बजरङ्ग स्टिलले प्राप्त गर्यो नेपाल गुणस्तर चिन्ह
काठमाडौं । स्वस्तिक रोलिड्ड मिल्सद्वारा उत्पादित बजरङ्ग स्टिलले नेपाल गुणस्तर चिन्ह १९१ प्राप्त गरेको छ । उत्पादन शुरु गरेको छोटो अवधिमा नै बजरङ्ग स्टिलले नेपाल गुणस्तर चिन्ह प्राप्त गरेको हो । मोरङ औद्योगिक क्षेत्रअन्तर्गत दुहबी नगरपालिकामा रहेको स्वस्तिक रोलिड्डले बजरङ्ग ब्राण्ड अन्तर्गत टि एम टि छड, एङगल, च्यानल र आइ बिम उत्पादन गर्दै आइरहेको छ । प्रतिष्ठित व्यापारिक घराना गोल्छा, राठी र प्रतिष्ठित व्यापारीहरु जीवन रिजाल र इन्तकाब अहमद मियाको २ अर्ब ५० करोडको संयुक्त लगानीमा संचालनमा आएको स्वस्तिक रोलिड्ड मिल्सले छिट्टै नै नेपालभर आफ्नो बिक्री वितरण गर्ने जनाएको छ । आफ्नै मेल्टिड्ड युनिट रहेको उक्त उद्योगमा दैनिक ५०० टन उत्पादन क्षमता रहेको छ । उद्योगले ७ देखि ४० एमएम सम्मका टीएमटीको उत्पादन गर्नेछ । बजरङ्ग स्टिल नेपालकै सबैभन्दा नयाँ र अत्याधुनिक प्रविधिबाट उत्पादन भैरहेको कम्पनिको दावी छ । उद्योगले उत्पादन गरेको टीएमटीको ग्रिपिङ गुणस्तर अत्यन्त अत्याधुनिक रहेको कम्पनीले जनाएको छ । उत्पादित टीएमटीको प्रयोग ठुलाठुला जलविद्युत् आयोजना, सडक, बहुतले भवन, पुल र सबै खाले प्रोजेक्टमा प्रयोग गर्न सकिने बताइएको छ। कम्पनीले ७ एम एम देखी ३२ एम एम सम्मको टी एम टी उत्पादन गर्दछ । प्रतिष्ठित नेपाल गुणस्तर चिन्ह ८ देखि ३२ एम एम सम्मको टी एम टी छडले प्राप्त गरेको छ। नेपाली बजारमा गुणस्तरीय स्टिल उत्पादन गर्ने थप जिम्मेवारी पाएको र गुणस्तरको प्रतिवद्दता लाई सधै मनन गर्ने कम्पनीले जनाएको छ ।
एशियन लाइफका बीमितलाई ५० प्रतिशतसम्म व्याज छुट
काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीका बीमितले व्यतित बीमालेखमा ५० प्रतिशतसम्म व्याज छुट पाउने भएका छन् । इन्स्योरेन्सले विभिन्न कारणले तोकिएको समयमा बीमाशुल्क बुझाउन ढिला भएका बीमितहरुलाई सो मात्राको छुट दिने भएको हो । यससँगै इन्स्योरेन्सका अनुसार बीमितहरुले अन्तिम बीमाशुल्क भुक्तानी गरेको मितिले २ वर्ष अघि अर्थात २०७७ भदौ १४ गतेदेखि व्यतित भएका बीमालेखमा ५० प्रतिशत व्याज छुट पाउने भएका हुन् । यो छुट २०७९ भदौ १५ गतेदेखि २०७९ असोज १२ गतेसम्म मात्रै लागू हुने इन्स्योरेन्सले जनाएको छ । साथै, २०८० भदौ १४ गतेभन्दा अगाडि परिपक्व हुने बीमालेखमा भने यो छुट लागू नहुने इन्स्योरेन्सले जनाएको छ । त्यस्तै, यो सुविधा अन्तर्गत एक पटक व्याज छुट लिई सकेका बीमितहरुलाई बीमा अवधिभरी पुनः छुट नदिइने कम्पनीले सूचित गराएको छ ।
स्थापनाको ७५ वर्षमा शान्ति विद्यागृह माध्यमिक विद्यालय
