विकासन्युज

भोजपुरवासीलाई इष्टर्न हाईड्रपावरको आइपीओ खुला, भदौ २१ गतेसम्म आवेदन दिन सकिने

काठमाडौं । इष्टर्न हाइड्रोपावरले आयोजनाबाट असर पर्ने स्थानीय बासिन्दाका लागि निष्कासित साधारण सेयरको बिक्री खुला गरेको छ । कम्पनीले आजदेखि प्रतिकित्ता एक सय अङ्कित दरमा छ करोड बीस लाख मूल्य बराबरको छ लाख बीस हजार कित्ता प्रारम्भिक सार्वजनिक निष्कासन(आइपीओ) बिक्री खुला गरेको हो । आयोजनाबाट असर पर्ने भोजपुर जिल्लाका स्थानीय बासिन्दाले यही भदौ २१ गतेसम्म र सो अवधिमा माग बमोजिम आवेदन नपरे आगामी असोज ५ गतेसम्म न्यूनतम १० कित्तादेखि अधिकतम एक लाख कित्ता सेयर खरिदका लागि आवेदन दिन पाउने कम्पनीले सार्वजनिक गरेको आह्वान पत्रमा उल्लेख छ । कम्पनीले भोजपुरको पिखुवा खोलामा पाँच मेगावाट क्षमताको पिखुवा खोला साना जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट आस्वा प्रणालीमार्फत सेयर खरिदका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ । साथै, एनएमबि बैंक, ग्लोबल आइएमई बैंक, लक्ष्मी बैंकको भोजपुर शाखाका साथै प्रभु बैंकको भोजपुर तथा हतुवागडी शाखा कार्यालयबाट पनि सेयर खरिदका लागि लगानीकर्ताले आवेदन दिन पाउनेछन् । कम्पनीलाई केयर रेटिङ्गस् नेपालले ‘केयरनपी–बी प्लस आइएस’ रेटिङ प्रदान गरेको छ ।

चीनको नाका नखुल्दा सीमावर्ती क्षेत्रका समुदायलाई सास्ती

फुङ्लिङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाको सीमामा अवस्थित टिप्ताला नाका नखुल्दा स्थानीयवासीले सास्ती खेप्नुपरेको छ । कोभिड–१९ का कारण चीनले सीमावर्ती सो नाका बन्द गरेको चार वर्ष पुगिसकेको छ । नाका बन्द भएसँगै ताप्लेजुङको फक्ताङलुङ–७ ओलाङचुङगोला, याङमा र घुन्सा क्षेत्रमा बसोबास गर्ने समुदायले सास्ती खेप्नुपरेको हो । नाका नखुल्दा ती क्षेत्रमा सास्ती भएको जनाउँदै फक्ताङलुङले गत साता जिल्ला प्रशासन कार्यालय ताप्लेजुङलाई समन्वय गर्न आग्रह गरेकाे थियो । स्थानीयवासीको सामान आयात–निर्यातको मुख्य नाका रहेकाले चाँडै खोल्नुपर्ने गाउँपालिकाले जनाएको छ । यस क्षेत्र सडक सञ्जालबाट टाढै रहेको र तिब्बतको बजार नजिक पर्ने भएकाले तिब्बत नै यहाँका बासिन्दाको मुख्य बजार हो । विशेषगरी पशुपालन, जडीबुटी सङ्कलन र गलैँचा उत्पादन मुख्य पेशाका रुपमा अँगालेका स्थानीयको नाका बन्द हुँदा सामान निर्यात ठप्प भएको छ । दैनिक उपभोग्य वस्तुसमेत खरिद गर्न कठिन भएको छ भने आयात–निर्यात दुवै ठप्प हुँदा बस्ती स्थानान्तरणकै स्थिति सिर्जना भएको पत्रमा उल्लेख छ । ताप्लेजुङ सदरमुकाम फुङलिङदेखि सामान बोकेर लैजाँदा ओलाङ्चुङगोला, घुन्सा, फले र याङ्मा पुग्न चार दिन लाग्ने गर्दछ भने पालिकाको केन्द्र तापेथोकबाट सामान लैजाँदा तीन दिनमा पु¥याउन सकिन्छ । सदरमुकामबाट सामान खरिद गर्दा घरसम्म पु¥याउँदा लागत मूल्यभन्दा तीन गुणा बढी रकम तिर्नुपर्ने बाध्यता रहेको स्थानीय तेन्जिङ शेर्पाले बताए । नाका खुला हुँदा यस क्षेत्रका बासिन्दा एक दिनमा तिब्बतको रियू बजार किनमेल गरेर घर फर्किन सक्छन् । सडक सञ्जालबाट टाढै रहेको यस क्षेत्रका समुदायले स्वास्थ्य, शिक्षालगायतका समस्या भोग्दै आएका छन् । बिरामी पर्दा हेलिकोप्टर ‘चार्टर्ड’ गर्छन् भने आर्थिकस्तर कमजोर भएकाले तीन दिनको बाटो पैदल हिँडेर जिल्ला अस्पताल पुग्नुपर्ने बाध्यता रही आएको छ ।

