आइएमईबाट पैसा प्राप्त गर्दा हरेक दिन मोबाइल र १० लाख रुपैयाँ जित्ने मौका
काठमाडौं । आइएमईले सेवाग्राहीहरूलाई लक्षित गर्दै दशैं अफर सार्वजनिक गरेको छ । यस अफर अनुसार विदेशबाट आइएमई मार्फत आएको रकम प्राप्त गर्ने सेवाग्राहीहरू मध्ये दैनिक एक जनाले सामसुङ मोबाइल प्राप्त गर्नेछन् । साथै, हरेक हप्ता आइएमई पे मोबाइल वालेट खातामा रकम प्राप्त गर्ने २ जनाले २५ हजार र त्यस्तै अफर अवधिमा एक जना भाग्यशाली विजेता १० लाख रुपैयाँ प्राप्त गर्नेछन् । बुधबार पानीपोखरी काठमाडौंस्थित आइएमई केन्द्रीय कार्यालयमा फेसबुक लाइभ मार्फत उक्त अफर सार्वजनिक गरिएको हो । कूल ८२ जना सेवाग्राहीहरू प्रत्यक्ष लाभान्वित हुने यस अफर भदौ १६ गतेदेखि कात्तिक १६ गतेसम्म कूल ९ हप्ता अर्थात ६३ दिन लागु हुने ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले बताए । अफर अवधिका विजेता सिस्टममा आधारित लक्की ड्र मार्फत सार्वजनिक गरिने र नतिजा कम्पनीका आधिकारिक सामाजिक संजाल पेजहरू तथा मिडिया मार्फत सार्वजनिक गरिने उनले बताए ।
अवस्था ठिक नभएका सवारीसाधनलाई कारबाही गरिने
काठमाडौं । ट्राफिक प्रहरीले अवस्था ठिक नभएका सवारी साधनलाई कारबाही गर्न सुरु गरेको छ । ट्राफिक प्रहरीले बुधबारमात्रै अवस्था ठिक नभएका २६ सवारी साधनका चालकलाई कारबाही गरेको छ । ट्राफिक प्रहरीले काठमाडौंको कीर्तिपुरस्थित टियु गेट नजिकै बुधबार बिहान प्राविधिक टोलीसहित २६ जना चालकलाई कारबाही गरेको हो । चेकिङ्गको क्रममा हेण्ड ब्रेक निकालेका ३ जना टाटा सुमोका चालक र च्यासिस बाङ्गो बनाएको एउटा टाटा सुमोका चालकलाई ट्राफिक प्रहरीले सवारी साधनको स्वरुप परिर्वतनको कसुरमा कारवाही गरेको छ । यस्तै, हेड लाईट ठिक नभएको एउटा र अवस्था ठिक नभएको ५ ओटा टाटा सुमोका चालकलाई कारबाहीमा परेका छन् । यस्तै, चेकिङमै भेटिएका वाइफर निकालेको र सवारी साधनको बत्ती ठिक नभएको ८ ओटा पानी ट्याङकर र अन्य टाटा र डिआई गाडीका ८ जना चालकलाई पनि कारवाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिए । अवस्था ठिक नभएको सवारी साधन चलाउदा सवारी दुर्घटना बढ्न सक्ने र यसले यात्रुको जीवन पनि जोखिममा पर्न सक्ने भएकाले संभावित जोखिम कम गर्न आजबाट अभियानलाई तिव्रता दिईएको उनले बताए । आगामी दिनमा अभियानले निरन्तरता पाउने र अवस्था ठिक नभएको सवारी साधन चलाएको पाईएमा सवारी तथा यातायात व्यवस्था ऐन २०४९ बमोजिम कारवाही हुने पनि प्रहरी वरिष्ठ उपरीक्षक भट्टले बताएका छन् ।
टेकुको फोहर व्यवस्थापन दुई दिनमा हुने