काठमाडाैं । देशकै पुरानोमध्येको एक शिक्षण संस्था शान्ति विद्यागृहले तीन दिनसम्म ७५औं वार्षिकोत्सव मनाउने भएको छ । विद्यालयले भदौ १६, १७ र १८ गते विभिन्न कार्यक्रम आयोजना गरी ७५औं वार्षिकोत्सव तथा हीरक महोत्सव मनाउने तयारी पूरा गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वर्षाराम भण्डारीले जानकारी दिए । शान्ति विद्यागृह २००४ वैशाख १९ गते स्थापना भएको शिक्षण संस्था हो । विद्यालयको हीरक महोत्सव गत वैशाख १९ गते मनाउने तयारी गरिए पनि कोरोना महामारीका कारण स्थगित गर्नुपरेको भण्डारीले बताए । हीरक महोत्सव अन्तर्गत भदौ १६ गते प्रभातफेरी र हाल अध्ययनरत विद्यार्थीलाई शैक्षिक पुरस्कार तथा छात्रवृत्ति वितरण कार्यक्रम रहेकाे छ । १७ गते पूर्वविद्यार्थी, शिक्षक, सल्लाहकार, अक्षय कोषदाता र अन्य सहयोगीलाई सम्मान मायाको चिनो र सम्मान गर्ने कार्यक्रम तय भएको छ । १८ गते शनिबर स्मारिका र शान्ति कविता विमोचन, संस्थापकहरु, पूर्व प्रधानअध्यापकहरु, संस्थापक शिक्षकहरु, पूर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरु, कवि, एवं अन्य व्यक्तित्वलाई अभिनन्दन र सम्मान गर्ने कार्यक्रम छ । १६ गतेको कार्यक्रममा शिक्षा विकास तथा समनवय इकाइ काठमाडौंका प्रमुख नन्दलाल पौडेल, १७ गते त्रिभुवन विश्वविद्यालयका पूर्व उपलकुलपति शंकरराज पाठक र १९ गते पूर्वरक्षामन्त्री भिमसेनदास प्रधान प्रमुख अतिथिको रुपमा कार्यक्रममा सहभागी हुने विद्यालय व्यवस्थापनले जनाएको छ । शान्ति विद्यागृह गल्कोपाखाका प्रसिद्ध कविराज लम्बोदर भण्डारीको घरबाट सुरु भएको थियो । एक वर्षपछि ठमेलस्थित भगवान बहालमा भाडाको घरमा सारियो । त्यहाँ करीब ३ वर्ष पठनपाठन चल्यो । त्यसपछि अहिले भवन भएको ठाउँमा आफ्नै जग्गामा पढाउन थालिएको शान्ति विद्यागृहका संस्थापक शिक्षक ९५ वर्षीय शंकरलाल मानन्धर बताउँछन् । शान्ति विद्यागृहमा स्थापनाको दिन बिहान साढे ६ बजे जनकविकेशरी धर्मराज थापाबाट सरस्वती वन्दना वाचन गर्दै प्रथम कक्षा सुरु गरिएको थियो । सुरुमा लैनचौर, ठमेल, गल्कोपाखा, पकनाजोल क्षेत्रका करिब ३ सय छात्रछात्रामध्ये छात्रहरूलाई शान्ति विद्यागृह प्राथमिक स्कुलपट्टि र छात्रालाई शान्ति विद्यागृह कन्या प्राथमिक स्कुलपट्टि राखेर पढाइएकाे थियाे । २०५२ सालदेखि यो विद्यालय सहशिक्षालयमा परिणत भयो । अहिले विद्यालयमा पूर्वप्राथमिक ‘ईसीडी’ देखि १२ कक्षासम्म पढाइ हुन्छ । यस विद्यालयमा अहिले ६ सय २ छात्र र ५ सय १८ छात्रा अध्ययन गरिहेका छन् । उनीहरूलाई पढाउन ७ जना शिक्षक र ३२ जना शिक्षिका छन् । पद्मशमशेरका पालामा २००४ सालमा स्थापित यो विद्यालय राणाकालमा खुलेका विद्यालयमध्येको एक पनि हो । विद्यालयले २००९ सालदेखि प्रवेशिका परीक्षामा विद्यार्थीहरू सहभागी गराउँदै आएको छ । यो विद्यालयबाट निस्केका विद्यार्थी देश/विदेशका साथै विभिन्न क्षेत्रमा स्थापित भएका छन् । स्थापनादेखि २०३० सालसम्म सामुदायिक रूपमा चलेको यो विद्यालय त्यसपछिको १६ वर्ष सामुदायिक तथा सरकारी अवधारणामा सञ्चालन गरियो । २०४६ सालयता भने विद्यालय पूरै सरकारी अवधारणाअनुसार चल्दै आएको छ ।