साउदीबाट नेपालमा सिटी एक्सप्रेसमा पैसा पठाउँदा महोत्तरीका जम्सेदले जिते कार

काठमाडौं । सिटी एक्सप्रेसको ‘नेपाल पैसा पठाउनुहोस र पुरस्कार जित्नुहोस’ अफर अन्तर्गत महोत्तरी निवासी जम्सेद नदापले कार जितेका छन् । हाल वैदेशिक रोजगारको सिलसिलामा साउदीमा बसिरहेका नदापले निसान सन्नी कार जितेका हुन् । सिटी एक्सप्रेस मनी ट्रान्सफर नेपाल रं साउदी अरब स्थित टेलिमनी बैंकको संयुक्त आयोजनामा ‘नेपाल पैसा पठाउनुहोस र पुरस्कार जित्नुहोस’ उपहार योजना ६ महिनाको लागि संचालन भएको थियो । सो उपहार योजना अन्तर्गत साउदीको टेलिमनी बैंक मार्फत नेपालमा सिटी एक्सप्रेसमा रेमिटान्स रकम पठाउदा १५ जनाले सामसुङ मोबाईल फोन, तीन जनाले १० ग्राम सुन, तीन जनाले ५००० नगद साउदी रियाल, तीन जनाले आई फोन १३ प्रो माक्स र बम्परमा एक जनाले निसान सन्नी कार प्राप्त गरेका छन् । सिटी एक्सप्रेसले विगत १६ वर्षदेखि संसारभरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ । आन्तरिक विप्रेषण अन्तर्गत सिटी एक्सप्रेसका देशभर छरिएर रहेका १५ हजारभन्दा बढि भुक्तानी केन्द्रहरु, कुनै पनि बैंकको खातामा रकम जम्मा गर्ने र मोबाईल वालेटमा लोड गर्न सकिने जस्ता सुविधाहरु प्रदान गर्दै आइरहेको छ ।

