विकासन्युज

नापतौल यन्त्र प्रयोग गरी ठगी गर्ने १९ हजार व्यापारी कारबाहीमा

काठमाडौं । नेपाल नापतौल तथा गुणस्तर विभागले पछिल्लो समय नापतौल यन्त्र प्रयोग गरी ठगी गर्ने व्यापारीको निगरानी बढाएको छ । विभागले आर्थिक वर्ष २०७८/७९ मा अनियमित रुपमा नाप्ने तौलने यन्त्र प्रयोग गरी देशभरका विभिन्न स्थानका उपभोक्तालाई ठगी गर्ने १९ हजार १४ व्यापारीलाई कारबाही गरेको छ । विभागका अनुसार काठमाडौँबाट आठ हजार आठ सय ५१, पोखराबाट एक हजार छ सय ७९, बुटवलबाट एक हजार ६४, नेपालगञ्जबाट एक हजार ५०, सुर्खेतबाट चार सय नौ, धनगढीबाट एक हजार ६७, सिलगढीबाट एक सय ७४, वीरगञ्जबाट एक हजार दुई सय ५१, जनकपुरबाट एक हजार एक सय ३९, विराटनगरबाट एक हजार चार सय ८५ र झापाबाट आठ सय ४५ व्यापारीलाई कारबाही गरिएको हो । विभागका प्रवक्ता ज्योति जोशी भट्टले नाप्ने र तौलने यन्त्रको प्रयोग गरी उपभोक्तालाई ठगी गरेकाले विभागले उनीहरुलाई कारबाही गरेको जानकारी दिए । उनले पछिल्लो समय नापतौल यन्त्रमार्फत उपभोक्ता ठगी गर्ने क्रम बढेकाले उनीहरुमाथि विभागले विशेष निगरानी बढाएको बताए । अनुगमनका क्रममा कतिपय व्यापारीले यन्त्रको दर्ता नगराएको र दर्ता गरेका व्यापारीले पनि नवीकरण नगरेको भेटिएको विभागले जनाएको छ । त्यस्ता व्यापारीमाथि कारबाही गर्दै आइएको प्रवक्ता भट्टले बताए । गत आर्थिक वर्षमा २३ हजार ४९ व्यापारीले नापतौल यन्त्र जाँच गराएका छन् । उक्त जाँच गराउने व्यापारीमध्ये काठमाडौँमा धेरै छन् । काठमाडौंमा पाँच हजार छ सय ४१ व्यापारीले यन्त्र जाँच गराएका हुन् । यस्तै, पोखराबाट तीन हजार छ सय ७३, बुटवलबाट एक हजार चार सय ५७, नेपालगञ्जबाट एक हजार एक सय ३७, सुर्खेतबाट सात सय ४८, धनगढीबाट एक हजार सात सय ९३, सिलगढीबाट एक सय ८९, वीरगञ्जबाट दुई हजार दुई सय ६३, जनकपुरबाट एक हजार पाँच सय ७८, विराटनगरबाट तीन हजार तीन सय १९ र झापाबाट एक हजार ५१ व्यापारीले सो यन्त्र जाँच गराएका हुन् । सोही आवमा सो यन्त्र प्रयोग गर्न अनुमतिपत्र प्रदान तथा इजाजतपत्र नवीकरण गर्ने व्यापारीको सङ्ख्या ११ हजार तीन सय ६३ रहेको छ । यसैगरी, देशभर नौ हजार ६ सय ५८ ट्याक्सीको मिटर जाँच गर्नुका साथै चार हजार नौ सय ६८ पटक पेट्रोलियम पदार्थ वितरण पम्प जाँच गरेको विभागले जनाएको छ । नापतौलसम्बन्धी उपभोक्ता हकहित संरक्षणका लागि विभागले ९२ पटक एकल अनुगमन तथा ९१ पटक संयुक्त अनुगमन गरेको छ । यस्तै, विभागले उपभोक्ता ठगी गर्ने ३३ कम्पनी तथा ट्याक्सी चालकविरुद्ध अदालतमा मुद्दा दर्ता गरेको छ । विभागले जानीजानी आम सेवाग्राही तथा उपभोक्तालाई ठगी गर्ने क्रम बढेकाले कारबाहीस्वरुप उक्त कम्पनी तथा ट्याक्सीविरुद्ध मुद्दा दायर गरेको बताएको छ । विभागका महानिर्देशक दिनानाथ मिश्रले सीमित स्रोतसाधनकाबीच विभागले बजार अनुगमनलाई प्राथमिकता दिएको बताए । ‘कम जनशक्ति र स्रोतसाधनका कारण सबै स्थानमा पुग्न सकेका छैनौँ, विभागले आगामी दिनमा बजार अनुगमनलाई प्राथमिकता राख्छ’, उनले भने । आम उपभोक्ता ठगी गर्ने जोकोहीलाई विभागले कारबाहीको दायरामा ल्याउने उनको भनाइ छ । विभागले गत आर्थिक वर्षमा विभिन्न शीर्षकअन्तर्गत सात करोड १६ लाख ११ हजार आठ सय ५७ राजश्वसमेत सङ्कलन गरेको छ । रासस