मेलम्चीमा गैरकानुनी रुपमा निर्मित संरचना हटाउन निर्देशन
सिन्धुपाल्चोक । गैरकानुनी रुपमा बनेका संरचना हटाउन तथा बजार सरसफाइ गर्न निर्देशन दिँदै मेलम्ची नगरपालिकाले बजार अनुगमन गरेको छ । घर अगाडि बनाइएका भञ्याङ, व्यापारिक प्रयोजनका लागि हालिएका पालि तथा अन्य संरचना हटाउन निर्देशन दिइएको नगर प्रमुख आइतमान तामाङले जानकारी दिए । जिल्लाको पश्चिमी भेगको सबैभन्दा ठूलो बजार हो मेलम्ची । मेलम्ची घुम्न दैनिक सयौँ पर्यटक पनि आउने गरेका छन् । पर्यटकलाई आकर्षित बनाउन र सफा, सुन्दर अनि सुरक्षित बजार निमार्णका लागि यस्ता संरचना हटाउन आग्रह गरिएको नगर प्रमुख तामाङले बताए । व्यवस्थित बजार बनाउन बजारवासी, उपभोक्ता र स्थानीय सरकारको भूमिका उत्तिकै महत्वपूर्ण हुने भन्दै पैदलयात्रु हिँड्ने बाटो मिचेर पसल राख्ने, जथाभावी टहरा बनाउँदा बजार अव्यस्थित तथा कुरुप बन्दै गएको स्थानीयवासीले बताएका छन् । नगर प्रमुख तामाङसहित उपप्रमुख उमा प्रधान, प्रमुख प्रशासकीय अधिकृत अमृतकुमार धिताल, मेलम्ची–११ वडाध्यक्ष चन्द्रबहादुर तामाङ, बजार व्यवस्थापन तथा अनुगमन समितिका संयोजक एवं मेलम्ची–९ का वडाध्यक्ष किरणदीप खड्का, मेलम्ची नगर उद्योग वाणिज्य सङ्घ, लायन्स क्लब अफ लगायतका स्थानीय जनप्रतिनिधि र सरोकारवालाको सहभागितामा बजार अनुगमन गरिएको थियो । मेलम्ची बजारमा नगरपालिकाका बासिन्दाबाहेक पाँचपोखरी, हेलम्बु, इन्द्रावती गाउँपालिकाका र नुवाकोटका नागरिक किनमेलका लागि आउँछन् । बजारमा व्यवस्थित पार्किङ, सार्वजनिक शौचालय अभाव, पिउने पानीको समेत व्यवस्था नहुँदा सर्वसाधारणले भने सास्ती खेप्न परेको छ । मुख्य बजारमा यी संरचना भइदियोस् भन्ने उपभोक्ताको चाहना पनि छ । अहिले नगरपालिकाले गैरकानुनी रुपमा निर्माण गरिएका संरचना हटाउने, जथाभावी फोहर फाल्न नदिने, बजारमा अस्तव्यस्त पार्किङ गर्न नपाइने भनेर सूचना निकालेको छ । नगरपालिकाको यो निर्णयको बजारवासीले स्वागत गरेका छन् । नगरपालिकाको गत साउन ४ गतेको बैठकले १५ दिने सूचना जारी गरे पनि अहिलेसम्म कसैले पनि यस्ता संरचना हटाएका छैनन् ।
पाँच अर्ब रुपैयाँमा राष्ट्रिय प्रसारण लाइनमा थपियो २७ मेगावाट बिजुली
