विकासन्युज

दशैं आउन एक महिना बाँकी, छैन अग्रिम टिकट खोल्ने तयारी

काठमाडौं । नेपालीहरुको महान् चाड दशैं आउन एक महिना मात्र बाँकी छ । दशैं ढोकामै आइपुग्न लाग्दा पनि सरकारले अग्रिम टिकट खोल्न चासो देखाएको छैन् । यातायात व्यवस्था विभागले लामो रोडमा चल्ने सवारी साधनको अग्रिम टिकट खोल्नलाई छलफलसमेत गरेको छैन् । केही सातापछि गाडी पाउन मुश्किल पर्छ भनेर गाउँ फर्किनेको संख्या ह्वात्तै बढेको छ । कंलकी, बल्खु, नयाँ बसपार्क, जडीबुटीलगायतका स्थानबाट पहिलेभन्दा अहिले दोब्बर सर्वसाधारण गाउँ फर्किन लागेको देखिन्छ । उपत्यकामा ७७ वटै जिल्लाका सर्वसाधारणहरु बसोबास गर्छन् । कोही पढ्न त कोही रोजगारीका लागि राजधानीमा कोठाबहालमा लिएर बसेका छन् । दशैंमा झण्डै २८ लाख सर्वसाधारण उपत्यकाबाट बाहिरिन्छन् । यही मौका छोपेर यातायात व्यवसायीहरुले पाँच सयको टिकटलाई १५ सयमा बेच्छन् । यता, दशैंमा अत्याधिक दुर्घटनाका घटनाहरु घट्छ । सवारी साधन नपाएपछि लामो रोडकै यात्रा भएपनि ढोकैसम्म उभिएर जानुपर्ने बाध्यता छ । गाडीको अभावले गर्दा यातायात व्यवसायीले भनेजति नै भाडा तिर्नुपर्छ । यातायात व्यवसायीले दशैंमा भरपुर फाइदा हात पार्छन् । तोकेभन्दा बढी रकममा टिकट बेच्नु त वषौंदेखि चलिआएको प्रचलन हो । उता, सिटभन्दा बढी यात्रु हालेर भिरबाट खसालेर मारिदिन्छन् । यसअघि पनि यस्तो घटना पटकपटक भएको थाहा हुदाहुदैं पनि ट्राफिक प्रहरी महाशाखाले सुरक्षा योजना बनाएको छैन् । न यातायात व्यवस्था विभागसंग छलफल गरेर कसरी यात्रुलाई सुरक्षित गन्तव्यसम्म पुर्याउनेतिर ध्यान दिएको छ । सरकारको यस्तै लापरवाही र मनोमानीका कारण दशैं मान्नबाट खुसीका साथ यहाँबाट हिँडेकाहरुको घरमा रुवाबासी चल्छ । मुलुक नै शोकमा डुब्नेसम्मको स्थिति यसअघि बनिसकेको छ । सरकारले एक वर्षको अवधिमा चारचोटि सार्वजनिक सवारीको भाडा बढायो । तर, फेरिपनि भाडा बढाउनुपर्छ भनेर यातायात व्यवसायीहरुले सरकारलाई दबाब दिइरहेका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र विभागमा यातायात व्यवसायीको आउजाउ बढेको छ । भाडा नबढाए टिकट नखोल्ने भनेर उनीहरुले सरकारलाई धम्क्याइरहेका छन् । यातायात व्यवसायीले हरेक सालको दशैंमा भाडाको विषयलाई लिएर किचिलो थप्ने गरेका छन् । जनतालाई सास्ती हुन्छ भन्ने कुरा थाहा हुँदाहुदै पनि उनीहरुले विभिन्न बहाना बनाएर आफ्नो माग सम्बोधन गराएरै छाड्छन् । यातायात व्यवसायीकै दबाबमा आएर सरकारले यसअघि पनि सोच्दैनसोची भकाभक भाडा बढायो । सरकारलाई घुडाँ टेकाउन दशैं सबैभन्दा उचित हुन्छ भनेर यातायात व्यवसायीले पुनः पनि उही प्रक्रिया अघि सारेका छन् । सरकारलाई गाल्नका लागि उनीहरुले जहिले पनि जनतालाई दुःख दिन्छन् । अहिले पनि यो दोहोरिने निश्चित छ । यताउता नहेरीकन सरकारले पनि