विकासन्युज

पहिराले बागलुङ–बेनी सडक अवरुद्ध

म्याग्दी । म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–बागलुङ सडक अवरुद्ध बनेको छ । बेनी नगरपालिका–२ हाँडेभिरमा हालै विस्तार गरेर ढलान गरिएको सडक पहिरो खसेर पुरिएको हो । थप पहिरो खस्ने जोखिम भएकाले खसेको पहिरो पन्छाउन नसक्दा आवतजावत बन्द भएको छ । प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी रानाले बागलुङ–बेनी सडक बन्द भएपछि निर्माणाधीन बेनी–मालढुङ्गा सडकमा नियमित यातायात सञ्चालनको व्यवस्था मिलाइएको जानकारी दिनुभयो । बेनी–मालढुङ्गा सडक निर्माणलाई तीव्रता दिन म्याग्दी र मुस्ताङ जाने आउने सवारीलाई बागलुङ भएर सञ्चालन गरिएको थियो । हाँडेभिरमा गत साउन १६ गतेदेखि पहिरो खस्न थालेको थियो । बुधबार पहिरो खसेर सडकमा हिँडिरहेका दुई महिलालाई चोट लागेर घाइते हुनुभएको थियो । पहिराले गुडिरहेका सवारीसाधन, इन्टरनेट र बिजुलीको तारलाई पनि क्षति पु¥याएको छ । यसअघि खसेको पहिरो तत्कालै डोजर परिचालन गरेर हटाउने गरिए पनि शुक्रबार ठूलो ढिस्को खसेर सडकमा थुप्रिएको छ । हाँडेभिरमा गत हिउँदमा डोजर परिचालन गरेर सडक विस्तार गरिएको थियो । पूर्वाधार विकास कार्यालयले ठेक्कामार्फत खबरा र हाडेभिर क्षेत्रमा करिब एक किलोमिटर सडक कालोपत्र र ढलान भएको छ ।

चीनको प्रतिकार गर्न भारतले मुख्य भूमिका खेल्नुपर्ने-अमेरिकी नौसेना प्रमुख

एजेन्सी । अमेरिकी नौसेना अपरेसन प्रमुख एडम माइक गिल्डेले भारत भविष्यमा अमेरिकाको लागि महत्त्वपूर्ण साझेदार हुने र चीनको सामना गर्न महत्त्वपूर्ण भूमिका खेल्ने बताएका छन् । अमेरिकी उच्च सैन्य अधिकारी गिल्डेले बिहीबार वाशिङ्गटनमा हेरिटेज फाउन्डेशनद्वारा आयोजित सेमिनारमा भारतले चीनलाई दोहोरो समस्याको साथ प्रस्तुत गरेको निक्की एशियाले रिपोर्ट गरेको छ। चीन अब पूर्वतिर मात्र नभई दक्षिण चीन सागर र ताइवान स्ट्रेटतिर हेर्न बाध्य हुने र त्यसका लागि भारतको भूमिका महत्त्वपूर्ण हुने उनले बताएका छन् । ‘मैले अरू कुनै पनि देशको तुलनामा भारतको यात्रामा धेरै समय बिताएको छु किनभने म उनीहरूलाई भविष्यमा हाम्रो लागि रणनीतिक साझेदार मान्दछु’ गिल्डेले थपेका छन् । गत अक्टोबरमा आफ्नो पाँचदिने भारत भ्रमणको सन्दर्भ उल्लैख गर्दै हिन्द महासागर युद्धक्षेत्र हाम्रो लागि झन् झन् महत्त्वपूर्ण बन्दै गएको छ। भारत र चीनको सीमामा हाल अलिअलि झडप भइरहेको तथ्य यो रणनीतिक रूपमा महत्त्वपूर्ण छ । हिमालयमा भारत र चीनबीचको सीमा विवादले बेइजिङका लागि दोहोरो समस्या खडा गर्ने विचार अमेरिकी रणनीतिकारहरूमाझ देखिएको निक्की एशियाले रिपोर्ट गरेको छ।