बैंकिङ सेवा लिन शाखा पुग्नेको संख्या घट्दै, कर्मचारी नबढाई दोब्बर विजनेश

अहिले बैंकहरुबीच मर्जर तथा प्राप्तिको सम्झौता हुने क्रम बढ्दो छ । यही बिचमा ग्लोबल आइएमई बैंकले बैंक अफ काठमाण्डूसँग मर्जरको सम्झौता गर्याे । धेरैले यसलाई ठूलो बन्ने होड्बाजीका रुपमा चित्रण गरेका छन् । कयौंले यसलाई ‘टु बिग टु रिस्क’ भन्न पनि थालेका छन् । अहिलेसम्म नेपालमा सबैभन्दा ठूलो संस्था (कर्मचारीको संख्याका हिसाबले) नेपाल विद्युत प्राधिकरण (एनइए) र नेपाल टेलिकम हुन् । एनइएमा झण्डै १० हजार कर्मचारी छन् । ग्लोबल आइएमई बैंकमा अहिले ३ हजार कर्मचारी छन् भने बैंक अफ काठमाण्डू आएपछि चार हजार कर्मचारी हुन्छन् । अनि कसरी ठूलो भयो ? भारतको एसबिआई बैंकको २३ हजार शाखा छन् । दुई लाख ३० हजार कर्मचारी छन् । एसबिआई बैंकको भारतीय बैंकिङ क्षेत्रमा कुल २० प्रतिशत हिस्सा छ । ग्लोबल आइएमईले बिओकेसँग सम्झौता गरिसकेपछि पनि ९ प्रतिशत मात्रै हिस्सा पुग्छ । ठूलो भन्नका लागि कुन प्यारामिटर हेर्ने भन्ने हो । गुगलले यस वर्ष १० हजार नयाँ कर्मचारी राख्दैछ । यो सबै व्यवस्थापकीय काम हो । भाेली ग्लोबल आइएमई बैंक चार हजार मात्रै होइन ४० हजार कर्मचारी भएपनि राम्रोसँग चल्छ । यो सबै व्यवस्थापन गर्ने विषयमा भर पर्छ । संरचनागत ‘रिफर्म’ कसरी गर्ने हो भन्ने विषयमा भर पर्छ । चार हजार कर्मचारी, झण्डै चार सय शाखाहरु, चार सय अर्बको एसेट हुने भएपछि ग्लोबल आइएमई बैंक नेपालको बैंकिङ क्षेत्रमा ठूलो बैंक अवश्य नै हुन्छ । यसको लागि हामीले एउटा राम्रो संरचना बनाउने भन्ने रणनीति बनाउनको लागि विदेशी कन्सल्टेन्ट लिने विषयमा सोचिरहेका छौं । नेपालमा पनि राम्रो कन्सल्टेन्टहरु छन् । तर, उनीहरुको एक्सपोजर हामीले खोजेजस्तो हुँदैन । विदेशमा काम गरेको अनुभव उनीसँग छैन । त्यसका लागि हामीले अन्तर्राष्ट्रिय कन्सल्टेन्टहरुसँग सहकार्य गर्न खोजेका हौं । हामीले ‘कि पफर्मेन्स इन्डिकेटर’हरु डेभलप गर्नका लागि काम गरिरहेका छौं । अब पहिलेको जस्तो एक/एक कर्मचारीको पफर्मेन्सको मूल्यांकन गर्न सजिलो छैन । हामी ह्याण्डल गर्ने मात्रै होइन कर्मचारीको पफर्मेन्स, उसको सन्तुष्टि, उसले गरिरहेको कामको तौर–तरिका र जिम्मेवारीको मूल्यांकन गर्नका लागि छुट्टै संयन्त्रको निर्माण गरेर काम गर्ने सोच बनाएका छौं । नेपालको अर्थतन्त्र पाँच गुणा बढ्दा पनि सस्टेन गर्ने वातावरण हामीले सिर्जना गर्न सक्नुपर्छ । देशको अर्थतन्त्र बलियो बनाउने हो भने लगानी थप्नु पर्छ । पुँजी छैन भने