उनीहरुको माग पूरा गरिदिन्छ । यातायात व्यवसायीले पनि अग्रिम टिकट खोल्छन् । तर, खोलेको तीन दिनमै टिकट सखाप भइसकेको हुन्छ । टिकट काट्नका लागि दिनरात नभनीकन काउण्टरमा लाइन बस्छन् । टिकटमा भएको बेतिथि र विकृतिलाई निर्मल गर्नुको साटो सरकारले नै यातायात व्यवसायीलाई बढावा दिइरहेको छ । जनताको सुरक्षा र सेवासुविधा कहिले पनि सरकारको प्राथमिकतामा पर्न सकेन् । यातायात व्यवसायीले भाडा बढाउछन् तर त्यहीअनुसारको यात्रुले सेवासुविधा पाएका छन् ? सिट नभएर मुढामा समेत यात्रा गर्नुपर्ने बाध्यता छ । मँहगो टिकट त सधैंको टन्टला हो । यातायात व्यवसायीले भनेजति पैसा तिरेन् भने टिकट नै पाइदैन् । टिकट काउण्टरका कर्मचारी र यातायात व्यवसायी जहिले पनि टिकट सिद्धियो भनेर बहाना बनाउछन् । अनि बाहिर मँहगोमा बेच्छन् । लामो रोडमा चल्ने सवारी साधन यात्रा गर्ने ज्येष्ठ नागरिक, बालबच्चा र अपाङले भाडा छुट समेत पाउदैनन् । सुटकेस, झोला त छुट्टै पैसा तिर्न परेको छ भने नक्कली सिटमा समेत यात्रा गराइन्छ , सरकारले ठूलो गाडीको टिकट खोलेपनि जम्बो हायस, टाटासुमोलगायतका साना गाडीको टिकट खोल्दैन् । टिकट काट्ने काउण्टरमा सरकारले निर्धारण गरेको भाडा लिस्ट टाँसेको छैन् । सरकारी भाडादर कति हो ? जनता अनविज्ञ छन् । काउण्टरका कर्मचारीले जति भन्यो उनीहरु त्यति नै तिर्छन् । भाडादर राखेपनि कसैले नदेख्नेगरी राखेपछि के काम । यता, आफू ठगिएका थाहा पाएपनि कहाँ गएर उजुरी गर्ने अत्तोपत्तो छैन् । ट्राफिक महाशाखा र यातायात व्यवस्था विभागले सम्पर्क नम्बर दिएको छैन् । यातायात व्यवसायीले थोत्रा गाडी चलाएर सुपर डिलक्स र डिलक्सको नाममा बढी भाडा असुलिरहेका छन् । सरकारले तोकेभन्दा ४० प्रतिशत बढी भाडा उनीहरुले उठाइरहेका छन् । कानूनमा भाडाको गाडी तीन वर्ष पुगेपछि त्यो गाडी पुरानो हुन्छ । त्यसपछि सुपर डिलक्स र डिलक्सको नाममा बढी भाडा उठाउन नपाउने उल्लेख छ । तर, यहाँ त एक दशक बढी चलेका गाडीले पनि सुपर डिलक्स र डिलक्सका नाममा बढी भाडा असुलिरहेका छन् । | ६ देखि आठ वर्ष पुगेपछि उक्त गाडी राति चल्न पाउदैन् । लामो रोडमा नाइट टिप हाल्न पाउदैन् । त्यसपछि लोकल गाडीका रुपमा क्युमा चल्नुपर्छ । तर, यहाँ पनि दुई दशक पुग्न लागेका गाडीहरु रातमा चलिरहेका छन् । सरकारले गाडीको हुट हटाउने भनेपनि यातायात व्यवसायीले अटेर गरिरहेका छन् । बढी सामान अट्छ भनेर यातायात व्यवसायी हुट हटाउनै तयार छैनन् । बसले थेग्न सक्नेभन्दा दोब्बर यात्रु र सामान खाँदेपछि दुर्घटना नहुने त कुरै रहेन् । सुपर डिलक्स र डिलक्स हुनका लागि सरकारले बनाएको मापदण्डभित्र साना गाडीहरु पर्दैनन् । तर, साना गाडीले बढी भाडा त लिइरहेका छन् । साना गाडीहरुले नौ जनादेखि १३ जना मात्र बोक्ने भनेर सरकारसंग अनुमति लिएको हुन्छ । तर, यस्तो