पर्यटक भिसामा खाडीमुलुक जान लागेका १९७ जना नियन्त्रणमा

फाइल फोटो काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले पर्यटक भिसामा खाडीमुलुक जान लागेका एक सय ९७ लाई नियन्त्रणमा लिइएको छ । यही भदौ ८ देखि ११ गतेसम्म विभिन्न एयरलाइन्सको उडानद्वारा पर्यटक प्रवेशाज्ञा लिई खाडी मुलुकतर्फ प्रस्थान गर्न लागेका उनीहरूलाई विमानस्थलको प्रस्थान क्षेत्रबाट नियन्त्रणमा लिइएको विमानस्थल सुरक्षा कार्यालयले जानकारी गराएको छ । विमानतर्फ प्रथान गर्ने क्रममा जाँच गर्दा उनीहरूको हवाई यात्रा अनुमति कागजात शङ्कास्पद देखिएकाले नियन्त्रणमा लिइएको जनाइएको छ । नियन्त्रणमा लिइएकामा एक सय तीन महिला र ९४ जना पुरुष छन् । उनीहरुलाई आवश्यक अनुसन्धानका लागि प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरो, बबरमहलमा बुझाइएको विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ ।

वायरलेस इअर बड्स् तथा स्मार्टवाच लिएर रिभरसबको नेपाली बजारमा प्रवेश

काठमाडौं । वेरेवल तथा मोबाईल एक्सेसोरीज् उत्पादनमा विश्व बजारको अग्रणी उत्पादक रिभरसब नेपाली बजारमा प्रवेश गरेको छ । मोबाईल एक्सेसोरीजको आयात तथा विक्री वितरणमा नेपाली बजारको स्थापित नाउँ बन्न सफल केमियो इन्टरनेशनलले रिभरसबलाई नेपाली बजारमा भित्र्याएको हो । अमेरिकाको क्यालिफोर्नियामा सोध तथा अनुसन्धानशाला स्थापना गरी आफ्ना उत्पादनहरुको डिजाइन गर्दै आएको रिभरसब मोबाईल एक्सेसोरिज बजारको एक विश्वासिलो ब्राण्ड हो । विश्वका ६० भन्दा बढी मुलुकमा विक्री वितरण भईरहेको रिभरसब सन् २००० मा चीनको सेन्जेनमा स्थापना भएको थियो । २०१७ मा अमेरिकामा शोध तथा अनुसन्धान केन्द्रको स्थापना गरेपछी एग्रेसिभ ब्राण्डिबमा अग्रसर भएको रिभरसब सन् २०१६ मै भारतीय बजारमा लन्च गरिएको थियो । आईएमजी टेक्नोलोजी ग्रुपको लाईफस्टायल ब्राण्डको रुपमा रहेको रिभरसबका वायरलेस इअर बड्स् तथा स्मार्टवाच लिएर नेपाली बजारमा प्रवेश गरेको हो । काठमाडौंको हायात प्लेसमा एक विशेष कार्यक्रम आयोजना गर्दै रिभरसबले नेपाली बजारमा औपचारीक रुपमा प्रवेश गरेको घोषणा गरेको हो । नेपालको लागि अधिकृत विक्रेता तोकिएको केमियो इन्टरनेशनका सह संस्थापक उपेन्द्र शाहले एक गुणस्तरीय ब्राण्डलाई नेपाली बजारमा भित्र्याउन पाएकोमा खुशि ब्यक्त गर्नुभयो । अर्का सह–संस्थापक राज गुप्ताले रिभरसबले नेपाली मोबाईल एक्सेसोरीज बजारमा नयाँ छाप छोड्ने विश्वास ब्यक्त गरे । रिभरसब इण्यिाका प्रमुख कार्यकारी अधिकृत माभेन्द्र कुमार चण्डोलाले विश्वभर नै स्मार्टवाचको बजार बढ्दो क्रममा रहेकाले नेपाली बजारमा समेत राम्रो बजार हाँसिल गर्ने अपेक्षा ब्यक्त गरे भने नेपाली बजारमा रिभरसबको ब्राण्ड सचेतना र विकासका लागि कुनै पनि किसिमको सम्झौता नगरिने बताए । रिभरसबले हाल नेपाली बजारमा छ स्मार्टवाच र चार इअरवड्स् सार्बजनिक गरेको हो । अफलाईन डिस्ट्रिब्युसन च्यानल प्रयोग गरि नेपाली उपभोक्तामाझा सहज उपस्थिती जनाउने योजना बनाएको केमियोले केहि विशेष उत्पादनहरुलाई दराज, सस्तो डिल, ग्यापु लगायतका अनलाईन प्लेटफर्म बाट समेत लन्च गर्ने बनाएको केमियोले रिभरसबका सबै उत्पादनहरुमा एक बर्षको वारेन्टी प्रदान गरेको छ भने विक्री पश्चातको सेवामा कुनैपनि सम्झौता नगरिने प्रतिबद्धता ब्यक्त गरेको छ । केमियो इन्टरनेशनलले रिभरसबका ग्याजेट तथा एक्सेसोरिज्हरुको विक्री पश्चातको सेवा प्रदान गर्नका लागि काठमाडौंको बालाजुमा एक विशेष सेवा केन्द्र संचालनमा ल्याएको छ भने चाईनाटाउन, बाघदरबारमा समेत ग्राहकहरुले विक्री पश्चातको सेवा प्राप्तिका लागि सम्पर्क गर्न सक्नेछन् ।