काठमाडौं । लमजुङबाट राष्ट्रिय प्रसारण लाइनमा २७ मेगावाट बिजुली थपिएको छ । हिमालयन पावर पार्टनर लिमिटेड कम्पनीद्वारा दोर्दी गाउँपालिकामा निर्माण गरेको दोर्दी जलविद्युत् आयोजना सम्पन्न भएसँगै मङ्गलबारदेखि बिजुली राष्ट्रिय प्रसारण लाइनमा थपिएको हो । गैरआवासीय नेपाली सङ्घ एनआरएनका पूर्वअध्यक्ष एवं प्रवद्र्धक हिमालय पावर पार्टनर लिमिटेडका अध्यक्ष जिवा लामिछाने र लगानीकर्ता आइएमई ग्रुपका अध्यक्ष चन्द्र ढकालको उपस्थितिमा उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जडान भएको घोषणा गरिएको हो । एनआरएनका पूर्वअध्यक्ष लामिछानेले आफू अध्यक्ष रहेका बेला गैरआवासीय नेपालीले एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट कम्पनी खोलेर उक्त संस्थामार्फत यस जिल्लामा पहिलोपटक दोर्दीखोला जलविद्युत् आयोजनामा लगानी गरेको बताए । उनले नेपालमा सफल व्यवसायीसँग मिलेर काम गरेको र गैरआवासीय नेपालीको लगानीबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जडान भएकामा खुसी व्यक्त गरे । त्यस्तै आइएमई ग्रुपका अध्यक्ष ढकालले एनआरएनसँग मिलेर दोर्दीखोला जलविद्युत् आयोजनालाई अघि सारिएको र अहिले सम्पन्न भएको भन्दै खुसी व्यक्त गरे । आउँदा दिनमा ठूला जलविद्युत्, पर्यटन, पूर्वाधारलगायतमा लगानी गर्न उहाँले गैरआवासीय नेपालीलाई आग्रह गरेका छन् । आयोजनाले २०७२ फागुनदेखि निर्माण थालनी गरेर २०७५ भदौ १५ गते विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको थियो । भारतको नाकाबन्दी, अघिल्लो बर्खामा पावरहाउसमा मस्र्याङ्दी नदीको पानी छिरेर मेसिनरी सामग्रीमा पु¥याएको क्षति र सुरुङ निर्माण गर्ने क्रममा कमजोर चट्टान भेटिएकाले निर्माणमा ढिलाइ भएको आयोजना प्रमुख मुन्न शाक्यले बताए । आयोजनाको बाँधस्थल दुई सय १२ मिटरको रहेको छ । बेँसीसहर नगरपालिका–११ रामचोकबेँसीमा विद्युतगृह छ । नेपाल विद्युत् प्राधिकरण र उक्त कम्पनीका बीचमा पिपिए सम्झौता २०६९ असार १ गते भएको थियो । बाँधस्थल र विद्युतगृहको काम रसुवा कन्स्ट्रक्सन कम्पनी, पाइप लाइनको माछापुच्छे मेटल एण्ड मेसेरेनरी कम्पनी र सुरुङ निर्माणको काम मल्टि इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट कम्पनीको रहेको थियो । आयोजनामा गैरआवासीय नेपाली सङ्घको ३५ दशमलव सात प्रतिशत, आइएमई ग्रुपको ३४ दशमलव तीन प्रतिशत र ३० प्रतिशत सर्वसाधारणको लगानी छ । तीन अर्ब ८६ करोड रुपैयाँमा निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ अघि बढे पनि निर्माण सम्पन्न हुँदा करिब पाँच अर्ब रुपैयाँ भन्दा बढी खर्च भएको आयोजनाले जनाएको छ । सुक्खायाममा आठ रुपैयाँ ४० पैसा र बर्खायाममा चार रुपैयाँ ८० पैसामा विद्युत् खरिद गर्ने सम्झौता पिपिए भएको आयोजनाले जनाएको छ । यसअघि जिल्लामा ७० मेगावाटको मध्यमस्र्याङ्दी जलविद्युत् केन्द्र, ५० मेगावाट क्षमताको माथिल्लो मस्र्याङ्दी ‘ए’ लगायत छ आयोजनाबाट राष्ट्रिय प्रसारण लाइनमा बिजुली जोडिएको छ । रासस
अब ललितपुर महानगरको कार्यालय अगाडि पार्किङ गर्न पैसा नलाग्ने
