विकासन्युज

बयानका लागि प्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबरा सिंहदरबारमा

काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबरा संसदको महाअभियोग सिफारिस समितिसमक्ष बयानका लागि सिंहदरबार पुगेका छन् । बुधबार सिंहदरबारस्थित कानुन, न्याय तथा मानवअधिकार समितिको बैठक कक्षमा निलम्वित प्रधानन्यायाधीश जबरा बयानका लागि पुगेका हुन् । भाद्र ८ गते बसेको महाअभियोग सिफारिस समितिको बैठकले निलम्वित प्रधानन्यायाधीश राणालाई आज सोधपुछका लागि बोलाएको थियो । प्रधानन्यायाधीश जबरा सिंहदवार पुगेपनि समितिको बैठक भने अझै शुरु भएको छैन । समितिलाई राणामाथि लागेको आरोप पुष्टि हुनेगरी नेपाल बार एशोसिएशनले ३५ बुँदे प्रमाण महाअभियोग सिफारिस समितिमा बुझाइसकेको छ । प्रधानन्यायाधीश राणालाई संविधान र कानूनको गम्भीर उल्लंघन गरेको, भ्रष्टाचार र गैरकानूनी सम्पती आर्जन गरेको आरोप लागेको छ । प्रधानन्यायाधीश राणालाई गत फागुन १ गते सत्तारुढ दलका सांसदहरुले महाअभियोग प्रश्ताव संसदमा दर्ता गराएका थिए । संसदमा महाअभियोग दर्ता भएको ६ महिनापछि संसदले महाअभियोग छलफलको लागि समितिमा पठाएको थियो । नेपालको न्यायिक तथा संसदीय इतिहासमा पहिलो पटक प्रधानन्यायाधीशसँग बयान लिन लागेको हो । गत १ फागुनमा सत्तारुढ दलले राणामाथि महाअभियोग लगाएपछि २३ फागुनमा प्रतिनिधिसभाले महाअभियोग सिफारिस समिति गठन गरेको थियो ।

पहिरो पन्छाएपछि नारायणगढ–मुग्लिन सडक सञ्चालनमा

चितवन । पहिरो खस्दा अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ । सो सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ केराबारीमा आज बिहान पहिरो खस्दा सडक अवरुद्ध भएको थियो । पहिरो पन्छाएसँगै अहिले दुईतर्फी यातायात सञ्चालनमा आएको हो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीले पहिरो पन्छाएसँगै सडक दुईतर्फी सञ्चालनमा आएको जानकारी दिए । सडक सञ्चालनमा आएसँगै पहिराका कारण रोकिएका सवारीसाधन आफ्नो गन्तव्यतर्फ लागेका छन् ।

सुन र चाँदी दुबैको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ८०० रुपैयाँले घटेर प्रतितोला ९४ हजारमा कारोवार भएको छ । मंगलबार छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ८०० रुर्पैयाँमा कारोबार भएको थियो । त्यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ५०० रुपैयाँ छ । आज चाँदीको मूल्य पनि घटेर १ हजार १३० रुपैयाँ कायम भएको छ । अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यको तुलनामा महासघंले यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।

काभ्रेपलाञ्चोक धुलिखेलको सडक तीन वर्षमै बन्ने, डीपीआर सकियो, आव्हान गर्यो बोलपत्र