मिस नेसन नेपालको उपाधि अनिशा श्रेष्ठलाई

काठमाडौं । मिस नेसन नेपाल २०२२ को ताज अनिशा श्रेष्ठले पहिरिएकी छन् । आई डु इभेन्टसले आयोजना गरेको प्रतियोगितामा १४ जनालाई उछिन्दै श्रेष्ठले ताज पहिरिएकी हुन् । श्रेष्ठले मिस नेसन नेपालको ताज साथै नगद १ लाख पुरस्कार पाएकी हुन । प्रतियोगितामा फ्रस्ट रन्नर अप पुर्णिमा प्रजापती र सेकन्ड रन्नर अप दा लामु शेर्पा भएकी छन । कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपक गौतमले गमलामा पानी हालेर कार्यक्रमको सुरुवात गरेका थिए । सजिलो पे ले प्रायोजन गरेको मिस नेसन नेपाल २०२२ को निर्णायक मण्डलमा धुर्ब बुढाथोकी, ज्वाला राज पोख्रेल, सुमित राणा, स्मारिका शर्मा रहेका थिए । मिस नेसन नेपालको यो पहिलो संस्करण हो । आयोजकको अनुसार हरेक बर्ष मिस नेसन नेपाल सन्चालन गरेर महिलाहरुलाई श्रृंगार, नृत्य, ब्यक्तित्व बिकास, भाषण कला, आत्मरक्षा र अभिनय सिकाउने लक्ष्य राखेको बताए । यस्तै प्रतियोगितामा भिवोर्स चोइस पेमा शेर्पा, बेस्ट वाल्क पुर्णिमा प्रजापती, मिस फ्रेन्डली मरिना ढुङ्गेल,मिस कन्फिदेन्स श्वेता शर्मा, मिस त्यालेन्ट कोमल पौडेल, मिस मल्टीमिडिया आरती स¥अफ, मिस डिसिप्लिन अन्जु थामी, बेस्ट पर्सनालिटी सँगम बस्नेत, मिस फोटोजेनिक मनिला राणालाई उपाधिसमेत दिइएको थियो । कार्यक्रम थापाथली स्थित ब्लुबर्ड मलमा आयोजना गरिएको थियो भने शो कोरियोग्राफर सुजित बश्यालले गरेका थिए । कार्यक्रम सन्चालन रोहित भट्टले गरेका हुन । विभिन्न फेशन डिजाइनरहरुले तयार पारेको पहिरनहरुमा सहभागीहरु स्टेजमा उत्रिएका थिए ।