गाडीले दुई दर्जनसम्म यात्रु हालिरहेको पाइन्छ । साना गाडीहरुले अझै पनि पटकेको भरमा गाडी चलाइरहेको छ । रोड परमिट यिनीहरुसंग छैन् । रोड परमिट नलिईकन सवारी साधन चलाउन दिदाँ राज्यले राजस्व पाएन् भने सवारी साधन दुर्घटनामा पर्यो भने यात्रुले क्षतिपुर्ति पाउदैनन् । सरकारले ६ सय भाडा तोकेको छ भने साना गाडीले अहिले नै नौ सय असुलिरहेको छ । दशैंमा त यसको पनि दोब्बर हुन्छ । हरेक दशैंमा दुर्घटना भएको रेकर्ड नै छ । दुर्घटनामा नपरेको एक वर्ष पनि छैन् । हरेक दशैंमा कसै न कसैको घरमा रुवावासी चलेको छ । चाडबाड मनाउन खुसीका साथ हिँडेकाहरुको घरमा एकाएक दुःखको वातावरण छाइदिन्छ । यसमा सरकारको बेलैमा ध्यान जान जरुरी छ । कसरी सुरक्षित यात्रा गराउने हो भनेर सम्बन्धित निकायले अहिले नै नीति बनाउनुपर्छ । अहिले उपत्यकामा चलिरहेको गाडीहरुको अवस्था त सबैले देखेका छन् । कुनैको सिसा फुटेको छ भने कुनैको सिट लथालुङ्ग छ । अत्याधिक प्रदुषण गर्ने र इन्जिन ठिक नभएका सवारीहरु पनि दशैंमा सञ्चालन हुन्छन् । सरकारले रोड परमिट खुला गरिदिएपछि उपत्यकामा चलेका थोत्रा गाडी नै यात्रु बोकेर जिल्लाजिल्ला पुग्छ । सवारी चालकलाई त्यहाको बाटोको विषयमा ज्ञान हुन्छ न गाडीको हालत नै राम्रो हुन्छ । जसका कारण दशैंमा धेरै दुर्घटना पर्दछ । यसअघिका यातायात व्यवस्था विभागका महानिर्देशक र ट्राफिक प्रहरी प्रमुख पनि यातायात व्यवसायीकै पक्षमा हुन्थे । दशैंमा आफ्नो आफन्तले सित्तैमा टिकट पाउने भएपछि अनुगमन नै गर्न जादैन्थे उनीहरु । जिम्मेवार व्यक्ति नै यातायात व्यवसायीसंग मिलेपछि जनताको के लाग्छ । तर, योचोटि उही गतिविधि नदोहोरियोस् । यात्रुले सुरक्षित घर पुगेर दशैं मनाउन पाऊन् । सिटभन्दा बढी एक जना पनि यात्रु हाल्ने काम नहोस् । यसका लागि विभागका महानिर्देशक सुरेश राउत र ट्राफिक प्रहरी प्रमुख मीरा चौधरी जिम्मेवार बनिदिनुपर्छ । पर्दाभित्र बसेर यातायात व्यवसायी महासंघका नेताहरुले लुकाउने काम गर्दछन् । बिचौलियालाई प्रोत्साहन गर्ने नै महासंघका नेताहरु हुन् । यिनीहरु बर्षौदेखि जनता ठग्न पल्केका छन् । यातायात व्यवसायीले एक वर्षको कमाइ एक महिनामै उठाउछन् । दशैंको अवधिभर सवारी साधन चेकिङमा कडाइ गर्नुपर्छ । गृह मन्त्रालयले सबै ट्राफिक प्रहरी र सिडियोलाई परिपत्र गरेर कडाइ गर्न निर्देशन दिनुपर्छ । टिकट काउण्टर र बसपार्कमा निगरानी बढाउनुपर्छ । उमेर पुगेका गाडी चलाएको छ कि छैन् भनेर नियमित बिलबुक तथा अन्य कागजात पनि चेक गरिनुपर्छ । कतिपय चालकले बिहानै मादक पादर्थ सेवन गरेर गाडी चलाउछन् । यातायात मन्त्रालय र गृह मन्त्रालय मिलेर जनताको बाँच्ने अधिकार सुनिश्चित गरोस् । टिकट खोल्नलाई ढिलो भइसकेको छ । अहिले नै टिकट खोलिदिने हो भने काम नभएकाहरु यतिखेर नै घर जान्छन् ।