काठमाडौं । अरनिको राजमार्गको भक्तपुरको सूर्यविनायकबाट धुलिखेलसम्मको सडक विस्तार गर्ने प्रक्रियाअन्तर्गत काभ्रेपलाञ्चोकको साँगाबाट धुलिखेलसम्मको सडक तीन वर्षभित्र विस्तार गरिने भएको छ । यसका लागि सूर्यविनायक-धुलिखेल, धुलिखेल-सिन्धुली-बर्दिबास सडक आयोजनाले बोलपत्र आह्वान गरेको छ । आयोजनाले केही दिनअघि मात्रै विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) सकेर निर्माण प्रक्रिया अघि बढाएको हो । सरकारले सूर्यविनायक-धुलिखेल सडक विस्तारको निर्माण आन्तरिक स्रोतबाटै गर्ने गरी हाललाई साँगाबाट धुलिखेलसम्मका लागि चार अर्ब ८९ करोड रुपैयाँ लागतमा ठेक्का आह्वान गरिएको छ । यसअघि जापान सहयोग नियोग (जाइका)ले आयोजनाबाट हात झिकेपछि सडक विभाग आन्तरिक स्रोतबाटै निर्माण अघि बढाउने तयारीमा लागेको थियो । डीपीआरअनुसार छ लेनमा सूर्यविनायक-धुलिखेल सडक विस्तार गर्न नौ अर्ब रुपैयाँ लाग्ने छ । प्रतिवेदनअनुसार साँगामा डेढदेखि दुई किलोमिटर सडक विस्तारमा समस्या देखिकाले हाललाई सूर्यविनायक-धुलिखेल सडक विस्तारअन्तर्गत काभ्रेपलाञ्चोक खण्डको साँगादेखि धुलिखेलसम्म विस्तारका लागि ठेक्का आह्वान गरिएको आयोजनाका सिनियर डिभिजन इञ्जीनियर शम्भुप्रसाद आचार्यले जानकारी दिए । काभ्रेपलाञ्चोक खण्ड साँगाबाट धुलिखेलसम्म करिब १० किलोमिटरको दूरी पर्छ । आचार्यका अनुसार ठेक्का पाउने व्यवसायीले तीन वर्षभित्र निर्माण पूरा गर्नुपर्ने तथा निर्माण सम्पन्न भएको एक वर्षसम्म मर्मतको समेत जिम्मा लिनुपर्ने छ । भदौमा प्रक्रिया सकेर आउँदो असोजमा सम्झौता हुने बताइएको छ । डीपीआरमा गाडी चल्ने मुख्य चार लेनको सडक बनाउने र दुवैतर्फ सर्भिस लेनसहित दुई मिटरको फुटपाथ निर्माण गर्नुपर्ने छ भने बीचमा तीन मिटरको मेडियन निर्माण गर्नुपर्ने उल्लेख छ । आचार्यका अनुसार आगामी कात्तिकबाट काम सुरु गर्न सकिन्छ । यस आयोजनाअन्तर्गत भक्तपुर खण्डअन्तर्गत साँगाबाट सुर्यविनायकसम्म छुट्टै बोलपत्र आह्वान गरिनेछ । आयोजनाले सूर्यविनायक-धुलिखेल सडक विस्तारका लागि यही साउन पहिलोसाता राजमार्ग छेउछाउमा सडक मापदण्डभित्रका संरचना हटाउन ३५ दिने सार्वजनिक सूचना जारी गरेको थियो । सडक विभागले केही वर्षदेखि धुलिखेलबाट बनेपा हुँदै भक्तपुरसम्म सडकको चाप बढिरहेकाले उक्त सडकखण्ड विस्तारका लागि यसअघि नै प्रक्रिया थालेको थियो । उक्त सडक विस्तारका लागि सकेसम्म लगानीकर्ता खोजिने, नभए सरकार आफैँले निर्माण गर्ने योजना थियो । उक्त सडकखण्ड विस्तारमा केही वर्षदेखि चासो देखाउँदै आएको जाइकाले हात झिकेको छ । ‘बोलपत्र आह्वान भएको छ, अब जाइकाले चासो दिएमात्रै हो, उसले सूर्यविनायक-धुलिखेल सडक विस्तारको काम नगर्ने जनाएको छ,’ आचार्यले भने । उक्त सडक आयोजना करिब १६ किलोमिटर दूरीको हो । अध्ययनअनुसार उक्त दूरीमा छ स्थानमा आकाशे पुल, चार स्थानमा पुल र एउटा कल्भर्ट निर्माण हुने छ । भक्तपुर र काभ्रेपलाञ्चोकको सीमा क्षेत्र साँगामा प्रस्तावित एक दशमलव २९ किलोमिटर सुरुङमार्ग निर्माण गर्ने-नगर्नेबारे छलफल भइरहेको छ । ‘सुरुङमार्ग निर्माण गर्दा निकै खर्चिलो हुने भएकाले लगभग नबन्ने देखिएको छ,’ आचार्यले भने । जाइकाले नै सूर्यविनायक-धुलिखेल सडक विस्तारबारे सन् २०१८ मा अध्ययन सकेर प्रारम्भिक डिजाइन पेश गर्दै सरकारको बजेटमा डिजाइनअनुसारको काम गर्न नसक्ने जनाएको हो । सरकारले आव २०७७/७८ मा कान्ति राजपथसँगै धुलिखेल-सूर्यविनायक सडक विस्तार सुरु गर्न एक अर्ब २० करोड रुपैयाँ विनियोजन गरेको थियो भने अघिल्लो आवमा समेत उपत्यकाको विद्यमान सवारी चापलाई व्यवस्थापन गर्न स्तरोन्नति विस्तृत अध्ययन गरिने उल्लेख गरेको थियो । डिभिजन सडक कार्यालय भक्तपुरले २०७६ सालमा सडक निर्माणस्थल खाली गराउन रुख कटानलगायत काम गर्दै आए पनि केही समयमै सो कार्य रोकिएको थियो । सङ्घीय राजधानीबाट बागमती प्रदेशअन्तर्गत मध्यपहाडीका विपी र पुष्पलाल रार्जमार्ग हुँदै पूर्वसम्मको छोटो दूरीसँग धुलिखेल जोडिएको छ । यी सडकबाट अरनिको राजमार्ग हुँदै प्रदेश १ र मधेश प्रदेशका नागरिक काठमाडौं आउजाउ गर्दछन् । उत्तरी नाका सिन्धुपाल्चोकको तातोपानी पुग्न पनि यही सडक प्रयोग हुन्छ । तातोपानी खुला भए यो सडकखण्डमा सवारी चाप बढ्ने अनुमान गरिएको छ । सिन्धुपाल्चोक, रामेछापलगायत जिल्लाका विभिन्न ठाउँमा आवतजावतका लागि समेत यो सडक प्रयोग हुन्छ । रासस