काठमाडौं । विगत चार महिनादेखि टेकु स्टेसनमा थुपारिएको सबै फोहरको अन्तिम व्यवस्थापनको काम आगामी दुई दिनभित्र सकिने भएको छ । सिसडोल र बञ्चरेडाँडाका स्थानीयवासीले विगतमा महानगरसँग भएको सम्झौताअनुसार सडक मर्मतको काम समयमा नै सम्पन्न नगरेको, स्थानीयवासीलाई स्वास्थ्य, शिक्षा, रोजगारीको व्यवस्थाजस्ता माग पूरा नगरेको भन्दै कहिले फोहर बोकेको गाडी तोडफोड र कहिले सडकनै अवरोध गरेपछि विगत चार महिनादेखि काठमाडाँै उपत्यकाको फोहर टेकुमा अल्पकालीन व्यवस्थापन गरिएको थियो । उपत्यकाको सडक छेउछाउमा पनि लामो समयदेखि फोहरको डङ्गुर थियो । उपत्यकाको फोहर व्यवस्थापनका सम्बन्धमा यही भदौ पहिलो साता काठमाडौँ, धादिङ र नुवाकोटका प्रमुख जिल्ला अधिकारी, सिसडोल र बञ्चरेडाँडाका स्थानीयवासीबीच भएको चार बुँदे सहमतिपछि भदौ पहिलो सातादेखि फोहर व्यवस्थापन कार्य हुन थालेको हो । सहमतिपछि यसअघि सडकमा थुपारिएको फोहर व्यवस्थापनको काम सकिएको छ । काठमाडौँ महानगरपालिका वातारण विभाग प्रमुख सरिता राईले भने,’आगमी दुई दिनमा यसअघि ट्रान्सफरस्टेसनमा थुपारिएको सबै फोहरको अन्तिम व्यवस्थापनको काम हुन्छ ।’ गत वैशाख १२ गतेदेखि टेकुमा थुपारिएको फोहरको व्यवस्थापन हुन सकेको थिएन । स्थानीयवासीको अवरोधकैबीच विगत चार महिनाको अवधिमा बढीमा १५ दिन फोहरको व्यवस्थापन भए पनि अन्य दिन एक गाडी पनि फोहरको व्यवस्थापन हुन नसकेको कामपाको भनाइ छ । यसअघिको फोहरसमेत व्यवस्थापन गर्नुपर्ने भएकाले अहिले साविकमा भन्दा बढी दैनिक तीन सय गाडी फोहर अन्तिम व्यवस्थापनको लागि बञ्चरेडाँडा पुग्ने गरेका छन् । फोहर व्यवस्थापनको काम कतै बाँकी भए वातावरण विभागमा जानकारी दिन पनि प्रमुख राईले नागरिकलाई आग्रह गरेका छन् । हरेक दिन उपत्यकाबाट एक हजार दुई सय मेट्रिक टन फोहर उत्पादन हुने गरेको छ । त्यसमध्ये सबैभन्दा बढी कामपाको पाँच सय मेट्रिक टन रहेको छ । यसअघि पनि लामो समय फोहर जम्मा भएर बसेको हुनाले अहिले दैनिक तीन सय गाडीले अन्तिम व्यवस्थापनका लागि बञ्चरेडाँडा लाने गरेका छन् । हाल कामपासहित अन्य १७ स्थानीय तहको फोहरको अन्तिम व्यवस्थापन बञ्चरेडाँडामा हुने गरेको छ । पेचिलो सवाल बन्दै आएको सङ्घीय राजधानी काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापनको सवालमा कामपाले उपत्यकामानै कुहिने फोहर व्यवस्थापन गर्न भन्दै स्थान पहिचानको काम गरिरहेको बताएको छ । सम्भावित केही स्थान पहिचान गरेपनि स्थानीय त्यस विषयमा सकाररात्मक हुन नसक्दा थप काम भने अघि बढ्न नसकेको गुनासो कामपाको छ । रासस
२४ घण्टाभित्र कर नतिरे फनपार्क शिल गरिने
काठमाडौं । काठमाडौं महानगरपालिकाले प्रर्दशनीमार्गमा रहेको काठमाडौं फन पार्क प्रालिलाई कर तिर्न निर्देशन दिएको छ । बुधबार महानगरको राजस्व विभागले फन पार्कलाई पत्राचार गर्दै २४ घण्टा भित्र व्यवसाय, बहाल, मनोरन्जन र विज्ञापन कर तिर्न निर्देशन दिएको हो । पटकपटक निर्देशन दिँदा पनि फनपार्कले कर नतिरेकाे बताउँदै महानगरले तोकिएको समयभित्र कर नतिरे फनपार्क शिलबन्दी गर्ने चेतावनी पनि दिएको छ । ‘व्यवसाय कर र बहाल कर सम्बन्धित वडा कार्यालयमा र विज्ञापन तथा मनोरञ्जन कर महानगरको राजस्व विभागमा २४ घण्टा भित्रै बक्यैता र जरिवाना रकम तिर्न जानकारी गराइन्छ, तोकिएको समयभित्र नबुझाएमा फनपार्क शिलबन्दी गरी तिर्नुपर्ने राजश्व सरकारी बाँकी सरह अशुल उपर गरिने व्यहोरा समेत जानकारी गराइन्छ,’ पत्रमा लेखिएको छ ।