विकास गर्न सकिँदैन । पुँजी निर्माणका लागि नै लगानी बढाउनु पर्छ । बजारमा लगानी बढेको छ भने बैंकहरुले पनि त्यही किसिमले अगाडि बढ्छन् । तर, रणनीति र योजना भने आवश्यक पर्छ । हामीले कामलाई कसरी अटोमेसन गर्ने भन्ने विषयमा धेरै फड्को मारिसकेका छौं । अझैं काम गर्दैछौं । ग्लोबल आइएई बैंकले २०२५ सम्मको एउटा रणनीतिक योजना बनाएको छ । सो समयसम्म बिजनेस र नाफा दोब्बर गर्ने तर कर्मचारी नथप्ने योजना बनाएका छौं । हामीले अटोमेसन प्रणालीमा जाने र ग्राहकमा पनि ‘डिजिटल अवारनेस’ बढाउने योजना बनाएका छौं । ग्राहकको भीड बढी हुने बैंकमध्ये ग्लोबल आइएमई पनि पर्छ । तर, अहिले त्यो भीड हटिसकेको छ । अहिले ग्लोवल आईएमई बैंकमा ३० लाख ग्राहक छन् । उनीहरुले दैनिक १ लाख भन्दा बढी कारोबार बैंकको शाखामा नगई डिजिटल कारोबार गर्छन । राष्ट्र बैंकले एक दिनमा १० लाखभन्दा बढी झिक्न नपाउने व्यवस्था गरेको छ । कुनै ग्राहकले एउटा शाखाबाट पैसा झिकिसकेको छ या छैन भनेर जानकारी पाउनका लागि कम्प्युटरमै त्यो किसिमको प्रविधिको प्रयोग गर्ने काम गर्दैछौं । ग्राहकले दिएको सम्पूर्ण जवाफ, कर्मचारीले राख्न सक्दैन । ग्राहकले दिएको जवाफ कम्प्युटरले स्वतः रुपमा रेकर्डका रुपमा राख्छ । यसले तथ्यांक राख्नका लागि पनि सहयोग पुग्छ । यो व्यवस्था कम्पनीको हकमा भने लागू हुँदैन । बाहिरबाट हुण्डी आएको या नआएको थाहा पाउँदैनन् । अब थाहा पाउनका लागि त्यो प्रणालीको विकास हुन्छ । डिजिटलको प्लेटफर्म जति एडभान्स हुँदै गयो त्यति नै पारदर्शीता हुन्छ । अहिले राष्ट्र बैंकले पनि सटही सुविधा दिनुभन्दा अगाडि बैंक तथा वित्तीय संस्थाले खरिद मूल्य विश्लेषण गर्नुपर्ने व्यवस्था गरेको छ । अब बजार मूल्य र बिलबिजकको मूल्यबीच तुलनात्मक विश्लेषण गरी यथार्थपरक देखिएमा मात्रै सटही सुविधा दिनुपर्ने व्यवस्था छ । हामीले पहिले नै यो अभ्यास गरेका थियौं । अब एलसी खोल्दा मूल्य जाँच गर्नुपर्छ । राष्ट्र बैंकले कति रकमसम्मको पेमेन्टमा जाँच गर्ने भन्ने खुलाएको छैन । त्यो व्यवस्थालाई क्लियर नगर्दा कार्यान्वयनमा पनि समस्या आउन सक्छ । मूल्य चेक गर्नु हाम्रो लागि राम्रो हो । अब हामीले एउटा सफ्टवेर लिँदैछौं । त्यसले हामीलाई अन्तर्राष्ट्रिय मूल्य दिन्छ । त्यसपछि एलसी खोल्ने वा नखोल्ने निर्णय गर्न पनि बैंकलाई सहज हुन्छ । (ग्लाेबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृत बज्राचार्यसँग गरिएको कुराकानीमा आधारित) सम्बन्धित सामग्री :  परिपक्व बैंकर्स, सुरक्षित बैंकिङ