धान र मकैको बीउमा स्याङ्जा आत्मनिर्भर

स्याङ्जा । स्याङ्जा जिल्लामा आवश्यक पर्ने धान र मकैको उन्नत बीउ जिल्लाभित्रै उत्पादन हुने गरेको छ । जिल्लास्थित सूचीकृत विभिन्न समूह, सहकारी तथा निजी व्यवसायीहरूले उत्पादन गरी प्रमाणित गरिएकोे बीउका लागि अन्यत्र जानुपर्ने अवस्था अन्त्य भएको हो । तरकारी बाली तथा खाद्यान्न बाली उत्पादनका लागि गण्डकी प्रदेशमा सूचीकृत भएका कुल ६१ बीउ उत्पादक समूह, सहकारी तथा निजी उत्पादकहरूमध्ये स्याङ्जा जिल्लामामात्रै २१ वटा छन् । जिल्लामा आर्थिक वर्ष २०७८/७९ मा धान तथा मकैको मूल बीउको मागभन्दा उत्पादन बढी भएकाले अन्य जिल्लामा बिक्री गरिएको कृषि स्रोत विकास केन्द्रका बाली विकास अधिकृत सुदीप रेग्मीले जानकारी दिए। जिल्लामा गत आबमा विभिन्न प्रजातिका करिब एक हजार एक सय केजी बीउको माग थियो । ‘सावित्री’ सात सय ८० केजी, ‘सुनौलो सुगन्ध’ दुई सय ५० केजी, ‘रामधान’ आठ सय केजी माग भएकामा ‘साबित्री’ ११ हजार केजी उत्पादन भएको उनले जानकारी दिए । त्यस्तै मकैको ‘मनकामना ३’ र ‘अरुण २’ गरी एक हजार एक सय केजी बीउ माग भएको थियो । जिल्लाभित्रका व्यावसायिक मकैको बीउ उत्पादकहरूले गत आवमा मात्रै ‘मनकामना ३’ जातको मकैको बीउ १९ हजार पाँच सय केजी र ‘अरुण २’ जातको बीउ १० हजार चार सय ३६ केजी उत्पादन गरेका थिए । ‘जिल्लामा धान र मकैको बीउ यहाँको मागभन्दा पनि निकै धेरै उत्पादन हुने गरेको छ’, अधिकृत रेग्मीले भने, ‘जिल्लाभित्रका किसानले खपत गरेर रहेको धान तथा मकैको बीउ अन्य जिल्लाबाट माग भई आएका ठाउँमा पठाउने गरेका छौँ ।’ स्याङ्जामा आव २०७८/७९ मा गहुँतर्फ ‘गौतम’ एक हजार एक सय ६० केजी, ‘एनएल ९७१’ छ सय ४० केजी, ‘डब्ल्यु के १२०४’ ८० केजी माग भएको थियो । त्यस्तै तरकारीतर्फ केराउ दुई सय केजी, बोडी एक सय केजी र सिमी एक सय ५० केजी माग भएको कृषि विकास स्रोत केन्द्रले जनाएको छ । गण्डकी प्रदेशका ११ जिल्ला कार्यक्षेत्र रहने गरी स्याङ्जाको वालिङमा स्थापना भएको कृषि विकास स्रोत केन्द्रले स्रोत बीउ उत्पादन, उन्नत बीउबिजन उत्पादन र त्यसको व्यवस्थापन गर्दै आएको छ । उक्त कार्यालयले बीउ उत्पादकहरूको क्षमता अभिवृद्धि एवं प्राविधिक सेवा उपलब्ध गराउने, बीउबिजनको गुणस्तर निरीक्षण गर्ने, बीउबिजनको माग तथा आपूर्तिसम्बन्धी तथ्याङ्क सङ्कलन गर्ने, डेसिसमा नियमित सूचना प्रविष्ट गर्ने, अन्तरजिल्ला समन्वय गर्ने, नियमित अनुगमन तथा निरीक्षण कार्यमा सहयोग, सहजीकरण एवं समन्वय गर्ने उनले बताए। बीउ उत्पादनका क्रममा विदेशी हाइब्रिड बीउको अनियन्त्रित आयात एवं बढ्दो प्रयोग हुनु, निजी क्षेत्र प्रविधिमा कमजोर हुनु, जनशक्तिको अभाव हुनु, आयातित बीउको मूल्य अस्वाभाविक महँगो भएर कृषकलाई आर्थिक भार पर्नु चुनौतीका रूपमा देखापरेका छन् । त्यस्तै स्वेदशमै विकास भएका कतिपय बालिका जात उत्कृष्ट हुँदाहुँदै पनि कृषकमाझ नपुग्नु, विदेशी बीउको कारण बीउमा समस्या देखिएमा सरकारसँग क्षतिपूर्ति माग गर्ने परिपाटी बढ्दै जानु, विगतमा सफलतापूर्वक सञ्चालन भएका बीउ उत्पादन कार्यक्रमले अपेक्षाकृतरूपमा निरन्तरता नपाउनु, स्रोत बीउदेखि उन्नत बीउसम्मको बीउ चक्र पूर्णरूपले कायम नहुनु, माग र आपूर्तिको तालमेल नमिल्नुजस्ता चुनौती रहेका छन् ।