स्रोत नखुलेको ५० लाखसहित पक्राउ परेका घ्याल्चेनलाई जेल चलान
काठमाडौं । नेपाल प्रहरीले स्रोत नखुलेको रकमसहित पक्राउ परेका एकजनालाई जेल चलान गरेको छ । प्रहरीले गत साउन १८ गते काठमाडौं महानगरपालिका– ६ भृकुटीचोकमा स्रोत नखुलेको ४९ लाख ५० हजार नगदसहित पक्राउ परेका गोरखा चुननुब्रीका २४ वर्षीय धावा घ्याल्चेनलाई आज केन्द्रीय कारागार सुन्धारा चलान गरेको हो । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले घ्याल्चेनलाई काठमाडौँ जिल्ला अदालतको आदेशअनुसार ‘नेपाल राष्ट्र बैँक ऐन, २०५८ को कसूर मुद्दामा’ कारागार चलान गरेको जानकारी दिए । पक्राउ परेका घ्याल्चेनसँग प्रहरीले बा ९९ प ७२०४ नम्बरको मोटरसाइकल ४९ लाख ५० हजार, नागरिकता, मोबाइल र नीलो झोला एक थान बरामद गरेको थियो ।
द राउण्ड टेबल नेपालले बिर्तामोडस्थित चमरधाप विद्यालयमा बनायो कक्षाकोठा
काठमाडौं । सामाजिक संस्था द राउण्ड टेबल नेपालको बिर्तामोड शाखाले झापाको बिर्तामोड १० स्थित चमरधाप प्राथमिक विद्यालयमा २ कक्षा कोठा निर्माण गरेको छ । पूर्वाधार अभावमा विद्यार्थीको अवस्था दयनीय भएको पाएपछि संस्थाले विद्यालयमा कक्षा कोठा निर्माण गरिदिएको हो । संस्थाले २४ लाख रुपैयाँको लागतमा २ कक्षा कोठा र विद्यालय परिसरको ५ कठ्ठा जग्गामा कम्पाउण्ड वाल निर्माण गरेको जानकारी दिएको छ । सोमबार बिर्तामोड नगरपालिकाकी प्रमुख पवित्रा महतारा प्रसाई र द राउण्ड टेवल नेपालका अध्यक्ष आन्नद बाहेतीले संयुक्त रुपमा कक्षा कोठा विद्यालयलाई हस्तान्तरण गरेका थिए । संस्थाले यस वर्ष विद्यालयमा २ वटा शौचालय र खानेपानी व्यवस्थापन गर्ने लक्ष्य राखेको छ ।
चार वर्षमा २१८ किमी सडक कालोपत्र
मोरङ । प्रदेश सडक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले चार वर्षमा दुई सय १७ दशमलव ७२ किलोमीटर कालोपत्र सडकको निर्माण गरेको छ । मन्त्रालयका सूचना अधिकारी इञ्जिनीयर ललित चौधरीले प्रदेश नं १ का १४ जिल्लामा विगत चार वर्षमा उक्त सडक निर्माण गरेको जानकारी दिए । प्रदेश सरकार स्थापनाको चार वर्षमा आर्थिक वर्ष २०७५/७६ मा २६ दशमलव १८ किमी, २०७६/७७ मा ५२ दशमलव २१ किमी, २०७७/७८ मा ४० दशमलव ६१ किलोमिटर र आव २०७८/७९ मा ९८ दशमलव ७२ किलोमिटर कालोपत्र निर्माण सम्पन्न भएको हो । सडक मर्मत र ग्राभेल यसैगरी सोही अवधिमा आठ सय १९ दशमलव ८२ किमी सडक मर्मत गरिएको सूचना अधिकारी चौधरीले बताउनुभयो । जसमा आर्थिक वर्ष २०७५/७६ मा छ सय एक किलोमिटर, २०७६/७७ मा ६१ दशमलव ५४ किमी, २०७७/७८ मा ५१ दशमलव १३ किमी र आव २०७८/७९ मा एक सय छ दशमलव १६ किमी सडक मर्मत गरिएको हो । सोही अवधिमा आठ सय ९५ दशमलव ७५ किलोमिटर सडक ग्राभेल गरिएको छ । जसमा आर्थिक वर्ष २०७५/७६ मा एक सय २८ दशमलव नौ किलोमिटर, २०७६/७७ मा दुई सय ११ दशमलव ३५ किलोमिटर, २०७७/७८ मा एक सय ७५ दशमलव ३१ किलोमिटर र आव २०७८/७९ मा तीन सय ८० दशमलव १९ किलोमिटर सडक ग्राभेल गरिएको छ । कच्ची सडक र ट्र्याक यस्तै, सोही अवधिमा आठ सय ५९ दशमलव ३७ किलोमिटर कच्ची सडक निर्माण गरिएको छ । जसअन्तर्गत आर्थिक वर्ष २०७५/७६ मा एक सय ८१ दशमलव तीन किलोमिटर, २०७६/७७ मा चार सय ७७ दशमलव ८२ किलोमिटर, २०७७/७८ मा एक सय नौ दशमलव १९ किलोमिटर र २०७८/७९ मा ९१ दशमलव सात किमी कच्ची सडक निर्माण गरिएको छ । मन्त्रालयले उक्त अवधिमा पहाडी क्षेत्रमा दुई सय ५४ दशमलव ३६ किलोमिटर सडकको ट्र्याक खोलिसकेको छ । जसअन्तर्गत आर्थिक वर्ष २०७५/७६ मा सात दशमलव पाँच किमी, २०७६/७७ मा एक सय ४२ दशमलव ५९ किलोमिटर, २०७७/७८ मा ५५ दशमलव १९ किलोमिटर र आव २०७८/७९ मा ४९ दशमलव आठ किलोमिटर सडकको ट्र्याक खोलिएको सूचना अधिकारी चौधरीले जानकारी दिए । सोही अवधिमा आठ दशमलव ४६ किलोमिटर सडक ढलान गर्ने कार्य सम्पन्न गर्नुका साथै १६ दशमलव ८८ किमी सडक सोलिङ गरिएको छ । मोटरेवल र झोलुङ्गे पुल मन्त्रालयले सोही अवधिमा प्रदेशमा ५५ वटा मोटरेवल पुलको निर्माण गरेको छ । जसमा आर्थिक वर्ष २०७५/७६ मा १०, २०७६/७७ मा १२, २०७७/७८ मा आठ र आव २०७८/७९ मा २५ पुल निर्माण सम्पन्न गरेको हो । सोही अवधिमा प्रदेशभरिमा एक सय पाँच वटा झोलुङ्गे पुल निर्माण गरेको छ । जसअन्तर्गत आर्थिक वर्ष २०७५/७६ मा सात, २०७६/७७ मा २९, २०७७/७८ मा ४४ र आव २०७८/७९ मा २५ वटा झोलङ्गे पुल निर्माण भएको हो । रासस
बुधबार दोहोरो अंकले घट्यो सेयर बजार
काठमाडौं । बुधबार सेयर बजार दोहोरो अंकले घटेको छ । दिनभरिको उतारचढावका बीच बजार दोहोरो अंकले घटेको हो । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २१.९७ अंकले घटेर १९७३.३८ अंकमा बन्द भएको छ । बुधबार दिनभरिमा २२४ कम्पनीको २९ लाख ९२ हजार ८७३ कित्ता सेयर २९ हजार ५८४ पटक किनबेच हुँदा १ अर्ब १२ करोड ६२ लाख १७ हजार ८६२ रुपैयाँ बराबरको कारोबार भएको छ । आज अधिकांश सूचकहरुमा राताम्य छाएको छ । बैंकिङ्ग समूह ०.५३ प्रतिशत, ट्रेडिङ समूह १.३२ प्रतिशत, होटल एण्ड टुरिजम समूह १.३६ प्रतिशत, विकास बैंक समूह १.८४ प्रतिशत, निर्जीवन बीमा समूह ०.६१ प्रतिशत, म्यानुफ्याक्चरिङ्ग एण्ड प्रोसेसिङ्ग समूह १.०२ प्रतिशत, अन्य समूह १.१ प्रतिशत, जीवन बीमा समूह १.४७ प्रतिशत, इन्भेष्टमेन्ट समूह ०.९१ प्रतिशत, हाइड्रोपावर समूह २.१७ प्रतिशत, फाइनान्स समूह २.४२ प्रतिशत, माइक्रोफाइनान्स समूह १.४७ प्रतिशत र म्युचुअल फण्ड समूह ०.७ प्रतिशत घटेको छ । बुधबार नेपाल टेलिकमको सेयर कारोबार सर्वाधिक १० करोड ७४ लाख ८३ हजार ६२१ रुपैयाँ र रिडी पावरको ६ करोड ४० लाख २४ हजार ३१८ रुपैयाँ बराबरको कारोबार भएको छ । यस्तै, हिमाल दोलखा हाइड्रोपावरको सेयर १ लाख २८ हजार ५५ पटक खरिदबिक्री भएको छ ।