सेन्साईको इलोक्ट्रोनिक्स किन्दा बाइकका साथै आइफोन १३ जित्ने मौका

काठमाडाैं । जापानमा ईन्जिनियरिङ गरिएको नेपाली इलेक्ट्रोनिक्स ब्राण्ड सेन्साईले दशैं तिहार २०७९ लाई लक्षित गर्दै ‘सेन्साई ३ को झट्का, दशैंमा उपहारको फड्का’ अफर सार्वजनिक गरेको छ । उक्त योजना अन्तर्गत सेन्साई ब्राण्डका कुनै पनि सामानको खरिदमा लक्की ड्र मार्फत २ भाग्यशाली ग्राहकहरुले एप्पल आइफोन १३, ३ भाग्यशाली ग्राहकहरुले एप्पल आइप्याड १०.२ जस्ता आकर्षक उपहारहरु जित्न सक्नेछन् । यस्तै, बम्पर लक्की ड्र मार्फत १ भाग्यशाली ग्राहकले यामाहा आर१५ भिथ्री जित्न सक्ने कम्पनीले जनाएको छ । साथै, सेन्साईले आफ्नो विभिन्न सामानहरुमा विभिन्न किसिमका वारेण्टीहरु र नि:शुल्क डेलीभरी पनि प्रदान गर्नेछ । सेन्साईका सामानहरुको खरिद गरे पश्चात ग्राहकहरुले आफुलाई लक्की ड्रमा सहभागी गराउन SENSAI टाईप गरि आफ्नो नाम, ठेगाना र खरिद गरिएको सामानको वारेण्टी कार्ड नम्बर लेखि ३१००३ मा एसएमएस गर्नुपर्नेछ । कम्पनीले यो योजना भदाै ९ गतेदेखि सिमित अवधिका लागि मात्र लागु गरेको जनाएको छ । सेन्साई ब्राण्डको आधिकारिक विक्रेता चौधरी ग्रुप अन्तर्गत सिजी इओएल रहेको छ।

विद्युत् सर्ट हुदाँ फर्निचरमा १५ लाखको क्षति

झापा । झापाको गौराहद नगरपालिकामा आज बिहान विद्युत् सर्ट भई फर्निचर उद्योगमा आगलागी हुँदा १५ लाख रुपैयाँ बराबरको क्षति भएको छ । गौरादह–१ का मुनिलाल शर्माले गौराहद–२ स्थित गौरादह बजारमा सञ्चालन गरेका गौरादह पायल फर्निचर उद्योगमा आगलागी हुँदा उक्त क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिए । उनका अनुसार आज बिहान अचानक विद्युत् सर्ट भई आगलागी भएको थियो । आगलागीबाट फर्निचरको छेउमा रहेको बास र टिनको छानो भएको टहरा पूर्णरूपमा जलेर नष्ट भएको छ भने उक्त टहराभित्र रहेको मेसिन, काठ र फर्निचर जलेर करिब १५ लाख रुपैयाँ बराबरको क्षति भएको हो । आगलागी नेपाल प्रहरी, स्थानीयवासी, गौरादह, दमक नगरपालिका र कमल गाउँपालिकाको बारुणयन्त्रको सहयोगमा पूर्णरूपमा नियन्त्रणमा लिइएको थियो । रासस