गोर्खाज फाइनान्समा खाता खोल्नेलाई लकर सुविधासहित विभिन्न सेवा निः शुल्क

orkhas काठमाडौं । गोर्खाज फाइनान्सले नारी बचत खाता योजना सार्वजनिक गरेको छ । फाइनान्सले तीजको उपलक्ष्यमा थप सेवा सुविधा सहितको उक्त बचत योजना ल्याएको हो । यससँगै, नारी बचत खाता खोल्नेले निःशुल्क लकर सुविधा, निःशुल्क एटिएम कार्ड, निःशुल्क मोबाइल बैकिङ्ग, निःशुल्क डिम्याट सेवा पाउने छन् । साथै, सिआश्वा शुल्क समेत निःशुल्क गरेको फाइनान्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सन्तोषकुमार घिमिरेले बताए । फाइनान्सले हाल २६ शाखा र १ एक्स्टेन्सन काउण्टर सहित सातै प्रदेशमा शाखा सञ्जाल विस्तार गरेको छ । संस्थाले आगामी दिनमा निक्षेप तथा कर्जामा थप नविनतम योजनाहरु ल्याउने र व्यापार व्यवसायको दायरा फराकिलो बनाउने उद्देश्यको साथ कार्य गरिरहेको सीईओ घिमिरेले जानकारी गराए ।

विराटनगर र सिमरामा पुग्यो सामाजिक सुरक्षा कोष, मन्त्री कुँवरले काठमाडौंबाटै गरे उद्घाटन