गहुँ र चिनी प्रतिवन्धका बारेमा सरकारसँग कुरा भएको छ-राजदुत श्रीवास्तव

काठमाडौं । नेपालका लागि भारतीय राजदुत नविन श्रीवास्तवले भारत सरकारले गहुँ र चिनीमा लगाएको प्रतिवन्ध हटाउन केन्द्र सरकारसँग कुराकानी भइरहेको बताएका छन् । शनिवार धरानमा आयोजित उद्योग वाणिज्य संघ सुनसरीको स्वागत सम्मान कार्यक्रममा बोल्दै राजदुत श्रीवास्तवले यस्तो बताएका हुन् । उनले धरानमा भारतसँगको व्यापार धेरै रहेको उल्लेख गरे । उनले नेपालले भारतसँगको व्यापारलाई अझ बढाउनुपर्छ भन्ने भारतको चाहना रहेको बताए । उनले नेपालको आर्थिक सम्बन्ध प्रगाढ र सुदृढ होस् भन्ने भारत सरकारले चाहेको बताए । राजदुत क्वात्राले धरानमा भारतबाट सामान ल्याउनका लागि मिरगञ्जको पुल नबन्दा समस्या भइरहेको भन्दै पुल वर्षाका कारण केही समय रोकिएको तर चाँडै नै निर्माण हुने प्रतिवद्धता जनाए । उनले पुल निर्माणका लागि बिहार प्रदेश र केन्द्र सरकारसँग कुराकानी गरिसकेको दाबी गरे । उनले पुल निर्माण कार्य चाँडै सकिने पनि बताए । उनले भने, ‘नेपालसँग आर्थिक र वाणिज्यको सम्बन्ध झनै प्रगाढ र सुदृढ होस् भन्ने भारतका जनता र सरकार चाहन्छ । यो क्षेत्रमा भारतसँग नेपालको व्यापार धेरै नै छ । हामी चाहन्छौं कि यसलाई अझै बढाउनु पर्छ । यसमा मिरगञ्जको पुल, नयाँ आयात गहुँ र चिनीमा जुन आश छ, यसबारेमा पनि कुराकानी भइरहेको छ ।’ राजदुत श्रीवास्तवले नयाँ आयात गहुँ र चिनीमा नेपाललाई उपलब्ध गराउने सहुलियतको बारेमा पनि छलफल भइरहेको बताए ।