कर्मचारीहरूको तलब सिफारिस गर्न बन्यो छुट्टै आयोग, संयोजकमा पूर्व मुख्यसचिव पौड्याल

काठमाडौं । पूर्व मुख्यसचिव लीलामणि पौड्यालको संयोजकत्वमा उच्चस्तरीय तलब सुविधा आयोग गठन भएको छ । संयोजक पौड्यालसहित सदस्यहरूमा पूर्व सचिव विमल वाग्ले र नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक शिवनाथ पाण्डेलाई नियुक्ति पत्र प्रदान गरिएको हो । अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले राष्ट्रसेवक कर्मचारी र श्रमिकहरूको न्यूनतम तलब, भत्ता तथा पारिश्रमिक पुनरावलोकन गर्न बनेको उच्चस्तरीय तलब सुविधा आयोगका संयोजक तथा सदस्यहरूलाई नियुक्ति पत्र प्रदान गरेका हुन् । मंगलबार मन्त्रालयमा आयोजित एक कार्यक्रमकाबीच मन्त्री शर्माले आयोगका संयोजक तथा दुई सदस्यलाई नियुक्ति पत्र दिएका हुन् । आर्थिक वर्ष २०७९/२०८० बजेटको बुदा नम्बर ३६७ मा (राष्ट्रसेवक कर्मचारीको न्युनतम तलब र सुविधा पुनरावलोकन गर्न र श्रमिकहरुको तलब सुविधाको अध्ययन गरि नेपाल सरकारलाई सिफारिस गर्न एक उच्च स्तरिय तलब सुबिधा आयोग गठन गरिनेछ) उल्लेख भए अनुसार अर्थमन्त्री शर्माको प्रस्तावमा मन्त्रिपरिषदले यहि भदौ ६ गते आयोग गठन गरेको थियो । आयोगले नेपाल सरकारले निर्धारण गरेको मर्यादाक्रम बमोजिम राष्ट्रसेवक कर्मचारीहरूको तलबमा समायोजन गर्न सिफारिस गर्नेछ । त्यस्तै नेपालका सम्पूर्ण श्रमिकहरूको पारिश्रमिक, सेवा तथा सुविधाका मापदण्डहरु पनि सिफारिस गर्नेछ । नेपाल सरकारले आयोगलाई दिएको कार्य सर्तमा बिगतमा गठन भएका तलब, भत्ता पुनरावलोकन गर्ने सम्बन्धी आयोग, समिति र कार्यदलबाट प्रस्तुत भएका प्रतिबेदनहरुबाट आवश्यक सुचनाहरु संकलन गरी विश्लेषण गर्ने, दक्षिण एसियाली मुलुकहरुका राष्ट्रसेवक कर्मचारीहरुको तलब सुबिधाको अध्ययन एवम् अर्थतन्त्रको बर्तमान अवस्थाको अध्ययन विश्लेषण गरि नेपालका राष्ट्र सेवक कर्मचारीको तलब सुबिधा सिफारिस गर्ने, नेपाल सरकारले निर्धारण गरेको मर्यादाक्रम बमोजिम राष्ट्र सेवक कर्मचारीको तलबमा न समायोजन गर्न सिफारिस गर्ने, कार्यपालिका, व्यवस्थापिका, न्याय पालिका लगायतका निकाय तथा संबैधानिक निकाय समेतको जोखिम, कार्य समय, अतिरिक्त कार्य समय, कार्यभारको आधारमा उत्प्रेरणा योजना समेतको अध्ययन विश्लेषण गरी विद्यमानव्यवस्थामा पुनरावलोकन गर्ने गरि सिफारिस गर्ने लगाएत रहेका छन् । आयोगको समयावधि तीन महिनाको हुनेछ । यद्यपि आवश्यक परेको खण्डमा मन्त्रिपरिषद्ले यसको म्याद थप गर्न सक्नेछ भने आयोगका संयोजकको मन्त्री सरह र सदस्यहरूको राजपत्रांकित विशिष्ट श्रेणी सरह पारिश्रमिक तथा मर्यादाक्रम हुनेछ । अर्थमन्त्री शर्माले संयोजक तथा सदस्यहरुलाई नियुक्ति पत्र हस्तान्तरण गर्दै सरकारले सबैलाई न्याय र समयानुकूल हुने पारिश्रमिक तथा सेवा सुबिधाबारे गहिरो अध्ययन गरेर आयोगबाट सुझाव प्राप्त गर्ने विश्वास व्यक्त गरे ।