काठमाडौं । सरकारले विराटनगर र सिमरामा पनि सामाजिक सुरक्षा कोषको शाखा कार्यालय स्थापना गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले बुधबार मन्त्रालयमा एक कार्यक्रमकाबीच ती दुवै ठाउँहरुमा स्थापना गरिएको शाखा कार्यालयहरुको उद्घाटन गरेका हुन् । संघीयताको मर्म अनुसार सामाजिक सुरक्षा कोषलाई गतिशील बनाउनका लागि सो कार्यालयको स्थापना र सेवा शुभारम्भ पनि गरिएको मन्त्री कुँवरले बताए । उनले सो कोषमा आवद्ध हुन पनि सबै रोजगारदाता र योगदानकर्ताहरुलाई आग्रह समेत गरे । सामाजिक सुरक्षा कोषमा आवद्ध नभएकाहरुलाई सरकारले कानुनी दायरामा ल्याएरै छाड्ने मन्त्री कुँवरको भनाई थियो । ‘संघीयताको मर्म अनुसार दुई वटा शाखा कार्यालय विस्तार गरिएको हो, र, यो आवश्यकता अनुसार विस्तार गर्दै लगिनेछ, म रोजगार दाताहरुलाई योगदानकर्ताहरुलाई आग्रह गर्न चाहन्छु, सामाजिक सुरक्षा कोषमा आवद्ध होउ, कतिपय रोजगार दाताहरु, कतिपय घोषित क्षेत्रहरु पनि सामाजिक सुरक्षा कोषमा आवद्ध नभएको हामीले देखेका छौं, सबैलाई कानुन, नियम, विधि, विधान अनुसार कोषको दायरामा ल्याईनेछ,’ उनले भने । मन्त्री कुँवरले योगदानकर्ता र रोजगारदाताहरुको सेवालाई सहज बनाउनका लागि सरकारले आवश्यक अनुसार देशका अन्य जिल्लाहरुमा पनि सामाजिक सुरक्षा कोषको शाखा कार्यालय स्थापना गर्ने योजना तय गरेको बताए । कार्यक्रममा बोल्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव एकनारायण अर्यालले श्रमिकहरुको नजिक रहेर सेवा प्रदान गर्नका लागि कोषको २ वटा शाखा कार्यालय स्थापना गरिएको बताए । उनले नेपालगञ्ज र बुटवलमा पनि कोषको सम्पर्क कार्यालय स्थापना गरी सेवा शुभारम्भ गर्ने निर्णय गरिएको जानकारी समेत दिए । कार्यक्रममा कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवालीले कोषको कामलाई प्रभावकारी बनाउने गरी शाखा कार्यालय खोल्ने व्यवस्था गरिदिएकोमा मन्त्री कुँवर र सचिव अर्यालप्रति आभार व्यक्त गरे ।