सुन्दर र स्वच्छ सहरको विकासबाटै व्यवस्थित सहरीकरण सम्भव-प्रधानमन्त्री देउवा

रुपन्देही । प्रधानमन्त्री शेरबहादुर देउवाले सुन्दर र स्वच्छ सहरको विकासबाटै व्यवस्थित सहरीकरण सम्भव हुने बताएका छन्। उनले नेपालमा सहर योजनाबद्ध र व्यवस्थित बन्न नसक्दा विभिन्न खालका विपद्को सामना गर्नुपरेको उल्लेख गरे । प्रधानमन्त्री देउवाले बुटवल उपमहानगरपालिका–१० स्थित बुटवल मण्डपमा निर्माण भएको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको आज उद्घाटन गर्दै नेपालका अधिकांश सहर योजनाबद्धरुपले बन्न नसकेकाले अव्यवस्थित र पुराना सहरलाई पुनःनिर्माण गरी व्यवस्थित सहरको रूपमा रुपान्तरण गर्न जरुरी रहेको बताए। बुटवलले व्यवस्थित सहरी विकासमा फड्को मार्न लागेको उल्लेख गर्दै प्रधानमन्त्री देउवाले सम्मेलन केन्द्रले बुटवलको आर्थिक, सामाजिक र शैक्षिक विकासमा सघाउ पुर्याउने विश्वास व्यक्त गर्दै यो सञ्चालनका लागि सरकारले छिट्टै निश्चित विधि तयार गर्ने बताए। मुलुक सङ्घीयतामा प्रवेश गरेसँगै सङ्घीय सरकारसँगै प्रदेश र स्थानीय तहमा विकासका पूर्वाधार बढेको र व्यवस्थित तरिकाले सहरी पूर्वाधार अघि बढाउन जरुरी रहेको प्रधानमन्त्री देउवाले उल्लेख गरे। उनले प्रदेश र स्थानीय तहले योजनाबद्व सहरी विकासमा जोड दिनुपर्ने बताए। ‘जनातालाई आफ्नै थातथलोमा आधुनिक सहरी विकासको सेवा पु¥याउन सके अनियन्त्रित बसाइँसराइ रोकिन्छ’, उनले भने। कार्यक्रममा गृहमन्त्री बालकृष्ण खाणले बुटवल नेपालको मध्यभागमा रहेको र संंसारको आस्थाको केन्द्र बुद्ध जन्मस्थल लुम्बिनी रहेकाले यस क्षेत्रको विकासले समग्र देशकै विकासको आधारशीला तयार गर्ने विश्वास व्यक्त गरे। उनले यहाँका नागरिक र जनप्रतिनिधिको साझा प्रतिबद्वता रुपन्देहीको विकासको प्रतिफलले देशकै आर्थिक विकासमा टेवा पु¥याउने बताए । गृहमन्त्री खाणले भैरहवामा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भएर सञ्चालनमा आए पनि आर्थिक केन्द्रको रूपमा सञ्चालन गर्न गतिशील र चलायमान बनाउन नसकिएको बताए । उनले विमानस्थलका लागि अन्तर्राष्ट्रिय हवाईमार्गको सञ्जाल बढाउन प्रधानमन्त्री देउवाले भारतीय समकक्षीसमक्ष थप हवाई उड्डयन र एयररूटको अनुमतिका लागि अनुरोध गरेको सो अवसरमा जानकारी दिए। भारतीय तहबाट हवाईमार्गका लागि अनुमतिप्राप्त हुँदा गौतमबुद्ध विमानस्थल मात्र नभएर काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलागि समेत सहज हुने उनको भनाइ थियो । गृहमन्त्री खाणले निर्माण सम्पन्न सम्मेलन केन्द्रबाट अब राज्यको लगानी प्रतिफलमा कसरी उठाउने, बहुआयामिक उपयोगिता कसरी गर्ने, आम नागरिकलाई यससँग जोडेर अर्थतन्त्र गतिशील कसरी बनाउने भन्ने विषयमा योजना बनाउन निजी क्षेत्रका आम उद्योगी व्यवसायीलाई अनुरोधसमेत गरे । यस क्षेत्रको विकासका लागि सरकारले दाउन्नेमा सुरूङमार्ग यसै वर्षदेखि सुरु गर्ने तथा शिद्वबाबामा सुरूङमार्ग अविलम्ब निर्माणको अवस्थामा पुगेको उनले जानकारी दिए । सरकारले अस्थायीरूपमा बसेका नागरिकलाई जमिनको स्वामित्व दिने विषयमा भूमि आयोगबाट छिट्टै पुर्जा दिने व्यवस्था मिलाउने र भूमिहीन, पिछडिएका, दलित नागरिकलाई बसोबासको व्यवस्था मिलाउन सङ्घीय सरकारको तर्फबाट भूमि आयोगको माध्यमबाट बसोबासको व्यवस्था मिलाउने विषयमा सरकार लागिपरेको मन्त्री खाणले बताए । कार्यक्रममा पूर्वउपप्रधानमन्त्री एवम नेकपा (एमाले)का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले रुपन्देहीका जनप्रतिनिधि र जनता विकासको गफ मात्र होइन, काम गरेर देखाउँछन् भन्ने जिल्लामा निर्माण भएका यस्ता आयोजनाबाट देखिएको बताए। रुपन्देही विकासका मुद्दामा अघि बढेको उल्लेख गर्दै उनले विकासका लागि नमूना जिल्ला बन्दै गएको बताए। उनले भने, ‘रूपन्देही नयाँ–नयाँ मानक स्थापित गर्न सक्षम छ, हिजो सुरू गरिएका आयोजना आज उद्घाटन गर्ने अवस्थामा छौं ।’ उनले सम्मेलन केन्द्रको सञ्चालन कार्यविधि तीनै तहका सरकारले मिलेर बनाउनुपर्नेमा जोड दिए। कार्यक्रममा पूर्व सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले सम्मेलन केन्द्रको सञ्चालन कार्यविधि व्यवसायिकसँगै व्यापार र आम्दानी दिने गरी बनाउनुपर्ने सुझाव दिइन्। योजना आयोगका उपाध्यक्ष डा विश्वनाथ पौडेलले यसरी बनेका र बन्दै गरेका सम्मेलन केन्द्रको सञ्चालन कार्यविधि पनि सरकारले बनाउन लागेको जानकारी दिइन्। उनले योजना आयोगले कार्यविधि बनाउँदा दिगोपन प्रत्याभूति हुने गरी बनाउन सहजीकरण गर्ने बताइन् ।