मोबाइल व्यवसायीका लागि नबिलको गर्यो अन्तक्रिया कार्यक्रम

काठमाडौं । नबिल बैंकले नेपाल मोबाइल वितरण संघसँगको सहकार्यमा भक्तपुर क्षेत्रका मोबाइल वितरक, विक्रेता, तथा खुद्रा विक्रेतासँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा नबिल बैंकले मोबाइल व्यवसायीहरुको वित्तिय साक्षरतालाई प्रवद्र्धन गर्ने हिसाबले च्यानल फाइनान्सिङ, क्यूआर मर्चेन्ट र फोन लोन को बारेमा छलफल गरेको थियो । कार्यक्रममा सहभागीहरुलाई सम्बोधन गर्दै नबिल बैंकका साना तथा मझ्यौला कर्जा तथा लघुवित्त विभागका प्रमुख निरज बस्नेत डनिलले बैंकले व्यवसायीलाई फाइदा पुर्याउने विभिन्न पहलकदमी क्रियाकलापहरु जस्तै समय सान्दर्भिक कर्जा सुविधा, अफर, साझेदारी, साक्षरता कार्यक्रमहरु ल्याएको जानकारी गराएका थिए । कार्यक्रममा ‘चोरी नियन्त्रण र सतर्कता’ शीर्षकमा पनि संवाद कार्यक्रम आयोजना गरिएको थियो । प्यानल सदस्यहरुका रुपमा सुजन केसी, प्रहरी निरिक्षक – नेपाल प्रहरी, भक्तपुर, दिनेश चुल्याधो, अध्यक्ष, नेपाल मोबाइल वितरण संघ र नबिल बैंकतर्फबाट डनिलको उपस्थिति रहेको थियो ।

प्रभु क्यापिटलका ग्राहकलाई टिथ्रि थकालीमा विशेष छुट

काठमाडौं । प्रभु क्यापिटल र  टिथ्रि थकाली ग्रुपका बीचमा समझौता भएको छ । क्यापिटल र ग्रुपबीच बुधबार ग्राहकलाई छुट दिने सम्झौता भएको हो । सम्झौता अनुसार प्रभु क्यापिटलका हितग्राही ग्राहकले टिथ्रि थकाली ग्रुपकाबाट सेवा लिँदा १२ प्रतिशत छूट पाउने छन् । यो योजनाबाट लाभ लिन हितग्राहीले चेकवाउट या बिल पेमेन्ट गर्दा प्रभु क्यापिटलमा हितग्राही खाता रहेको देखाउनुपर्नेछ । समझौताको मितिदेखि तीन महिनासम्म सञ्चालन हुने यो अफरको लाभ क्यापिटलको हितग्राही ग्राहकले टिथ्रि थकाली ग्रुपको एयरपोर्ट, महाराजगंज तथा टोखाका शाखाहरुबाट प्राप्त गर्नसक्ने कम्पनीले जनाएको छ ।

नर्भिकले ल्यायो तिज अफर, हेल्थ प्याकेजमा भारी छुट

काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटलले हरितालिका तिजको अवसरमा विशेष हेल्थ प्याकेजको अफर सार्वजनिक गरेको छ । होल बडी चेकअपका विभिन्न प्याकेजहरुमा आकर्षक छुटसहितको अफर सार्वजनिक गरिएको हो । यस अफर अन्तर्गत सेवाग्राहीले भारी छुटमा ३ खालका हेल्थ प्याकेज खरीद गर्न सक्नेछन् । आधारभूत तिज प्याकेज ६ हजार ६ सय ६६ रुपैयाँँ मै उपलब्ध हुने अस्पतालले जनाएको छ । यसअन्तर्गत सुगर रेण्डम, युरिक एसिड, लिपिड प्रोफाइल, यूरिया, क्रेटीनाइन, हेमाटोलोजी प्रोफाइल, चेस्ट पिए, इसीजी, अल्टासाउण्ड, यूरिन रुटिन लगायतको जाँच हुनेछ । यस्तै, नर्भिकले मेमोग्रामसहितको तिज प्याकेजमा पनि भारी छुटको अफर सार्वजनिक गरेको छ । यो प्याकेज ९ हजार ९ सय ९९ रुपैयाँमै खरीद गर्न सकिनेछ । आधारभूत प्याकेजमा हुने जाँचबाहेक यसमा मेमोग्राफी डबल लगायतका अन्य आइटम पनि समावेश छन् । नर्भिकले ब्रेस्टको यूएसजीसहितको अर्को प्याकेज पनि ल्याएको छ । यो प्याकेज ७ हजार ७ सय ७७ रुपैयाँमै खरीद गर्न सकिनेछ ।