तीज नजिकिएसँगै सुनका गहना किन्नेको भीड, प्रि-अर्डर गर्दै ग्राहक, सुनको अभाव

काठमाडौं । काठमाडौंका अधिकांश सुन पसलमा मानिसहरूको चहलपहल बढ्दै गएको छ । तीज नजिकिएसँगै सुनका गर-गहना खरिद गर्ने ग्राहकको भीड बढ्न थालेको हो । पसलमा भीड लागेपछि ग्राहकले अर्डर दिँदै घर फर्किन थालेका छन् भने उनीहरुले रोजेजस्तो गहना पाउन पनि मुस्किल नै बनेको छ । सुन पसलमा ग्राहकको संख्या बढेसँगै सुनको व्यापार पनि बढ्दै गएको सुनचाँदी व्यवसायी महासंघ अध्यक्ष माणिक रत्न शाक्यले बताए । उनका अनुसार अघिल्ला महिनाहरुमा सुनको खासै कारोबार नभएपनि तीज नजिकिएसँगै पसलमा ग्राहकको घुइँचो लाग्न थालेको हो । तीज लक्षित गर्दै सुनको व्यापार बढ्ने अपेक्षामा पनि सुन व्यवसायीहरूले लिएका छन् । सुनको मूल्यका पनि एक वर्ष यता उत्तरचढाव आइरहेको छ । शाक्यका अनुसार अहिले बजारमा सुनको माग उच्च छ । माग उच्च भए पनि माग अनुसार सुनको उपलब्धता हुन सकेको छैन । ग्राहको माग उच्च हुँदा र सुनको अभाव हुँदा माग सम्बोधनन गर्न कठिन भएको उनको भनाइ छ । अहिले राष्ट्र बैंकले दैनिक १० केजी मात्र सुन आयात गर्न पाउने व्यवस्था गरेको छ । ‘अघिल्ला वर्षहरूमा तीज लाग्नुभन्दा महिनौं दिन अगाडिदेखि सुन पसलहरूमा ग्राहकको भीड लाग्न थाल्थ्यो, यस वर्ष त्यस्तै छैन, तर अघिल्ला महिनाको भन्दा यस महिना सुनको व्यापार बढेको छ,’ उनले भने । बुधबारको मूल्य अनुसार सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला तीन सयले रुपैयाँले बढेर ९५ हजार तीन सय रुपैयाँ तोकिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरण अनुसार आज भदाै ८ गते तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार आठ सय रुपैयाँ छ । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यको तुलनामा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ । तीजको अवसरमा अन्य दिनको भन्दा तुलनात्मक रूपमा कारोबार बढ्ने अपेक्षा सुन व्यपारीहरुले लिएका छन् । न्यूरोडमा रहेको कृतिका ज्वेलर्सकी सुन व्यापारी कल्पना श्रेष्ठ तिज लागेसँग सुन किन्नेको भिड् पसलमा बढ्न थालेको बताउँछिन् । ‘तीज आउन अझै केही दिन बाँकी छ, सोचेको जस्तो व्यापार छैन, तर तीज आउन्जेलसम्म कारोबारमा वृद्धि हुने अपेक्षा लिएका छौं,’ उनले भनिन् । व्यापारी श्रेष्ठका अनुसार नयाँ र आकर्षक डिजाइनका सुनका गहना महिलाहरूले खोज्न आउने गरेका छन् । श्रेष्ठको पसलबाट दैनिक ७ देखि ८ लाख रुपैयाँ बराबरको कारोबार हुँदै आएको छ । नेपाली सांस्कृतिक झल्काउने टिपिकल डिजाइनका गर-गहना खोज्ने महिलाहरू बढी आएको पनि श्रेष्ठले बताइन् । ‘तीज लक्षित भनेर नै हामीले सुनमा मूल्य घटेर दिन सक्दैनौं, मूल्यमा घट्न नसकेपछि ज्यालामा घटाइदिने गरेका छौं,’ उनले विकासन्युजलाई भनिन् । अहिले पुराना गहनालाई सुन थपेर नयाँ डिजाइनमा ढाल्ने वा नयाँ गहना किन्न महिलाहरू पनि सुन पसलमा पुग्ने गरेका छन् । सुन गहनाको रूपमा प्रायः प्रयोग गरिन्छ । पछिल्लो समय देखाउनको लागि मात्र भएपनि सुन किन्ने प्रचलन बढेको छ । विवाह तथा चाड वर्ष लक्षित गरेर सुन खरिद गरिन्छ । अहिले पनि तिजको अवसर पारेर सुन खरिद गर्नेहरुको घुइँचो सुन पसलमा देख्न सकिन्छ । विभिन्न डिजाइनका सुन नेपाली बजारमा पनि पर्याप्त उपलब्ध छन् । सरकारले पनि अहिले सुनको आयातमा कडाइ गरेको छ । अहिले बजारमा छड्के तिलहरी, रानी हार, चन्द्र, झुम्का, सिक्री, टप, चुरा नौंगेडी, जन्तर आदि डिजाइनका सुन खोज्न महिलाहरू आउने गरेको सुन व्यापारीहरु बताउँछन् ।