किन मनाइन्छ गणेश चौथी ?

काठमाडौं । आज गणेश चौथी । भगवान गणेशको विशेष पूँजा आराधनासहित गणेश चौथी मनाइँदैछ । हरेक वर्ष भाद्र शुक्ल चतुर्थी तिथिका दिनलाई गणेश चौथीको नाममा वैदिक सत्य सनातन हिन्दु धर्मावलम्वीहरुले मनाउने गर्छन् । आज देशभरका गणेश मन्दिरमा विशेष मेला लाग्छ । आज उपत्यकाका सूर्यविनायक, कार्यविनायक, चन्द्रविनायक, जलविनायकसहित कमलादी गणेशको मन्दिरमा विशेष पूजासहित भक्तजनको भीड छ । गणेशलाई लड्डु (मोदक) चढाएर आफ्नो मनोकामना पुरा हुने विश्वास अनुसार अधिकांश गणेश मन्दिरमा भक्तजनहरु मोदक बोकेर पुगेका छन् । कुनैपनि धार्मिक कार्य शुरु गर्नुअघि गणेशको पूँजा गर्दा सफल हुने जनविश्वास छ । आजैका दिन गणेशको जन्म भएको शिवपुराणमा उल्लेख छ । हरितालिका तीजको भोलिपल्ट आज गणेश चौथी मनाउने गरिन्छ । हिजो व्रत बसेका महिलाहरुले आज बिहानै गणेशको पूजा गरी दिनभर नाचगान र व्रत बस्ने गर्छन् । यसदिन कसैको हानी नोक्शानी पुर्याए त्यसको पाप नलाग्ने विश्वास गरिन्छ । भोलि (बिहीवार) ऋषिपञ्चमी पर्व मनाइएपछि तीज औपचारिक रुपमा समापन हुन्छ । गणेश चौथीको दिन नेवार समुदायले भने चथा पर्व मनाउँदैछन् । आज बेलुका चन्द्रमालाई पूजा गरेर यो पर्व मनाइने गरिन्छ । चन्द्रमालाई आज चोर देवताका रुपमा पूँजा गरिन्छ । कमलको फूल, चथा फूल, फलफूल, अदुवाको बोट लगायत राखेर चन्द्रमाको पूँजा गर्ने चलन छ ।