काठमाडौं । ललितपुर महानगरपालिकाले आफ्नो कार्यालय अगाडीको पार्किङ स्थल नि:शुल्क बनाएको छ । महानगरले बुधबारबाट लागु हुने गरी कार्यलय अगाडीको पार्किङ स्थल नि:शुल्क बनाएको हो । महानगरको कार्यपालिका बैठकले पुल्चोकस्थित कार्यालयअघि सडक किनाराको पार्किङ शुल्क हटाउने निर्णय गरेको हो ।
मध्यपुर थिमिले मापदण्ड विपरीतका संरचना र फुटपाथ पसल हटाउन निकाल्यो ३५ दिने सूचना
काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिकाले मापदण्ड विपरीत बनाइएको संरचना, फुटपाथ पसल हटाउन ३५ दिने सूचना जारी गरेको छ । नगरपालिकाले सडकहरु अतिक्रमण भएका संरचना र फुटपाथ पसल हटाउन ३५ दिने सूचना जारी गरेको हो । नगरपालिकाले आफ्नो क्षेत्रभित्रको अरनिको राजमार्ग, त्यसका सहायक मार्गहरू र नगरका अन्य भित्री सडकहरू तथा क्षेत्रमा मापदण्ड विपरित सार्वजनिक बाटो, सडक, जग्गा अतिक्रमण गरी विभिन्न संरचनाहरू निर्माण गर्ने, आवागमनमा अवरोध पुग्ने गरी सामग्री राख्ने, अव्यवस्थित रूपमा सवारी पार्किङ गर्ने र सडक फुटपाथमा व्यापार व्यवसाय गरी आवागमन अवरूद्ध बनाउने कार्य गरेको देखिएकोले सार्वजनिक सूचना जारी गरेको जनाएको छ । नगरपालिकाले ३५ दिनभित्र संरचना नहटाए स्थानीय सरकार सञ्चालन ऐन २०७४ बमोजिम र प्रचलित कानुन बमोजिम कारवाही गरिने बताएको छ ।
बयानका लागि प्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबरा सिंहदरबारमा
काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबरा संसदको महाअभियोग सिफारिस समितिसमक्ष बयानका लागि सिंहदरबार पुगेका छन् । बुधबार सिंहदरबारस्थित कानुन, न्याय तथा मानवअधिकार समितिको बैठक कक्षमा निलम्वित प्रधानन्यायाधीश जबरा बयानका लागि पुगेका हुन् । भाद्र ८ गते बसेको महाअभियोग सिफारिस समितिको बैठकले निलम्वित प्रधानन्यायाधीश राणालाई आज सोधपुछका लागि बोलाएको थियो । प्रधानन्यायाधीश जबरा सिंहदवार पुगेपनि समितिको बैठक भने अझै शुरु भएको छैन । समितिलाई राणामाथि लागेको आरोप पुष्टि हुनेगरी नेपाल बार एशोसिएशनले ३५ बुँदे प्रमाण महाअभियोग सिफारिस समितिमा बुझाइसकेको छ । प्रधानन्यायाधीश राणालाई संविधान र कानूनको गम्भीर उल्लंघन गरेको, भ्रष्टाचार र गैरकानूनी सम्पती आर्जन गरेको आरोप लागेको छ । प्रधानन्यायाधीश राणालाई गत फागुन १ गते सत्तारुढ दलका सांसदहरुले महाअभियोग प्रश्ताव संसदमा दर्ता गराएका थिए । संसदमा महाअभियोग दर्ता भएको ६ महिनापछि संसदले महाअभियोग छलफलको लागि समितिमा पठाएको थियो । नेपालको न्यायिक तथा संसदीय इतिहासमा पहिलो पटक प्रधानन्यायाधीशसँग बयान लिन लागेको हो । गत १ फागुनमा सत्तारुढ दलले राणामाथि महाअभियोग लगाएपछि २३ फागुनमा प्रतिनिधिसभाले महाअभियोग सिफारिस समिति गठन गरेको थियो ।