मिटरब्याजी आरोपितविरुद्ध सर्लाहीमा ४२७ उजुरी

चन्द्रौटा । मिटरब्याजी आरोपितविरुद्ध चार सय बढी पीडितले उजुरी दिएका छन् । सरकारले आरोपितविरुद्ध उजुरी दिन आह्वान गरेपछि जिल्लामा चार सय २७ पीडितले मिटरब्याजीविरुद्ध उजुरी दिएका हुन् । सरकारले गरेको आह्वानपछि जिल्लामा विभिन्न समयमा मिटरब्याजीबाट पीडित बनेका चार सय २७ जनाले उजुरी दिएका जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले दिए । उनका अनुसार सरकारले यही भदौ ५ गतेसम्म उजुरी दिन समय दिएको भए पनि कतिपयको अहिले पनि उजुरी दिइरहेको छ । भदौ ५ गतेपछि आएका उजुरीको छुट्टै लगत राखेर दर्ता गरिरहेको प्रमुख जिल्ला अधिकारी गौतमले बताए । जिल्लामा धेरै उजुरी गत बिहीबार परेको र पीडितले जिल्ला सदरमुकाम मलङ्वामा प्रदर्शनसमेत गरेका थिए । पीडितले गरेको प्रदर्शनमा हरिवन नगरपालिकाका प्रमुख रमेश बुढाथोकीले समेत सहभागिता जनाएका थिए । लामो समयदेखि शुद्धखोर अभियानमा लाग्नुभएका नगर प्रमुख बुढाथोकीले प्रदर्शनमा उत्रिएका पीडितको पदर्शनलाई समर्थन जनाएका हुन् । जिल्लामा मुख्यत मिटरब्याजी आरोपितमा श्यामकृष्ण साह, रामबाबु राय र सञ्जय साह रौनियारको नाम पहिलादेखि नै चर्चामा रहेको भए पनि पछिल्लो समय इन्दल राय, रामस्वरुप राय र रामचन्द्र रायलगायतका नाममा पनि उजुरी आएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । आरोपितमध्ये ब्रह्मपुरी गाउँपालिका– २ त्रिभुवननगर निवासी सञ्जय अहिले जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका छन् । प्रहरीले उनीविरुद्ध मिटरब्याजमा ऋण लगानी गरी ठगी गरेको आरोपमा अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक प्रवीण पोख्रेलले बताए । अन्य आरोपित फरार रहेका र उनीहरुको खोजी जारी रहेको प्रहरीले जनाएको छ । रासस

मोरङमा मिटरब्याजी विरुद्ध ३७ जनाले दिए उजुरी, धेरै मानिस घरबारविहीन

काठमाडौं । अरुलाई गरिब बनाएर आफू धनी बत्रे मिटरब्याजी मोरङमा पनि देखा परेका छन् । मिटरब्याजीका कारण देशभरका पीडितको समस्यालाई सम्बोधन गर्ने हिसाबले गृह मन्त्रालयले आ–आफ्ना जिल्लामा प्रशासन कार्यालय उजुरी दर्ता गर्न सूचना जारी गरेपछि मोरङमा यही भदौ ५ गतेसम्म ३७ जनाले उजुरी गरेको सहायक प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले जानकारी दिए । ग्रामीण क्षेत्र धनपालथान र जहदा गाउँपालिका, रङ्गेली र सुन्दरहरैचा नगरपालिका सहित विराटनगर महानगरपालिकाबाट आएका उजुरीअनुसार ऋणीले ऋण तिर्दा पनि जग्गा फिर्ता नगरेको गुनासोसहितका उजुरी परेको बताइएको छ । सयकडा तीनदेखि पाँच रुपैयाँ सम्म मासिक ब्याज लिने गरेको मिटरब्याजीका कारण धेरै मानिस घरबारविहीन बनेका छन् भने भएका सम्पत्ति पनि मिटरब्याजीले कब्जा गर्ने गरेका छन् । ऋणीहरु एक लाखदेखि पाँच लाख रुपैयाँ सम्म ऋण लिएको र लिएको ऋणभन्दा पनि बढी ब्याज बुझाई सक्दा पनि ऋणमुक्त हुन नसकेका पीडितको हकमा सरकारले ध्यान दिनुपर्ने स्थानीय अर्जुन सुवेदीले जानकारी दिए । सरकारले भदौ ५ गतेसम्म उजुरी दर्ता गर्न दिएको हदम्याद पछि पनि तीन उजुरी परेको र यी सबै उजुरीको अभिलेख राखी गृहमन्त्रालयमा पठाइसकेको सहायक प्रमुख जिल्ला अधिकारी पोखरेलले जानकारी दिए। मिटरब्याजीहरु ऋण दिनुभन्दा पहिले नै धितोमा राखिने जग्गा मालपोत कार्यालयमा राजीनामा पास गराई लिने गरेकाले समस्या भएको र यस्तो समस्या एक ठाउँको मात्र नभएर देशव्यापी देखिएकाले यसमा राज्य गम्भीर हुनुपर्ने बताएको छ । समस्यामा परेका मानिसलाई तत्काल बैंकले ऋण नदिने र समस्या समाधान गर्न मिटरब्याजीको सम्पर्कमा जाने गरेका पीडितले जति कमाए पनि सबै पैसा मिटरब्याजीलाई नै बुझाउनु परेको र तर पनि ऋणबाट मुक्त हुन नसकी आफ्ना सम्पत्ति अरुको कब्जामा गएको दुःख सहनयोग्य नभएको पीडित बताउँछन् । सुनसरी इनरुवा नगरपालिका वडा नं ७ चाँदबेलका दुई मिटरब्याजीहरुका कारण सयौँका सङ्ख्यामा मानिस ठगिएका छन् भने अरुलाई ठगेर धन आर्जन गर्न सफल भएको ती दुवै मिटरब्याजी गर्व गरिरहेका छन् । पहिले त यी मिटरब्याजीले पैसा छैन भन्ने र धेरै कर गरेपछि सयकडा तीनदेखि पाँच रुपैयाँ लिन्छु भन्ने कम समय भएमा सयकडा पाँच रुपैयाँ लिने र बढी समयमका लागि दिने ऋणमा पाँच रुपैयाँ सम्म लिने गरेको पाइएको छ । रासस