निक्षेप सुरक्षणको दायरा अब ५ लाख हुने

काठमाडौं । निक्षेप तथा कर्जा सुरक्षण कोषले निक्षेप सुरक्षणको सिमालाई बढाएर ५ लाख पुर्याएको छ । सोमबार अर्थमन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गरी २ लाखको सिमालाई बढाएर ५ लाख पुर्याएको हो । निक्षेप तथा कर्जा सुरक्षण कोष ऐन, २०७३ को दफा १९ को उपदफा १ मा विगतमा कोषले सुरक्षित संस्थामा खोलिएको प्रत्येक व्यक्तिको निक्षेप खातामा रहेको २ लाख सम्मको निक्षेपलाई सुरक्षण गर्ने व्यवस्था रहेको थियो । सोही व्यवस्थालाई संसोधन गरी ५ लाख पुर्याइएको विषय मन्त्रालयद्वारा प्रकाशित राजपत्रमा उल्लेख गरिएको छ ।

देउराली सहकारीका अध्यक्ष भन्छन् : सबैको बचत फिर्ता हुन्छ, पैसा नपुगे जग्गा पनि दिन्छु

काठमाडाैं । देउराली बहुउदेश्यीय सहकारी हल्ला चलाइए जस्तो समस्यामा नरहेकाे संस्थाका अध्यक्ष रविन्द्र चौलागाँइले बताएका छन् । संस्थाका अध्यक्ष चौलागाँइले साेमबार पत्रकार सम्मेलन गर्दै कोरोना महामारी, अर्थतन्त्रमा देखिएकाे समस्या र आर्थिक मन्दीको प्रभाव स्वरुप सहकारीमा केही समस्या देखिए पनि ती हल हुने दिशामा रहेको बताएका हुन् । ‘बजारमा देउराली बहुउदेश्यीय सहकारी समस्यामा गयो, डुब्न लाग्यो भन्ने खालका हल्ला फिँजाइएकाे छ, कसैले पनि आत्तिनु पर्दैन, सबैको निक्षेप साँवा ब्याज सहित फिर्ता हुन्छ,त्यसका लागि सबैले धर्यता राख्नुपर्छ र संकटपूर्ण राष्टिय आर्थिक अवस्थाको परिस्थीतिलाई बुझनुपर्छ,’ उनले भने । उनले निक्षेप फिर्ता लिन गर्न चाहनेहरुका लागि दुइ चरणमा दुइवटा विकल्प दिएर साँवा ब्याज सहित फिर्ता गर्ने बताएका छन् । अन्य सहकारीहरुमा देखिएका समस्या एवं विकृतिले बजारलाई त्रसित बनाएको कारण पनि निक्षेपकर्ताहरु आत्तिएको भन्दै उनले देउराली बहुउदेश्यीय सहकारी संस्था भने डुब्ने नै गरी कुनै समस्या नभएको बताए । अध्यक्ष चौलागाँइले संस्थामा सबै शिर्षकमा रहेका बचत रकमलाई दुई भागमा विभाजन गरेर बचत फिर्ता गर्ने योजना सुनाएका छन् । उनले ५ लाखसम्मको बचत रकमलाई साना बचतकर्ता र ५ लाख भन्दामाथीका लागि ठुलो बचतकर्ताको रुपमा विभाजन गरेर बचत फिर्ता गर्ने योजना सुनाए । ‘संस्थाको रकम दुरुपयोग भएको नभइ लगानी गरेका ठाउँहरुबाट रकम उठती नभएको कारण समस्या देखिएको हाे, पहिलो ५ लाखसम्मका साना बचतकर्ताहरुलाई तत्कालै संस्थाको ३ वटै काउन्टरबाट क्रमिक भुक्तानी गर्दै जान्छाैं र ५ लाखभन्दा बढी बचत रकम भएकाहरुलाई २ वर्षभित्र सम्पुर्ण रकम फिर्ता गर्नेछाैं,’ उनले भने । ५ लाख बढीका निक्षेपकर्ताहरुले बचत सुरक्षणको लागि घडेरीको रुपमा विकास गरिएको टुक्रा जग्गा नामसारी गरी बचत रकम सुरक्षण गर्ने उनले योजना सुनाए । चौलागाँइले चितवन जिल्लाको भरतपुर नगरपालिका वडा नं ६ मेघौलीमा रहेको ५७ विगाहा जग्गालाई १२६७ प्लटमा प्लटिङ गरिएकाे जानकारी दिए । उनका अनुसार मेघौली लगायत अरु विभिन्न ठाउँहरुमा समेत रहेका जग्गा बचत सुरक्षणका लागि ठुला निक्षेपकर्तालाई नामसारी गर्ने योजना संस्थाले बनाएको छ । बचतकर्ताहरुले रकमको सट्टा प्लट नै लिन पनि पाउने उनले बताए । त्यसैगरी संस्थाले दुई महिना यता तरलता समस्याका कारण टोकन सिस्टममा चलाइएका सबै काउन्टर सामान्य रुपमा खोल्ने भएको छ । करिब २० हजार सदस्यहरु रहेको देउराली बहुउदेश्यीय सहकारीले निक्षेपकर्ताहरुबाट ३ अर्ब बचत संकलन गरेको छ । हाल संस्था निक्षेपकर्ताहरुको ६५ करोड रकम फिर्ता गर्नुपर्ने अवस्थामा छ । ललितपुरको सातदोबाटोमा केन्द्रिय कार्यालय रहेको सहकारीको भक्तपुर र न्युरोड समेतमा गरि ३ वटा काउन्टर छन् ।