मेलम्ची–हेलम्बु सडक अवरुद्ध, सतर्कता अपनाउन अनुरोध

फाइल तस्विर सिन्धुपाल्चोक । गए रातिको बाढीले मेलम्ची–हेलम्बु सडकअन्तर्गत मेलम्ची–११ मा सडक अवरुद्ध भएको छ । सीमखेत नजिकै नदी सडकमा पसेर कटान गर्दा यातायातका साधन सञ्चालनमा समस्या आएको इलाका प्रहरी कार्यालय मेलम्चीले जनाएको छ । सडक अवरुद्ध हुँदा हेलम्बु गाउँपालिका र मेलम्चीको वडा नं ६ र ७ का स्थानीय प्रभावित भएका छन् । पानीको बहाव हेरेर सडक सञ्चालन गरिने मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले जानकारी दिए । सतर्कता अपनाउन अनुरोध सिन्धुपाल्चोकको धाप र आसपासको क्षेत्रमा पछिल्लो छ घण्टामा भारी वर्षा मापन गरिएको छ । मध्यरातदेखि बिहानसम्म पनि वर्षा जारी रहेकाले सो क्षेत्र भई बहने स–साना नदीमा आकस्मिक बहाव हुने हुँदा तटीय क्षेत्र तथा पहिरो जान सक्ने भएकाले भिरालो जमिनमा बिहानसम्मै उच्च सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ । यसैबीच मेलम्ची खोलामा पनि बाढी आएको मेलम्ची– ६ तालामाराङका योगबहादुर अर्यालले बताए । हेलम्बु र मेलम्चीका नदीतटका बासिन्दा पानी पर्नेबित्तिकै समस्यामा पर्ने गरेका छन् । रासस