चार दिनभित्र फोहर व्यवस्थापन हुने

काठमाडौं । यसअघि काठमाडौं उपत्यकामा थुप्रिएको सबै फोहर आगामी चार दिनभित्र व्यवस्थापनको काम सकिने काठमाडौँ महानगरपालिकाले जनाएको छ । टेकु ट्रान्फरस्टेसनमा रहेका फोहरबाहेक सडकमा जथाभावी थुपारिएको सबै फोहर व्यवस्थापनको काम यही सातासम्ममा सक्ने गरी काम भइरहेको कामपा वातारण विभागको प्रमुख सरिता राईले जानकारी दिए । प्रमुख राईका अनुसार मुख्य सडकमा रहेको सबै फोहरको व्यवस्थापन कार्य सकिएको छ, अब भित्री सडकमा रहेको केही फोहर बाँकी छन् त्यसको पनि अन्तिम व्यवस्थापनको काम आगामी शनिबारसम्ममा सकिने छ । यसअघिको फोहर पनि व्यवस्थापन गर्नुपर्ने भएकाले अहिले साविकमा भन्दा बढी दैनिक तीन सय गाडी फोहर अन्तिम व्यवस्थापनको लागि बञ्चरेडाँडा पुग्ने गरेका छन् । मुख्य सडकमा नै कतै फोहर व्यवस्थापनको काम बाँकी भए वातावरण विभागमा जानकारी दिन पनि प्रमुख राईले नागरिकलाई आग्रह गरे । केही दिनअघि कामपाको प्रमुख बालेन्द्र साहले फोहर व्यवस्थापन कार्यमा सहभागी निजी कम्पनीलाई पनि एक साताभित्र सबै फोहर व्यवस्थापन गर्न दिर्नेशन दिनुभएको थियो । कहिले पानीको कारण बाटो अवरोध त कहिले सिसडोल बञ्चरेडाँडाका स्थानीयका अवरोध गरेपछि विगत दुई महिनादेखि उपत्यकाको फोहर व्यवस्थापन हुन सकेको थिएन । सिसडोल र बञ्चरेडाँडाका स्थानीयले विगतमा महानगरसँग भएको सम्झौताअनुसार सडक मर्मतको काम समयमा नै सम्पन्न नगरेको, स्थानीयलाई स्वास्थ्य, शिक्षा, रोजगारीको व्यवस्थाजस्ता माग पूरा नगरेको भन्दै कहिले फोहर बोकेको गाडी तोडफोड र कहिले सडकनै अवरोध गरी व्यवस्थापनको काममा असहयोग गर्दै आएका छन् । कामपाले भने स्थानीयसँग भएको सम्झौता कार्यान्वयनको चरणमा रहेको भन्दै फोहर ढुवानीको सवालमा सहयोग गरिदिन स्थानीयलाई आग्रह गर्दै आएको छ । दुई महिनादेखि विसर्जन हुन नसकेको उपत्यकाको फोहर व्यवस्थापनका सम्बन्धमा गत साता काठमाडौं, धादिङ र नुवाकोटका प्रमुख जिल्ला अधिकारी, सिसडोल र बञ्चरेडाँडाका स्थानीयबीच भएको चारबुँदे सहमतिपछि बिहीबारदेखि साविकबमोजिम फोहर व्यवस्थापन कार्य हुन थालेको हो । पेचिलो सवाल बन्दै आएको सङ्घीय राजधानी काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापन वर्ष बित्दै जाँदा थप चुनौती बन्दै गएकाले कामपाले कुहिने फोहरलाई यहीँ नै व्यवस्थापन गर्नका लागि स्थान पहिचानको काम भने गरिरहेको जनाएको छ । हरेक दिन उपत्यकाबाट एक हजार दुई सय मेट्रिक टन फोहर उत्पादन हुने गरेको छ । त्यसमध्ये सबैभन्दा बढी कामपाको पाँच सय मेट्रिक टन रहेको छ । यसअघि पनि लामो समय फोहर जम्मा भएर बसेको हुनाले अहिले दैनिक तीन सय गाडीले अन्तिम व्यवस्थापनका लागि बञ्चरेडाँडा लाने गरेका छन् । हाल कामपासहित अन्य १७ स्थानीय तहको फोहरको अन्तिम व्यवस्थापन बञ्चरेडाँडामा हुने गरेको छ । काठमाडौँका ३२ वडा छन् । यसमा मुख्य नौ वडाबाहेक अन्यमा निजी कम्पनीको सहकार्यमा फोहर व्यवस्थापन हुँदै आएको छ । रासस