काठमाडौंमा नेपाल बन्दको सामान्य प्रभाव

काठमाडाैं । नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसहित ४ वटा पार्टीहरुले गरेको नेपाल बन्दको प्रभाव सामान्य परेको छ । मंगलबार नेपाल बन्दको घोषणा गरेको भएपनि काठमाडौं उपत्यका र देशभर न्यून प्रभाव परेको हो । सवारी साधनहरु काठमाडौं उपत्यकामा यतिबेला सञ्चालनमा आइरहेका छन् । आज बिहान भने केही कम सवारीसाधन मात्रै सञ्चालनमा थिए । बन्दको घोषणापछि बिहानैबाट प्रमुख चोकमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली परिचालन गरिएको छ । सरकारसँग वि.सं. २०७७ फागुन २० गते भएको ३ बुँदे सम्झौताअनुसार आफ्नो पार्टीका नेता÷कार्यकर्तामाथि लगाइएका मुद्दा फिर्ता, थुनाबाट मुक्त गर्नुपर्ने माग गर्दै विप्लव नेतृत्वको नेकपाले आजका लागि देशव्यापी बन्दको घोषणा गरेको थियो । नेपाल कम्युनिष्ट पार्टीले आह्वान गरेको बन्दलाई ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी र नेकपा माओवादी समाजवादी पार्टीले समर्थन गरेका छन् । पार्टीले अमेरिकासँग गरिएको एमसीसी सम्झौता खारेज हुनुपर्ने, महंगी नियन्त्रण गर्नुपर्ने लगायत माग राखेर बन्दको घोषणा गरेको हो । काठमाडौं उपत्यकामा बन्दको प्रभाव खासै नदेखिएपनि देशका अन्य विभिन्न भूभागमा भने सवारीसाधन तोडफोड र शंकास्पद वस्तु फेला परेको बताइएको छ ।

रुस-युक्रेन युद्धमा ९ हजार युक्रेनी सेना मारिए

कीभ । रूसले युक्रेनमा आक्रमण गरेदेखि हालसम्म करिब ९,००० युक्रेनी सैनिकहरू मारिएको बताइएको छ । छ महिनादेखि रुस-युक्रेन युद्ध जारी छ । युरोपेली संघका विदेश नीति प्रमुख जोसेप बोरेलले यसैबीच स्पेनमा पत्रकारहरू बीच संघले युक्रेनका सेनालाई सैन्य प्रशिक्षण दिने विचार गरिरहेको बताएका छन् । युक्रेनका कमाण्डर-इन-चीफ जनरल भ्यालेरी जालुज्नीले यस विषम परिस्थितिमा बालबालिकाहरूको हेरचाहमा विशेष ध्यान दिनु पर्ने बताएका छन् । थुप्रै बालबालिकाका अभिभावकहरू युद्ध मैदानमा छन् । ती मध्ये कतिपय त मारिका छन् । बालबालिकाको पालनपोषण र शिक्षादीक्षामा गम्भीर समस्या देखिएको छ। जारी युद्धका बीच यही बुधवार युक्रेनले आफ्नो स्वतन्त्रता दिवस मनाउँदैछ । मस्कोको सेनाले राजधानी कीभ कब्जा गर्ने तयारी गरे पनि असफल भएपछि युक्रेनको पूर्वी भूमि नियन्त्रणमा लिन आफ्नो ध्यान केन्द्रित गरेको छ। छ महिनादेखि जारी रुस-युक्रेन युद्धले ऊर्जा-इन्धन र खाद्यान्नको मूल्य आकासिएको छ र विश्वभर युद्धको झट्का महसुस भइरहेको छ । यसै बीच रुसको एफएसबी सुरक्षा सेवाले सोमबार मस्कोको बाहिरी इलाकामा शनिबार भएको कार बम विष्फोटमा युक्रेनको हात रहेको आरोप लगाएको छ। सो विष्फोटमा परी कट्टर रुसी विचारधाराका नेता अलेक्ज्याण्डर डगकी छोरी डारिया डुगिना मारिएकी छन् । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले मृतकका परिवारप्रति समवेदना सन्देश पठाउँदै “घृणित अपराध” को निन्दा गरेका छन् । रासस- एएफपी