उपहारमा नेपाली ब्राण्डका रक्सी

काठमाडौं । गत साता संखुवासभाका सुमन कोइराला कोरिया जाने तरखर गर्दै थिए । उनी कोरियो जानुभन्दा अघिल्लो दिन नेपाली ब्राण्डका रक्सीहरु खोज्न दिनभर बजारमा भौतारिए । उनलाई उनका साथीहरुले नेपाली ब्राण्डको रक्सी उपहार ल्याउन आग्रह गरेका थिए । उनले पनि छानीछानी नेपाली ब्राण्डका ५/६ बोतल रक्सी जम्मा गरेर र सुटकेसमा सुरक्षितका साथ प्याक गरे । धेरै मानिसहरु रक्सीका सौखिन् हुन्छन् । कतिपय रक्सी नपिउनेहरु पनि घरको दराजमा सजाउन रुचाउँछन् । कतियले साथीहरु भेट्टिने बित्तीकै रक्सी पिउने चाहना व्यक्त गर्छन् । साथीभाई विदेश जाँदा या फर्कदा रक्सीको गिफ्ट (उपहार) ल्याउन आग्रह गर्छन् । पछिल्लो समय यही अभ्यास व्याप्त छ । विदेशी होस् वा नेपाली किन नहुन् नेपालबाट विदेश जानेले नेपाली ब्राण्डका रक्सी उपहारका रुपमा लिन थालेका छन् । नेपाली कोसेलीको संज्ञा दिँदै उनीहरु साथीभाई या आफन्तलाई रक्सी उपहारका लागि आग्रह गर्दै आएका छन् । विदेशबाट नेपाल आउनेहरुले फिर्ता जाँदा नेपालबाट नेपाली ब्राण्डका रक्सी उपहार लिने गरेका छन् भने नेपालबाट विदेश जानेहरु पनि विदेशमा रहेका आफन्तहरुलाई नेपाली ब्राण्डको रक्सी उपहार लिइरहेका भेटिन्छन् । केही वर्ष अगाडि केही सीमित मान्छेहरुले मात्रै विदेशको रक्सी नेपाल ल्याउँथे । प्रायः लाहुरे, एनआरएनएले नेपाल फर्किँदा विदेशी ब्राण्डका रक्सीहरु ल्याउँथे । तर, पछिल्लो समय भने नेपाली र विदेशीका लागि पनि स्वदेशी ब्राण्डका रक्सीहरु रुचाउने गरेका छन् । पछिल्लो समय नेपालमा पनि विभिन्न नेपाली ब्राण्डका रक्सी व्यापक रूपमा उत्पादन भइरहेको छ । तर, उत्पादन भए पनि रक्सीको आयातमा कमि आउन भने सकेको छैन । दिनप्रतिदिन रक्सीको आयात बढ्दो छ । विदेशी रक्सी आयात मात्रै नभई मुद्रा पनि बढ्दो रूपमा निर्यात भइरहेको छ । नेपाल मदिरा व्यवसायी महासंघका अध्यक्ष शोनाम शेर्पा अहिले विदाको समयमा नेपाल आएका नेपालीहरुले पनि विदेशमा रहेका साथी तथा आफन्तहरुलाई उपहारको रुपमा नेपाली ब्राण्डको रक्सी लिने गरेको बताउँछन् । स्वदेशी ब्राण्डका अहिले धेरै रक्सी अन्तर्राष्ट्रिय बजारमा पनि लोकप्रिय बन्न पुगेको उनको बुझाइ छ । रक्सी उत्पादन गर्ने कम्पनीहरू पनि अहिले स्वदेशी रक्सीको उत्पादन गरी ब्राण्ड गरी रहेको शेर्पाले जानकारी दिए । उनका अनुसार विदेशमा पनि नेपाली ब्राण्डको रक्सी भनेर नेपालीहरूले खाने चलन बढेको छ । तर, स्वदेशी रक्सीको ब्राण्डिङ गर्न नसक्दा भने केही समस्या भएको उनको धारणा छ । अध्यक्ष शेर्पाका अनुसार स्वदेशी ब्राण्डका ९० वटा रक्सीउत्पादन गर्ने कम्पनी छन् । बियरका ३६ वटा र वाइनका ६० वटा कम्पनी दर्ता भएका छन् । ती कम्पनीहरुले फरक-फरक पेय पदार्थ उत्पादन गर्छन् । नेपालदेखि विदेशी बजारसम्म स्वदेशी ब्राण्डका रक्सी ८८४८ भोड्का, वल्र्ड दरबार, यार्चागुम्बा लगायत चर्चित ब्राण्ड कोसेलीका रुपमा विदेश लिइरहेका छन् । उनका अनुसार ठूलो संख्यामा निर्यात हुन नसके पनि सामान्य सो ब्राण्डका रक्सी अमेरिका, जापान र अस्ट्रेलिया निर्यात भइरहेको छ । यस्तै गोल्डेन ओक नेपाली बजारमा धेरै बिक्री वितरण हुने सस्तो मूल्यमा पाइने स्वदेशी ब्राण्ड हो । यस ब्राण्डको रक्सी विदेशी बजारमा निर्यात नहुने पनि शेर्पाले बताए । उनका अनुसार सस्तो मूल्य भएको कारण धेरैको रोजाइमा पनि गोल्डेन ओक पर्छ । स्वदेशी ब्राण्डमध्ये सबैभन्दा बढी मूल्य पर्ने रक्सीमध्ये यार्चागुम्बा रहेको उनको भनाइ छ । उक्त रक्सी स्वदेशी कच्चा पदार्थबाट बनेको हो । शेर्पाका अनुसार यार्चागुम्बा रक्सी सबैभन्दा बढी रेमिट्यान्स भित्र्याउने कम्पनी पनि हो । अरू रक्सी विदेशीबाट ल्याएको कच्चा पदार्थबाट नेपालमा तयार पारिने पनि शेर्पाले बताए । यस्तै, स्वदेशी ब्राण्डका बियरमा गोरखा स्ट्रङ, नेपाल आइस, अर्ना बियर रहेका छन् । सो ब्राण्डका बियर अहिले नेपाली बजारमा चर्चित छन् । अन्योलमा अन्तर्राष्ट्रिय बजार नेपाली ब्राण्डको रक्सी विदेशी बजारमा विज्ञापन गर्न नसक्दा व्यापार अन्योलमा परेको पनि शेर्पाले बताए । विज्ञापन गर्न नसक्दा अन्तर्राष्ट्रिय बजारमा स्वदेशी रक्सी बेच्न मुस्किल परेको उनको भनाइ छ । स्वदेशी रक्सीको माग विदेशी बजारबाट पनि अपेक्षाकृत माग नआएको र माग आए पनि थोरै आउने शेर्पाले जानकारी दिए । ‘विदेशीले पनि नेपाली ब्राण्डका रक्सी खाएको देखिँदैन, मलाइ खुकुरी रम नै चाहियो यो ब्राण्डका रक्सी चाहियो भन्ने चलन छैन, नेपाल आएको बेला चाहिँ स्वदेशी नै खाएको देखिन्छ,’ उनले भने । ‘प्रायः सबै देशमा रक्सीको उत्पादन हुन्छ, नचिनेको ब्राण्डको रक्सी बिदेशमा खाँदैनन्, स्वदेशी ब्राण्ड उनीहरुको रोजाइमा पर्छ, चाइनाबाट कुनै एउटा ब्राण्डको रक्सी आयो भने हामी त्यसको बारेमा थाहा नपाई सेवन गर्दैनौं, २५/३० बोतल स्वदेशी रक्सी विदेशमा बेच्न पनि एक महिना लाग्छ, नाम नसुनेको ब्राण्डको रक्सी खान मान्दैनन्,’ उनले भने ।