योगमाया आयुर्वेद विश्वविद्यालयको लागि २ सय रोपनी जग्गा प्राप्त

भोजपुर । ‘योगमाया आयुर्वेद विश्वविद्यालय’ निर्माणका लागि दुई सय रोपनी भन्दा बढी जग्गा प्राप्त भएको छ । सङ्खुवासभाको खाँदबारी नगरपालिका–९ ढुङ्गाविसौना र षडानन्द नगरपालिका–६ बट्टार क्षेत्रबाट दुई सय रोपनी नौ आना तीन पैसा दुई दाम जग्गा विश्वविद्यालयको नाममा स्थानीयले पास गरिदिएका छन् । जग्गा खरिद प्रक्रियाका लागि संघीय सरकारबाट सात करोड रकम प्राप्त भएको षडानन्द नगरपालिकाका प्रमुख सरेन्द्रकुमार उदासले जानकारी दिए । उनले भने, ‘योगमाया आयुर्वेद विश्वविद्यालय निर्माणका लागि जग्गा खरिद प्रक्रिया सुरु भएको छ । हालसम्म दुई रोपनी बढी जग्गा विश्वविद्यालयको नाममा पास भएको छ । अन्य आवश्यक जग्गा पनि खोजी भइरहेको छ ।’ विश्वविद्यालयले निर्माणका लागि षडानन्दमा दुई सय ३३ रोपनी र खाँदबारी नगरपालिकामा तीन सय ७२ रोपनी जग्गा लिने मन्त्रिपरिषद्को निर्णय भएबमोजिम खोजी प्रक्रिया थालनी गरिएको उहाँले जानकारी दिए । जग्गा खरिद गर्नका लागि सात करोड रकम सङ्खुवासभा जिल्ला प्रशासन कार्यालयमा आएको नगर प्रमुख उदासले जानकारी दिए । षडानन्दको तर्फबाट योगमायाको समाधिस्थल मझुवाबेँसीमासमेत आवश्यक जग्गा खरिद गरेर संरचना निर्माण गर्नुपर्ने माग रहेको उनले बताए । सङ्खुवासभामा पनि विश्वविद्यालयको नाममा जग्गा खरिद भइरहेको प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाले जानकारी दिए । पहिला भएको सम्झौताअनुसार सङ्खुवासभामा प्रतिरोपनी एक लाखका दरले जग्गा खरिद गरिएको उनको भनाइ छ । भोजपुरका जग्गाधनीले भने प्रतिरोपनी ५० हजार पाउने गरी पहिला नै सम्झौता भएको उनको भनाइ छ । भोजपुरतर्फको दुई सय ३३ रोपनी र सङ्खुवासभाको तीन सय ७२ गरी ६०५ रोपनी खरिद गर्ने र अपुगमा सरकारी जमिनलाई पनि प्रयोगमा ल्याउने प्रमुख जिल्ला अधिकारी खतिवडाको भनाइ छ । दुवै जिल्लाको जग्गा खरिद प्रक्रिया सपन्न भएपश्चात विश्वविद्यालयको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरेर निर्माण प्रक्रिया अघि बढ्ने उनले जानकारी दिए । डिपिआर बनेपछि कुन जिल्लामा कति र कस्ता संरचना बन्ने भन्ने टुङ्गो लाग्ने उनको भनाइ छ । ‘दुई जिल्लाको समन्वयमा जग्गा खरिद प्रक्रिया भइरहेको छ । दुई जिल्लामा जग्गा खरिद गर्नुपर्ने भएकाले कुन क्षेत्रमा कति संरचना बन्छन् भन्ने यकिन भएको छैन । विश्वविद्यालयको पूर्ण विस्तृत परियोजना प्रतिवेदन बनेपछि निर्माणको प्रक्रिया सुरु हुन्छ । त्यसपछि कस्ता संरचना कतिवटा कहाँ बन्छन् भन्ने कुराको टुङ्गो लाग्छ,’ प्रजिअ खतिवडाले भने । सतिप्रथाको अन्त्यका लागि लड्ने क्रान्ति योद्दा योगमायाको जन्म विसं १९१७ मा भोजपुरको षडानन्द –१ नेपालेडाँडामा भएको हो । देशमा जकडिएको सतिप्रथा अन्त्यका लागि पटक–पटक तत्कालीन राणा सरकारसँग माग गर्दा पनि कुनै निर्णय नभएपछि योगमायासहित ६८ जनाले समाधि लिएका थिए । सतिप्रथा, छुवाछूत प्रथा अन्त्यका लागि आफ्नो अभियानको नारा लगाउँदै विसं १९९८ असार २२ गते अरुण नदीमा योगमायासहित ६८ जनाले मृत्युवरण गरेका थिए । उनीहरूले समाधि दिएको ठाउँ षडानन्द–६ को मझुवाबेँसीमा