल प्रहार गरी पानी निकालेको र सोही पानी पत्थर भित्रैभित्रबाट छङ्छङ् गर्दै झरेकाले यसको नामकरण ‘छाङ्छाङ्दी’ भएको धार्मिक विश्वास रहिआएको छ । यस मन्दिरमा स्याङ्जासहित पोखरा, पाल्पा, बुटवल, चितवन, बागलुङ, पर्वत, तनहुँलगायत स्थानबाट दर्शनार्थी आउने गरेका छन् ।
लगानीकर्तालाई कुमारी बैंकको छुट, आश्वा शुल्क नलिने
काठमाडौं । कुमारी बैंकबाट प्राथमिक सेयरमा आवेदन दिँदा आश्वा शुल्क नलाग्ने भएको छ । बैंकले भदौ १ गतेदेखि लागू हुने गरी सम्पूर्ण खाताहरुमा सीआश्वा आवेदन शुल्क नलाग्ने व्यवस्था गरेको हो । यससँगै लगानीकर्ताले बैंकको कुनै पनि खाताबाट प्राथमिक सेयर, हकप्रद लगायतका विभिन्न धितोपत्रमा आवदेन दिँदा कुनै पनि शुल्क तिर्नुपर्दैन । ग्राहकहरुको हित तथा पुँजीबजारमा जनमानसको बढ्दो सक्रियतालाई मध्यनजर गर्दै कुमारी बैंकले सो छुट ल्याएको हो । यसबाट नयाँ लगानीकर्ता, युवा, विद्यार्थी लगायत कुमारी बैंकका सम्पूर्ण खाताधारकहरु लाई विशेष लाभ प्राप्त हुने विश्वास गरिएको छ । बैंकले हाल १९७ शाखा, १९१ एटीएम, ४९ शाखारहित बैंकिङ्ग इकाई तथा २४ एक्टेन्सन काउन्टर मार्फत अत्याधुनिक वित्तिय सेवा सुविधा दिँदै आएको छ । साथै, आगामी दिनमा पनि थप प्रभावकारी तथा ग्राहकमुखी सेवा विस्तार गर्दै जाने बैंकको प्रतिवद्धता छ ।
आगलागीबाट तीन लाखको क्षति
सांकेतिक तस्विर काठमाडौं । व्यास नगरपालिका–२ भोर्लेटार चोकस्थित अम्बिका पन्थका घरमा गए राति आगलागी हुँदा करिब रु तीन लाख मूल्य बराबरको सामान जलेर नष्ट भएको छ । विद्युत् सर्ट हुन गई आगलागी हुँदा पसलमा रहेका तरकारी र फर्निचरलगायतका सामग्री जलेर नष्ट भएको हो । व्यास नगरपालिकाको दमकलसहित नेपाल प्रहरी, स्थानीयवासीको सक्रिय सहभागितामा आगोलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिएका हुन् । रातका समयमा आगलागी भए पनि जनशक्ति समयमा जुट्दा अन्य क्षति हुनबाट जोगिएको उनले बताए । रासस
पदाधिकारी चयनमा माओवादी बैठक अनिर्णीत
काठमाडौं । महाधिवेशन सम्पन्न भएको छ महिना बितिसक्दा पनि नेकपा (माओवादी केन्द्र)ले केन्द्रीय पदाधिकारी चयन गर्न सकेको छैन । पदाधिकारीलगायत पार्टीका साङ्गठनिक संरचनालाई अन्तिमरुप दिने भन्दै पछिल्ला केही दिनदेखि बसिरहेको माओवादी स्थायी समिति बैठक अनिर्णीत बनिरहेको छ । बैठक बस्ने, छलफल हुने तर निष्कर्षमा पुग्न नसक्दा पदाधिकारी घोषणा हुन नसकेको माओवादी नेताहरुको स्वीकारोक्ति छ । महासचिवको चयनलाई लिएर पार्टीभित्र सङ्घर्ष बढेको नेताहरुको भनाइ छ । महासचिवमा स्थायी समिति सदस्य वर्षमान पुन र जनार्दन शर्माको दाबेदारी रहेको बताइएको छ । गत पुसमा आठौँ महाधिवशेन सम्पन्न गरेको माओवादीले अध्यक्षबाहेक पदाधिकारी चयन गर्न सकेको छैन । केही दिनअघि बसेको बैठकले ४१ सदस्यीय स्थायी समिति, एकसय २५ सदस्यीय पोलिटब्यूरो र तीनसय ७५ सदस्यीय केन्द्रीय समितिको टुङ्गो लगाएको थियो । पदाधिकारीलगायत साङ्गठनिक संरचनालाई पूर्णता दिने भन्दै बिहीबार बिहान बोलाइएको बैठक बस्न नसकेपछि पुनःअपराह्न ४ बजेका लागि तय गरिएको थियो । अपराह्न ४ बजे पुनःबैठक बस्न नसकेपछि साँझ ६ बजेका लागि बोलाइएको थियो । प्रतिनिधिसभामा नागरिकता विधेयकमाथिको छलफल र मतदान जारी रहेकाले शीर्ष नेतालगायत स्थायी समितिका सदस्य व्यस्त भएको भन्दै अन्तिम अवस्थामा बैठक आज बिहान बस्ने गरी स्थगन भएको थियो । शुक्रबार बिहान पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको बैठक पनि पदाधिकारी चयनको विषयमा अनिर्णीत बनेको छ । नेता कृष्णबहादुर महराले पुनःभोलि १ बजे बस्ने बैठकले पधिकारीलाई अन्तिम रुप दिने जिकिर गरे । ‘आज स्थायी समितिको बैठक बस्यो, पदाधिकारी र पार्टी कार्यक्रमका विषयमा विस्तृत छलफल भयो’, पदाधिकारीसम्बन्धी छलफलका विषय बाँकी नरहेको जानकारी दिँदै उनले भने, ‘भोलि अपराह्न १ बजे बस्ने बैठकबाट टुङ्गो लाग्छ ।’ पदाधिकारी चयनका विषयमा पार्टीभित्र निकै गहन छलफल भएको उनको भनाइ छ । ‘विवादका कारण पदाधिकारी चयन गर्न नसकिएको भन्ने होइन’, नेता महराले भने, ‘पदाधिकारी चयन तथा कार्यक्रमका बारेमा विस्तृत र गम्भीररुपमा छलफल भएको छ । अब छलफल गर्न बाँकी विषय छैनन्, भोलि अपराह्न १ बजे बस्ने बैठकले अन्तिमरुप दिन्छ ।’ रासस
सिसी क्यामेरा बिग्रिँदा उदयपुरमा चोरीका घटनामा वृद्धि
उदयपुर । उदयपुर सदरमुकाम गाईघाट बजारको मुख्य चोक तथा बोक्से क्षेत्रमा जडान गरिएका सिसी क्यामेरा बिग्रिएपछि समस्या भएको छ । चोक क्षेत्रमा छ वर्षअघि जडान गरिएका सिसी क्यामेराले काम गर्न छाडेपछि अहिले गाईघाट बजार क्षेत्रमा आपराधिक घटना बढ्दै गएको पाइएको छ । जिल्ला प्रहरी कार्यालयको सक्रियतामा त्रियुगा नगरपालिकाको लगानीमा गाईघाट बजार क्षेत्रका मुख्य चोक बोक्से र गाईघाटमा जडान गरिएका सिसी क्यामेराले काम गर्न छाडेपछि आपराधिक घटना ह्वात्तै बढेको त्रियुगा उद्योग वाणिज्य सङ्घका अध्यक्ष रमेश विश्वकर्मा बताउँछन् । सबैभन्दा बढी मारमा गाईघाट बजार क्षेत्रका व्यापारी छन् । सिसी क्यामेरा जडानपछि एक–दुई वर्षसम्म रातिको समयमा गाईघाट बजार क्षेत्र सुरक्षित नै बन्न पुगेको त्रियुगा उद्योण वाणिज्य सङ्घका सदस्य कुमार घिमिरे बताउँछन् । सिसी क्यामेराबाट सबै कुरा देखिने हुनाले अपराधी पक्राउ गर्न प्रहरीलाई सहज भएको थियो । अहिले सिसी क्यामेरा बिग्रेकाले काम गर्न छाडेपछि बजार क्षेत्रका पसल चोरी हुने, कुटपिटलगायतका घटना बढेको वाणिज्य सङ्घका संस्थापक अध्यक्ष रत्न श्रेष्ठ बताउँछन् । बजार क्षेत्रमा जडान गरिएका सिसी क्यामेरा दुई वर्षदेखि बिग्रिएर मर्मत नभएपछि गाइघाट बजारमा पसल फुटाउने, चोरी हुने घटना दैनिकजसो हुने गरेको भए पनि प्रहरीले पनि पत्ता लगाउन नसकेको पसल सञ्चालक चन्दन साहले बताए । उनी भन्छन्, ‘सिसी क्यामेरा जडान गरेको तीन वर्षसम्म साना घटनासमेत पत्ता लगाएर प्रहरीले कारबाही गर्ने गर्दथ्यो, अहिले रातमा आधा दर्जन पसल फुटाएर चोरले समान लैजाँदा पनि पक्राउ गर्न सकेको छैन । सिसी क्यामेरा मर्मत नहुँदा बजार क्षेत्रमा आपराधिक घटना बढ्दै गइरहेको छ ।’ जिल्ला प्रहरी कार्यालयका अनुसार प्रहरी र त्रियुगा नगरपालिकाको सक्रियतामा गाईघाट बजारको मुख्य चोक र बोक्से क्षेत्रका चोकमा सिसी क्यामेरा जडान गरी जिल्ला प्रहरीको कन्ट्रोल कक्षमा सिसी क्यामेरा कनेक्सन गरेपछि केही समयअघि यता आएर आपराधिक घटनामा कमी आएको हो । अहिले बजार क्षेत्रमा जडान गरिएका अधिकांश सिसी क्यामेरा मर्मत गर्नुपर्ने वा फेर्नुपर्ने अवस्था रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख ज्ञानेन्द्र फुँयाल बताउँछन् । छ वर्षअघि जडान गरिएका सिसी क्यामेराका कारण केही वर्षसम्म गाईघाट बजार क्षेत्रमा खुला मापसे गरेर हिँड्ने, झगडा गर्ने, पाकेट मार्ने तथा रातिको समयमा बजार क्षेत्रका पसल फुटाएर चोरी हुनेजस्ता आपराधिक कार्यमा कमी आएको थियो । अहिले एक महिनामै पाँचपटकभन्दा बढी पसल फुटाउने र चोरी हुने, मापसे गरेर रातिको समयमा बजारमा हिँडडुल गर्ने र समूहगत झगडासमेत हुँदै आएको पाइएको छ । त्रियुगा नगरपालिकाका प्रमुख वसन्तकुमार बस्नेत पुराना क्यामेरा फेरेर नयाँ राख्न या मर्मत गरेर प्रयोगमा ल्याउन नगरपालिकाले बजेट व्यवस्थापन गर्ने बताउँछन् ।