बुद्ध ज्योतिलाई प्राप्ति गरेको मिर्मिरे लघुवित्तले एकीकृत कारोबार गर्दै, चुक्ता पुँजी ५३ करोड बढी

काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्थाले बुद्ध ज्योति लघुवित्त वित्तीय संस्थालाई एक्वायर (प्राप्ति) पश्चात एकीकृत कारोबार गर्ने भएको छ । भैरहवाको लुम्बिनीमा रहेको बुद्ध ज्योतिलाई एक्वायर गरेको मिर्मिरेले भदौ १५ गतेदेखि एकीकृत कारोबार शुरु गर्न लागेको हो । दुई संस्थाबीच एकीकृत कारोबार भदौ १५ गते बिहान ११ बजे मिर्मिरे लघुवित्तको केन्द्रीय कार्यालय बनेपास्थित सभाहलमा हुने छ । उक्त एकीकृत कारोबार पश्चात बन्ने मिर्मिरे लघुवित्तको अधिकृत पुँजी ६० करोड र चुक्ता पुँजी ५३ करोड १२ लाख रुपैयाँ पुग्ने छ । त्यस्तै, शाखा संख्या १५० वटा पुग्ने छन् । सो अवसरमा संस्थाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) पुष्करराज जोशीले संस्थाले आगामी दिनमा सेवाग्राही, लगानीकर्ता एवं आवद्द कर्मचारीको उज्वल भविष्य निर्माणमा लघुवित्तको मर्म र भावना अनुरुप आफ्नो कार्यसंचालन निरन्तर रहने बताएका छन् । मिर्मिरेले यस अघि धुनिवेशीको स्वेडा लघुवित्त वित्तीय संस्था, झापाको बिर्तामोडमा रहेको नागबेली लघुवित्त वित्तीय संस्थालाई एक्वायर गरिसकेको थियो । आर्थिक वर्ष २०७७/७८ मा २० प्रतिशत बोनस सेयर दिएको संस्थाले आर्थिक वर्ष २०७८/७९ मा २० करोड ८१ लाख रुपैयाँ नाफा आर्जन गरेको वित्तीय विवरणमा उल्लेख छ ।