पर्दछ । समाज सुधारका लागि कुरीति, अन्धविश्वासको विरोधको त्यो समयमा अभियान चलाउने साहसी महिलाका रूपमा योगमायालाई चिनिन्छ । काठमाडौँ पुगेर श्री ३ जुद्धशम्शेरसँग भेट गरी धर्म भिक्षा मागेका थिइन् । जुद्धशम्शेरबाट धर्म भिक्षाको वचन पाए पनि वचनअनुसार राणाहरूले कुनै काम नगरेपछि उनमा थप क्रान्तिको विजारोपण भएको पाइन्छ । राणाकालीन समयमा राणा शासनले अन्याय विरोधमा समाज परिर्वतनका लागि जीवन नै बलिदानी दिने साहसी महिला भए पनि राज्यले भने उचित सम्मान दिन सकेको छैन । शोषण, दमनको जीवन बिताइरहेका महिलाको आवाज खरोरूपमा उठाउने योगमाया न्यौपानेको योगदान आवश्यक प्रचारको अभावले पनि ओझेलमा परेको देखिन्छ । योगमायाको योगदानलाई बेवास्ता गरिएको महिला अधिकारकर्मी तथा समाजका अगुवाहरूले बताउने गरेका छन् । सतिप्रथा, दासप्रथा, जातपातको अन्त्य, न्याय, महिला मर्यादा, विधवा अधिकार र मानापाथी एकरुपतालगायतका राजनीतिक तथा सामाजिक परिर्वतन लागि उनले माग गर्नुभएको बताइएको छ । सामाजिक अन्धविश्वासका विरुद्धमा उहाँले चालेको कदम समाजका परिवर्तनको मेरुडण्डको रूपमा देखिएको छ । योगमायाको बिहे सात वर्षको उमेरमा भोजपुरको धोद्लेखानी अर्थात् हालको रामप्रसादराई गाउँपालिका–२ मा भएको थियो । इतिहासकारका अनुसार सानै उमेरमा बिहे भएको कारण घरमा खानलाउन नदिएपछि उनी तीन दिन लगाएर आफ्नो माइतीघर नेपालेडाँडा पुगेका थिइन् । घर छाडी हिँडेकी र तीन दिन बाटो हराएकी भनी योगमायालाई घरकाले स्वीकार गरेनन् । माइतीले पनि हेलाँ गरेको पाइन्छ । त्यसपछि योगमायाको जीवनमा वैराग्य बढेकाले नेपाल फर्केर मझुवाबेँसीमा कठिन तपस्या गरिन् । योगमायाले श्रीमतीको मृत्युपछि श्रीमानले बिहे गर्न हुने तर श्रीमान्को मृत्युमा श्रीमतीले जिउँदै चितामा जल्नुपर्ने जनाउँदै यसको जवाफ तत्कालीन राणा सरकारसँग मागेकी थिइन् । त्यस्तै उनले श्रीमान्को मृत्यु भएको खण्डमा श्रीमती पनि अर्को विवाह गर्न पाउनुपर्ने भनी आवाज उठाइकाे बताइएको छ । यसको परिणामस्वरुप अहिले समाजमा धेरै नै परिवर्तन आएको देखिन्छ । पछिल्लो समय राज्यले दिएको आरक्षको व्यवस्थालाई यसैको उपजका रूपमा मान्न सकिने महिला अधिकारकर्मीको भनाइ छ । योगमायाले उठाएको समानताको क्रान्तिको अभियानले समाज रुपान्तरणका लागि निकै ठुलो योगदान पुगेको छ । योगमायालाई राष्ट्रिय विभूतिका रूपमा राज्यले घोषणा गर्नुपर्ने स्थानीयस्तरबाट आवाज पनि उठिरहेको छ । राज्यको तर्फबाट योगमायाको योगदानको कदर गर्दै राष्ट्रिय विभूति घोषणा गर्न स्थानीयवासीको माग छ । उनको योगदानको राज्यले उचित मूल्याङ्कन गर्न नसकेको स्थानीय जानकारहरूले बताउने गरेका छन् । अहिले राज्यले गरिरहेका काम मात्र योगमायाको योगदानका लागि पर्याप्त नभएको उनीहरूको भनाइ छ । षडानन्द नगरपालिकाका स्थानीय प्रकाश पौडेलले भने, ‘राज्यले योगमायाको योगदानको उचित ढङ्गले मूल्याङ्कन गर्न सकेको छैन । हामीले राष्ट्रिय विभूति घोषणा गर्न धेरैपटक आवाज उठाएको भए पनि राज्यले त्यसलाई सुनेन । उहाँलाई राष्ट्रिय विभूति घोषणा गर्नुपर्ने हाम्रो जोडदार माग छ । राज्यले यो जे गरिरहेको छ यो मात्र पर्याप्त होइन् ।’ रासस