ग्लोकल टिन हिरो २०२२ मा डिशहोमको पार्टनरसिप

काठमाडाैं ।  ग्लोकल टिन हिरो नेपालको आठौं संस्करणमा डिशहोमले पार्टनरसिप गरेको छ ।नेपालभरका किशोरकिशोरीहरुले समाजमा गरेको प्रभावकारी कार्यलाई कदर गर्दै उनीहरुको प्रतिभा र उत्साहलाई प्रेरित गर्न ग्लोकल टिन हिरो नेपालको आयोजना गरिँदै आइएको छ । नेपाल भर बाट विभिन्न विधाबाट सहभागी ६ सय ४८ किशोरकिशोरीहरुले आवेदन दिएका मध्ये ६ जना प्रतिस्पर्धी ग्लोकल टिन हिरो २०२२ को फाईनलमा पुगेका छन् । फाइनलमा धनुषाका आशिष शाह( शिक्षा प्राविधिक), चितवनका विमर्ष पौडेल (चलचित्र निर्माता) माेरङकी दर्शना रिजाल(महिला अधिकारकर्मी) अछामका निश्चल सिंह विष्ट(इकोप्रेनेउर) धनुषाका राहुल रञ्जन शाह(खगोल विज्ञान प्रेमी) र माेरङकी सृजना गौतम(सामाजिक कार्यकर्ता) रहेका छन् । सेप्टेम्बर १, २०२२ सोल्टी होटलमा हुने सम्मेलन र अवार्ड कार्यक्रम मार्फत ग्लोकल टिन हिरो २०२२ नेपाल विजेताको नाम घोषणा गरिनेछ ।